बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मधेसवादी दलले कम्युनिस्टको भ्रम त्यागेर काँग्रेससँग मोर्चा बनाउनुपर्छ’

गच्छदारलाई गाली गर्ने नैतिक आधार उपेन्द्र यादवसँग छैन - जितेन्द्र देव सदस्य, राष्ट्रियसभा एवं नेपाली काँग्रेसका नेता
शुक्रबार, १५ चैत २०७५, १२ : ०२
शुक्रबार, १५ चैत २०७५

सप्तरीका जितेन्द्र देवलाई राजनीतिमा एउटा बौद्धिक नेताका रूपमा चिनिन्छ । वामपन्थी धारबाट राजनीतिक यात्रा सुरु गरेका उनी लामो समय मधेस राजनीतिमा संलग्न पनि रहे । लोकतान्त्रिक फोरम नेपालले काँग्रेससँग एकीकरण गरेपछि उनी हाल काँग्रेसमा छन् । राष्ट्रियसभाका सदस्यसमेत रहेका देवलाई अहिले काँग्रेस पार्टीमा कुनै जिम्मेवारी दिइएको छैन । पार्टीमा जिम्मेवारीविहीन रहेका देव वाइडबडी कान्डमा पनि मुछिएका थिए । प्रस्तुत छ, काँग्रेस पार्टीसँग फोरम लोकतान्त्रिकको समायोजन, प्रतिपक्षको भूमिका, वाइडबडीलगायतका विषयमा काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य जितेन्द्र देवसँग रातोपाटीका लागि एसके यादवले गरेका कुराकानीः 

काँग्रेस पार्टीमा हुनुहुन्छ, कस्तो अनुभव गरिरहनु भएको छ ?

–अहिलेसम्म मलाई राम्रै अनुभव भइरहेको छ । कार्यकर्ता तथा नेताका लागि निकै नै स्वतन्त्रता भएको पार्टी जस्तो लाग्छ । सबै नेता तथा कार्यकर्ताले खुलेर कुरा गर्न, आफ्ना तर्क राख्न सकिने वातावरण काँग्रेसभित्र छ । पार्टीमा कुरा राखेपछि कुनै नेताले धम्की देला, गाली गर्ला भन्ने अवस्था छैन । म त डेमोक्र्याट मान्छे, धेरै राम्रो अनुभव गरिरहेको छु ।

स्कुलिङ, विचारधारा सबै वामपन्थी हुँदाहुँदै पनि काँग्रेसमा कसरी एड्जस्ट हुनुभयो ?

–मैले वामपन्थी धारबाट राजनीति सुरु गरेको हुँ । तर त्यो विष्णुबहादुर मानन्धरले नेतृत्व गरेको वामपन्थी पार्टी थियो । जो सुरुदेखि नै प्रजातन्त्रका लागि लडेको मान्छे हुनुहुन्थ्यो । पुष्पलाल र विष्णुबहादुर मानन्धरहरुको सोचाइ देशमा प्रजातन्त्रका लागि काँग्रेससँग मिलेर बहुदलीय प्रजातन्त्र ल्याउनुपर्छ, एक्लै कसैले सक्दैन भन्ने थियो । त्यस्तो सोचबाट बनेको पार्टीमा म पहिलादेखि संलग्न रहेको थिएँ । त्यसैले मलाई काँग्रेसमा एड्जस्ट हुन समय लागेन । म हिंसामा विश्वास गर्ने, अधिनायकवादी कम्युनिस्ट, एकदलीय शासन गर्ने सोच भएका पोल्टिसियन होइन । लेफ्ट डेमोक्र्याटको लाइनबाट विद्यार्थी राजनीति सुरु गरेका हुनाले मलाई यी कुरा बुझ्न समय लागेन । विद्यार्थीकालदेखि नै नेवि सङ्घका साथीहरुसँग जेल बसेको र काँग्रेस नेताहरुसँग नियमति सम्पर्कमा हुन्थेँ ।

एउटा बहुदलीय जनवाद र अर्को बीपीको समाजवादी सिद्धान्तलाई तपाईंले कसरी मिलाउन सक्नुभयो ?

–म २०४९ मङ्सिर २० गते मानन्धर समूहबाट नेकपा एमालेमा एकीकृत भए । त्यतिबेला बहुदलीय जनवाद आइसकेको थियो । त्यतिबेला मदन भण्डारीको सोचाइ भनेको बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद ल्याउने थियो । त्यही भएर विष्णुबहादुर मानन्धरको सोचाइ र पुष्पलालको सोचाइ मिल्न गयो । बाटो र उद्देश्य पनि मिल्न गयो । त्यसले गर्दा मलाई त्यहाँ मिल्न सजिलो भयो । तर पछि सङ्घीयत, राज्य पुनः संरचना, पहिचान लगायतका सम्बन्धमा एमाले सकारात्मक नरहेको हुनाले म सो पार्टी छाडेर फोरम नेपालमा प्रवेश गरेको थिएँ । पहिचान र अधिकारका लागि लड्ने फोरम नेपालमा बसेर १० वर्ष निरन्तर काम गरेँ । संविधान निर्माणको समयसम्म त्यहाँ थिए । संविधान निर्माण भइसकेपछि हामीले काँग्रेससँग एकीकरण गर्यौँ ।

तपाईं त काँग्रेसमा एड्जस्ट हुनुभयो तर लोकतान्त्रिक फोरमका थुप्रै नेता तथा कार्यकर्ता बाहिर अलपत्र छन्, उहाँहरुलाई किन समेट्न सक्नुभएन ?

–यसका लागि म आलोचना नै गर्दिनँ तर केही न केही कमजोरी विजयकुमार गच्छदारमा रहेको छ । विजयकुमार गच्छदार हाम्रो सहयोग र  समर्थनबाट पार्टीमा जुन पोजिसन लिनुपथ्र्यो, त्यस्तो गरेनन् । उनले पार्टीमा दबाब बनाएर सम्पूर्ण कार्यकर्तालाई एकीकृत रूपमा अगाडि बढ्नुपथ्र्यो । आफू पार्टीको उपसभापति बनिसकेपछि अरू नेताका बारेमा पनि सोच्नुपथ्र्यो । अहिले त केन्द्रीय समितिको समायोजन गर्नुपर्छ भन्न एजेन्डा नै छैन । उपसभापति बन्न उहाँले जुन पोजिसन लिनुभयो त्यही पोजिसन केन्द्रीय समितिको समायोजनका लागि पनि लिनुपथ्र्यो । त्यसमा कमजोरी देखिएको छ ।

अर्को कुरा, पार्टी नेतृत्वले पनि ध्यान दिएको छैन । विजयकुमार गच्छदार मात्र लोकतान्त्रिक पार्टीको नेता हुनुहुन्छ भन्ने कुरा पार्टीले बुझ्नु हुँदैन । जितेन्द्र देवलगायत हजारौँ नेता तथा कार्यकर्तालाई सम्मानपूर्वक पार्टीमा समायोजन गर्नुपर्छ । यसो नगर्नु विजयकुमार गच्छदार र पार्टी नेतृत्वको पनि कमी कमजोरी हो ।

यो अवस्थामा पार्टीमा तपाईंहरु पक्षका थुप्रै नेता तथा कार्यकर्ता छन्, उनीहरुलाई कसरी चित्त बुझाएर राख्नुभएको छ ?

–यसको कुनै जवाफ नै छैन । मलाई सोध्नुहुन्छ भने पार्टीले अब विलम्ब गर्नुहुँदैन र समायोजन गरी जिम्मेवारी दिनुपर्छ । नेपाल काँग्रेस राम्रो हो, यसको विचार र काम गर्ने शैली राम्रो भएको कारण पार्टी एकीकरण गर्न तयार भएको थियो । आज त्यसैलाई समायोजन गर्न पार्टीले ढिलासुस्ती गरिरहेको छ । समायोजन हुन नसकेका कारणले उहाँहरु पनि असन्तुष्ट भएर बसेका छन् । पार्लियामेन्टमा पार्टीले मलाई सम्मानपूर्वक जिम्मेवारी दिएको छ । त्यसलाई राम्रोसँग निर्वाह गरेको छु । तर पार्टीमा अझै जिम्मेवारी दिएको छैन । समयोजन पूरा गर्नका लागि विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । त्यसले पनि काम गर्न सकेन । सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिसँग कुरा गरेर एकता र समायोजनको विषय टुङ्ग्याउनुस् भन्नुभएको छ । अब एक दुई दिनमा विमलेन्द्रसँग निधि समायोजनका विषमया कुरा गर्नेछु । गच्छदारजीसँग पनि अहिलेसम्म पार्टीमा समायोजनको प्रकृया किन टुङ्गिएको छैन भनेर कुरा गर्छु । साथै तपार्इंसँगै काँग्रेस प्रवेश गरेका  साथीहरुलाई के गर्नुहुन्छ भन्छु । 

हामी कमजोर भइसकेका छैनौँ । राष्ट्रियसभामा हामीले राम्रो उपस्थिति देखाएका छौँ । प्रतिनिधिसभामा अलिकति गाणितीय रुपमा कमजोर भएकाले साथीहरूमा लघुताभास आएको छ । यद्यपि साथीहरुले प्रतिनिधिसभामा पनि आफ्नो कुरा जबर्जस्त रूपमा राखिरहनुभएको छ ।

विभिन्न गुट उपगुटले गर्दा पार्टी समायोजनमा समस्या भएको हो कि ?

–मलाई त्यस्तो लाग्दैन । हामी अहिले कुनै गुट उपगुटमा छैनौँ । हामी संस्थागत निर्णयलाई मान्छौँ । अहिले सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उहाँले गरेका निर्णय, निर्देशनलाई मान्छौँ । काँग्रेससँग भएको फोरम लोकतान्त्रिकको समायोजनमा कसैको कुनै प्रकारको विरोध छैन । कुनै गुट वा उपगुटले विरोध गरेको छैन ।

त्यसो भए ढिलो हुनुको कारण के हो त ?

–समायोजन प्रक्रियाको विषयमा मात्र ढिलो भएको होइन । काँग्रेस पार्टीका सबै कुराको निर्णय ढिला नै हुने गरेको छ । कम्युनिस्ट पार्टीमा जसरी चाँडै निर्णय गर्ने संस्कृति (लुज कल्चर) छ, त्यो काँग्रेसमा देखिएको छैन । डेमोक्रेटको नाममा निर्णयहरु साह्रै ढिलो हुने गरेको छ । त्यो राम्रो होइन, सङ्गठनको कमजोरी हो । मैले पार्टीमा कुनै जिम्मेवारी पाए भने यी कुरा विशेष रूपमा उठाउँछु । समयमा निर्णय  गर्नेतिर पार्टीलाई डोर्याउँछु तर अहिले हाम्रो अवस्था साक्षी बस्ने जस्तो मात्रै भएको छ ।

त्यही लुज कल्चरका कारण काँग्रेस विपक्षी दलको रूपमा कमजोर भएको हो कि क्या हो ?

–हामी कमजोर भइसकेका छैनौँ । राष्ट्रियसभामा हामीले राम्रो उपस्थिति देखाएका छौँ । प्रतिनिधिसभामा अलिकति गाणितीय रुपमा कमजोर भएकाले साथीहरूमा लघुताभास आएको छ । यद्यपि साथीहरुले प्रतिनिधिसभामा पनि आफ्नो कुरा जबर्जस्त रूपमा राखिरहनुभएको छ । संसदीय राजनीतिमा गणित निकै महत्त्वपूर्ण कुरा हो । तैपनि हामीले कुरा उठाउन बाँकी राखेका छैनौँ । गोविन्द केसीको कुरा होस् वा निर्मला पन्तको कुरा होस्, या विप्लव, सिके राउतका कुरा किन नहोस्, सविधान संशोधनको विषय किन नहोस्, हामीले सबै विषयमा ठोस रूपमा बोलेका छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलले त राम्रा कुराको पनि विरोध गर्छन्, नराम्रा कुराका पनि विरोध गर्छन् भनेका छन्, के यो सही हो ?

–एकदम गलत कुरा हो । हामीले प्रतिनिधिसभा र राष्ट्रसभामा गलत कामको विरोध गरिएको छ भने राम्रो कामको समर्थन गरेका छौँ । तर राम्रो काम नै भएको छैन भने केमा समर्थन गर्ने ? बरु ऐन कानुन निर्माणमा हामीले सरकारलाई सहयोग गरेका नै छौँ । तर निर्मला पन्तलगायतका मुद्दामा हामी चुप लगाएर बस्न सक्दैनौँ । त्यसको विरोध गरेका छौँ । हामी रचनात्मक रूपमा सरकारको विरोध र समर्थन गरेका छौँ । सरकारका आफ्नै कार्यक्षमता राम्रो छैन । अरूलाई दोष लगाउँछन्, जुन तथ्यगत सही होइन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा सरकारले काम गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुन्छ, तैपनि विपक्षीले पत्याउँदैनन् किन ?

–प्रधानमन्त्रीजीले तथ्याङ्क (डाटा) नै गलत प्रस्तुत गर्नुहुन्छ । म पनि अर्थशास्त्रको विद्यार्थी हुँ । इमानदार नेताको हातमा अर्थशास्त्र गयो भने त्यसको सही प्रयोग हुन्छ । अर्थशास्त्र भनेको तथ्याङ्कको विज्ञान हो । अर्थशास्त्रको तथ्याङ्कलाई सही तरिकाले प्रयोग गर्न सक्ने मात्र हुन्छ, जसले अर्थशास्त्रको तथ्याङ्कलाई मिथ्याङ्कका रूपमा प्रयोग गर्छ, त्यो इमानदार हुनसक्दैन । सरकारले जुन तथ्याङ्कहरु प्रस्तुत गरेका छन्, त्यसको विरोध सोही सरकारका समर्थक अर्थशास्त्रीहरुले पनि गरेका छन् । प्रधानमन्त्रीजीले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा धेरैको चित्त बुझेको छैन । स्वर्णिम वाग्ले, विश्व पौडेल जस्ता विद्वानहरुले पनि प्रधानमन्त्रीको तथ्याङ्क गलत रहेको कुरा भनिसक्नुभएको छ । उहाँहरु कुनै पार्टीका व्यक्ति हुनुहुन्न । स्वतन्त्र विचार राख्ने व्यक्ति हुनुहुन्छ । अर्थमन्त्री सरकारको मन्त्री हो । अर्थमन्त्रीले सरकारको पक्षमा नै कुरा राख्नुहुन्छ । तर प्रधानमन्त्री ओलीले पनि अर्थमन्त्रीले भनेको कुरा नै अन्तिम सत्य हो भनेजस्तो कुरा गर्नुहुन्छ । प्रधानमन्त्रीजीले आफ्ना कमिकमजोरी ढाकछोप गर्न यस्ता गलत तथ्याङ्कहरु दिएर जनतालाई भ्रममा पारिरहनु भएको छ ।

काँग्रेसबाट मधेसले आशा गरेको छ । एमालेले काँग्रेसको काँधमा बन्दुर राखेर पड्काएको कुरा काँग्रेसले बुझ्नै सकेन भनेर पहिला पनि भन्थेँ । काँग्रेस सकारात्मक रूपमा अगाडि बढेको छ तर पटक पटक अवरोध भइरहेको छ ।

सरकारले केही कामै गरेको छैन भने काँग्रेसको निष्कर्ष हो ?

–केही कामै गरेको छैन भन्न सक्दिनँ । तर जुन खालको सरकार छ, जुन शक्ति प्राप्त छ त्यसको अनुपातमा काम नभएकै हो । जुन दम्भका साथ यो दुई तिहाइको सरकार आयो, त्यो अनुसारको काम गर्न सकेन । सरकार गठन भएको एक वर्ष भएको छ । जनतामा निराशा बढिरहेको छ । देशमा पुनः द्वन्द्व हुन्छ कि भनेर जनताले निराशा व्यक्त गरिरहेको छन् । प्रतिपक्षसँग पनि दुरी बढ्दै गइरहेको छ । मधेसवादी दलहरुले पनि असन्तुष्टि जनाइरहेका छन् । यस अवस्थामा सरकारले राम्रो काम गरेको भन्न सकिँदैन ।

तपाईंहरूले जेजस्तो आरोप लगाउनुभएको छ, त्यो आफ्नो ठाउँमा सही होला । विगतमा काँग्रेसले पनि लामो समय सत्ता सञ्चालन गरेको हो तर पनि केही गर्न नसकेको आरोप छ नि ?

–पूर्वाग्रही ढङ्गबाट नसोच्ने हो भने काँग्रेसले धेरै राम्रा राम्रा काम नगरे पनि थुप्रै काम गरेको छ । देशलाई एउटा दिशा निर्देश गरेको छ । काँग्रेसले नै देशका लागि प्रजातान्त्रिक दिशा प्रदान गरेको हो । जसरी आज कम्युनिस्टहरुको दुई तिहाइको सरकार बनेको छ त्यसरी काँग्रेसको सरकार बनेको थिएन । तैपनि तुलनात्मक रूपमा राम्रो काम गरेको कुरा सबैले स्वीकार गर्नुपर्छ । काँग्रेसले राम्रो काम नगरे पनि नराम्रो काम गरेकै छैन भन्ने कुरा दाबीका साथ भन्छु । अहिलेको जस्तो भाषा–भाषामा लडाउने, भूगोल–भूगोलमा लडाउने काम काँग्रेस नेतृत्वको सरकारले गरेको थिएन । संविधान संशोधनका लागि सबभन्दा बढी आवाज काँग्रेसले नै उठाएको थियो । तर एमालेले हुन दिएन । देशलाई निकास दिन काँग्रेसले पटक पटक प्रयास गरेको हो तर एमालेबाट त्यसमा अवरोध भएको थियो ।

यो कुरा तपाईं अहिले काँग्रेसमा भएको कारणले भन्नुभएको कि कम्युनिस्ट वा एमालेका नजरबाट पनि भनिरहनुभएको छ ?

–यो कुरा पहिले पनि भन्थेँ । काँग्रेसबाट मधेसले आशा गरेको छ । एमालेले काँग्रेसको काँधमा बन्दुर राखेर पड्काएको कुरा काँग्रेसले बुझ्नै सकेन भनेर पहिला पनि भन्थेँ । काँग्रेस सकारात्मक रूपमा अगाडि बढेको छ तर पटक पटक अवरोध भइरहेको छ ।

यो बीचमा सरकारले दुईवटा राजनीतिक निर्णय गरेको छ । सीके राउतसँग ११ बुँदे सम्झौता गरी मूलधारको राजनीतिमा ल्याएको र विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ । यी दुईवटा काम सरकारले गरेको छ, के यो गलत हो त ?

–सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौतालाई काँग्रेसले स्वागत गरेको छ । तर जनमत सङ्ग्रह बारेमा हाम्रो आपत्ति छ । एउटा हस्ताक्षरकर्ताले जनमत सङ्ग्रहमा सहमति भएको भनेका थिए भने अर्कोले जनमत सङ्ग्रहमा सहमति भएको छैन भनेको छ । यो कुरा हामीले राष्ट्रियसभा र प्रतिनिधिसभामा पनि जोडदार रूपमा उठाएका थियौँ । अहिले पनि हामीले यस्तो कुरालाई उठाइ नै रहेका छौँ तर सीके राउतले लहानमा गरेको कार्यक्रममार्फत आफैले नै जनमत सङ्ग्रहको बारेमा स्पष्ट पार्नुभएको छ । अधिकार र विकास समृद्धिको कुरा उहाँले गर्नुभएको छ । पहिचान, जनमत सङ्ग्रहको कतै चर्चा गर्नुभएको छैन । अरू कुराको जवाफ सीके राउतले आफै दिनुपर्छ । ११ बुँदे सम्झौताका लागि दुवै पक्ष सचेत रहनुपर्छ । सीके राउतलाई अब यसबाट ब्याक हुनुहुँदैन भनेको छ । हामीले विप्लवलाई पनि हिंसाको बाटो छाडेर लोकतान्त्रिक बाटोबाट आउन भनेका छौँ । हिंसालाई काँग्रेसले समर्थन गर्न सक्दैन भनेको छ । सरकारले पनि अनावश्यक ढङ्गले सेना परिचालन गर्ने, दबाउने जस्ता दम्भ देखाउनु हुँदैन । प्रतिबद्ध फुकुवा गरेर वार्ताका लागि आह्वान गर्न भनेका छौँ । उहाँको माग के हो ? त्यो कुरा हामीले बुझ्नुपर्छ । पहिला उहाँहरुको माग के हो, लिखित रूपमा आओस् । उहाँको माग के हो भनी थाहै नपाई प्रतिबन्ध लगाउनु गलत हो भनेका छौँ । वार्ता नै समाधान हो भनेका छौँ ।

मधेस वा मधेसवादी दलले भनेजस्तो काँग्रेसले गर्यो भने मधेसवादी दल र काँग्रेसमा के फरक रहन्छ ? यद्यपि मधेस बारेमा काँग्रेस जहिले पनि गम्भीर छ । मधेसी जनताले अधिकार पाउनुपर्छ भन्ने कुरा काँग्रेसले उठाएको कुरा हो । मधेसले मागेको समावेशी समानुपातिक विषयमा काँग्रेस सरकारले नै संविधान संशोधन गरेर राखेको हो । अरू विषयमा पनि संशोधन गर्न तयार छ । तर त्यहाँ मधेसवादी दल वा कम्युनिस्ट पार्टीले के गरे त्यो पनि स्पष्ट हुनुपर्छ ।

लामो समयसम्म मधेसको राजनीति पनि गर्नुभयो, अहिले राजपा र फोरमले गरिरहेका गतिविधिलाई कसरी हेर्नुभएको छ ?

–काँग्रेसले संविधान संशोधन हुनुपर्छ भनी आवाज उठाइरहेको छ तर राजपा र फोरमले फल झर्ला र खाउँला भन्ने आशमा बसेका छन् । ती दलहरु कन्फ्युजमा छन् । अब पनि यो सरकारले संविधान संशोधन गर्देला भने आशा गरेर बस्नु भनेको समय बर्बाद गर्नु हो । सरकार गठन भएको एक वर्षभन्दा बढी भइसक्यो तर संविधान संशोधनको बारेमा एक कदम पनि अगाडि बढेको छैन । तैपनि आशा गरेर बसेको छ । अब ती दलका नेताहरुले भ्रम त्यागेर काँग्रेससँग मिलेर संविधान संशोधनका लागि अगाडि बढ्नुपर्छ । काँग्रेस त्यसमा सहयोग गर्न तयार छ । पहिला विजयकुमार गच्छदारलाई सत्ताभोगी भनेर आरोप लगाउने उपेन्द्र यादवलाई अब के भन्ने ? हिजोको विजयकुमार गच्छदारलाई गाली गर्ने नैतिक आधार उपेन्द्र यादवसँग अब छैन । त्यसैले झर्ला र खाउँला भनी भ्रमबाट मुक्त हुनु जरुरी छ ।

नेपाली काँग्रेसको आधार क्षेत्र भनेको मधेस हो तर मधेसका लागि काँग्रेसले जति गर्नुपर्ने त्यति गरेको छैन भन्ने आरोप छ नि ?

–मधेस वा मधेसवादी दलले भनेजस्तो काँग्रेसले गर्यो भने मधेसवादी दल र काँग्रेसमा के फरक रहन्छ ? यद्यपि मधेस बारेमा काँग्रेस जहिले पनि गम्भीर छ । मधेसी जनताले अधिकार पाउनुपर्छ भन्ने कुरा काँग्रेसले उठाएको कुरा हो । मधेसले मागेको समावेशी समानुपातिक विषयमा काँग्रेस सरकारले नै संविधान संशोधन गरेर राखेको हो । अरू विषयमा पनि संशोधन गर्न तयार छ । तर त्यहाँ मधेसवादी दल वा कम्युनिस्ट पार्टीले के गरे त्यो पनि स्पष्ट हुनुपर्छ । अर्को कुरा आज मधेसी जनता वा मधेसवादी दलले काँग्रेसले बोलिदिएन भन्नुको नैतिक आधार छैन । किनभने आज काँग्रेसलाई मत दिएर पठाएको भए आज भन्ने अधिकार पनि हुन्थ्यो । यद्यपि यो अवस्थामा मधेसका लागि हामी जति सक्छौँ त्यति गर्छौं ।

राजनीतिको लामो इतिहास छ तपाईंसँग, बौद्धिक नेताका रूपमा तपाईंलाई गिनिन्छ तर यो वाइडबडी कन्डमा कसरी मुछिनुभयो ?

–पर्यटन मन्त्रालयले दिएको गलत विवरणका कारण मलाई केही दिन मानसिक तनाव भयो । जुनबेला म मन्त्री छँदै थिइनँ त्यो बेलाको गलत विवरण दिएर मन्त्रालयले भ्रम सिर्जना गर्ने काम गरेको थियो । मन्त्रालयले छानविन समितिलाई जुन विवरण पठायो, त्यही विवरण प्रचार भयो । मेरो बारेमा धेरैले गलत बुझे । गलत विवरणका कारण मेरो सोसल इमेजमा यत्रो ठूलो धक्का लाग्यो । म २०७४ वैशाख २५ गते प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थिए । त्यसबेला ३० दिन मन्त्री भएको हुँ । त्यसपछि २०७४ जेठ २४ गते शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो । त्यो सरकारमा साउन ११ गते मात्र सहभागी भएको हुँ । २०७४ फागुन ३ गते केपी ओलीको नेतृत्वमा सरकार बनेपछि म सरकारबाट निस्केको थिएँ । मन्त्री बनेको मिति ठीक देखायो तर निस्कँदा गलत देखाए । २०७४ चैत १ गतेसम्म म सरकारमा सहभागी भएको देखाइएको छ । यसले के देखाउँछ भने म केपी ओली नेतृत्वको सरकारमा पनि सहभागी छु । यसरी गलत तथ्याङ्कले मेरो बारेमा अफवाह फैलाइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप