शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसईईको पहिलो दिनका फरक दृश्य : किरियापुत्रीदेखि सेलिब्रेटीसम्म !

आइतबार, १० चैत २०७५, १७ : ०४
आइतबार, १० चैत २०७५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आइतबार पहिलो दिनको अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । 

देशैभरी सुरु भएको परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् ।  गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । 

यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

यो वर्षको एसईई परीक्षा विगतको भन्दा अलि फरक देखिएको छ । २०४४ सालको एसएलसी परीक्षामा गणित विषय लागेर फेल भएका वडाध्यक्ष समेत यो वर्षको एसईई परीक्षामा सामेल भएका छन् । 

यस्तै लमजुङका एक विद्यार्थी खाली खुट्टा र सेतो कपडामा ६ दिनदेखि बुबाको  किरियामा बस्दै एसईई परीक्षा दिएका छन् । 

यता दुई वर्षअघि कक्षा ८ मा भर्ना भएकी हट एण्ड ब्यूटिफुल चर्चित अभिनेत्री करिश्मा मानन्धर समेत यो वर्षको एसईई समेल छिन् । उनी परीक्षा दिन कारमा परीक्षा केन्द्र पुगेकी थिइन् । 

यसैगरी सांसद शान्ता चौधरीले पनि दाङबाट एसईई परीक्षा दिइन् । 

किरियापुत्री सामेल
२०७५ को एसईई परीक्षामा एक किरियापुत्री सहभागि भएका छन् । बुबाको किरिया बसेका लमजुङ जिल्लाको बेंसीसहर नगरपालिका–७ का दरेश पौडेल परीक्षामा सहभागी भएका हुन् ।

चितवनको रत्ननगर नगरपालिका टाँडीस्थित श्रीराम बैद्धिक संस्कृत गुरुकुलमा अध्ययनरत पौडेल खाली खुट्टा, सेतो कपडामा ६ दिनदेखि बुवा टोखबहादुरको किरियामा छन् ।

पौडेललाई बेंसीसहरस्थित जनविकास मावि केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको छ । पौडेलका लागि चितवनबाटै प्रश्नपत्र झिकाइएको बताइएको छ । 

छोरीसँगै सांसद चौधरीको एसईई
राष्ट्रियसभा सदस्य शान्ता चौधरी पनि कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसईईको परिक्षा दिएकी छन् । नेकपाकी सचेतक समेत रहेकी चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी हुन् । 

खुला विद्यालय प्रणालीमा पढेकी चौधरीले ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट एसईईको परीक्षा दिएकी हुन् । चौधरी महेन्द्रमावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी थिइन् । 

सांसद शान्ता र उनकी १७ बर्षीया छोरी विनु चौधरीले पनि एसइई परिक्षा दिएकी छन् । विनुले काठमाडौंको आरुवारीस्थित सिर्जना बाल बोर्डिङबाट परिक्षा दिएकी हुन् । 
शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन् । 

बोल्ड एण्ड ब्यूटिफुल करिश्मा कारमा सररर...
चर्चित अभिनेत्री करिष्मा मानन्धरले पनि एसईई परीक्षा दिएकी छिन् । आफ्नो अध्ययन गर्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् । 

कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा परीक्षा दिएकी हुन् । 

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् । परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए । 

नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् ।  

आमाछोरा सँगै एसईईमा सहभागि
भक्तपुरको आस्था महिला विद्यालयबाट ३४ वर्षीया गंगा थापामगर माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको पहिलो दिनको अंग्रेजी विषयको परीक्षा दिएकी छन् । 

गंगाले सानोठिमीको एसएस हर्मन माईनर स्कुलमा पढ्ने छोरा रोशनसँग एसइई परीक्षा दिएकी हुन् । 

आस्था महिला विद्यालयमा भर्ना हुन आमा छोरा स्कुल खाज्दै आएको स्मरण गर्दै उनले भनिन्, ‘आमाछोरा स्कुल खोज्दै आएर मैले पढ्न शुरु गरे, अहिले छोरासँगै परीक्षाको तयारी गरिरहेको छु, शुरुमा पढ्नुपर्दैन भन्ने श्रीमान् पनि अहिले खुशी हुनुहुन्छ, यसपछि १२ कक्षा पढ्ने इच्छा छ ।’

यस्तै भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगरले पनि आजदेखि शुरु भएको माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको पहिलो दिनको अंग्रेजी विषयको परीक्षा दिएकी छन् । 

घरबाटै एसईई दिँदै करिश्मा
बैतडी जिल्लाको देहीमाडौंकी एक छात्राले आजबाट सुरु भएको एसईई परीक्षा घरबाटै दिएकी छन् । करिश्मा बोहराले घरबाटै एसईई परीक्षा दिएकी हुन् । 

अपांगता भएका कारण मणिलेक मावि गुरुखोलामा परेको केन्द्रसम्म पुग्न नसक्ने भएपछि करिश्मालाई घरबाटै एसईई परीक्षा दिने व्यवस्था मिलाइएको हो  । 

आवतजावतमा समस्या हुने भएकाले करिश्माका लागि घरबाटै परीक्षा दिने व्यवस्था मिलाएपछि उनी घरबाटै दिन पाउँदा खुसी छिन् । 

उनको परीक्षाका लागि एकजना निरीक्षक र एकजना सुरक्षाकर्मीको व्यवस्था परिचालन गरिएको छ । 

पढाई छाडेको ३५ वर्षपछि एसईई दिँदै वडाध्यक्ष
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका – ८ राम्चेका वडाअध्यक्षले पढाई छाडेको ३५ वर्षपछि एसईई परीक्षा दिएका छन् । वडाध्यक्ष खमबहादुर गर्बुजासहित तीनजना जनप्रतिनिधि एसईईमा सहभागि भएका हुन् । 

५० वर्षीय वडाअध्यक्ष गर्बुजा २०४४ को एसएलसीमा गणित विषय लागेर फेल भएका थिए । उनी भन्छन्, ‘शैक्षिक योग्यता बढाउन एसईई परीक्षामा सहभागी भएको हुँ ।’

यस्तै वडा सदस्य गेममाया पुन (राममाया) र देवकुमारी खोरजाले पनि बेनीको प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसईई परीक्षा दिएका छन् । 

६७ वर्षमा एसईई
यस्तै यो वर्षको एसईई परीक्षामा ६७ वर्षीया वृद्वा समेत सामेल भएकी छन् । कागेश्वरी मनोहरा बस्ने युगमाया कार्कीले आजदेखि सुरु भएको एसईई परीक्षा दिएकी हुन् । 

उत्प्रेरणा महिला माविमा पढेकी युगमायाको सिद्धेश्वर मावि सुविधानगरमा परीक्षा केन्द्र परेको छ । उनीसँग आफ्नो छोरा जस्तो एक युवक साइडमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप