शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगानी सम्मेलनको कुम्भ मेला : फरक मत राख्नेहरु पनि एकै ठाउँ, राम्रा पक्ष बुझाउन भ्याई नभ्याई

शुक्रबार, १५ चैत २०७५, १६ : ३७
शुक्रबार, १५ चैत २०७५

अघिपछि हरेक विषयमा एकले अर्काको आलोचनामा समय बिताउने गरेका राजनीतिक दलका नेताहरुको प्रस्तुती र एकअर्काप्रतिको व्यवहारमा शुक्रबार भने आकाश पतालको भिन्नता देखियो ।

उनीहरुको प्रस्तुति र भाषण सुन्दा लाग्थ्यो सबै सत्तापक्ष, सबै सरकार । दृश्य हो, काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको । सम्मेलनमा सहभागी थिए –सत्तापक्ष, प्रमुख प्रतिपक्षका नेता, उद्यमी व्यवसायी र लब्धप्रतिष्ठिहरु । त्यहीँ मिसिएका थिए विदेशी लगानीकर्ताहरु पनि । चासोका साथ हेरिएको सम्मेलनमा प्रतिपक्षी पार्टीका नेता तथा सरकारको आलोचना गरिरहने उद्यमी व्यवसायीले समेत सरकारको मुक्तकण्ठले प्रशंसा गरे ।

कानुनी अड्चन र सरकारले सोचेजस्तो लगानीमैत्री अवस्था सृजना गर्न नसकेको आरोप लगाउने नीजि क्षेत्र पनि विदेशी लगानी आकर्षित गर्न सरकारलाई सघाइरहेको दृश्यले उपस्थित विदेशी पाहुनाहरु नेपाल लगानीका लागि सुरक्षित छ भन्ने बुझ्न कठिन थिएन ।

लगानीकर्ताको लगानी सुरक्षित गर्न, नाफा सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रम

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री समेत रहेका डा. रामशरण महतले देशमा स्थिर सरकार बनेको र लगानी गर्ने वातावरण बनेको भन्दै विदेशीलाई बुझाइरहेका थिए । वक्ताको रुपमा सम्मेलनमा उपस्थित डा. महत नेपालले हरेक क्षेत्रमा प्रगति गर्दै गइरहेको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गरे घाटा नहुने भन्दै बुझाइरहेका थिए ।

सरकार लगानीकर्तासँग खासै उदार बन्न नसकेको आरोप लगाउने निजी क्षेत्र पनि सम्मेलनभर कमसेकम नराम्रो विषयमा नलेख्न मिडियालाई आग्रह गरिरहेका देखिन्थे । लगानी सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा मिडियाले दुई दिन नराम्रा समाचार नलेखेर सम्मेलन सफल बनाउन आग्रह गर्न भ्याएका थिए ।

नीजि क्षेत्रकै प्रतिनीधित्व गरेका उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका सुरज बैद्य पनि लगानी सम्मेलनलाई सफल पार्न र लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न सम्झाइरहेका थिए । ‘नेपालमा लगानीको वातावरण अत्यन्त राम्रो छ, नेपालको सांस्कृतिक, भौगोलिक र जनशक्ति समेत पर्याप्त छ । डराउनुपर्ने कुनै कारण छैन,’ वैद्यले लगानीकर्ताको मन जित्ने प्रयास गरे ।

उनले आफूले जस्तै अर्को लगानीकर्ताले पनि नाफा चाहने भएकाले नेपाल त्यस्ता नाफा चाहने लगानीकर्ताका लागि उचित ठाउँ रहेको दावी पनि गरे । उनले भने, ‘नेपालमा नाफाको दर उच्च छ, नेपालमा लगानी गर्नुस् ।’

यस्तै राजश्व सचिव लालशंकर घिमिरे नेपालमा कर प्रणाली पारदर्शी र वैज्ञानिक रहेको भन्दै विदेशी लगानीकर्ताले करको झन्झटमा नफस्ने प्रस्ट पारे ।

लगानी सम्मेलन सुरु हुँदै, आज के–के हुन्छ ?

आउँदै गरेको बजेटमार्फत पनि सरकारका सबै प्रतिबद्धता पुरा गर्ने आश्वासन दिँदै उनले दोहोरो करमा फस्न नपर्ने ग्यारेन्टी गरे ।

पराराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नेपालले आकर्षक करको व्यवस्था गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न चाहेको बताए । लगानी गर्न चाहनेलाई बजारको समेत समस्या नरहने ज्ञवालीको भनाई थियो  ।

शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी प्रतिनिधिको उल्लेख्य सहभागिता छ । ३९ देशबाट ७३५ विदेशी प्रतिनीधि सम्मेलनमा सहभागी छन् ।

आर्थिक बृद्धिमा ध्यान केन्द्रित गर्न डा. महतको सुझाव

निर्धक्कसाथ लगानी गर्नुहोस् : अर्थमन्त्री खतिवडा

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप