शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के अनिल र मुकेश अम्बानीबीचको सम्बन्ध सुमधुर भएकै हो त ?

बुधबार, ०६ चैत २०७५, ११ : ०३
बुधबार, ०६ चैत २०७५

बीबीसी हिन्दी

मुकेश अम्बानी र अनिल अम्बानीले आफ्ना पिता धिरुभाइ अम्बानीबाट विरासतमा एउटा ठूलो व्यवसायिक साम्राज्य पाएका थिए । पिताको मृत्युपछि दुई भाइबीचको सम्बन्ध ठिक रहेन ।

एक दशकअघि दुई दाजुभाइको सम्बन्धमा आएको फाटो सोमबार त्यतिबेला भरिएको देखियो जब अनिल अम्बानीले एक बयान जारी गर्दै मुश्किल समयमा उनका दाइ मुकेश र भाउजु निता अम्बानीले जेल जानबाट बचाएकोमा धन्यवाद दिए । स्विडेनको कम्पनी एरिक्सनलाई ७.७ करोड डलर बक्यौता अनिल अम्बानीले यसै हप्ता बुधबारसम्म तिर्नुपर्दथ्यो । यसो नभएको भए उनी जेल जानु पर्दथ्यो । मुकेश अम्बानी मुश्किल समयमा आफ्नो भाइको सहारा बने र पैसा तिरिदिएर जेल जानबाट जोगाए ।

मुकेश अम्बानी संसारका सबैभन्दा धनी उद्योगपतिमध्येका एक हुन् । फाइनान्सियल टाइम्सको अनुमान अनुसार मुकेश अम्बानीसँग कुल ४२ अर्ब डलरको  सम्पत्ति छ । सुरुमा दुई भाइको उदय भयो र उनीहरु शीर्ष स्थानमा रहे । सन् २००८ मा त अनिल अम्बानी पनि संसारको आठौं धनी व्यक्ति थिए ।

अहिले अनिल अम्बानीलाई उनका दाइ मुकेश अम्बानीले बचाएका छन् तर यो पनि साँचो हो कि रिलायन्स कम्युनिकेशनको बर्बादीमा मुकेश अम्बानीको नयाँ टेलिकम कम्पनी जियोको पनि योगदान रह्यो ।

१६ वर्ष अघि पिता धिरुभाइ अम्बानीको मृत्युपछि दुई भाइबीच तित्तता छायो । धिरुभाइ अम्बानीले आफ्नो दैनिक गुजाराका लागि सुरुवातमा यमनमा एउटा पेट्रोल स्टेशनमा अटेन्डेन्टको रुपमा काम गरेका थिए ।

भारत फर्किएपछि उनले कपडाको सानो व्यापार सुरु गरे । उनी यति सफल भए कि यो व्यापार रिलायन्स इन्डष्ट्रियल साम्राज्यसम्म पुग्यो । अनिल अम्बानीको जन्म सन् १९५९ मा भएको थियो । उनी एक व्यवसायी माहौल र परिवारमा हुर्किए ।

धिरुभाइ अम्बानी जिउँदो हुँदा पनि यी दुई दाजुभाइको जीवनशैलीमा निकै अन्तर भएको बताइन्छ । मुकेश अम्बानी काममा अत्यधिक लगनशील भएको  बताइन्छ भने अनिलमा एक किसिमको लालित्य थियो ।

सन् २००२ मा बुवाको मृत्युपछि दुई दाजुभाइबीच व्यवसायको विभाजन हुने निश्चित थियो । सन् २००५ मा उनकी आमाले दुई भाइबीच रिलायन्सको कारोबार बाँडिदिइन् । मुकेशले पेट्रोकेमिकल पाए भने अनिलको हिस्सामा टेलिकम, फाइनान्स र एनर्जी युनिट्स परे ।

यी विभाजनपश्चात् नै दुई भाइबीच प्रतिस्पर्धा बढ्यो । सन् २००८ मा रिलायन्स कम्युनिकेशन्सले दक्षिण अफ्रिकामा एमटीएनसँग डिल गरेपछि यसले मुकेश अम्बानीलाई धक्का लाग्यो ।

यो ट्रान्सकन्टिनेन्टल डिल थियो जसमा मुकेश अम्बानीको कम्पनी आरआइएलले ठूलो आपत्ति जताएको थियो । मुकेश अम्बानीको कम्पनीले त्यतिबेला अहिले पारिवारिक व्यवस्थापनसँग जोडिएका समस्या भएको बताउँदै एमटीएन यसमा अघि बढ्न नसक्ने बताएको थियो ।

यसै वर्ष वैश्विक मन्दी छायो र अनिल अम्बानीमाथि यसको गहिरो असर पर्यो । एक अनुमानका अनुसार यो मन्दीमा अनिल अम्बानीलाई ३१ अर्ब डलर क्षती भयो ।

दुई दाजुभाइले एक अर्काको व्यवसायमा हस्तक्षेप नगर्ने सम्झौता भएको थियो । सन् २०१० मा यो सम्झौता समाप्त भयो । मुकेश अम्बानीले सम्झौता समाप्त हुने बित्तिकै त्यसको सात वर्षमा टेलिकम क्षेत्रमा ३४ अर्ब डलर लगानी गर्ने घोषणा गरे ।

‘द बिलियनेर राज’ नामको किताब लेख्ने र सिंगापुरमा ली कुआन येव स्कूल अफ पब्लिक पोलिसीका प्राध्यापक जेम्स कार्बट्रीले ब्लूमबर्गसँग भने, ‘यो निकै ठूलो बाजी थियो । जियो आउनु निकै ठूलो परिघटना साबित भयो ।’

टेलिकममा मुकेश अम्बानीको जियो आएपछि अनिल अम्बानीको समस्याको पहाड थप चुलिएको हरेक व्यक्ति मान्छन् । तीन वर्षभित्र नै जियोका ३० करोड प्रयोगकर्ता भए । टिएसएल, टेलिनर र एमटीएसजस्तै रिलायन्स कम्युनिकेशन्सले पनि ठूलै घाटा व्यवहोर्नुपर्यो ।

जियोले ४जीको प्राइस वारमा सबैलाई पछार्यो । जियोको आगमन अघि नै आरकमको शेयरमा ९.५४ प्रतिशत गिरावट आयो र अक्टोबर २०१७ मा आरकमको शेयर ५.२० प्रतिशतसम्म पुग्यो ।

सन् २०१२ मा आरकमलाई पछार्दै भोडाफोन दोस्रो स्थानमा आयो । सन् २०१६ मा आरकम चौथो स्थानमा आयो । सर्वोच्च अदालतले थुप्रै लाइसेन्स रद्द गर्दा सिबिआई अनुसन्धान पनि भयो ।

अनिल अम्बानीले पनि अदालतको चक्कर लगाउनुपर्यो र उनको कम्पनीको अवस्था नाजुक भएको स्विकार गरे । आरकम ऋणको दलदलमा फस्दै गयो र सन् २०१० मा २५ हजार करोडको ऋण ४३ हजार करोडसम्म पुग्यो ।

शाकाहारी अनिल अम्बानी रक्सी पिउँदैनन् । म्याराथन दौड उनको शौख हो । तर व्यापारको दौडमा उनी लरखराएको कहानी कुनै पनि व्यापारीका लागि कुनै पाठभन्दा कम छैन । हिन्दु पत्रिकासँग एकपटक अनिल अम्बानीले आफू दैनिक दुई घण्टा ट्रेड मिलमा बिताउने र ३० मिनेट योगा गर्ने बताएका थिए ।

अनिल अम्बानीले आफ्नो दाइसँगको प्रतिस्पर्धालाई हरेक स्तरबाट बढाएको बताइन्छ । दुबैले एक अर्काविरुद्ध काम गरेको भन्दै सार्वजनिक रुपमा आरोप लगाए ।

यो यति हदसम्म पुग्यो कि एकपटक मुकेश अम्बानीले आफ्नी श्रीमतीलाई ५.२ करोड डलरको एउटा जेट उपहार दिँदा अनिल अम्बानीले ८ करोड डलरको एक विलासी जहाज उपहारमा दिए ।

मुकेश अम्बानी म्याराथन दौडँदैनन् तर उनी पनि शाकाहारी हुन् । मुकेशलाई मनपर्ने खाना दाल, रोटी र भात हो । न्यूयोर्क टाइम्सले आफ्नो एक लेखमा भनेको थियो, ‘पछिल्लो शताब्दीमा महात्मा गान्धी भारतका सबैभन्दा शक्तिशाली व्यक्ति थिए र अहिले मुकेश अम्बानी भएका छन् ।’

जसका दाइ यति शक्तिशाली छन् उनका भाइ कसरी जेल जान सक्लान् । तर अनिलको समस्या एरिक्सनको ऋणमा मात्र सिमित छैन । यस्तोमा प्रश्न यो उठ्छ कि के मुकेश अम्बानी भविष्यमा पनि अनिलका लागि तयार होलान् ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप