शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिरोज खान हत्याकाण्ड : आईएसआईसँग समेत जोडेर अनुसन्धान गर्दै प्रहरी

बिहीबार, १४ चैत २०७५, १६ : ०२
बिहीबार, १४ चैत २०७५

बुटवल–भारतको सीमा क्षेत्र सुनौलीबाट २३ किलोमिटर दूरीमा पर्ने बुटवलको मैनाबगरमा बुधबार साँझ गोली प्रहारबाट मृत्यु भएका भारतीय नागरिक फिरोज खान (अन्सारी)को हत्याबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

विगत २० वर्षदेखि बुटवलमा बस्दै आएका उनको पाकिस्तानी जासुसी संस्था (आईएसआई) सँग सम्बन्ध भएका कारण हत्या भएको हुनसक्ने भन्दै त्यसतर्फपनि प्रहरीले अनुसन्धान सोझ्याएको छ । 

रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटनामा संलग्न भएको आशंकामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको रातोपाटीलाई जानकारी दिए । 

 उनले हत्याकाण्डमा आईएसआईको सहयोगी भूमिकामा काम गरेको पनि हुन सक्ने भन्दै यसबारे समेत अनुसन्धान भइरहेको बताए ।  

थापाका अनुसार प्रहरीले अनुसन्धानको लागि छुट्टै टीम बनाएर काम गरिरहेको छ । उनले घटनामा संलग्नलाई छिट्टै पक्राउ गरिने पनि दाबी गरे । उनका अनुसार अहिले प्रहरीले केही व्यक्तिलाई निगरानीमा राखेर सुक्ष्म ढंगले अनुसन्धान थालेको छ।  

हत्या गरिएका अन्सारीको यस्तो थियो ब्याकग्राउण्ड
४५ वर्षीय फिरोज खानको घर भारतको विहार राज्य मोतियारी भन्ने ठाउँमा हो । उनले बुटवलमा मिस्त्री काम थालेको २० वर्ष धेरै भएको छ । 

हाल उनले मैनाबगरको ज्योति मोटर वर्कसपमा १७ वर्ष काम गर्दै आएका थिए । सो अघि पनि उनी बुटवलमै कार्यरत थिए । 

उनले ज्योति मोटर वर्कसपमा हेडमिस्त्रीको रुपमा काम गर्ने गरेको सञ्चालक प्रेम दर्लामीले रातोपाटीलाई जानकारी दिए ।  

उनी जहाँ काम गर्थे, त्यो भन्दा ५ सय मिटर उत्तरमा रहेको मेराज साहको घरमा बस्थे । साह मासु विक्री गर्ने व्यापारी हुन् । कम बोल्ने खान हालै भारत गएर एक हप्ता बसेको थिए । श्रीमति शाहिल खातुनका अनुसार एक हप्ता मामाको  छोराको बिहेका लागि उनी भारत गएका थिए ।  बेला–बेलामा भारत पुगेपनि उनी श्रीमति र छोरासहित बुटवलमै बस्दै आएका थिए । 

हिजो हत्या भएपछि अहिले श्रमति ३५ वर्षीय शाहिन खातुन र छोराहरु छिमेकी घरमा बसेका छन् ।  बस्दै आएको कोठामा भने चाबी लगाइएको छ । 

 रगतका टाटा न पखालिए न अपराधी पत्ता लागे
सधैंजस्तै बुधबार पनि खाना खाएर फिरोज वर्कसपमा काम गर्न पुगे । साँझ ८ बजेतिर वर्कसप बन्द गरेर आउने दिनचर्या थियो।

बुधबार साँझ पनि यस्तै पौने आठ बजेतिर काम सकेर वर्कसप बन्द गरे ।  १० जना मजदुर रहेको ज्योति मोटर वर्कसपमा सवैले हातमुख धोएर ८ बजे  निस्केको वर्कसपका सञ्चालक प्रेम दर्मालीले बताए । 
जब उनी वर्कसपबाट कोठातर्फ जाँदै थिए पिछा गरेर आएको अज्ञात हतियारधारीले कोठा प्रवेश गर्न नपाउँदै गोली प्रहार गरेको बताइएको छ।

खाना पकाउँदै गरेकी खानकी श्रीमतीले गोली चलेको आवाज सुनेसँगै हारगुहार गरेकी थिइन् । गोली मोटरसाइकलमा सवार व्यक्तिले गरे या पैदलै आएका व्यक्तिले गरे भन्नेबारे खुल्न सकेको छैन । 

तर प्रहरीले मोटरसाइकमा आएर हानेको हुनसक्ने अनुमान गरेको छ ।   कोठा भन्दा ३ मिटर आगाडि अन्सारीको रगतका टाटा छन् । त्यहाँ गोली लागेर ढलेपछि उनलाई लुम्बिनी अस्पताल पुर्याइएको थियो । अस्पतालमै मृत्यु भएका उनको  शव अहिलेसम्म उठाइएको छैन । 

यस्तै उनी बस्ने घरको चाबी लगाइएको छ । श्रीमती र छोराहरु छिमेकीको घरमा बसेका छन् । खानलाई पछाडिबाट हानिएको गोली अगाडिबाट निस्केको थियो । गोली हान्न कटुवा पेस्तोल प्रयोग भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै हत्यारा फुत्केर बाहिर नजाने दाबी गरे । 


यसैबीच सरकारीले  शान्ति सुरक्षा कामय गर्न नसकेको भन्दै मैनाबगरका व्यपारीहरुले बिहीबार विरोध प्रदर्शन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप