केन्द्रीय संस्करण
कविता

यो होली कसको हो ?

person explore access_timeचैत ६, २०७५ chat_bubble_outline0

-रोजिना विष्ट

होली छ साथी
रङहरू बिक्दैछन्,
रङहरू पोतिदैछन्,
रङहरू रमाइरहेका छन् ।

यी रङहरू उफ्रिन्छन्,
राता, काला, चम्कने, पहेला थरिथरिका रङहरू
रमाइरहेका छन्,
प्रेम, साथ, विश्वास र सम्मानको पर्व

होली छ साथी
तिमी घरभित्र बस्नु
म मेरो दोपट्टामा कालो रङ लिएर आउनेछु
छिट्टै नलगाउनु तिमीले त्यो रङ
आमालाई देखाउनु, बहिनीलाई देखाउनु
सक्छौ भने सबैका बुवाहरू हेरून्, अंकलहरू हेरून्
दाइहरू हेरून्

बालुवा जस्तै चाल्नु, गहुँ जस्तै केलाउनु
आमा आत्तिन्छिन् होली,
बा’ फेरि मलाई दिवारमै थुन्लान्
तर आज होली छ साथी
कसैका लागिमात्र छ साथी
यसपालि साहस नै गर्नु ।

देखाई दिनु ती रङका साना साना कणहरूमा
मेरा कति खुसीहरू जलेछन् भनि
त्यहाँ मेरा हजार कथाहरू मध्ये एउटा आजको कथा छ
सुनाई दिनु ठूलो आवाजमा
बिर्सेर जन्मेकाहरू पनि सुनून्

मलाई पनि रङ छुन मन हुन्छ
सपनाहरू रङ्गाउन मन हुन्छ,
यही समाजमा आफ्नो हाँसोसहित बाँच्ने मन हुन्छ
हरेक बसन्तमा मेरो बसन्त देख्न चाहन्छु
तर हामीहरूको बसन्त हुन नदिन
आफ्नो अस्तित्व बिर्सेका पुरुषहरू तल्लिन छन् ।

यो खबर काठमाडौं बसन्तपुर,
साथीहरूसँग होली मनाउँदै गर्दा,
एकजना अपरिचित केटा मेरो अगाडि आयो,
ऊ रङ सहित मतिर पोखियो
बिना अनुमति मेरो अनुहारमा उसको हात
अनि उसका डरलाग्दा पन्जाहरू मेरा ओठ नजिक पुगे
केही बेरमै उसका हातहरूले
मेरो स्तन, मेरो शरीर र मेरा हरेक अङ्गहरूमा रङ पोत्न थाल्यो
म चिच्याएँ, कराएँ, रोएँ
त्यहाँ मेरो आवाज धेरैले सुने,
त्यहाँ मलाई धेरैले हेरे,
भगवान मेरो एउटा न्यायको प्रश्न छ,
तैले मानिस बनाएको होस्
या अपराधका दर्शकहरु?

सायद
यो समाज तिम्रो मेरो सबैको हो
खुसी तिम्रो मेरो सबैको हो
यो होली तिम्रो मेरो सबैको हो
बुझिदिनु यो रङको पर्व हो भनि ।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...