शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा अब सेमी–अटोमेटिक हतियार राख्न प्रतिबन्ध

बिहीबार, ०७ चैत २०७५, ११ : ५१
बिहीबार, ०७ चैत २०७५

बीबीसी

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डर्नले क्राइस्टचर्चको मस्जिदमाथि भएको हमलामा प्रयोग भएको सेमी–अटोमेटिक हतियारको प्रयोगमा प्रतिबन्ध लागेको बताएकी छिन् ।

गत शुक्रबार दुई मस्जिदमा हमला गरेर एक बन्दुकधारीले ५० जनाको हत्या गरेका थिए । त्यसपछि न्यूजिल्याण्डमा बन्दुक खरिद र राख्ने नियममा बहस भइरहेको थियो ।

प्रधानमन्त्री अर्डर्नले बन्दुकसँग जोडिएको नयाँ नियम ११ अप्रिलसम्म आउन सक्ने जानकारी दिएकी छिन् ।

उनका अनुसार यस्ता हतियार भएका मालिकसँग यो फिर्ता लिनका लागि औपचारिक नियम बनाइने छ ।

अर्डर्नले भनिन्, ‘हामी हमलाको ६ दिनपछि, हामी न्यूजिल्याण्डमा सबै सेमी–अटोमेटिक (एमएसएसए) र असल्ट राइफलमाथि प्रतिबन्धको घोषणा गरिरहेका छौं ।’

‘यी बन्दुकलाई एमएसएसएमा बदल्नका लागि प्रयोग गरिने सम्बन्धित पार्टस् र सबै उच्च क्षमता भएको गोलीमाथि पनि प्रतिबन्ध लगाइँदैछ ।’

अधिकारीको अनुमान अनुसार यी हतियारलाई प्रयोगकर्ताबाट पुनः विक्रि गर्न करिब सयदेखि दुई सय मिलियन डलर खर्च हुने अर्डर्नले बताएकी छिन् । यसबारे उनी भन्छिन्, ‘तर हामी आफ्नो समुदायलाई सुरक्षित राख्नका लागि यो मूल्य जसरी पनि चुकाउनु पर्छ ।’

एआर–१५ समेत सेमी–अटोमेटिक राइफल भएका एक्ला बन्दुकधारीले गत शुक्रबार मस्जिदमा गोलीबारी गरेर थुप्रैको ज्यान लिएका थिए । उनले आफ्नो हतियारमा उच्च क्षमता भएको म्यागजिनका लागि विशेष परिवर्तन गरेका थिए ।

अष्ट्रेलियाली ब्रेन्टन ट्यारेन्टले न्यूजिल्याण्डमा सन् २०१७ मा बन्दुकको लाइसेन्स पाएका थिए ।

यो नयाँ नियमबाट हतियार मालिकमाथि पर्ने प्रभावको विषयमा अर्डर्नले भनिन्, ‘मलाई थाहा छ, तपाईंमध्ये धेरैले कानूनको दायरामा बसेर नै हतियार लिनुभएको होला । म विश्वास गर्छु कि न्यूजिल्याण्डका धेरैजसो बन्दुक मालिकले यो कदम राष्ट्र हितका लागि उठाइएको कुरा बुझ्नुहुनेछ ।’

न्यूजिल्याण्डका गृहमन्त्री स्टुअर्ट नेशले भने, ‘म याद दिलाउन चाहन्छु कि बन्दुक राख्नु न्यूजिल्याण्डको नीजि अधिकार नभई एक विशेषाधिकार हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप