शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस शीर्ष नेताहरुको जिल्ला दौडाहा : यस्तो छ लुकेको स्वार्थ

मङ्गलबार, १२ चैत २०७५, ०८ : ४३
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्ला गएर तीव्र रुपमा कार्यकर्ता रिझाउन लागिपरेका छन् ।  नेताहरुको दौडधूप विशेषगरी गरी पूर्वी र मध्यतराईका जिल्लामा केन्द्रीत छ । 
कार्यकर्ता भेटघाटको नाममा नेताहरुले जिल्ला दौडाहा थालेकाे भएपनि भित्री स्वार्थ र उद्देश्य १४ औँ महाधिवेशन केन्द्रीत रहेको काँग्रेसका नेता–कार्यकर्ताको बुझाइ छ ।  यी क्षेत्रबाट सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि छनोट हुर्ने गर्दछन् । 

त्यसैले यी क्षेत्र प्रमुख नेताहरुको रोजाइमा परेको नकार्न सकिँदैन । तर महाधिवेशनको मिति तय नहुँदै नेताहरु कार्यकर्ता पक्षमा पार्न तल्लीन देखिएका हुन् । 

सभापति शेरबहादुर देउवाको कार्यकाल ०७६ फागुन मसान्तमा समाप्त हुन्छ । यो बीचमा महाधिवेशनको मिति घोषणा हुनुको साटो देउवाले आफ्नो कार्यकाल एक वर्ष थप्न गर्ने संकेत दिइसकेका छन् । 
पार्टी विधानमा एक वर्ष म्याद थप्न सकिने प्रावधान छ । यसअघिका सबैजसो सभापतिले एकवर्ष कार्यकाल बढाएकाले देउवा पनि त्यसलाई निरन्तता दिने मुडमा छन् ।  तर पनि यो गर्मिदो मौसम झै काँग्रेसभित्र जिल्ला दौडाहको माहोल गर्माएको छ । 

१४ औं महाधिवेशनदेखि कोषाध्यक्षबाहेक अरु पदाधिकारी निर्वाचनबाट चुनिने बाध्यात्मक प्रावधान छ । 

गत फागुन १२ गते केन्द्रीय कार्यसमितिले अनुमोदन पार्टीको संशोधित तथा परिमार्जित विधानमा यस्तो प्रावधान रहेको छ । जसले सभापति बाहेक अन्य पदका आकांक्षी पनि कार्यकर्ता माझ आफूलाई अब्बल देखाउने होडमा छन् । 

यसअघि ६ जना मात्र पदाधिकारी हुने व्यवस्था थियो । जसमा सभापतिसहित एक जना महामन्त्री र कोषाध्यक्ष मात्र निर्वाचित भएर आउनु पथ्र्यो । बाँकी पदाधिकारी सभापतिबाट अनुमोदित हुने व्यवस्था थियो । 

तर सो व्यवस्था कटौती भएपछि नेतृत्वमा आउन धेरै नेतालाई चुनौती बनेको विश्लेषण गरिएको छ । महाधिवेशनको अन्यौलताका बीच बेलान कुबेला नेताहरु नेतृत्वमा कब्जाको होडबाजीमा लागेको कतिपयले आरोप लगाउँदै आएका छन् । 

तर वरिष्ठ नेता राचन्द्र पौडेलको जिल्ला भ्रमण टोलीमा सहभागि नेता गगन थापा यो आरोप स्वीकार्दैनन् । 

‘पार्टीको तल्लो कमिटीले विभिन्न कार्यक्रममो आयोजना गर्छ । अनि नेताहरुलाई आइदिनुपर्यो भनेर बोलाइन्छ । अहिलेको शीर्ष नेताहरुको जिल्ला दौडाहा पार्टीको तल्लो कमिटीले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने कुरा हो जस्तो लाग्छ । यसलाई कुनै छुट्टै अर्थमा बुझ्न जरुरी छैन’ उनले भने ।

 साथै नेता थापाले कार्यकर्तासँगको भेटघाट र छलफलमा नेतृत्वका लागि आफू अब्बल रहेको देखाउनु स्वाभाभिक भएको जिकिर गरे ।

‘कार्यकर्ता माझ आफ्नो धारणा राख्ने,आफ्नो विचारमा ‘कन्भिन्स’ गराउने कुरा हुन्छ नै । यस क्रममा नेतृत्वको आकांक्षा प्रकट राख्ने कुरा हुने नै भए । हुन्छन् पनि,’ उनले भने ,‘कार्यकर्ताहरुको भावना र चाहना के छ ? त्यो अनुसार नेताहरुले होमवर्क गर्छन् ।’ 

केन्द्रीय नेताहरुको खानपान र बसाइ महँगो हुने भएकाले जिल्ला कार्यसमितिलाई आर्थिक रुपमा धेरै बोझ पर्ने गरेको गुनासो पनि छ । यसबारेमा नेता थापाले सबै नेताहरुमा त्यो कुरा लागू नहुने दाबी गरे ।
‘हामीहरु आउँदा जादा आफैंले खर्च व्यहोर्ने गछौँ । कहिले कही कार्यक्रम आयोजक समितिले पनि व्यवस्था गर्छ । तर यतिले नै तल्लो तहको कमिटीलाई बोझ हुन्छ होला जस्तो लाग्दैन,’ नेता थापाले भने,‘ फेरि यो कुरा नेतामा पनि भर पर्छ । यसबारेमा सोच्नु पर्छजस्तो लाग्छ ।’

नेताहरु दलबलका साथ जिल्ला भ्रमणमा निस्किनु भन्दा पार्टीले जागरण अभियान थालनी गर्नुपर्नेमा उनले जोड दिए । 

‘सबै केन्द्रीय सदस्यलाई तीन महिनाका लागि जिल्ला तोकेर जागरण अभियान थालनी गर्ने कुरा उठाएको थिएँ । यो कुरामा पार्टी सभापतिज्यू पनि सकारात्मक हुनु हन्छ,’ नेता थापाले भने, ‘आगामी केन्द्रीय कार्यसमिति बैठकबाट यो निर्णय हुन्छ ।  सोही अनुसार सबै केन्द्रीय नेताहरुलाई जागरुण अभियानका लागि खटाइन्छ । जसले केन्द्रीय नेता दलबलका साथ कार्यकक्रमा जाँदा हुने आर्थिक बोझ पनि कम हुन्छ ।’ उनले सरकार रबैयाविरुद्ध जनतालाई जगाउन काँग्रेसले जागरण अभियान थालनी गर्न लागेकाे दाबी समेत गरे ।
तर नेता सिंहको भ्रमण टोलीमा रहेका केन्द्रीय सदस्य हृदयराम थानीको धारणा भने फरक छ । 

‘नेताहरुमा आज भन्दा ६ महिना अघिदेखि नै चुनाव रन्को लागि सकेको थियो । दुई वर्ष अघिदेखि महाधिवेशन केन्द्रित यस्तो प्रतिस्पर्धाले पार्टीलाई नै नोक्सानी गर्छ,’ नेता थानीले भने,‘प्रतिस्पर्धाको हतारोले कहिलेकाहीँ सहमतिको बाटोलाई समेत ब्रेक गर्छ । यसलाई नेताहरूले बुझ्न पर्छ ।’

सभापतिका आकांक्षी को कहाँ छन् ?
काँग्रेसमा १४ औँ महाधिवेशनमा सभापतिका लागि आधा दर्जन बढी आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट सभापति देउवा एक्ला प्रतिस्पर्धी भए पनि इतरपक्षबाट भने ठूलो पंक्ति छ ।

जसमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी देखिएका छन् । 

उनीहरुमा आफूलाई लोकप्रिय र अब्बल देखाउने होडबाजीले अहिले नै महाधिवेशनको रौनक छाएका भान हुन्छ । 

काँग्रेस सभापति शेरबहादुर देउवाको चैत १६ देखि २१ गतेसम्म जिल्ला भ्रमण गर्दै छन् । उनी प्रदेश नम्बर ५ का जिल्लामा कार्यकर्ता भेटघामा निस्कन लागेका हुन् । 
देउवाको कपिलवस्तु, रुपन्देही, गुल्मीलगायतका जिल्लाको भ्रमण तय भएकोस्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

फागुनको अन्तिम साता मात्रै उनी प्रदेश नम्बर ४ का म्याग्दी, बागलुङ, पर्वत, कास्की भ्रमण सकेर राजधानी फर्केका थिए ।

यस्तै वरिष्ठ नेता पौडेल प्रदेश नम्बर ४ को भ्रमण सकेलगत्तै प्रदेश नम्बर १, २ र ३ का जिल्लातिर लागेका छन् । चैत ९ मा सिन्धुलीबाट सुरु भएको उनको भ्रमण प्रदेश नम्बर २ का जिल्लाहरूमा केन्द्रित छ । 
सर्लाही, महोत्तरी र धनुषाका कार्यक्रममा सहभागी भएर चैत १४ गते उनी राजधानी फर्कने छन् । 

महामन्त्री शशांक कोइराला आइतबारदेखि प्रदेश नम्बर ५ का जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।  बर्दिया, बाँके, दाङ, गुल्मी र पाल्पा जिल्लाका कार्यक्रम सकेर उनी पनि १४ गते राजधानी फर्केने कार्यक्रम छ । 

यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहको १० गतेबाट प्रदेश १ का जिल्ला भ्रमणमा छन् । उनको यात्रा चार दिनसम्म चल्नेछ । इलाम, पाँचथर र ताप्लेजुङका कार्यक्रम सकेर १४ गते सिंह राजधानी फर्कनेछन् । उनीलगत्तै अरू जिल्ला भ्रमणको कार्यक्रम बनाउने तयारीमा छन् । तर नेता सिटौलाको स्वास्थ्य अवस्था राम्रो नरहेकाले उनको जिल्ला दौडाहामा बे्रक लागेको छ ।

काँग्रेस नेता डा. शेखर कोइरालाले पछिल्लो समय सबै जिल्ला पुगिसकेका छन् । तर उनको भ्रमण यात्रा रोकिएको छैन । उनका सहयोगी दिनेश थपलियाकाका अनुसार एक साताको राजधानी बसाइपछि पुनः जिल्लाका कार्यक्रममा जाने योजना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप