बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एसईई : विद्यार्थी भित्र पस्दा चिट छामेर अपराधी गएजस्तो गर्ने कुरा अन्त्य गर्नु जरुरी

शुक्रबार, ०८ चैत २०७५, २१ : १६
शुक्रबार, ०८ चैत २०७५

आइतबारबाट एसईई परीक्षा शुरु हुँदैछ । सोही सन्दर्भमा शिक्षा पत्रकार सञ्जाल (इजोनले) चैत ८ गते शुक्रबार माइतीघर मण्डलामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले अहिलेको परीक्षाप्रणाली दोषपूर्ण रहेको, विद्यार्थीलाई अपराधीको जस्तो व्यवहार हुने गरेको, विद्यार्थीहरुमा पढ्ने चलन घटेको, एसईई परीक्षाको भू्रण हत्या भएको जस्ता तथ्यहरु औल्याएका छन् ।
सो कार्यक्रममा वक्ताहरुले प्रस्तुत गरेका विचारहरुको सारसंक्षेप यस प्रकार छः

३३ प्रतिशत ज्ञानबाट विद्यार्थीको मुल्याङ्कन गर्ने परीक्षा पद्दति दोषपूर्ण
मनप्रसाद वाग्ले, शिक्षाविद

शिक्षामा हामी नीतिगत रुपमा चुकेका छौँ । ऐनमा जे कुरा बोल्यौँ, त्यो कार्यान्वयनमा ल्याउन सकेका छैनौँ । ऐनमा भएको कुराहरु कार्यान्वयन हुनुपर्छ ।  अनि मात्र सुधारको लागि अगाडि बढ्न सक्नेछ ।

संघीय नेपालको परिकल्पनाअनुसार संघीय, प्रादेशिक र स्थानिय सरकारको मापदण्ड बनाएर अगाडि बढ्ने हो भने ८ कक्षाको अन्त्यमा लिइने परीक्षा स्थानीय, १० कक्षाको अन्त्यमा लिइने परीक्षा प्रादेशिक र १२ कक्षाको अन्त्यमा लिइने परीक्षा राष्ट्रिय मापदण्ड अनुसार जानुपर्ने हो । तर यो कसको मापदण्ड हो भन्ने कुरा पनि अझैं प्रस्ट हुन सकेका छैनौं ।

नेपाल सरकारले प्रादेशिक मापदण्ड बनाएर आफ्नो प्रदेशभित्र विद्यार्थीको स्तर कति छ ? नापजोख गर्ने आधारले राष्ट्रिय स्तरको परीक्षा चलाउँछ भने त्यतिबेला कक्षा १० को परीक्षाको औचित्य हुनेछ । 

हामीले एसईई परीक्षा सुधार गरेनौँ । किनकि परम्परागत रुपमा पाठ्यपुस्तकमा आधारित प्रश्नपत्र बनाएर परीक्षा लिने गरिएको थियो । त्यही पाठ्यपुस्तकमा आधारित प्रश्नपत्र अहिले पनि गर्दैछौँ ।

परीक्षामा सुधार गर्न पाठ्यक्रमलाई उपयोगमा ल्याउनुपर्याे । पाठ्यक्रममा उल्लेख भएका सिकाइ उपलब्धिका आधारमा प्रश्नपत्र बनाइनुपर्याे । विद्यार्थीलाई व्यवहारीक ज्ञानका आधारमा, उसले सोचेका कुराहरुका आधारमा लेख्न सक्ने पद्धतिको विकास नगेसम्म परिक्षामा सुधार हुदैन । 

पाठ्यक्रमले तीन कुरालाई जोड दिन्छ । ज्ञान, सीप र अभिवृद्धि । पाठ्यपुस्तक लेख्नेबेलामा सीप र अभिवृद्धि घट्यो । ज्ञान मात्र बस्यो । ज्ञान र सीप ३३÷३३ प्रतिशत हुन् । ज्ञानलाई ३३ प्रतिशतमा राखेर परीक्षा लिइरहेका छौँ । ६६ प्रतिशत सीप र अभिवृद्धिलाई पन्छाएर त्यहि ३३ प्रतिशत ज्ञानबाट विद्यार्थीको मुल्याङ्कन गर्छाै । यस्तो परीक्षा पद्धती दोषी छ । 

मेट्रिक पास गर्ने पहिलो व्यक्ति चन्द्र शमशेर
प्रकृति अधिकारी, इजोनका अध्यक्ष

कलकत्ता विश्वविद्यालयबाट पहिलो वर्षको इन्ट्रान्स धीर शमशेरका साहिला छोरा खड्क शमशेरले दिएका थिए । तर उनी फेल भए । 

१९८३ मा चन्द्रशमशेरले इन्ट्रास पास गरे । १९९८ सालमा बोर्ड फस्ट भएका रेणुलाल सिंहसुवालले मेरो बुबा गोविन्दलाल मेट्रिक पास गर्ने पहिलो व्यक्ति हो भनेर दावी गरेका गरे । गोरखापत्रमा छापिए अनुसार मेट्रिक पास गर्ने पहिलो व्यक्ति चन्द्र शमशेर हुन् भनिएको छ ।

१९९० मा शिक्षा विभागले पटना विश्वविद्यालयबाट अधिकार प्राप्त गर्याे । १९९० बाट नेपालको एस.एल. सी परीक्षा सुरु भयो । पहिलो पटक चौतिस जना विद्यार्थी सहभागी भएका थिए ।

एसइई परीक्षाको त भ्रुण हत्या नै गरियो 
रितुराज सापकोटा, एन प्याव्सनका अध्यक्ष

विद्यालय शिक्षाको अन्तिम खुड्किलोको रुपमा रहेका एस. एल. सी लामो समयसम्म विद्यालय शिक्षाको अन्तिम खुड्किलो नै मानिदै आएको थियो ।

विभिन्न आलोचनाका बाबजुद एउटा गरिमा एस. एल.सीले बोकेको थियो । त्यसपछि विद्यालय शिक्षा १२ सम्म हुने कुरा आइसकेपछि कक्षा १० भनेको न माध्यमिक शिक्षा प्रवेश गर्ने न विद्यालय शिक्षाबाट बाहिर निस्किने अवस्था भयो । कक्षा आठबाट नौ मा जाँदा एउटा तह परिवर्तन भयो । अब तह परिवर्तन हुने भनेको १२ पछि हो । अब यसको महत्त्वलाई कसरी प्रमाणित गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो ।

कक्षा १० पछि बिदाइ गर्ने चलन रहेको छ । माध्यमिक शिक्षाबाट माध्यमिक शिक्षा पढ्न जाँदा बिदाइ गर्ने भनेको फेसनको रुपमा चलेको कुरा हो । 

एस.एल.सीको हत्या गरियो । एसइई भन्ने परीक्षाको त भ्रुण हत्या नै गरियो । जन्ममै हत्या भयो । यो आउँदा ग्रेडिङ प्रणालीलाई पनि ल्याइयो । अब आउँदाका वर्षमा सुधार हुन्छ भनियो तर अहिलेसम्म भएको छैन ।

एसईईसँग जोडिएको अर्काे विषय भनेको क्यारेक्टर सर्टिफिकेट हो । एउटा विद्यालयले कसरी विद्यार्थीलाई क्यारेक्टर प्रमाणित गर्ने हो ? यो अनौठो लाग्ने विषय हो । हामी ठेकेदार हो र कसैको चरित्रको प्रमाणित गर्न ? 

एसईईमा फेल नै नहुनेहरु साँच्चिकै जीवनमा पास भइरहेका छन् त ?
डिके ढुङ्गाना, प्याव्सनका सहअध्यक्ष

हामीले एसएलसी हटाएर एस ई ई ल्याएर के पायौँ ? अहिले जति विद्यार्थीले एसईई दिइरहेका छन् र त्यहाँबाट कोही पनि फेल भएका छैनन् तर साँच्चिकै जीवनमा उनीहरु पास भइरहेका छन् की छैनन् ? यो कुरामा घोत्लिनुपर्ने समय आएको छ । 

प्रतिस्पर्धा भएन भने क्वालिटी घट्छ । तमाम देशभरिका विद्यालयमा हेर्दा विद्यार्थीले पढ्ने चलन हटको छ । क्वालिटिका निम्ति प्रतिस्पर्धा आवश्यक छ । फलामे ढोका भन्ने एउटा त्रास त हामीले हटायौँ होला । तर सहज परिक्षाको रुपमा यसलाई जबसम्म व्याख्या गर्न सक्दैनौँ, तबसम्म यसबाट हामीले क्वालिटि अपेक्षा गर्न सक्दैनौँ ।

हामीमा संस्कारको चर्चा छैन । माध्यमिक शिक्षा पार गरिरहँदा पछिल्लो पाँच वर्षको अध्ययनले के भन्छ भने जुन प्रकारको संस्कार हिजोको बालबालिकामा थियो त्यो संस्कार पनि लुज भइरहेको छ । शिक्षाका तीन अवयवहरु छन्ः ज्ञान, सीप र संस्कार । ज्ञानको कुरामा हामी मूल केन्द्रीत छाँै । सीप ठिक्क–ठिक्क छ । संस्कारको त चर्चा नै छैन ।

एसईईमा विद्यार्थीलाई अपराधीजस्तो बनाइएको छ
राष्ट्रिय अभिभावक संघका संयोजक सुप्रभात भण्डारी

एसईई मा प्रहरी राखेर विद्यार्थीलाई अपराधी जस्तो बनाइएको छ । ग्रेडिङ आइसकेपछि फेल नहुने भनेर लोकप्रिय प्रचार गर्याैँ । त्यो विद्यार्थीप्रति अन्याय गर्याैँ । प्रहरी राखेर प्रहरीको बन्दुक राखेर विद्यार्थी भित्र पस्दा चिट छामेर अपराधी भित्र गएजस्तो गर्ने कुरा अन्त्य गर्नु जरुरी छ । 

मुल्याङ्कन प्रणाली र टोटल परिक्षा प्रणलीमै परिवर्तन ल्याउनुपर्छ । टाउको दुख्या मान्छेले राम्रोसँग लेख्न सक्छ र ? पुरै पद्धति कमजोर छ । त्यो मार विद्यार्थीलाई परिरहेको छ ।’

हामी सबै जिम्मेवार
विष्णु प्र अधिकारी, परिक्षा नियन्त्रक (कक्षा १०)

शिक्षा मन्त्रालय, विद्यालयलाई आरोपित गर्नुभन्दा जिम्मेवार निकाय हामी सबै हौँ । 

विद्यालय शिक्षाको अन्तिम परिक्षा पनि हो यसले महत्व पनि बोकेको थियो । हामीले एएटा संरचनालाई छाडेर अर्काे संरचनामा जाँदै छौँ । नया संरचनालाई नालायक नै भयो भनेर टिप्पिणी नै गर्नुपर्दैन । 

जुन विद्यार्थी बाल्याबस्थाको पूर्ण समय विद्यालयमा बिताउँछ त्यो विद्यालयले यसको चरित्र ठीक छ भन्न सक्दैन भने कसले हो भन्ने ? जुन विद्यालयले ज्ञान, सीप दिन्छ सांस्कृतिक संस्कार दिन्छ त्यही विद्यालयले अशल चरित्रको छ भन्न सक्दैन भने को हो त त्यो भन्ने ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप