शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अझै तिमी फेरिएका छैनौ !

बिहीबार, ०७ चैत २०७५, २३ : ५९
बिहीबार, ०७ चैत २०७५

 

 

हो, तिमी खानपानमा फेरिएका छौ  बिस्ट,
जाँड पाए जति पनि धोक्छौै
कुखुराका सपेटा पाए जति पनि टोक्छौ
सुंगुरका सुकुटी अझ स्वाद लिएर चपाउँछौै ।
हिजो दूध दही घिउ खान्थ्यौ
आज भट्टीमा छिरेर तोङ्वा तान्छौ
हिजो खसीको कवाफ खान्थ्यौ
आज भैँसीको छोएला कचिला पनि खान्छौ ।
खान्छौ तिमी सित्तै पायौ भने अझ उठ्नै नसक्नेगरी पनि खान्छौ
सुटुक्क पाए तिमी आज हाम्रो भान्छामा पनि खान्छौ ।
मौैका मिल्दा शहरका होटलहरुमा सँगै बसेर पनि खान्छौ
हो, तिमी खानपानमा फेरिएका छौ
विचार र ब्यवहारमा तिमी आज पनि फेरिएका छैनौ ।

हिजो अछूत भनेर हामलिाई नानाथरी नाममा चिन्थ्यौ
आज दलित नाम राखेकाछौ त्यसै नाममा चिन्छौ ।
दलनकै मानसिकता भिरेर चिन्छौ
अझै गाउँबस्तीमा पुग्दा तिमी
अरुले देख्ने गरी हामीसित बसेर खाँदैनौ ।
हामीलाई आफ्नो घरभान्छामा लाँदैनौ ।
शहरका प्रगतिशील तिमी गाउँ पसेपछि मनुवादी बन्छौ
तिम्रा छोरीलाई हाम्रा छोरासित विवाहको अनुमति दिँदैनौ
न तिमी हाम्री छोरीलाई बुहारी बन्न अनुमति दिन्छौ
एकान्तमा हाम्रा छोरीबुहारीको अस्मित्व लुट्न पाए त आज पनि लुट्छौ ।

तिमी अझै फेरिएका छैनौ
आज पनि हामी तिम्रा घरमा डेरा पाउँदैनौं
आज पनि तिम्रो घरमा हाम्रो प्रवेश निषेध छ
आज पनि तिम्रो घरमा श्राद्ध हुँदा हामी बोलाइँदैनौं
तिम्रो श्रद्धामा हाम्रो प्रवेश निषेध छ आज पनि ।
हामीसित भोट लिएर चुनाव जित्न सक्छौ
भोट दिएर हामीलाई जिताउन अझै सक्दैनौ
समावेशिताको नारा दिन सक्छौ
समावेशीहुन सक्दैनौ ।
समानताको नारा दिन सक्छौ
वस्तविक समानतासित अझै, तिम्रो चिनाजानी छैन ।
शव्दमा त तिमी हामीलाई लोकतन्त्र दिनसक्ने भएकाछौ,
व्यवहारमाअझै कन्जूस छौ
हामीलाई सद्व्यवहारसम्म पनि दिन सक्दैनौ
हिजो गरिआएका दुव्र्यवहार सवै दिन सक्छौ ।
तिमी अझै फेरिएका छैनौ ।
          ++++
विगतमा तिमीबाट हामीले अनगिन्ती कुटाइ खाएका छौं
बर्षभरीका कामको बनीबुतो नदिँदा विकराल दुःख पाएका छौं
तिमीलाई बाटो छोड्दा कति हामी भीरबाट खुर्मुरिएका छौं, मरेका छौं
कहिल्यै सम्वेदना पाएका छैनौं हामीले तिमीबाट !
यति हुँदा पनि हामी छौं !
कहिले त अचम्म लाग्छ, हामी कसरी अझै बाँकी छौं ! ! ?

यथार्थमा तिमी हाम्रो श्रमशिल्प चुसेर हल्केका छौ
हामी भित्रभित्रै तिमीसित जुधेर बाँचेका छौं
तिम्रा आक्रमणबाट जोगिएर बाँचेका छौं ।
तिम्रो वेदले हाम्रा कानमा लाहा पगाल्दै आएको छ
हामीले हाम्रो वेद अझै लेख्न पाएका छैनौं ।

हो, हाम्रो श्रम शिल्को औजारमा यहाँ आन्दोलनहरु भएका छन्
पुराना दराजमा नयाँ कलेवरमा कितावहरु प्नि आएका छन् ।
हाम्रा आन्दोलनका थप्पडले समय पनि किन्चित् रन्थनिएको छ
तिमीहरु रन्थनिएका छौ
तिम्रा मनुस्मृतिहरु दुब्लाएका छन्
साविकको तिम्रो बाटो भत्किएको छ
सिपमा त हामी अगाडि थियौं, थियौं
ज्ञानमा पनि आज अगाडि सरेर उभिएका छौं
तिमी जहाँ पुग्छौ तिम्रा नाकै अगाडि उपस्थित छौं हामी
जति भाग, तिमी आज हाम्रो निगरानीमा छौ

यति हुँदा पनि
तिमी अझै फेरिएका छैनौ
तर
फेरिन वाध्य बन्दैछौ ।
हे सिरानघरे बिष्ट,
नातिका पालासम्ममा त तिमी अवश्य फेरिन्छौ ।

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदारमण नेपाल
शारदारमण नेपाल
लेखकबाट थप