बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुनै बेला नेपालको अर्थतन्त्र मलेसिया र दक्षिण कोरियासँग दाँजिन्थ्यो

बुधबार, ०६ चैत २०७५, १० : ४५
बुधबार, ०६ चैत २०७५

हामीलाई लगानी किन चाहियो ? लगानी नभए पनि भइहाल्यो नि काम चलेकै छ । गुजारा चलेकै छ । तर हामी यही गतिमा अगाडि बढ्ने हो त ? सोचनीय विषय बनेको छ । नेपालको अर्थतन्त्र कुनैबेला दक्षिण कोरियासँग दाँज्न मिल्ने खालको थियो । मलेसियाको अर्थतन्त्रको हाराहारीमा थियो । नेपाल अहिले दक्षिण एसियामा सबैभन्दा कमजोर अर्थतन्त्र भएको देश बनेको छ । किन त ? 

केही वर्षको द्वन्द्वलाई कारण देखाउन सक्छौँ । अस्थिर राजनीतिलाई कारण मान्न सक्छौँ । यी सबै पुराना कुरा भए । अब त दुई तिहाइको सरकार छ, त्यसकारण पनि अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ । हाम्रो बचत १० प्रतिशत मात्र छ । अर्थतन्त्रको साइज ३ सय अर्बको हाराहारीमा छ । अहिलेको पुँजीगत खर्चले अर्थतन्त्र चलायमान बन्न सक्तैन । यो वर्ष ८ प्रतिशतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को लक्ष्य लिए पनि ७ देखि ८ को हाराहारीमा हुन्छ भनिएको छ ।  अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैङ्क जस्ता संस्थाले साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भनेको छ । 

अब कुरा आउँछ लगानी किन चाहियो ? लगानी रोजगारी सिर्जना गर्नका लागि चाहिन्छ । लगानी थप पुँजी अभिवृद्धि गर्नका लागि चाहिन्छ ।  हाम्रो अर्थतन्त्र ८, ९, १० प्रतिशतको हाराहारीमा अगाडि बढ्ने हो भने कमसेकम हाम्रो जीडीपीको साइज २० प्रतिशतले बढ्नुपर्छ ।  विदेशी लगानी भित्र्याउने भन्दैमा आँखा चिम्लेर भित्र्याउनु हुँदैन तर अहिले त विदेशी लगानी भित्र्याउने निहुँमा ५० हजार डलरको रेस्टुरेन्ट ठमेल र पोखरामा खोलिएको छ । हामीले विशेष परिस्थितिमा बाहेक विशेष स्रोतका आधारमा संवेदनशील क्षेत्रमा लगानी गर्नुहुँदैन ।

विदेशी लगानी ल्याउने हो भने न्यूनतम कति ल्याउने तोक्नुपर्यो । कमसेकम ५० हजार डलर होइन, ५० लाख डलरको विदेशी लगानी आउनुपर्यो । विदेशी लगानी भन्दैमा जति पायो त्यति थोरै थोरै ल्याएर हुँदैन । ५० लाख डलर आउँछ भने कुखुरा पालन, डेरी उद्योगमा पनि विदेशी लगानी किन नल्याउने ? विदेशी लगानीबाट नयाँ प्रविधि भित्रिन्छ, नयाँ सोच विचार आउँछ । हाम्रा नेपाली लगानीकर्ता विदेशमा गएका छन् भने उनीहरूले पनि आफ्नो क्षमता, सीप वृद्धि गर्न प्रतिस्पर्धा गर्दा राम्रै हुन्छ । 

२, ४ सय उद्योगमा २, ४ वटा बन्द हुन सक्छ । अहिले प्रतिस्पर्धाको जवानामा त्यसलाई स्वीकार गर्नुपर्छ । प्रतिस्पर्धामा १०० जना खेलाडी छन् भने १०, २० जना तल झर्नसक्छ ।  यसलाई स्वीकार गर्नसक्नुपर्छ । 

अर्कोतर्फ उपभोग्य अधिकारलाई कडा गर्नुपर्यो । त्यसको सुपरीवेक्षणलाई कानुनभन्दा बाहिर उभ्याउने संयन्त्र बन्नुपर्छ । हाम्रो तरलता समस्या पनि यसकारण नै सुरु भएको हो । हामीसँग बचतको ऋण १० प्रतिशत छ । खर्च गर्ने संयन्त्र, कर्मचारीतन्त्र र काम गर्ने तरिकामा सुधार भएको छैन । पैसा राष्ट्र बैङ्कमा थुप्रिएर बसेको छ । अलिअलि खर्च गरे पैसा चलायमान हुन सक्थ्यो ।  विदेशी लगानी भित्र्याउनका लागि विदेशीतिर वातावरण तयार गरे । कानुन, नियम र कर्मचारीतन्त्रलाई हेरे । तर नेपालमा त कर्मचारीतन्त्र मुख्य समस्या बनेको छ । उनीहरूमा एकाउन्टिबिलिटी छैन । नगर्दा  सजाय के हुने, त्यसमा स्पष्ट भएन । यसले पनि काममा अल्झन आउन थाल्यो । 

रेमिट्यान्सलाई हेर्ने हो भने नेपाल जीडीपीको अनुपातमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने देशमा पर्छ । सात महिनामा रेमिट्यान्स साढे २८ प्रतिशतले बढेको छ । डलरमा गणना गर्ने हो भने १६ प्रतिशतले बढेको छ । यी सबै उपभोगमा गएको छ । घरमा टीभी,  छोरालाई मोटरसाइकल, मोबाइल लगायतमा खर्च भएको छ । 

हामीले नेपालका उद्योग क्षेत्र हेर्यौँ भने १९९० को दशकतिर जीडीपीमा उद्योगको योगदान १३ प्रतिशत पुगेको थियो । अहिले आएर मात्र ६ प्रतिशत छ ।  विदेशी व्यापार हेर्ने हो भने डरलाग्दो अवस्था छ । हामी जति निर्यात गर्छौं त्यसको १६औँ गुणा बाहिरबाट सामान मगाउछौँ । अहिले हामीसँग भएको विदेशी मुद्राको सञ्चिती ८ महिनालाई पुग्ने छ । यो पनि घट्दै छ । कमाइ गर्दा कमाइभन्दा बढी खर्च गर्नुभयो भने के हुन्छ ? तपाईंको महिनाको कमाइ २० हजार होला तर २५ हजार खर्च गर्दै जानुभयो भने के हुन्छ ? कमइ र खर्चमा पनि सन्तुलन ल्याउनुपर्छ ।

विदेशी लगानी र नेपाली लगानीलाई एउटै आँखाले हेर्नु राम्रो हो । लगानी सम्मेलन भएको  सन् २०१६ मा १३.५ बिलियन डलरको  लगानी आउने भनेर प्रचारबाजी गरियो । खै त्यो कहाँ गयो । कुरा र व्यवहारमा धेरै भिन्नता छ ।

(शसिन जोशी बैङ्कर हुन् । पछिल्लो पटक नबिल बैङ्कका सीईओ थिए । हाल जावलाखेल डिस्टिलरी गु्रप अफ कम्पनीको कार्यकारी निर्देशक हुन् । नेपालमा लगानी र चुनौती विषयमा नेपाल वैकल्पिक अध्ययन समाजले आयोजना गरेका कार्यक्रममा राखेको विचारमा आधारित ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शसिन जोशी
शसिन जोशी
लेखकबाट थप