मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मानव कर्तव्य

शनिबार, ०९ चैत २०७५, १२ : ४६
शनिबार, ०९ चैत २०७५

-अच्युतशाली घिमिरे

आफ्नै गरिबीमा बितेको 
बालापन लेखूँ कि ?
आफन्तबाट मिलेको अपमान
लेखूँ कि ?
पराईको तिरस्कार
मित्रवतको विश्वासघात वा
प्रेममा मिलेको बिछोड
खै के लेखूँ ?
सबै दरिद्रतालाई छोड्दै
रङ्गिला लहडहरुमा
दुनियाँ डुबाइदिने
मनमोहक सपना लेखूँ कि ?
खै लेखूँ त 
आखिर के लेखूँ ?
म कविता भनेर !

पाप कै छ
फलिफाप लेखूँ कि ?
छक्का पञ्जाहरुकै 
बेइमानी पोखूँ कि ?
ईश्वर प्राप्तिको
मिथ्या ओकलूँ कि ?
सुन्दर प्रकृतिको 
अन्वेषण बोलूँ कि ?
मानव आत्माको
धुन खोलूँ कि ?
वास्तविकताहरुमा
सहानुभूति खोजूँ कि ?
अनन्त वेदनाको
भोगाई रोजूँ कि ?
लेखूँ त 
आखिर के लेखूँ ?
म कविता भनेर !

निर्मलाको आँसुलाई
मसि बनाई
नारी संघर्षहरु लेखूँ कि ?
बिस्कुन सुकाउने
ढिकी चलाउने
जाँतो पिँध्ने
हातहरु लेखूँ कि ?
आफ्नै देशमा
बेरोजगार 
यी हातहरुले
देश प्रेम लेखूँ कि ?
विदेशिएकाहरुलाई
स्वदेश फर्क भनी लेखूँ कि ?
कुलमानजीको
उज्यालो अक्षर लेखूँ कि ?
वृन्दावनका नृत्यकलाहरु
लेखूँ कि ?
त्यही नृत्य पस्किने
पैतालाका डोबहरु लेखूँ कि ?
मानव कर्तव्यहरु बुझेर
सारङ्गीहरु लेखूँ कि ?
शेर्पिनीहरुको सभ्यताको कथा लेखूँ ?
पहाड मधेसका कथाहरु लेखूँ ?
काठमाडौं बासीको
मेलम्ची सपना लेखूँ कि ?
डा केसी र ई. सिकेको आवरण कथा लेखूँ ?
लेखूँ त 
आखिर के लेखूँ ?
म कविता भनेर !

किड्नी बेच्न
टासिएका विज्ञापनहरु लेखूँ कि ?
अस्मिता बेच्न
तम्तयार आकासे पुलका लावालस्करहरु लेखूँ ?
वा व्यवस्था परिवर्तनसँगै
गरिबी हटाउन
देशले खर्चेको बलिदान लेखूँ ?
नीति बेच्ने नेता
न्याय किन्ने न्यायाधीश
हिंसापीडित उपमेयर
आन्दोलित शिक्षक
डिप्रेसनले ग्रस्त डाक्टर वा
भ्रष्टाचारी अख्तियार आयुक्त 
कसको बारेमा लेखूँ ?
लेख्दा लेख्दै
कहिले त हाँसो उठ्छ
कहिले आँसुको मुहान फुट्छ
यतिका विषयहरुमा लेख्ने
कवि नै कविको
देश पो हुने हो कि भन्दै
कहिले त तिखो व्यङ्ग्यले घोच्छ !


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप