केन्द्रीय संस्करण
अन्तराष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवस

‘विस्तारै विस्तारै त मृत्यु मात्र आउँछ, परिवर्तन त अहिले र तत्कालै हुनुपर्यो नि !’

जातीय विभेदको समस्या शहर र गाउँ दुवै ठाउँमा भयावह छ : प्रदिप परियार, समता फाउण्डेसनका अध्यक्ष

person explore access_timeचैत ७, २०७५ chat_bubble_outline0
जातीय विभेदको ज्यूँदो नमूनाः टिकापुर कैलालीमा दलितहरुका लागि मात्रै बनाइएको धारा । Photo: idsn.org

जातीय भेदभाव र छुवाछुत अनि रंगभेदका घटना आजको भोलि रातारात जन्मेको समस्या होइन । यो संसारभरि नै युगीन समस्याको रुपमा चल्दै आएको, मानवतामाथि नै कलंकको रुपमा स्थापित समस्या हो । नेपालकै सन्दर्भमा कुरा गर्दा पनि जाति तथा रंगभेद ऐतिहासिक कालदेखि नै चल्दै आइरहेको पाइन्छ । कथित वर्णवादी व्यवस्थाले समाजमा लादेको जातीय विभेदका शिकार मूलतः दलितहरु भइरहेका छन् भने कालो वर्णको भएकै कारण मूलतः मधेशी समुदायका मानिसहरु रंगभेदी शिकार बन्ने विडम्बनाजनक स्थिति अझै पनि नेपालमा विद्यमान नै छ ।

नेपालको संविधानले छुवाछुत विरुद्धको हक भनेर स्पष्ट व्यवस्था गरेको छ । जातीय विभेद र छुवाछुत उन्मुलनको लागि २०६८ मा ऐन पनि बनेको छ । यस्तो अवस्थामा कसरी देशमा जातपात र छुवाछुतको अवस्था कस्तो छ र त्यसलाई कसरी उन्मुलन गर्न सकिन्छ भन्ने सन्दर्भको सेरोफेरोमा केन्द्रित भएर समता फाउण्डेसनका अध्यक्ष प्रदिप परियारसँग रातोपाटीकी सुनिता न्यौपानेले कुराकानी गरेकी छिन् ।

शहरमा ठीक छ, गाउँमा बदलिएको छैन भन्ने सोचाइ ठीक छैन । शहरमा विभेदको प्रकृति फेरिएको छ । प्रत्यक्ष मानिसले विभेद गर्दैनन् तर अप्रत्यक्ष रुपमा शहरमा धेरै विभेद रहेका छन् ।

नेपालमा जातीय विभेदको वर्तमान अवस्था कस्तो छ ?

नेपालमा संविधान र कानूनको दृष्टिकोणले हेर्दा जातीय व्यवस्था र छुवाछुत उन्मुलन भइसकेको छ । त्यसरी हेर्दा राम्रो देखिन्छ । तर छुवाछुतको उन्मुलन भए पनि दिनदिनै यस्ता घटना देशैभरि भइरहेका छन् । मानिसहरु मारिने शृङ्खला पनि कायमै रहेको छ । यसले के देखाउँछ भने हाम्रो संविधान जत्ति नै राम्रो भएपनि कार्यान्वयनको दृष्टिकोणले साह्रै फितलो रहेको छ । त्यो कारणले गर्दा अहिलेको अवस्था जटिल रहेको छ ।

शहरतिर जातीय छुवाछुतको घटना उन्मुलन भएजस्तो देखिएपनि गाउँमा अवस्था उस्तै छ भन्ने भनाइ कत्तिको सत्यको नजिक छ ?

हामीले यो दृष्टिकोण अलिकति बदल्नुपर्ने हुन्छ । शहरमा ठीक छ, गाउँमा बदलिएको छैन भन्ने सोचाइ ठीक छैन । शहरमा विभेदको प्रकृति फेरिएको छ । प्रत्यक्ष मानिसले विभेद गर्दैनन् तर अप्रत्यक्ष रुपमा शहरमा धेरै विभेद रहेका छन् । उदाहरणको लागि, दलितसंगै बसेर खान मन लागेन भने मेरो फोन आयो भनेर मोबाइल लिएर बाहिर निस्किने गर्छन् । काठमाडौँमा सांसदले डेरा नपाएको कुरा पनि सुन्नमा आइरहेको छ । अवस्था भयावह छ । यो शहरमा पनि छ, यो गाउँमा पनि छ । दुवै ठाउँमा छ ।

नेपालमा जातीय विभेदको स्वरुपहरु के के देख्नुहुन्छ ?

अन्तरजातीय विवाहको ठूलो समस्या छ । अन्तरजातीय विवाहकै कारण दुई वर्षअगाडि मारिएका अजित मिजारको लास त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा अझै सदगद कुरेर रहिरहेको छ ।

विभेद स्वरुपको देखिने गरी जातको आधारमा हिंसा हुने र मानिसहरु मारिने एउटा भयो । दास्रो अन्तरजातीय विवाहको ठूलो समस्या छ । अन्तरजातीय विवाहकै कारण दुई वर्षअगाडि मारिएका अजित मिजारको लास त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा अझै सदगद कुरेर रहिरहेको छ । अन्तरजातीय विवाह गरेकै कारण मानिस मारिन्छ भने हामी कहाँ छौँ भनेर हामीले सोच्नुपर्ने अवस्था रहेको छ ।

नेपालमा विभेदका प्रकृति धेरै छन् । जातको आधारमा गरिने, होटलमा हुने, सार्वजनिक स्थलमा हुने आदि । राज्य संयन्त्रभित्र पनि विभेद रहेको छ । जति नै उपल्लो स्थानमा पुगे पनि ए दलित न हो भन्ने खालको दृष्टिकोण अद्यावधि कायमै छ । आजभोलि देखिनेभन्दा नदेखिने प्रकृतिका विभेद धेरै छन् ।

जातीय विभेदको सवाल विशुद्ध जातजातिसँग मात्रै जोडिएको सवाल हो कि यो वर्गीय सवालसँग पनि जोडिएको हुन्छ ?

यो दुईटै कुरा हो । मुख्यतः धेरै मानिसले त यो वर्गीय कुरा हो, वर्गीय मुक्ति भएपछि जातीय विभेदको सवाल सकिन्छ भन्छन् । तर यथार्थता त्यस्तो होइन । विगत करिब तीन हजार वर्षदेखिको लामो इतिहास भएको छुवाछुतको कुरा वर्गसँग मात्र जोडिएको वा त्यसैमा मात्रै सीमित छैन । उदाहरणको लागि काठमाडौँमा ठूलो घर भएको सम्पन्न मानिसले पनि कथित अछुत भनेर जातको आधारमा विभेद खेप्नुपरेको छ । तपाईं सम्पन्न वा धनी हुँदैमा यो मुद्दा सकिने त होइन ।

त्यसो त यो वर्गीय मुद्दा पनि हो । दलितहरु अधिकांश गरिब भएको कारणले धेरै समस्या भोग्नु परेको छ । गरिब भएको कारणले राम्रो शिक्षा छैन । शिक्षा राम्रो नभएको कारणले रोजगारी राम्रो छैन । रोजगारी नभएपछि अवस्था पछाडि पर्ने नै भयो । तर वर्गसँगसँगै जातलाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन ल्याउन जरुरी छ । जातको कारणले धेरै विभेद खेप्नुपरेको छ । यो दुइटा अलगअलग कुरा हो । एउटै हो भनेर बुझ्नुहुन्न ।

images.huffingtonpost.com

नेपालमा अधिकांश हिन्दुहरुको बाहुल्यता भएको कारणले गर्दा दलितहरु पनि अधिकांश हिन्दु नै छन् । उनीहरुले जातीय आधारमा नै मन्दिरहरुमा प्रवेश गर्न नपाउने लगायतको दैनिक जीवनमा जुन खालको निषेध र विभेद भोगिरहनु भएको छ, त्यसको फलस्वरुप मन्दिर प्रवेश आन्दोलन भएको हो ।

कतिपयले जातीय विभेदलाई हिन्दु धर्मले तोकेको वर्ण व्यवस्थासँग जोडेर हेर्ने गर्छन् । तपाईंको विचारमा के यो यो धर्मसँग नै जोडिएको विषय हो त ?

हो, यो धर्मसँग जोडिएर आएको छ । तपाईंले दलित आन्दोलनलाई हेर्नुभयो भने सुरु सुरुको दलित आन्दोलनमा पशुपति मन्दिर प्रवेश आन्दोलन, डोटीको सैलेश्वरी मन्दिर प्रवेश आन्दोलन लगायतका घटनाक्रमहरुमा मन्दिर प्रवेशमा धेरै केन्द्रित भएको देखिन्छ । त्यो हिसाबले हेर्दा यो धर्मसँग जोडिएको कुरा छ । नजोडिएको भन्न मिल्दैन ।

नेपालमा अधिकांश हिन्दुहरुको बाहुल्यता भएको कारणले गर्दा दलितहरु पनि अधिकांश हिन्दु नै छन् । उनीहरुले जातीय आधारमा नै मन्दिरहरुमा प्रवेश गर्न नपाउने लगायतको दैनिक जीवनमा जुन खालको निषेध र  विभेद भोगिरहनु भएको छ, त्यसको फलस्वरुप मन्दिर प्रवेश आन्दोलन भएको हो । यस हिसाबले हेर्दा जातीय विभेदको सवालको हिन्दु धर्मसँग अन्योन्याश्रीत सम्बन्ध छ ।

दक्षिण एसियाको कुरा गर्दा भारतमा पच्चिस करोडभन्दा बढी दलितहरु छन् । अधिकाँश दलितहरुमा धर्म परिवर्तनको कुरा पनि छ । हिन्दु धर्मभित्र जति नै राम्रो कुरा भएपनि एउटै धर्म मान्ने मान्छेलाई विभेद गरेर यो धर्म अगाडि जान सक्दैन । त्यसकारणले धेरै मानिस धर्म परिवर्तन गरिरहेका छन् । धर्म भनेको व्यक्तिको भित्र गडेको कुरा हो । त्यो कारणले निकाल्न पनि एकदम गाह्रो छ । पण्डितहरुले अगुवाई गरिरहनु भएको छ उहाँको भूमिका ठूलो छ । एउटै धर्म मान्ने मानिसलाई दुई खालको व्यवहार गर्ने तरिकाले यो अगाडि जान्छ जस्तो मलाई लाग्दैन ।

हिन्दु धर्म बाहेक अरु धर्ममा भेदभाव छैन ?

अरु धर्ममा पनि छुवाछुत छ भन्ने कुरा सुनिएको छ । धर्म परिवर्तनको बारेमा मैले धेरै अध्ययन नगरेको हुनाले त्यसबारेमा मैले त्यति धेरै कुरा नगर्दा वेश होला । तैपनि धर्म परिवर्तन गरेर अरु धर्ममा गएकाहरुले पनि विभेद भोगिरहेका छन् भन्ने कुरा अनुभवले देखाउँछ । तर हिन्दु धर्म जस्तो सबै धर्ममा छुवाछुत छैन ।

आजभोलि धार्मिक कर्मकाण्डमा पनि दलितहरुलाई ससम्मान सहभागी गराउने, सहभोजको आयोजना गर्ने क्रम बढेको पाइन्छ । यसले चाहिँ के कुराको संकेत गर्छ जस्तो लाग्छ तपाईंलाई ?

दलित आन्दोलनमा पहिले सहभोज आन्दोलन, मन्दिर प्रवेश आन्दोलन ठूलो आन्दोलनको रुपमा चल्दै आएको छ ।

म गाउँमा गएर कुनै भोजमा गए भने मलाई त्यहाँ जाने कि नजाने, गयो भने मानिसले के व्यवहार गर्लान ? भनेर ठूलो प्रश्न मैभित्र हुन्छ

उदाहरणको लागि म गाउँमा गएर कुनै भोजमा गए भने मलाई त्यहाँ जाने कि नजाने, गयो भने मानिसले के व्यवहार गर्लान ? भनेर ठूलो प्रश्न मैभित्र हुन्छ । जसले आयोजना गर्छन् उनीहरुले विभेद नै गर्छु भनेर आयोजना नगरे पनि कतै न कतै विभेद भने भइरहेको छ ।

दलित भनिएका समूहभित्र नै पनि जातीय विभेद हुने गरेको, एउटा जातले अर्को जातलाई अछुत वा तल्लो जात भनेर जातीय विभेद गर्ने गरेको करा आउँछ नि ! यो कुरामा कत्तिको सत्यता छ ?

छ । किनभने ‘फुटाउ र राज गर’ भन्ने प्रवृत्तिले यो किसिमको प्रणालीको निर्माण गरिएको छ । विभेदकै कुरा गर्ने हो भने दलितमा मात्रै किन, बाहुनभित्र पनि विभेद छ । क्षेत्रीभित्र पनि विभेद छ । तर यहाँ भन्ने बेलामा चाहिँ दलितभित्र ठूलो विभेद छ, आ– आफै मिल्दैनन् भनेर ठूलो प्रचारप्रसार गरिन्छ । तर बाहुनभित्र वा अन्य जातिहरुमा हुने अन्तरजाति विभेदको बारेमा खासै कुरा गर्ने र प्रश्न उठाउने गरिन्न । किन त्यस्तो भइरहेको छ भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

खासमा, अरुलाई दोष लगाएर आफू मुक्त हुने खालको चलन बसेको छ । तपाईहरुको आफ्नै मिलाउनुहोस् न पहिले । तपाईहरुको आफ्नै विभेद छ भन्ने गरिन्छ । त्यो विभेद नभएको होइन, हामीले त्यसको लागि पनि काम गर्नुपर्छ ।

हिजोको तुलनामा आजको जातीय विभेदको स्थिति कस्तो छ ?

हामीले कहिलेसम्म पर्खिने परिवर्तनको लागि ? हामीले खोजेको त अहिले हो । यो निकृष्ट कुरा त अहिले परिवर्तन हुनुपर्छ भन्ने हो । विस्तारै विस्तारै भएको परिवर्तनले पुग्दैन ।

सुधारिएको छ । मैले स्कुल पढ्ने बेला र अहिलेको बेलामा धेरै परिवर्तन भएको छ ।  मैले स्कुल पढ्ने बेलामा स्कुलको गाग्री पनि छुन मिल्दैनथ्यो  । आजभोलि मजाले मिल्छ । तर मुख्य प्रश्न के हो भने एक्काइसौँ शताब्दीमा विस्तारै विस्तारै मात्र परिवर्तन भएको छ । एकजना भारतीय कविले के भन्नु भएको छ भने ‘विस्तारै विस्तारै त मृत्यु मात्र आउँछ, परिवर्तन त अहिले र तत्कालै हुनुपर्याे नि !’ हामीले कहिलेसम्म पर्खिने परिवर्तनको लागि ? हामीले खोजेको त अहिले हो । यो निकृष्ट कुरा त अहिले परिवर्तन हुनुपर्छ भन्ने हो । विस्तारै विस्तारै भएको परिवर्तनले पुग्दैन । हामीले छलाङ मार्ने खालको परिवर्तन ल्याउनु जरुरी छ ।

दलित मुक्तिका कुरा गर्दा तत्सम्बन्धी कार्यक्रमहरु बढी राजधानी केन्द्रित हुन्छन्, भुइँतहमा खासै हुँदैनन् । राजधानीमा कार्यक्रम गरेर गाउँमा परिवर्तन हुन्छ ?

राजधानीमा कार्यक्रम गरेर हामीले नीतिनिर्णायक ठाउँमा दवाब सिर्जना गरेर नीतिमा परिवर्तन ल्याउन खोजेका छौँ ।

छुवाछुत उन्मुलनका लागि कसको भूमिका कस्तो रहन्छ ?

पहिलो कुरा राज्यले बनाएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्याे । राज्यमा दलितकोसमानुपातिक प्रतिनिधित्व हुनुपर्याे । अहिले कतिजना महत्वपूर्ण पोजिसनमा छन् ? अहिले प्रदेश सरकार बनेको छ । एकजना पनि दलित मन्त्री बनेका छैनन् । के प्रदेशमा दलीत मन्त्री बन्न सक्ने कोही छैनन् ?

सक्षमताको कुरा आउला फेरि । अहिले भएका सक्षम मानिसले देश बनाइरहेका छन् त ? दलितहरु असक्षम छन् भन्ने कुरा गलत हो । यो देशलाई चलायमान बनाउने कसले हो ? गाउँमा सिलाउने मानिस नभएको भए के कपडा लगाउँथे मानिसले ? फलाम कुट्ने मानिस नभएको भए कसरी खेत जोतिन्थ्यो ? जुत्ता बनाउने मानिस नभएको भए खाली खुट्टा हिँड्थे मानिस । अहिले पो रेडिमेट छ सबै कुरा ।

गएको तीस पैतिस वर्ष अगाडि कसरी समाज चलेको थियो ? एकपटक हेर्नुपर्याे नि । उनीहरु त खासमा नेपालमा इञ्जिनियर हुन् । असक्षम भन्ने प्रश्न नै छैन । यहाँ त जसले गफ गरेर काम नगरी खान्छ, त्यो मानिसलाई मात्र सक्षम भनिने भए ।  त्यो कारणले यो परिभाषा पनि हामीले बदल्नुपर्ने हुन्छ ।

हाम्रो भूमिका भनेको हामी आफैले महसूस गर्नुपर्याेः हामीले हामीजस्तै मानिसलाई विभेद गरेर हामी कसरी अगाडि जान सक्छौँ ?

राज्यका सम्पूर्ण निकायहरुमा दलित वर्गको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरिनुपर्छ । हाम्रो भूमिका भनेको हामी आफैले महसूस गर्नुपर्याेः हामीले हामीजस्तै मानिसलाई विभेद गरेर हामी कसरी अगाडि जान सक्छौँ ? समाजमा विभेद गर्ने मानिस सम्मानित रुपमै हिडिँरहेको हुन्छ । त्यो विभेद गर्ने मानिस त खत्तम मानिस हो भनेर पुर्नपरिभाषित गर्नुपर्याे । त्यो गर्न सक्यौँ भने यो जातीय विभेदको अन्त्य हुन जान्छ । अतः जातीय विभेद उन्मूलनको लागि यसमा सबैको भूमिका जरुरी र महत्वपूर्ण छ । एकजनाले, एउटा संस्थाले मात्रै गरेर यो उन्मुलन हुँदैन ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...