बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची र झुम्सा खानेपानीको नियति एउटै : फेरिए नेता, फेरिएनन् जनताका दुःख !

शुक्रबार, १५ चैत २०७५, १० : ४४
शुक्रबार, १५ चैत २०७५

बुटवल– काठमाडौँबासीले मेलम्चीको खानेपानी पिउने आशमा जसरी वर्षौं बिताएका छन्, त्यसैगरी पाँच नम्बर प्रदेशको राजधानी बुटवलबासीले पाल्पाको बुटवल झुम्सा आयोजनाको पानी पिउने आश गरेको दुई दशकभन्दा बढी भएको छ ।

झुम्सा आयोजनाबाट पानी ल्याउन नेताहरुले दजर्नौं पटक जनतासामु प्रतिबद्धता पनि जनाए । तर नेताहरुको प्रतिबद्धता प्रतिबद्धतामै सीमित बन्यो । झुम्सा खानेपानी आयोजना निर्माण सुरु भएको २२ वर्ष पुगे पनि अझै कति वर्ष लाग्ने हो ठेगान छैन । पटक पटक चुनाव भए । हरेक निर्वाचनमा वडाध्यक्षदेखि प्रतिनिधिसभा सदस्यहरुले समेत बुटवलको खानेपानी एजेन्डालाई प्रथमिकता दिँदै भोट माग्ने बहाना बनाए । स्थानीय तहका नेतादेखि केन्द्रीय नेताहरुसमेत झुम्सा खानेपानी आयोजनालाई आफ्नो चुनावी एजेन्डा बनाए । सुरुमा  बुटवल सिस्ने खानेपानी परियोजना नामकरण गरिएको यो आयोजनापछि बुटवल झुम्सा खानेपानी बनाइयो । दुई दशकमा नाम परिवर्तन भयो तर बुटवलबासीको घरमा पानी चुहिन सकेन । खानेपानी आयोजनाको हालत देख्दा नेताहरुप्रति नै वितृष्णा जागेको बुटवल सुख्खानगरका स्थानीय माधव गौतम बताउँछन् ।

२०५०/२०५१ सालमा यो आयोजनामार्फत बुटवलमा पाल्पाको सिस्नेबाट पानी ल्याउन सर्भे गरिएको थियो । त्यतिबेला १० इन्चको पाइपमा पानी ल्याउने गरी डिजाइनसमेत भएको थियो । त्यसयता प्रत्येक वर्ष बजेट योजनामा बजेट पनि छुट्याइँदै आएको छ । अहिलेसम्म यो योजनाका लागि करिब ९ करोड रुपैयाँ खर्च भइसकेको छ । तर केही वर्ष यो आयोजनाको काम रोकिएर २०६४÷०६५ सालमा यो आयोजनाको झुम्सा खानेपानी आयोजाका नाममा पुनः काम सुरु भए पनि आयोजनाको काम अलपत्र पारेर पुनः नयाँ डीपीआर गरियो । खानेपानी योजनाको बाँध २ वर्ष अगाडि वर्षाले बगाएपछि योजना नै अलपत्र छ । बुटवलको शिवनगरमा करोडौँ रुपैयाँका पाइप अलपत्र छन् । नयाँ तरिकाले डीपीआरको काम भए पनि टेन्डर हुन नसकेको नेपाल खानेपानी सस्थान बुटवल शाखाका कामु सहायक प्रबन्धक इन्जिनियर बुद्धरत्न महर्जन बताउँछन् ।

आशैआशमा वित्यो २२ वर्ष

बुटवलबासीको खानेपानी समस्या समाधान गर्न परियोजना सम्पन गर्न उक्त आयोजना आगडि बढाइएको हो । यो बीचमा स्थानीयदेखि केन्द्रीय नेताहरूसमेत झुम्साको खानेपानी मुहान अवलोकन गर्न पटक पटक पुगेका छन् । नेकपाका महासचिव तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक, पूर्वमन्त्री सोमप्रसाद पाण्डे, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाली काँग्रेसका नेता खेलराज पाण्डेलगातयका नेताहरु मुहान अवलोकन गर्न पटक पटक पुग्ने गरेका छन् ।

बुटवलको वडा नम्बर ८ र ७ अन्य वडाकोे तुलनामा खानेपानीको धेरै समस्या छ । त्यहाँका बासिन्दाले १२ महिना खानेपानीको सङ्कट व्यहोर्नुपर्छ । ‘रातको १२, १ बजे उठेर पानी भर्न जानुपर्छ । दिपनगर खानेपानी संस्थाले वितरण घाराहरुमध्ये अलि उचाइको क्षेत्र पर्ने भएकाले यहाँ पानी कम मात्रै चढ्ने गर्छ । दिन बिराएर आउँछ’, बुुटवल दिपनगरकी उमा रानाले आफ्नो समस्या सुनाइन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ गण्डकी पथका माधव गौतमले झुम्सा परियोजनाको पानी नआएपछि तीनकुनेको पानी बोरिङमार्फत ल्याएका छन् । गर्मी महिनामा मागअनुसारको पानी वितरण गर्न खानेपानी संस्थाले सक्दैन । अर्कोतिर बुटवलमा जनसङ्ख्याको चाप बढ्दै गएपछि माग पनि बढ्दै गएको खानेपानी संस्थानको भनाइ छ ।

२३ करोडको पाइप जङ्गलमा अलपत्र

गत वैशाख महिनामा बुटवल झुम्सा खानेपानी आयोजना सम्पन्न गर्न लागि खरिद गरेर ल्याइएको १० इन्च र २० इन्चको पाइप खरिदमा आर्थिक अनियमितता भएको भन्दै मुद्दा पर्यो । मुद्दा परेसँगै ११ महिनादेखि ती पाइप अलपत्र छन् । भारतको कलकत्तास्थित इलेक्ट्रो स्टिल कम्पनीबाट नेपाली सप्लायर्स वल्र्ड बाइड ट्रेडले ल्याएको उक्त पाइपको जिम्मेवारी कसैले लिएको छैन । झुम्सा खानेपानी आयोजनाका लागि अधुरो योजना पूरा गर्नका ल्याइएको २२ करोडको पाइप बुटवलको दिपनगर जङ्गलमा बेवारिसे रूपमा छाडिएको छ । बुटवल झुम्सा खानेपानी आयोजनाका लागि पहिलो र दोस्रो चरणमा गरेर करिब १५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । शिवनगर सामुदायिक वन उपभोक्ता समूहले पाइप राख्न ठाउँ मात्र उपलब्ध गराएको अध्यक्ष नाराणबाबु बस्नेतले रातोपाटीलाई बताए । उनले खाली ठाउँ भएका कारण संस्थानको अनुरोध अनुसार केही समय जग्गा मात्र उपलब्ध गराएको बताए । पाइप खरिदबारे अदालतमा परेको मुद्दा विचाराधीन रहेकाले करोडौँ रुपैयाँ बराबरको पाइप अलपत्र परेको नेपाल खानेपानी संस्थान बुटवल शाखाका कामु सहायक प्रबन्धक इन्जिनियर बुद्धरत्न महर्जनले बताए ।

आयोजना सम्पन्न भए धमिलो पानीबाट मुक्ति

प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा दैनिक ३ करोड ४० लाख लिटर पानी आवश्यक भएकोमा २ करोड ५० लाख लिटर मात्र आपूर्ति हुँदै आएको छ । वर्षायाममा  बुटवलबासी तिनाउको धमिलो पानी पिउन बाध्य छन् । हाल बुटवलमा तिनाउ नदीसहित १९ बटा बोरिङ स्टेसनबाट १६ हजार धाराबाट पानी वितरण भइरहेको छ । झुम्सा आयोजना सम्पन्न भए दैनिक २ करोड ५० लाख लिटर पानी आपूर्ति हुने छ । यसका लागि विद्युतसमेत आवश्यक नपर्ने भएकाले सस्तोमा रेटमै उपभोक्ताले पानी उपभोग गर्न पाउने बताइएको छ । तर पाइप खरिदमा आर्थिक चलखेल हुनु र मुद्दा पर्नुले यसको भविष्य थप अन्योलमा परेको खानेपानी संस्थानका कर्मचारीहरु नै बताउँछन् ।

एडीबी परियोजना किन फेल ?

बुटवल झुम्सा खानेपानी आयोेजना काम आगाडि बढिरहेका बेला एडीबीकै सहयोगमा बुटवलमा अर्को खानेपानी परियोजना थपियो । बुटवल उपमहानगरपालिका वडानम्बर ८ र ७ मा भूमिगत स्रोतबाट पानी निकालेर  वितरण गर्ने र खानेपानी संस्थानको पानी कम प्रयोग गर्ने रणनीति ल्यायो ।

एसियाली विकास बैङ्कसँग सहकार्य गरेर खानेपानी परियोजना ल्याउँदा केही स्थानीयबीच मतभेद देखियो । २२ करोडमध्ये  ५० प्रतिशत परियोजनाको अनुदान र ३५ प्रतिशत बुटवल नगरपालिका तथा १५ प्रतिशत उपभोक्ताको लागानी रहने गरी उक्त खानेपानी परियोजना ल्याएको थियो । यसका लागि ठाउँ ठाउँमा डिप बोरिङको राख्ने काम भयो र तर सफल भएन । उपभोक्तालाई पानी वितरण नगरी एसियाली विकास बैङ्कको परियोजना केही समयअघि मात्रै फिर्ता भएको खानेपानी उपभोक्ता समूहका अध्यक्ष नारायणबाबु बस्नेतले बताए । ‘परियोजना फेज आउट भएकाले सदस्यहरुबाट उठाएको रकम फिर्ता गर्ने तयारीमा छौँ’, अध्यक्ष बस्नेतले बताए । झुम्सा खानेपानी योजनाको चर्चा भइरहेका बेला एसियाली विकास बैङ्कको परियोजना आएपछि ओझेलमा परेको हो । यसमा राजनीतिक चलखेल समेत भएको स्थानीय जनप्रतिनिधि नवीन पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप