शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलअस्पतालले निकाल्यो महिलाको पाठेघरबाट ६ किलोको ट्यूमर

मङ्गलबार, ०५ चैत २०७५, १८ : ३७
मङ्गलबार, ०५ चैत २०७५

विराटनगर–नोबेल शिक्षण अस्पतालले महिलाको पाठेघरमा रहेको ६ किलोको ट्यूमर सफलतापूर्वक निकालेको छ ।

इलामको शान्तिडाँडाकी ४२ बर्षीया कुसुम शाह ठकुरीको पाठेघरबाट ट्यूमर निकालिएको हो । नोबेलको प्रसुती तथा स्त्री रोग बिभागका एशोसिएट प्रोफेसर डा.शान्ति सुवेदी नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक ट्यूमर निकालेको हो ।  

पाठेघरको सारकोमा नामले चिनिने यो ट्यूमर १ लाख महिलाहरु मध्ये ३ देखि ७ जनामा मात्र पाईने गरेको प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा.सुबेदीको भनाई छ । ‘प्राय बढीमा आधा केजी सम्मको मात्र ट्यूमर पाईन्छ ।’ उनले भनिन् ‘यो एकदमै दुर्लभ ट्यूमर हो ।’ चिकित्सकहरुका अनुसार सामान्यतया सानो–सानो आकारका धेरै वटा ट्यूमर हुन सक्छन । तर, छ केजी सम्मको एउटै ट्यूमर बिरलै मात्र पाउँने गरिन्छ ।

करिव डेढ बर्ष अघि देखि शाहको पेट अस्वभाविक रुपमा बढ्दै गएको थियो । खाना खाने बित्तीकै दिसा लाग्ने र पेट बढेर असहज हुने गर्थ्यो । ग्यास्टिकका कारण यस्तो भएको अनुमान लगाएर उनीहरु धेरै समय अल्मलिए । तर, समस्या बढ्दै गएपछि ईलाम अस्पतालमा उनको स्वास्थ्य परिक्षण गराईएको थिए ।

त्यहाबाट रिफर गरेपछि नोबेलमा आएर शल्यक्रिया गरी ट्यूमर निकालिएको हो । पेटबाट छ किलोको ट्यूमर निश्किएपछि शाह र उनको परिवार आश्चर्यचकित भएका छन् । 

पेटबाट मासुको त्यत्रो डल्लो निश्किदा डर लागेको कुसुमले बताईन् । ‘पेट बढ्दै गएर असहज भईरहन्थ्यो । तर, के भएको थाहा नहुँदा अन्यौलमा थिए ।’ अचम्म मान्दै उनले भनिन् ‘पेटबाट यत्रो मासु निश्किदा म त छक्क परे ।’

भिडियो एक्सरे गर्दा ट्यूमर रहेको थाहा भएपनि अप्रेशन गरेर ठुलो ट्यूमर निश्किदा अचम्म लागेको कुसुमका वुवा श्याम शाह ठकुरीले सुनाए । ‘छोरीको पेटबाट छ किलोको ट्यूमर निश्कदा म त झण्डै बेहोस भए ।’ उनले भने ‘ट्यूमरको फोटो हेर्दै डर लाग्यो, सिधा आँखाले हेर्नै सकिन ।’ 

ट्यूमर निकालिएपछि उनको पुरानो समस्या हटेर स्वास्थ्यमा सुधार आएको छ । उनी निको भएर अस्पतालबाट अहिले घर फर्किएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप