शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर नेपालकै पहिलो पारोमुक्त महानगर

मङ्गलबार, ०५ चैत २०७५, २० : २८
मङ्गलबार, ०५ चैत २०७५

भरतपुर । चितवनको भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो पारोमुक्त (मर्करी) महानगर घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममार्फत भरतपुरलाई पहिलो मर्करीमुक्त महानगर घोषणा गरिएको हो । 

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौँको अग्रसरतामा जिल्लाका सरोकारवाला निकायले प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै महानगरलाई मर्करीमुक्त महानगर घोषणा गरिएको हो । 

मर्करीमुक्त घोषणा गरिएसँगै महानगरभित्र रहेका निजी अस्पताल, सरकारी अस्पताल, दन्त क्लिनिकहरुमा मर्करीयुक्त रसायन, तापक्रम नाप्ने थर्मामिटर, रक्तचाप नाप्ने ब्लड प्रेसर मिटर पूर्णरुपमा प्रयोगमा आउने छैनन् । 

मर्करीमुक्त महानगर घोषणाको ब्यानरमा महानगरपालिका, सरकारी अस्पताल, निजी अस्पताल, दन्त क्लिनिक, जिल्ला जनस्वास्थ्य र दन्त चिकित्सकका पेशागत सङ्गठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । 

निजी अस्पताल समन्वय समिति, एफिन चितवन शाखा अन्तर्गतका करीब दर्जन सदस्य निजी अस्पतालले पनि आ–आफ्नो अस्पतालबाट मर्करीमुक्त उपकरण, मर्करीमुक्त रसायन तथा मर्करीमुक्त दन्तचिकित्सा सेवा मात्र प्रदान गर्ने भनेर यसअघि नै निर्णय गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिसकेका छन् । 

मर्करीयुक्त रसायन र उपकरणको प्रयोगले स्वयं बिरामी, चिकित्सक, नर्सलाई नै असर गर्नाका साथै वातावरणमा समेत प्रभाव पार्ने भएकाले महानगरलाई मर्करीमुक्त घोषणा गरिएको केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले जानकारी दिए । 

जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार मानव स्वास्थ्यलाई असर गर्ने १० रसायनमध्ये मर्करी पनि एक महत्वपूर्ण रसायन रहेको बताए । 

निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले निजी अस्पतालले एक वर्षदेखि नै मर्करी प्रयोग बन्द गरेको बताए । 

डेन्टल एशोसिएशन चितवनका अध्यक्ष डा विष्णुमाया खरेलले चितवनमा १५ वर्षमुनिका बालबालिकाका दाँत उपचारका लागि अबदेखि पूर्णरुपमा मर्करी निषेध गरिएको बताए । 

नेपालमा मर्करी अर्थात् पारो विभिन्न प्रायोजनमध्ये अत्यधिक स्वास्थ्य सेवामा प्रयोग हुँदै आइरहेको थियो । भरतपुरमा निजी क्षेत्रमा २५ वटा दन्त क्लिनिक वैधानिक रुपमा सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप