बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सम्भव छ वैशाख १० अघि नै प्रमको ‘सरप्राइज’ ?

यसरी साघुरो बनाउँदैछ नेकपाले एकताको काम
आइतबार, १७ चैत २०७५, १० : ०६
आइतबार, १७ चैत २०७५

उदाहरण १–दाङका सबै तहमा पार्टी एकताको काम सकियो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार दाङका १० वटै स्थानीय तहका कमिटीलाई शपथ खुवाएको छ । तुलसीपुर र घोराहीका पदाधिकारी एवम् सदस्यलाई शपथ खुवाएसँगै जिल्लाका सबै तहमा पार्टी एकताको काम सकिएको हो । नेकपा जिल्ला कार्यदलका नेताहरुका अनुसार घोराही र तुलसीपुर उपमहानगरका पदाधिकारी एवं सदस्यलाई बेग्लाबेग्लै कार्यक्रम गरेर शपथ खुवाएपछि जिल्लाको पार्टी एकताको काम पूर्णरूपमा सकिएको हो । तुलसीपुर र घोराहीमा बिहीबार नेकपा प्रदेश नं ५ का संयोजक शङ्कर पोखरेलले शपथ खुवाएका थिए । शपथग्रहण कार्यक्रममा प्रदेश संयोजक पोखरेलले यतिबेला कार्यकर्ता मिलाउने काम भइरहेको र वैशाख १० भित्रै जिल्लाका अरु भातृ सङ्गठनलाई पनि मिलाउने तयारी भइरहेको बताएका थिए । जिल्लाका सबै पालिकामा अध्यक्ष र सचिवसहित १०१ सदस्यको कमिटी बनाइएको छ । जहाँ ५३ पूर्वएमाले र ४८ पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व हुने गरी कमिटी बनाइएको छ ।

उदारण २–बाग्लुङका स्थानीय तहमा पनि नेकपाको एकता टुङ्गियो
नेकपाले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्व एमालेको भागमा परेको छ । यस्तै, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्व माओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुनेछ । बुधबार र बिहीबार गरी दुई दिनसम्म बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इञ्जार्च पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष हितराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

उदारण ३ –२१७ सदस्यीय प्रदेश कमिटीका सदस्यलाई शपथ
बिहिवार प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले २१७ सदस्यीय प्रदेश कमिटीका सदस्यलाई शपथ दिलाए । कार्यक्रममा पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल, प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य र सहइञ्चार्ज हितबहादुर तामाङलगायत उपस्थिति थिए । तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि गठित प्रदेश कमिटीमा नारायण दाहाल अध्यक्ष र आनन्द पोखरेल सचिव छन् । सपथ यस्तो बेला दिलाइएको छ, जब सचिवालयले टुङ्गोएको प्रदेश कमिटीलाई स्थायी कमिटिीले अनुमोदन गर्ने निर्णय थियो । स्थायी कमिटीको अनुमोदनबिनै सपथ खुुवाएर नेकपाले प्रदेश कमिटीलाई वैधानिकता दिएको छ । अर्थात् असन्तुष्टि रहे पनि नेकपाको प्रदेश ३ को कमिटी तहको एकता अब टुंगिएको छ ।

उदाहरण ४ –प्रदेश नम्बर १ कमिटीलाई सपथ
प्रधानमन्त्री ओलीले चैत ३ गते विराटनगरमा १ नम्वर प्रदेश कमिटीलाई सपथ ग्रहण गराए । सपथग्रहण कार्यक्रम तथा प्रदेश कमिटीको पहिलो बैठकमा प्रदेश कमिटीका पदाधिकारीसहित सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सही विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका थिए । यो प्रदेशमा २०७ जनाको कमिटी रहेको छ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् । प्रदेश १ को इन्चार्जमा भीम आचार्य, सह–इन्चार्जमा सावित्रीकुमार काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार रहेका छन् ।

उदाहरण ५ – नेकपा कर्णाली प्रदेशको पहिलो बैठक

कर्णाली प्रदेश कमिटीमा विधानतः अधिकतम सदस्य संख्या १७५ रहेकोमा साबिक एमालेबाट ८७ र माओवादीबाट ८८ जना परेका छन् । पार्टी एकतापछि पहिलोपटक प्रदेश राजधानी सुर्खेतमा प्रदेश कमिटीको बैठक पनि बसेको छ । योसँगै देशभरिका सातवटै प्रदेशमध्ये कर्णाली प्रदेश बैठक गर्ने पहिलो प्रदेशसमेत बनेको थियो । बैठकले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र प्रदेशसभा सदस्यहरुको संयुक्त टोली बनाएर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । एकताको सन्देश गाउँ–गाउँमा पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिने अभियान वडा तहसम्म पुग्ने छ । बैठकले स्थानीय कमिटीको एकीकरण प्रस्ताव तयार पार्ने निर्णय पनि गरेको छ । बैठकले पार्टीका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग समन्वय गरी दुबै पार्टीका प्रदेशसभा संसदीय दलको संयुक्त बैठक गरी दल एकीकरण गर्ने निर्णय गरेको छ । बैठकमा प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो भने उनीहरुलाई बधाइ पनि ज्ञापन गरिएको थियो । सदस्यहरुले परिचय आदानप्रदान पनि गरेका थिए । बैठकले विशेष प्रस्ताव पारित गर्दै जनयुद्ध र जनआन्दोलनका घाइते अपाङ्गको उपचारका लागि व्यवस्थापन गर्न सरकार र पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

साँघुरो बनाउँदै एकता
बागलुङ र दाङमा भएका स्थानीय तहको एकता साथै प्रदेश १ र प्रदेश ३ का सदस्यलाई खुवाइएको सपथले नेकपाभित्रका विभिन्न तहका कमिटी एकताको काम क्रमश अगाडि बढ्दैछ भन्ने संकेत दिएको छ । अरु धेरै जिल्लामा पनि एकताको काम लगभग टुंगिएको छ तर औपचारिक रुपमा भने सार्वजनिक भएको छैन । नेतृत्वले एकतामा परेको गाँठो फुकाउन नसकिरहेका बेला विवादका बीचमा भएपनि प्रदेश कमिटी सक्रिय बनेर अधिकाशं स्थानीय तहको एकता टुङ्गोइसकेका छन् ।

जिल्ला अध्यक्ष र सचिवको टुङ्गोे केन्द्रले लगाए लगत्तै स्थानीय तहको एकता पनि एकैचरणमा टुङ्गोउने तयारी प्रदेश कमिटीले गरेका छन् । टुंगिन बाँकी स्थानीय तहमा पनि चैत मसान्तसम्म सबै काम टुगाउन भन्दै सम्बन्धित प्रदेश कमिटीले आन्तरिक सर्कुलर जारी गरेको छ । त्यस्तै जिल्ला तहमा कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाएको छ । अधिकांश जिल्ला कार्यदलले वडा तहसम्मकै एकता टुङ्गो लगाएको छ ।

एकताको १० महिनामा के–के भयो, के–के बाँकी छ?
नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको आज १० महिना पुगेको छ । तर, यो १० महिनामा पार्टी एकताका आधाभन्दा बढी काम टुङ्गिन सकेका छैनन् । यस अघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटव्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय संगठनहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन । यसबाहेक राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन काम पनि सकिएको छैन ।

पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काम सकिएको छ । तर, प्रदेश कमिटीको स्थायी कमिटीबाट अनुमोदन हुन बाँकी छ ।

नेकपाले पछिल्लो पटक पुस १३ गते स्थायी कमिटीबाट बनाइएको कार्यदलले पनि काम गर्न सकको थिएन । यहाँ पनि विवाद भएपछि मूल र असन्तुष्ट समूहले अलग–अलग प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका थिए ।  
 
माधव नेपाललाई फकाउने प्रयास
७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुङ्गो लागिसकेको समाचार प्रकाशमा आएको छ । पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्तावमा ओली र प्रचण्डबीच सहमति बनेको स्रोतको भनाई छ । तर, ४५ जिल्लामा नेतृत्व लिने सहमति भएपनि पूर्वएमालेको समूहबीच भागबन्डा मिलेको छैन ।

नेता नेपालले आफ्नो चासो सम्बोधन गर्नुपर्ने अडान यहीनेर राखेको स्रोतको भनाई छ । तर, कुन प्रदेशमा पूर्व पार्टी कसले कुन–कुन जिल्ला लिने भन्ने विषयमा अन्तिम टुङ्गोे लागेको छैन । तर, मोटोमोटी सहमति बनेको छ ।

यसमा माधव नेपालको सहमति छैन् । पछिल्लो पटक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जिल्ला नेतृत्वका विषयमा सहमति जुटेसँगै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठनको चेतावनी दिएका छन् ।

नेता नेपालले दुई अध्यक्षबीचमा मात्र भएको सहमति अनुसार एकताको नाम लिष्ट सार्वजनिक भए समानान्तर कमिटी गठन गर्ने चेतावनी अध्यक्षद्वयलाई दिएको स्रोतको दावी छ । नेता नेपालले सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्र जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफुलाई मान्य नुहने बताएका हुन् ।
नेता नेपाललाई सचिवालयका अन्य तीन नेताको पनि साथ रहेको स्रोतले बतायो । नेकपाका वरिष्ट नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठको साथ नेता नेपाललाई छ ।

अध्यक्ष प्रचण्ड अमेरिका जानुपूर्व सचिवालयका यी ४ नेता खुमलटार पुगेका थिए ।  अध्यक्ष प्रचण्डसँग भएको छलफलमा एकताको गृहकार्यमा दुई अध्यक्षसँगै नेता नेपाललाई पनि राख्न अन्य तीन नेताले सुझाव दिएका थिए ।

स्रोतका अनुसार यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचमा पनि छलफल भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओलीले पूर्व एमाले खेमाका शीर्ष नेता नेपाल, खनाल र गौतमलाई वालुवाटार बोलाएर छलफल गरेका थिए । त्यसबाहेक प्रधानमन्त्री ओली र नेता नेपालबीचमा पनि छुट्छुट्ै छलफल भएको स्रोतको दाबी छ । तर, कुरा भने मिलेको छैन ।
 
ओली भन्छन्–सरप्राइज दिन्छौँ, प्रचण्ड भन्छन्–अब घनिभूतरुपमा लाग्छौँ
गत बुधबार रातोपाटीसँगको अन्तवार्तामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वैशाख १० गतेसम्म सबै तहका एकता टुङ्ग्याएर अर्को ‘सरप्राइज’ दिने बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘वैशाख १० गते हाम्रो पार्टी ७० वर्ष पूरा गर्छ । ७० वर्ष पूरा गर्नुभन्दा पहिले एकताको प्रक्रिया टुङ्गिसक्छ ।’

पार्टीकै शिर्ष नेता माधव कुमार नेपाल लगायतका नेताहरुले अध्यक्षद्वयले पार्टी एकतालाई वेवास्ता गरेको भन्ने टिप्पणी गरेका छन् नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘कसले के बोल्नुभयो भन्दा पनि एकता विलम्ब भएको हो । मुख्य जिम्मेवारी अध्यक्षहरूले नै लिनुपर्छ । जहाँबाट जसको कारणले जसरी विलम्ब भए पनि त्यसको जिम्मेवारी हामीले लिनुपर्छ, हामी लिन्छौँ । र, छिट्टै नै अब एकता एकीकारणका बाँकी सबै काम पनि टुङ्गिन्छन् ।’

त्यस्तै बिहीबार नेकपाको ३ नम्बर प्रदेश कमिटीलाई सपथ खुवाउँदै प्रधानमन्त्री ओलीले पार्टीभित्रका असन्तुष्टिलाई बाहिर उछालेर भए–नभएका कुरा सार्वजनिक गर्ने अनुशासनहीन प्रवृत्ति उचित नभएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेतृत्वले कुनै लाखापाखा गर्दैन । त्यसैले अब कसैले गुटबन्दी गर्नु पर्दैन । गुटबन्दी र फुटको शिक्षाबाटै हामी एकताबद्ध भएर सुविधाजनक बहुमतको कम्युनिष्ट सरकारको चरणमा पुगेका छौँ । अब सामाजिक रूपान्तरणको काममा सबै लाग्नुपर्छ ।’
 
चैत ८ गते वुटवल पुगेर प्रधानमन्त्री ओलीले नेकपाका बाँकी काम आकस्मिक रुपमा टुङ्गिने बताएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए, ‘नेकपाका गतिविधि आकस्मिक ढंगले हुने गर्छ । पार्टी एकता पनि आकस्मिक ढंगले भएको थियो । बाँकी एकताका काम पनि आकस्मिक ढङ्गले हुन्छन् ।’

त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि अब घनिभूतरुपमा एकताको काममा लाग्ने बताएका छन् । पत्नी सिता दाहालको उपचारका लागि चैत ३ गते अमेरीका गएका प्रचण्ड विहीबार स्वदेश फर्के लगत्तै विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले भनेका छन्, ‘म अमेरीका जान नपरेको भए र हस्पिटलको काम नमिलाएको भए सायद यो दश दिनमा एकताको काम सकिन्थ्यो । अब हामी घनीभूत रुपले यहि काममा लाग्छाँै । र, छिट्टै एकतालाई टुङ्गोेमा पुर्याइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप