शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निष्ठुरी दैव : घर मात्रै ढलेन, नातिनी टुहुरी बनिन् ! (फोटोफिचर)

सोमबार, १८ चैत २०७५, २३ : ५८
सोमबार, १८ चैत २०७५

वीरगञ्ज । बाराको फेटा गाउँपालिका–१ भलुहीका राम सुरत दासको जीन्दगीमा यस्तो विपत्त अहिलेसम्म आएकै थिएन्, फेरी कहिल्यै नआओस् ।

आइतबार साँझ ७ बजेर केही मिनेटमा अचानक आँगनमा भुमरी पर्दै आएको आँधीबेहरीले उनको बर्षौंदेखिको बास एक झप्कामा ढाल्यो । 

त्यतिमात्र हो र । ९ महिने नातिनीलाई ‘टुहरी’ बनाउँदै बुहारी रिना दास र जीवनसंगिनी मोतिश्वर देवी दासलाई आफ्नै आँखा अगाडिबाट चुँडेर लग्यो ।

सोमबार साँझ अबेर फेटा–१ मा  पुग्दा राम सुरत आफ्नी अबोध नातिनीलाई छातिमा टाँसेर भक्कानिइरहेका थिए । ओठमुख सुकेका थिए ।

‘घर त लग्यो–लग्यो, निष्ठुरी हुरीले मेरी नातिनीलाई टुहरी बनाएर गयो,’ उमेरले करिब ६० टेकेका राम सुरतले भक्कानिँदै भने, ‘अब म के गरौं ?’

राम सुरतको आँगनमा एक हुल छिमेकी भेला भएका थिए, तर उनले सोधेको ‘अब म के गरौं ?’ भन्ने प्रश्नको जवाफ कसैसँग थिएन् ।

चैत १७ गते साँझ करिब ५ मिनेट आएको हावाहुरीका कारण फेटा गाउँपालिका–१ स्थित भलुहीका अधिकांश घरहरु ढलेका छन् । बर्षौंदेखिको बास ढलेपछि खुल्ला आकाशमा रात बिताउन बाध्य स्थानीय ‘सरकारले केही गर्ला की’ भन्ने आशमा छन् ।

स्थानीय नरेश दास दुई छोरीलाई गुन्द्रीमा ओछ्यान लगाएर घोत्लिइरहेका थिए । साथमा श्रीमती चिन्तित मुद्रामा थिइन् । छेउमा घरको छानो भुईंमा खसेको थियो । ‘धन्न घरबाहिर भागेर बाँच्यौं’ नरेश दासले भने, ‘परको बिजुलीको तार मेरो घरमा आएर खस्यो, धन्न करेन्टले भेटेन ।’

सोमबार भग्नावशेष खोस्रिए, एउटा ग्यासको सिलिन्डर र केही थान थालकचौरा निकाले, तर पकाएर खाने सामन थिएन् । गाउँलेहरुले पकाएको मेसमा लाला–बाला लिएर गए अनि भोक मेटेर फर्किए ।

उनले प्रश्न गर्दै भने, ‘घर ढल्यो अब हामी कहाँ बसौं, बालबच्चा कहाँ राखौं ?’

फेटा–१ भलुही गाउँमा आइतबार साँझको हुरीका कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकै परिवारका सासु–बुहारी मोतिश्वर देवी दास र रिना दास तथा ६२ वर्षीय हरि दास रहेका छन् ।

हावाहुरीका कारण भागडौदमा परेर दर्जन बढी घाइते भएका छन् । गाउँका सबै घर ढलेपछि बाँचेका पशु चौपाया पनि खुल्ला आकाशमुनी छन् ।

आँधी आउँदा स्थानीय महेन्द्र दास घरभित्र थिए । ‘अचानक केही कराएको जस्तो आवाज आयो, बाहिर निस्कँदा आँधी तलबाट माथितिर घुम्दै आयो’ महेन्द्र भन्छन्, ‘एकैछिमा हाम्रो सुन्दर बस्तीलाई खण्डहर बनाएर आकाशतिर बिलायो ।’

आइतबारको आँधीको बारेमा भलुहीका स्थानीयहरु फरक–फरक अनुभव सुनाउँछन् । स्थानीय जोधा दासले ‘हात्ती कराएजस्तो आवाज सुनेको’ बताए ।

तर, अचानक आएको आँधीले भलुही गाउँलाई कहिल्यै नभुल्ने पीडा दिएर गएको छ ।

(हेर्नुहोस् फोटोमा)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप