बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खुसी कसरी हुने ? सद्गुरुले दिए यस्तो जवाफ

बुधबार, ०६ चैत २०७५, १२ : ५९
बुधबार, ०६ चैत २०७५

भारतको चेन्नईस्थित मद्रास क्याम्पसमा विद्यार्थी एवं विभागका सदस्यलाई सम्बोधित गर्ने बेला सद्गुरुले बाहिर परिस्थिती जस्तो सुकै भएपनि खुसी र आनन्दित कसरी हुने भन्ने प्रश्नको जवाफ दिएका थिए । आज विश्व खुसी दिवस (२० मार्च) को अवसरमा हामी उनले दिएको जवाफ यहाँ प्रस्तुत गर्दैछौं ।

यदि अहिले मैले तपाईंलाई अथवा मैले होइन, मान्नुहोस् कि तपाईंका कलेजका डिनले तपाईंलाई भोलिदेखि तपाईंहरु सबैले एक विशेष प्रकारको कपडा लगाउनुपर्छ भन्छन् भने कलेजमा तुरुन्त यसको विरोध भइहाल्छ । त्यसपछि यदि डिनले सबैले बिहानको खानामा चारवटा मात्र इड्ली खानसक्छन्, वा बिहान पाँच बजे नै उठ्नुपर्छ भन्दै यस्तै खालका १० वटा नियम बनाउँछन् वा केही कुराका लागि तपाईंलाई बाध्य बनाइन्छ भने त्यतिबेला तपाईंलाई लाग्छ कि उनले तपाईंलाई दास बनाउन खोजिरहेका छन् र तपाईं आफ्नो स्वतन्त्रताका लागि चिच्याउन र पुकार्न थाल्नुहुनेछ, हो कि होइन ? तर आफूलाई हेर्नुहोस् त यदि अहिले नै कोही अन्य व्यक्तिले तपाईं वरिपरि के हुनुपर्छ भनेर निर्णय गर्छ भने तपाईं एक दासी जस्तो महसुस गर्नुहुन्छ तर यदि अन्य कोही व्यक्तिले तपाईंको भित्र कस्तो हुनुपर्छ भनेर निर्णय गर्छ भने के त्यो दासत्व होइन ?

कोही अन्य व्यक्तिले तपाईंको सुख, दुःख निर्धारण गर्छ भने, के त्यो दासत्व होइन ? तपाईं सुखी वा दुःखी व्यक्ति बन्ने भनेर अरुले नै निर्णय गर्छ भने, के यो दासत्व होइन ? तपाईं भित्र के भइरहेको छ, त्यो अरु कसैले निर्धारण गर्छ भने यो त दासत्वको सबैभन्दा खराब रुप हो, होइन त ? वास्तवमा, सबै मानिसहरु यस्तै हुन्छन् त्यसैले यो सामान्य लाग्छ तर यस्तो होइन, यो सामान्य होइन । किनभने सबै मानिसहरु यस्तै भए भन्दैमा यो कुरा सामान्य हुन सक्दैन ।

तपाईं वरिपरिको जीवन तपाईंले चाहे अनुरुप नै हुन्छ भन्ने छैन । तपाईंले चाहेजस्तो कहिले पनि हुनेछैन । र यस्तो हुनु पनि हुँदैन । किनभने सबैकुरा तपाईंले चाहेकै अनुरुप हुन थाल्यो भने म कहाँ जाने ? मलाई खुसी यो कुरामा छ कि सबैकुरा तपाईंले चाहेजस्तो भइरहेको छैन ।

तपाईं अहिले पनि विद्यार्थी नै हुनुहुन्छ ? यदि हो भने मलाई लाग्छ कि ६०–७० प्रतिशत तपाईंले चाहेको जस्तै भइरहेको छ । जब तपाईंको विवाह हुन्छ, तब यो प्रतिशत ठिक विपरित हुन्छ । हामीलाई थाहा छैन कि यो कुन दिशामा जान्छ । त्यसो भए तपाईंको वरिपरिको जीवन तपाईंले जस्तो चाहनुभएको छ, शतप्रतिशत त्यस्तो हुँदैन र यस्तो हुनु पनि हुँदैन । र यदि तपाईं मेसिनसँग बाँचिरहनुभएको छ भने यस्तो हुनसक्छ । तर उनीहरुले पनि धोका दिन्छन् । के हरेक दिन तपाईंलाई मेसिनले समस्या दिइरहेका छैनन् ? छन् ।

बाहिरी परिस्थिती शत प्रतिशत तपाईंको मनले सोचेको जस्तो कहिले पनि हुँदैन । यो तपाईंभित्रको सुखद अनुभव वा दुःखद अनुभव हो । सुखद अवस्थाको हामीसँग थुप्रै नाम छन् । हामी यसलाई शान्ति, खुसी, आनन्द, परमानन्द भन्छौं । दुःखद अवस्थाका पनि हामीसँग थुप्रै नाम छन् । तनाव, डर, पागलपन आदि इत्यादि । सुखद भर्सेस दुःखद अवस्था । यदि तपाईंको सुखद अवस्था तपाईं वरिपरिको घटनामाथि निर्भर छ भने तपाईं सधैंभरी सुखी हुने सम्भावना निकै कम छ, हो नि ? जतिबेला मानिसहरुको जीवनमा राम्रो पल आउँदैन, तब मानिसहरुको माथितिर भगवानलाई हेर्ने बानी हुन्छ । संसारभरीका मानिसहरु माथितिर हेरिरहेका छन् । तपाईंलाई थाहै होला कि यो ग्रह गोलो छ । तपाईंलाई थाहा छ नि । यो ग्रह गोलो छ र तपाईं उत्तरी ध्रुवमा बसिरहनु भएको छैन । तपाईं चेन्नईमा हुनुहुन्छ । ट्रपिकल जलवायुको बीचमा हुनुहुन्छ । र यो ग्रह गोलो गरेर घुमिरहेको छ । र यदि तपाईं माथितिर हेर्नुहुन्छ भने तपाईं सधैं गलत दिशामा हेरिरहनुभएको छ । तपाईं सधैं गलत दिशामा नै हेरिरहनुभएको छ । हुनसक्छ कि कुनै ग्रीनविच मीन टाइम वा जिरो आवरको क्रममा तपाईंले माथितिर हेर्नुभयो भने निशाना सायद स्वर्गतिर नै लाग्नसक्ला । बाँकी समय त तपाईं गलत दिशामा नै हेरिरहनुभएको छ, होइन त ?

यो अनन्त ब्रम्हाण्डमा कसैलाई माथि कहाँ हो र तल कहाँ हो भनेर थाहा छ ? कसैलाई थाहा छ ? कसैलाई थाहा छैन कि माथि के छ र तल के छ ? हामीले यस्ता कुराको कल्पना मात्रै गरिरहेका छौं, हो नि ? के कसैलाई साँच्चैको थाहा छ कि उत्तर र दक्षिण दिशा कहाँ छन्, थाहा छ ? हामीले यी सबै कुरा आफ्नो सुविधाको हिसाबले निश्चित गरेका छौं, हो कि होइन ? के तपाईंलाई पूर्व र पश्चिम के हो थाहा छ ? छैन । के तपाईंलाई अगाडि के छ र पछाडि के छ भनेर थाहा छ ? तपाईंलाई थाहा छैन । यीमध्ये तपाईंलाई केही पनि थाहा छैन । तपाईंलाई एउटै कुरामात्र थाहा हुनसक्छ कि बाहिर के छ र भित्र के छ । यो एउटा कुरा तपाईंलाई पक्कै थाहा छ ।

तपाईं भित्र के छ र बाहिर के छ, यही एउटा कुरा मात्र तपार्ईंलाई आधिकारिक रुपमा थाहा छ । यदि कुनै दिन तपाईं प्रबुद्ध वा इन्लाइटेन्ड हुनुभयो भने यो ज्ञान पनि तपाईंको हातबाट फुस्कनेछ । साँच्चै हो,  ममाथि यही त भयो । अब मलाई थाहा छैन कि भित्र के छ र बाहिर के छ । म के हुँ र को हुँ भन्ने मलाई थाहा छैन । त्यसैले त म संसारभरी घुम्छु ।

अब तपाईं भन्न सक्नुहुन्छ कि भित्र के छ र बाहिर के छ । आउनुहोस् यसबारे थप जाँच गरौं । के तपाईंले अहिले मलाई देखिरहनुभएको छ ? तपाईंलाई थाहा छ कि म एक दिव्यदर्शी हुँ । तपाईंले बुझ्नुभएन । अब ममाथि यो प्रकाश परिरहेको छ । यो रिफ्लेक्ट भएर तपाईंको लेन्समा गएर रेटिनामा उल्टो चित्र बनाइरहेको छ । तपाईंलाई यो सबै थाहा छ नि । अहिले तपाईंले मलाई कहाँ देखिरहनुभएको छ ? आफूभित्र । तपाईं मलाई कहाँ सुनिरहनुभएको छ । आफूभित्र ।  तपाईंले सारा संसार कहाँ देख्नुभएको छ ? आफूभित्र । के तपाईंले आफूबाहिरका केही कुराको अनुभव गर्नुभएको छ ? तपाईंसँग जे भइरहेको छ, अँध्यारो र उज्यालो, तपाईं भित्र भएको छ । दुःख सुख तपाईं भित्र भएको छ । आनन्द र पीडा तपाईं भित्र भएको छ । के तपाईंले कहिले आफ्नो बाहिरको कुराको महसुस गर्नुभएको छ ? छैन । त्यसकारण म तपाईंलाई सोध्न चाहन्छु कि, जे कुरा तपाईं भित्र भइरहेको छ, त्यो कस्तो होस् भनेर कसले तय गर्ने हो ? अरु कसैलाई ? निश्चित रुपमा यो तपाईंले नै निर्णय गर्नुपर्छ कि तपाईंभित्र के भइरहेको छ, हो नि ? यदि तपाईंले आफूभित्र के हुने भनेर आफैं निर्णय गर्नुहुन्छ भने तपाईंको पूरा जीवनको अनुभव तपाईं अनुसार नै निर्धारण हुनेछ । यसलाई तपाईंबाहेक अन्य कोही व्यक्तिले तय गर्न सक्नेछैन । तपाईं आफ्नो वरिपरिको घटना आफैंले तय गर्न नसक्ने हुनुहोला तर यो ग्रहमा जीवनको आफ्नो अनुभव पूरा शत प्रतिशत तपाईंद्वारा नै तय हुनेछ । बस तपाईंले यसको बागडोर आफ्नो हातमा सम्हाल्नु पर्ने हुन्छ । यदि तपाईंले यसलाई छोड्नुभयो भने कोही अर्को व्यक्तिले सम्हाल्नेछ, उनीहरुले पनि जानीजानी यस्तो गर्ने छैनन्, उनीहरुले पनि अञ्जानमा यस्तो गर्नेछन् किनभने उनीहरु पनि तपाईंजस्तै बेहोसीमा बाँचिरहेका छन् ।  

सद्गुरु जग्गी वासुदेव एक लेखक हुन् । उनलाई सद्गुरुको नामले चिनिन्छ । उनी इशा फाउन्डेशन संस्थानका संस्थापक हुन् । इशा फाउन्डेशन संयुक्त राज्य अमेरिका, इंगल्याण्ड, लेबनान, सिंगापुर र अष्ट्रेलियामा योग कार्यक्रम सिकाउनुका साथै थुप्रै सामाजिक र सामुदायिक विकास योजनामाथि पनि काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप