शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँचल शर्मा, दिपाश्री निरौलादेखि ज्योती मगर, रमेश उप्रेतीसम्मः कलाकारले यसरी मनाउँदैछन् होली

बुधबार, ०६ चैत २०७५, ०९ : ३२
बुधबार, ०६ चैत २०७५

काठमाडौँ – होली अर्थात् रङहरुको पर्व । फागुन पूर्णिमाको दिन मनाइने यो पर्वको अवसर पारेर मिडिया हाउसदेखि घरानिया परिवारले होली विशेष कार्यक्रम आयोजना गर्ने गर्छन् ।

यी कार्यक्रममा सेलिब्रेटीदेखि नेतासम्मलाई निम्त्याएर एकअर्काेलाई रङ र पानी छ्याप्दै खुसी साट्ने गरिन्छ । यो दिन कतिपय सेलिब्रेटीलाई बिहानैदेखि होली कार्यक्रमले भ्याइनभ्याई हुने गर्छ । कतिपयले आफै होलीका कार्यक्रमसमेत राख्ने गरेका छन् । केही कलाकार अरूले बोलाएको ठाउँमा गएर होली मनाउँछन् । कतिपय कलाकार घरमै मात्र आफन्तसँग होली मनाउन पनि रुचाउँछन् । जेजस्तो भए पनि सेलिब्रेटीको यस पटकको होली योजना भने फरक फरक छ । सेलिब्रेटीका होली योजना उनैको शब्दमा :

रमेश उप्रेती:

पर्वहरुमा होली मलाई बेस्ट लाग्छ । यसको विशेषता भनेकै रङसँग खेल्नु हो । हरेक वर्ष साथीभाइसँग जमघट गरेर रङ खेल्दै होली मनाउने गरेको छु । यस पटक पनि त्यस्तै गर्छु  ।

दीपाश्री निरौला (अभिनेत्री–निर्देशक)

होली मेरो मनपर्ने चाड हो । यो रङसँग खेल्दै खुसी साट्टे रङ्गीन पर्व हो । रङले खुसी दिन्छ । होली पहिले घरबाटै सुरु गरौँ भन्ने योजना छ । त्यसपछि विभिन्न स्थानमा आयोजना भएका होलीमा पनि सरिक हुन्छु । होली मलाई धेरै मनपर्छ । रङ छ्याप्न, पानी हाल्न सबै मनपर्छ ।

निर्मल शर्मा ‘गैँडा’ (कलाकार)

प्रत्येक वर्षको फागु शुक्ल पूर्णिमाको दिन मान्ने यो पर्व देश विदेशमा रहेका हिन्दुहरुका लागि महत्त्वपूर्ण पर्व हो । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रल्हादसँग होली जोडिएको छ । मेरो होली घरका परिवारबाट सुरु हुन्छ । यो पटक मेरो होली ‘दाल, भात, तरकारी’ फिल्मका टिम र साथीभाइसँग पनि मनाउनेछु ।

सञ्चिता लुइँटेल (अभिनेत्री)

होली रमाइलो लाग्छ । परिवारका सदस्य र आफन्तसँग यो पटकको होली खेल्ने योजना छ । केही दिन अगाडि म र निखिल उप्रेतीजी भारत थियौँ । त्यहाँका साथीहरुसँग होली खेलेर हिजो मात्र काठमाडौँ आएका हौँ । होलीले खुसी हुने, भेटघाट गर्ने, माया साट्ने र रमाइलो गर्ने अवसर दिलाउँछ ।  त्यसैले पनि यो मेरो मनपर्ने पर्व हो । मलाई विदेशी पर्व मनाउनुभन्दा यस्तै आफ्नो पर्व मनाउन मनपर्छ ।

आँचल शर्मा (अभिनेत्री) :

मेरो अभिनय रहेको फिल्म ‘दाल, भात, तरकारी’ले होली कार्यक्रम राखेको छ । उक्त युनिटसँग होली खेल्छु । होली रमाइलो लाग्छ । तर बाहिर निस्किएर सबैसँग होली खेल्न मन पर्दैन । घरमै परिवारसँग होली खेल्न मनपर्छ । रङ र पानीले शरीरमा एलर्जी आउने भएकाले खेल्नभन्दा पनि अरूले खेलेको हेर्न रमाइलो लाग्छ ।

युवराज चौलागाईं (गायक):

होली मेरो मनपर्ने विशेष पर्व हो । यो रङहरुको महापर्व पनि हो । यो पर्वमा साथीभाइ, आफन्तहरुसँग रङ खेल्न मनपर्छ । रङ जस्तै रङगीन जिन्दगी बनाउन यो पर्वले महत्त्वपूर्ण भूमिका खेल्छ । साथीभाइ, आफन्तसँग होली खेल्ने योजना छ ।

खुस्बु खड्का (अभिनेत्री)

मलाई होली रमाइलो लाग्छ । होलीमा साथीभाइ जमघट गरेर टाढा भएको सम्बन्ध रङसँगै गाढा बनाउँछु । केही टीभी र साथीहरुबाट पनि होली खेल्न निम्ता आएको छ । तर पहिलो होली घरमै आमासँग खेल्छु । केही दिन आगाडिदेखि लोला हानेको भन्दा पनि होलीकै दिन रङसँग खेलेको मनपर्छ मलाई ।

रजनी केसी (अभिनेत्री)

रङ मनपर्ने भएकाले यो पर्व मलाई सुन्दर लाग्छ । होली मलाई एकदमै रमाइलो लाग्छ । होलीले मनोरञ्जनका साथसाथै प्रेमको आभास दिन्छ । घर परिवारसँग रङ खेल्दै होली मनाउने योजना छ । नजिकका साथीहरुलाई आफ्नो घरमा बोलाएका छन् । बाहिर जादिनँ होला ।

सन्तोष श्रेष्ठ (सङ्गीतकार):

होलीलाई सकारात्मक ढङ्गले अँगाल्ने हो भने यसका सबै पक्ष राम्रो लाग्छ । परिवार र समाजका व्यक्तिहरुसँग मिलेर होली खेल्ने योजना मेरो छ । यो नेपालको एउटा सांस्कृतिक पर्व हो । यो पर्व कतै होली र कतै फागु भनेर पनि मनाउने गरिन्छ । यस्ता संस्कृतिसँग जोडिएका पक्षले मलाई आकर्षित गर्छ ।

भूमिका गिरी (लोक गायिका)

होली रङहरुको पर्व हो । रङ मन नपराउने को नै होला र ? होलीको मनपर्ने पक्ष भनेको एक अर्कासँग रमाउने, खुसी साट्ने हो । होलीका लागि विशेष योजना त बनाएकी छैन । बुटवलमा एक कार्यक्रम छ । होली त्यहीका दर्शकसँग रङ खेल्दै मनाउँछु । होलीको त्यस्तो विशेष महत्त्व त केही थाहा छैन । तर यो खुसी साट्ने पर्व हो ।

दिनेश काफ्ले (कमेडियन):

परम्परादेखि चल्दै आएको यो संस्कार सबैले मान्नुपर्छ । यसमा विकृति भित्रिएका छन् । त्यो त्याग्नुपर्छ । होली खेल्ने शैली पहिलेभन्दा फरक भएको छ । यो वर्ष मेरो होली अस्ट्रेलियामा हुनेछ । एक कार्यक्रमका लागि यहाँ आएको छु । यहीका नेपालीसँग मनाउँछु ।

मञ्जु ढकाल (फेसन डिजाइनर)

हामी हिन्दूहरुको होली एक विशेष पर्व हो । यो पर्व सानैदेखि मनपर्छ । एक अर्काेसँग भएको मनमुटाव त्यागेर रङसँग रमाइलो गर्दै मनाइने होलीको सकारात्मक पक्ष हो । म साथी, आफन्त र नजिकका चिने जानेकासँग होली मनाउने तयारीमा छु ।

सीताराम पोखरेल (गायक) :

हाम्रो धेरै चाडपर्वमध्ये होली विशेष लाग्छ । यसले सबैमा आत्मीयता बढाउँछ । होली सर्वप्रथम म आफ्नो टोल बत्तीसपुतलीमा मनाउँछु । त्यसपछि अल्फाबिटा कम्प्लेक्समा आयोजना हुने होलीमा सरिक हुन्छु । डिस होम र जनता टेलिभिजनबाट पनि होलीको निम्तो छ । जाने योजनामा छु ।

नवल नेपाल (निर्देशक) :

रङ्गीन दिन मन नपर्ने कसलाई होला र ? होली रङ पोतेर सबैमा भाइचाराको सम्बन्ध बढाउने दिन पनि हो । यसपालिको होली मेरो फिल्म ‘मारुनी’को छायाङ्कनमा बित्नेछ ।

किशोर भण्डारी (कलाकार– निर्देशक) :

होलीभन्दा फागु भन्न मनपर्छ । सानोमा हामी होली खेल्ने भन्दै १५ दिन अगाडिदेखि नै पानी भरेर लोला हान्थ्यौँ । पूर्णिमाको दिन मात्र रङ खेल्थ्यौँ । अहिले वर्षभरी कामको भागदौड गर्दा कालो सेतो भएको दिन रङ्गीन बनाउने दिन हो जस्तो लाग्छ होली । होलीमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । ती कार्यक्रममा सहभागी हुन्छु ।

ज्योती मगर (गायिका) :

होली मनपर्छ । तर दशैँ तिहार जति भने होइन । यसको राम्रो पक्ष रङहरु नै हो । यो होलीमा मेरो ३ वटा व्यावसायिक कार्यक्रम छन् ‘गोदावरी’, ‘मध्यपुर ठिमी’ र ‘सानो गौचरण’ । त्यसपछि बचेको समय साथीहरु र मिडियाकर्मीसँग होली खेल्छु । असत्यमाथि सत्यले विजय पाएको उत्सवको रूपमा होली मनाउने गरिएको हो ।

भावना गुरुङ (अभिनेत्री) :

होलीमा रङ खेल्न मनपर्छ । तर होली खेलेपछि नुहाउन झन्झट लाग्छ । यो पटक काठमाडौँ बाहिरका साथीहरुसँग एक अर्काेलाई रङ छ्याप्दै होली खेल्ने योजना छ । होली रङ्गीन पर्व पनि हो ।

जुनु गौतम (गायिका) :

होली रङको पर्व हो । रङसँग खेल्न मनपर्ने भएकाले यो पर्व मलाई विशेष लाग्छ । होलीको दिन परिवारका सदस्य, आफन्त र साथीसँग रङ दल्दै खुसी साट्ने विचार छ ।

विनु शाक्य (मोडल तथा डान्सर):

गत वर्ष एबीसी टीभी, इमेज टीभी र बीएफसी एफएममा होली खेलेको थिए । यो पटक एबीसी टीभी र अन्य केही कार्यक्रममा सहभागी हुन्छु । अरूलाई रङ छ्याप्दै होली खेल्न मलाई मनपर्छ ।

साहिमा श्रेष्ठ (गायिका)

होली निकै मनपर्छ । होली रङसँग खेल्ने पर्व हो । यो पटकको होली मेरो विराटनगरमा बित्नेछ । विराटनगरका दर्शक स्रोतासँग गीत सङ्गीतसँग रङ खेल्दै होली मनाउनेछु ।

सिर्जना सुब्बा (अभिनेत्री) :

मेरो घर मोरङ हो । म त्यहाँ बस्दा होली एकदमै रमाइलो गर्थे । एक अर्कोसँग होली खेल्दा सोधेर मात्र रङ लगाउने चलन थियो । मानिस के कामका लागि हिँडेको छ । विचार नै नगरी लोला हान्ने काठमाडौँको चलन नराम्रो लाग्छ । काठमाडौँको होली देखेर होलीप्रति म नकारात्क भएकी छु ।

दुर्गा खरेल (गायिका)

आफ्नोपन देखाउने पर्व हो । रङ लगाएर रङ जस्तै जीवन होस् भन्ने कामना समेत होलीमा गरिन्छ । असभ्य भएर होली मनाउने चलन दुःख लाग्छ । सबैलाई सभ्य भएर होली मनाउन अनुरोध गर्दछु ।

अर्जुन पोखरेल (सङ्गीतकार) :

होली रङसँगै ध्वनिको मिश्रण भएको पर्व हो । यसका राम्रा पक्ष धेरै छन् । मनमुटाव भएका मानिसहरुलाई पनि रङले जोड्ने गरेको छ । यो एकताको चाड हो । यसमा विकृति पनि भित्रिएको छ । गाउँमा छँदा होली एकदम राम्रोसँग मनाउँथे । काठमाडौँमा आए पनि खुलेर मनाउन पाएको छैन । रङको एलर्जी हुने भएकाले होली मेरो सामान्य नै हुनेछ ।

लक्ष्मी आचार्य (गायिका)  ः

होली एकदमै रमाइलो पर्व हो । होली कार्यक्रम आयोजना हुने धेरै ठाउँबाट निम्तो आएका छन् । भ्याएसम्म सबै ठाउँमा पुग्छु । होली भव्य तवरले मनाउन मनपर्छ ।

निरु खड्का (कलाकार) :

होलीमा रङ्ग खेलेको मनपर्छ । रङसँग विभिन्न केमिकल मिसाएको भने मन पर्दैन । होलीमा खेलिने सबै रङको जीवनसँग मेल हुन्छ । यो पटक म होली खेल्न पाउँदिनँ । मेरो शरीरमा रङ र पानीले एलर्जी आउने भएकाले होलीको दिन घरमै बसेर टीभीमा अरूले होली खेलेको हेर्दै बिताउँछु ।

नरेन खड्का (अभिनेता)

होली एक सद्भाव र उमङ्गको पर्व हो । होली असत्यमाथि सत्यको विजय भएको पर्वका रूपमा पनि हेरिन्छ । रङहरुसँग खेल्न पाइने यो मनपर्ने पर्व हो । साथीहरु जम्मा भएर एकअर्कालाई रङ छ्याप्दै रमाइलो गर्न मनपर्छ । यो पटक म साथीभाइ तथा मिडियाले आयोजना गर्ने होली कार्यक्रममा सरिक भएर रङ खेल्दै मनाउँछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप