शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबारबाट मलेसिया रोजगारी खुल्ने हौवा मात्रै

नयाँ प्रक्रिया सुरु हुन कम्तीमा एक महिना लाग्ने
आइतबार, १७ चैत २०७५, ११ : ४९
आइतबार, १७ चैत २०७५

चैत १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीसँगको छलफलमा भने अबको एक साताभित्र कलिङ भिसा पाएकाहरु मलेसिया जान सुरु गर्छन् ।

गएको जेठ २ गतेदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउने सम्बन्धमा व्यवसायीहरुले मलेसियाको रोजगारी खुल्ने सम्बन्धमा चासो राखेका थिए । त्यही क्रममा मन्त्री विष्टले अबको एक साताभित्र कलिङ भिसाको प्रक्रिया सुरु हुने जवाफ दिएका थिए ।

तर त्यही दिन विभिन्न अनलाइन सञ्चारमाध्यम र भोलिपल्ट दैनिक पत्रिकामा समेत आइतबारबाट मलेसिया रोजगारी खुल्ने भन्ने आशयको समाचार आउन थाल्यो । मन्त्रीसँगको भेटमा भएका म्यानपावर व्यवसायीलाई त मन्त्रीले के भनेका थिए भन्ने थाहा थियो तर समाचार बाहिर आएलगत्तै अन्य म्यानपावर व्यवसायी र मलेसियामा रोजगारीका लागि जान इच्छुक रहेकाहरुलाई भने यसले केही उद्वेलित बनाइदियो ।

‘आइतबारबाट मलेसियाको रोजगारी खुल्ने’ विषयको समाचार खासमा नियोजित भएको श्रम मन्त्रालय एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा रोतोपाटीलाई बताए ।

‘आइतबारबाट रोजगारी खुल्छ भनेर समाचार छपाउने र नखुलेमा मन्त्री वा मन्त्रालयलाई दोष दिने नियत देखियो । खासमा मन्त्रीज्यूले भन्नुभएको आगामी साता (आइतबारदेखि शुक्रबारसम्म) सम्मा कलिङ भिसा पाएकाहरुलाई सहजीकरण गर्ने कुरा बताउनुभएको थियो ।’ ती अधिकारीले भने ।

कलिङ भिसा पाएकाहरुलाई पठाउने तयारी

यसअघि जेठ २ गतेभित्रै कलिङ भिसा पाएकाहरुलाई मलेसिया जाने बाटो खोल्न मन्त्रालयले पहल सुरु गरेको छ । यसअघि मन्त्रालयले नेपालस्थित मलेसियन दूतावास आफैले भिसाको सबै प्रक्रिया पूरा गरे कलिङ भिसा पाएकाहरुलाई पठाउने भनेको थियो । तर नेपालस्थित मलेसियन दूतावासले आफूसँग पर्याप्त जनशक्ति नभएको भन्दै त्यो काम आफू एक्लैले गर्न नसक्ने जानकारी दिएको थियो । त्यसलगत्तै मलेसियाको रोजगारी झनै जटिल बनेको थियो ।

यद्यपि मलेसियाको एक टनेल कम्पनीमा काम र्ग जाने २२ जना मजदुरलाई भने दूतावास आफैले वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै अन्तिम स्वीकृति दिन आग्रह गरेको थियो । दूतावासले पत्र नै काटेर सबै प्रक्रिया आफै गर्ने भनेपछि विभागले अन्तिम श्रम स्वीकृति दिई २२ जना नेपाली कामदारलाई मलेसियामा पठाएको थियो ।

पछि मन्त्रालयले सोही प्रकृतिको पत्र दूतावासबाट मागे पनि दूतावासले अन्यलाई भने त्यस्तो पत्र दिएको थिएन ।

बिहीबारको भेटमा वैदेशिक रोजगार व्यवसायी आफैले पासपोर्ट र कागजात बोकेर दूतावास जाने र त्यहीँबाट सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएपछि श्रम मन्त्रीले आगामी साता चैत १७–२३ भित्र कलिङ भिसा पाएकाहरुलाई जाने बाटो खोल्ने बताएका थिए । यसका लागि मन्त्रालयले चैत १७ गते आइतबारबाटै प्रक्रिया सुरु गरिसकेको बताएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार वैदेशिक रोजगार व्यवसायीहरुलाई आजै पत्र दिने गरी मन्त्रालयले तयारी थालेको छ ।

मन्त्रालय स्रोतका अनुसार म्याद नगुज्रेको कलिङ भिसा पाउनेको सङ्ख्या ८ सयको हाराहारीमा छ भने म्याद गुज्रेको तर पासपोर्ट बाँकी रहेकाहरूको सङ्ख्या भने करिब ९ हजार रहेको छ ।

नयाँ प्रक्रिया सुरु हुन अझै कम्तीमा एक महिना

कलिङ भिसा पाएकाहरुलाई मलेसिया जाने बाटो खोल्ने तयारी भए पनि नयाँ प्रक्रियाबाट मलेसिया जान भने अझै पनि कम्तीमा एक महिना लाग्ने निश्चितजस्तै छ । यतिबेला कामदार लिने सम्बन्धमा मलेसियाको मानव संशाधन मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

मलेसियाको मानव संशाधन र गृह मन्त्रालयले उक्त प्रतिवेदनमाथि छलफल चलाइरेहका छन् र यो विषय चाँडै मलेसियाको संसदमा जाँदैछ । मलेसियाको संसदले उक्त विषय पास गरेपछि मात्रै नेपालबाट कामदार लिने मोडालिटी तय हुन्छ । त्यसपछि मात्रै मलेसियाले औपचारिकरुपमा नेपालबाट कामदार लिने प्रक्रियाको थालनी गर्ने बताएको छ ।

मलेसियास्थित मानव संशाधन मन्त्रालयले आगामी मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपालबाट कामदार लिने मोडालिटीको घोषणा गर्ने तयारी गरेको छ । जसमा कामदार मलेसिया लैजानका लागि आवश्यक सम्पूर्ण खर्च मलेसियास्थित रोजगारदाता कम्पनीले बेहोर्ने उल्लेख छ ।

स्वास्थ्य परीक्षणको मापदण्ड आउनु नै प्रक्रियाको सुरुवात

मलेसियाले एक साता अगाडि मात्रै स्वास्थ्य परीक्षणको मापदण्ड नेपाललाई दिएको थियो । श्रम मनत्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड मलेसिया सरकारबाट प्राप्त गरेसँगै सार्वजनिक सूचना निकालेर १५ दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ । यसअघि जममा ३७ वटा संस्थाहरुले मात्रै गराउँदै आएका मलेसिया रोजगारीको स्वास्थ्य परीक्षण अब भने देशका सरकारी तथा निजी अस्पताल, क्लिनिक र मेडिकल सेन्टरहरुले पनि गर्न पाउने भएका छन् ।

तर त्यसभन्दा पहिले दर्ता हुनका लागि आवश्यक सामग्री खरिद गरी निवेदन दिनुपर्नेछ र अनुगमनका क्रममा न्यूनतम मापदण्ड पूरा गरेको हुनुपर्नेछ । तत्कालै सामान खरिद गर्न नसकेमा करिब एक वर्षका लागि फेरि चुपचाप बस्नुपर्ने अवस्था भने आउन सक्नेछ । किनभने नेपाल र मलेसियाको टेक्निकल टिमले बेला बेलामा सूचीकरण र अनुगमन गर्ने हुँदा अहिले नै सामान खरिद नगरी बसिरहेकाहरुका लागि भने अझै करिब १ वर्ष कुर्नुपर्ने हुनसक्छ । यद्यपि मलेसिया रोजगारीका खोल्ने सम्बन्धमा मन्त्रालय एक कदम अगाडि बढिसकेको मन्त्रालय स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस्:

मलेसिया कामदार ल्याउन रोजगारदाताले तिर्छन् डेढ लाख बढी

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको मापदण्ड नेपाल आइपुग्यो, अब तत्कालै आवेदन मागेर सूचीकृत गरिने

मलेसियाली कम्पनीको लापरवाहीले ३२ नेपाली कामदार समस्यामा, यस्तो छ ‘अवैध’ कथा

मलेसिया रोजगारीको ‘डेडलक’ चाँडै सकिन्छ : राजदूत उदयराज पाण्डेसँगको अन्तरवार्ता

नेपाली युवतीको बयान : मलेसियामा रक्सी र लिभ–इन रिलेसनले सबै बिगार्यो

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप