बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसको आफ्नै घरभित्र छ पानी घट्ट (भिडियो)

मङ्गलबार, ०५ चैत २०७५, १६ : ४२
मङ्गलबार, ०५ चैत २०७५

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ तिम्बुका तेम्बा सिङ्घी लामाको घर अरुको भन्दा फरक छ । विगत छ बर्षदेखि उनको घरभित्रै छ पानीघट्ट । सो भेगमा बिजुलीबाट चल्ने पिठो पिस्ने मेसिन नभएका कारण बर्षको ६ महिना उनको घट्ट व्यस्त हुने गरेको छ । 

घट्टबाट पिसेको पिठोबाट बन्ने परिकार स्वादिलो हुने भएका कारण टाढा–टाढादेखि उनको घट्टमा पिठो पिस्न मान्छेहरु आउने गरेका छन् । १ पाथी पिठो पिसेको उनले २० रुपैयाँ ज्याला लिने गरेका छन् । 

उनको घरभित्रै घट्ट बनाउन सक्नुको कारण उनको घर छेउमै छ ढ्योङ्चु खोला । पहिले खोला छेउमा छाप्रोको घट्ट थियो । पछि उनले पक्की घर बनाउँदा घट्टका लागि पनि एउटा कोठा बनाए । ६ बर्षदेखि उनको घरमै घट्ट चलिरहेको छ । 

श्री आमा याङग्री तहारवईन मिल नाम राखिएको उनको घट्ट बनाउन ४ लाख खर्च लागेको थियो । सिजनको बेला निकै व्यस्त हुने घट्टमा स्थानीय रुपमा उत्पादन हुने अन्नहरु कोदो मकै, गहुँ, सातु लगायत पिस्ने गरिन्छ । 

आफूले घट्ट चलाएपछि आफूलाई मात्र नभएर गाउँलेलाई पनि फाइदा भएको उनले बताए । सुधारिएको घट्टका लागि सरकारले सहयोग गर्ने भनेपनि आफूले सहयोग नपाएको उनको गुनासो थियो । उनले भने– ‘भूकम्पपछि धेरैले फोटो खिचेर लगे तर सहयोग गरेनन् ।’

हेलम्बुको तिम्बु पुगेका बेला मानिसहरु घरभित्रको पानीघट्ट हेर्न जाने गरेका छन् । 

हेर्नुहोस् भिडियो: 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप