शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आस्था महिला विद्यालयः शिक्षाबाट बञ्चित महिलाहरुको सहयात्री

शुक्रबार, ०८ चैत २०७५, १८ : ३७
शुक्रबार, ०८ चैत २०७५

भक्तपुर–भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयले विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलताका साथ पुरा गर्न सकिन्छ । मानिसलाई कतिपय कार्य गर्न उमेरले छेक्छ भन्ने परम्परा छ । वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेको हालसम्म सातौं व्याचले एसईई दिइसकेका छन् । 

हाल विद्यालयले आभारभूत तहका विद्यार्थीसँग सामान्य शुल्क लिने गरेको निमित्त प्रार्चाय विना देउजाले जानकारी दिईन् । अर्काको घरमा काम गरेर, घरको काम सकेर छोराछोरीलाई विद्यायल पढाउदैं आफु पनि पढ्नेहरु नै यहाँ आउने गरेका छन् । हाल सबै कक्षामा गरेर २ सय जना महिलाहरु विद्यालयमा अध्ययन गर्दैछन् ।  

शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले वि.सं. २०६४ सालदेखि सञ्चालित यो विद्यालयमा समस्या पनि छ । २०६५ सालदेखि कक्षा सञ्चालन भएपनि भाडाको घरमा विद्यालय चलिरहेको छ । 

विद्यालयकी सहायक प्रार्चाय देउजाका अनुसार हाल १४ जना शिक्षिकाहरु कार्यरत छन् । जसमा दुई जनामात्र सरकारी तलब लिने छन् । विद्यालय सञ्चालनको लागि मध्यपुरथिमि नगरपालिकाले पनि वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएको छ । 

३२ वर्षे बुद्धिमाया लामाले शिक्षाको महत्व बुझेपछिः 
लामा तत्कालिन नेकपामा माओवादीमा लागिन् । उक्त समयमा जनयुद्धमा सामेल हुँदा नेताहरुले बुर्जुवा शिक्षा पढेर काम छैन भनेको हो जस्तै लाग्थ्यो सुरु सुरुमा । १२ बर्षकै उमेरमा बुबा बेपत्ता भएपछि र आमाले पनि छोडेर अन्तै गए पछि उनी लहैलहैमा माओवादी जनयुद्धमा लागिन् । तर बुझ्ने भएपछि उनले पढ्नै पर्ने रहेछ भन्ने महसुस गर्दै २०६० सालमा जनयुद्ध त्यागिन् ।

त्यसबेला पढ्न खोज्दा पनि बिहे भएकाले पढ्ने माहौल भएन । उनले महसुस गरिन्, आखिर बुर्जुवा शिक्षा भनिए पनि नपढी केही काम रहेनछ । तर पछि श्रीमान बिदेश गएपछि मोवाईल चलाउन र बैंकमा जाँदा समेत पढाई नभएकाले अप्ठ्यारो भएपछि उनले पढ्ने निर्णय गर्दै महिला आस्था विद्यालय गठ्ठाघर आईपुगिन् ।

काभ्रेकी लामा शहर आएपछि यहाँको वातावरणले पनि पढ्न प्रेरित गरेको बताउँछिन् । आईतबारदेखिको यस बर्षको एसईई परीक्षामा सामेल हुँदै गरेकी ३२ वर्षिया लामा सक्दो पढेर राजनीतिक नेतृत्वमा पुग्ने चाहना रहेको सुनाउँछिन् । उनी भन्छिन्,‘अहिले हिजो बुर्जुवा शिक्षाको काम छैन भन्नेहरुले नै यो देशमा राज गरेका छन् आखिर नपढेका र युद्ध लडेका र ईमान्दार पुर्वक काम गरेका ब्यक्ति त दुखद अवस्थामा छन् ।’

५३ वर्षमा पढ्ने धोकोः 

आस्था विद्यालयमा अध्ययनरत ५३ वर्षीया मीना आलेमगर दैनिक बिहान ३ बजे उठ्छिन्, खाना बनाउने लगायत घरको बिहानको काम सक्छिन् र दौडिन्छिन् पढ्न । उनको यो बिगत ६ बर्ष देखिको दैनिकी हो । उनी यस बर्षको एसईई परीक्षामा सामेल हुँदै छिन् । 

तर त्यो कुरा सबैमा लागू हुदैंन । विद्यालय जान व्यागमा किताब र कापी बोकेर हिँड्दा ५३ वर्षकी मीना आलेमगरलाई धेरैले गिज्याए । तर उनको मनभित्र एउटा अठोट थियो पढेर छोड्छु । त्यसैले त्यस्तो भन्नेहरुको सामु एसईई परीक्षा पास गरेरै छोड्ने ईख लिएर पढ्दै उनी यस बर्षको एसईई परीक्षामा सामेल हुँदै छिन् । 

उनी समयको पालनामा एकदमै अनुशासित रहेको विद्यालय शिक्षिकाको भनाई छ । अंग्रेजी र गणित अलि गाह्रो लागे पनि एसईई पास गरी अध्ययनलाई निरन्तरता दिने उनको दृढ अठोट छ । चितवन पुरानो घर भएकी उनी हाल दधिकोट बस्दै आएकी छिन् ।

आमाछोरासँग संगै एसईई दिँदैं 

३४ वर्षीया गंगा थापामगर पनि सानोठिमीको एसएस हर्मन माईनर स्कुलमा पढ्ने छोरा रोशनसँग एसईई दिँदै छिन् । उनले पढाईमा श्रीमान्को सहयोग नपाएपछि लुकीलुकी पढेको बताईन् । आस्था महिला विद्यालयमा भर्ना हुन आमा छोरा स्कुल खाज्दै आएको स्मरण गर्दै उनले बीचमा २ बर्ष पढाई छुट्दा पनि फेरि एसईई पास गर्ने भित्री ईच्छाले कक्षा ८ मा भर्ना भई पढाईलाई निरन्तरता दिएको बताइन् ।

एसईईको तयारी गर्न छोराले समेत पढाईमा सघाउने गरेको बताउँदै उनले एसईई को तयारी मेहनतका साथ गरिरहेको र यसपछि पनि १२ कक्षा पढ्ने दृढता व्यक्त गरिन् । विद्यालय शिक्षाबाट बञ्चित धेरै महिलाहरुले शिक्षाको ज्योति यहिबाट प्राप्त गरेका छन् । 

यहाँ पढ्ने धेरैको सानोमा बिहे भएर, गरिबीका कारण र आर्थिक अभावका पढाई छुटेको भनाई छ । प्रत्येकका आ–आफ्नै किसिमका दुखका कथा छन् ,तर पनि उनीहरुको पढाई प्रतिको लगनशीलता, रुचि र चासो देख्दा पढ्नलाई उमेरले छेक्दैन् भन्ने पुष्टि भइसकेको छ । 

विद्यालयकी संस्थापक प्राचार्य पार्वती ज्ञवालीले प्रौढ उमेरमा यहाँ पढेकाहरु प्नि कतिपय  हाल शिक्षण, भेटनरी लगायतका बिभिन्न पेशामा आबद्ध हुनुका साथै  कतिपय उच्च शिक्षा हासिल गर्दै रहेको बताईन् । 
वि.सं. २०७५ सालको एसईई परीक्षामा यो विद्यालयबाट १७ जना सामेल हुँदै छन् । त्यही समुहमा छन् ५२ बर्षिया बेदकुमारी खत्री, ४३ बर्षिया बिष्णुलक्ष्मी प्रजापति, १७ बर्षिया सोनिका तामाङ लगायत १७ जना । 
 उनीहरु सबै १७ वर्षदेखि ५३ वर्ष उमेरसम्मका रहेका छन् । उनीहरुको परिक्षा केन्द्र भक्तपुर ईंस्कुल गठ्ठघरमा परेको छ । आईतबारदेखि सुरु हुने यस बर्षको परिक्षामा देशभरबाट ४ लाख ७५ हजार बिद्यार्थी सहभागि हुँदै छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप