मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फिरोज हत्याकाण्ड : भिनाजुको प्रेममा परेकी श्रीमती नै हत्यामा संलग्न !

मङ्गलबार, १९ चैत २०७५, १४ : ०२
मङ्गलबार, १९ चैत २०७५

गत बुधबार साँझ बुटवल मैनाबगरमा भएको फिरोज हत्याकाण्डमा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ ।

हत्या गरिएका ४५ वर्षीय फिरोज अन्सारी (खान) की श्रीमती साहिन खातुनसँगै प्रेमसम्बन्धमा रहेका भारत बिहार बेतिया ४२ वर्षीय साधिर हुसेनले हत्या गरेको प्रहरीले जनाएको छ ।

खातुन र हुसेन नाताले साली भेना हुन् ।

हुसेनले बुधबार साँझ कामबाट  कोठामा फर्किदै गरेका फिरोजलाई कोठा आउँदै गर्दा गेटनिर गोली प्रहार गरेर फरार भएका थिए ।

मोटरसाइकलमा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए । मृत्तक फिरोजकी श्रीमती ३२ वर्षीया साहिन खातुनलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहको छ ।

प्रहरीले फरार रहेका हुसेनको खोजी भइरहेको छ ।

यसरी भएको थियो हत्या

मैनावरको वर्कसपमा काम गर्ने फिरोज अन्सारी (खान) श्रीमती साहिनसहित विगत २० वर्षदेखि बुटवलमा बस्दै आइरहेका थिए ।

यही क्रममा साहिनको भेना साधिरसँग पटक–पटक भेट हुन्छ । दुवैबीच प्रेम पनि बस्छ ।

गत बुधबार साधिर नवलपारसीको त्रिवेणी नाका हुँदै बुटवलामा सालीको कोठामा आएका थिए । त्यहीँ दुई जना बीच हत्याको योजना बन्छ ।

योजना बनेपछि दिउँसो तीन बजे साधिर त्यहाँबाट छुट्छन् । फेरि साँझ ७ बजे हतियारसहित आउँछन् ।

दोस्रो पटक पेस्तोल लिएर आएका साधिरले वर्पसपबाट काम गरेर आएका  फिरोजलाई गोली हानी फरार हुन्छन् ।

४२ साधिरकी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको प्रहरीले बताएको छ ।

भारतमा पनि विभिन्न अपराधमा संलग्न हुँदै आएका साधिर र साली साहिन केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बुटवलमा वर्कपसमा बसेर गाडीको पेन्टीङ्ग गर्ने फिरोजले साहिनसँग मागी विवाह गरेका थिए ।

बुधबार साँझ हत्या अघि श्रीमती खातुनले १० वर्षका छोरा रेहान र ९ बर्षका आरिषलाई कोठामा थुनेर राखेकी थिइन् । श्रीमान् आउने बेला भएपछि साधिर र साहिन दुवै जनाले बाटोमा नै फिरोजलाई कुरेर बसे ।

जब फिरोज कामबाट घर फर्किए, हुसेनले अंकमाल गरेजस्तो गरी फिरोजमाथि गोली बर्साए ।

गोली प्रहारबाट फिरोज त्यहीँ ढले । हुसेन लगत्तै त्यहाँबाट फरार भए भने श्रीमतीले केही समयपछि चिच्याए जस्तो गरिन् ।

त्यसपछि फिरोजलाई ई–रिक्सामा राखेर लुम्बिनी प्रादेशीक अस्पालमा पुर्याइयो जहाँ अस्पतालले उनलाई मृत्त घोषाणा गर्यो ।

श्रीमतिमाथि यस्ता थिए शंका गर्ने ठाउँ

प्रहरीले शुरुदेखि नै श्रीमती गतिविधीलाई नियालेको थियो । प्रहरी प्रमुख थापा भन्छन्, ‘हत्या हुँदा उनले आफू कोठाभित्र रहेको बताएकी थिइन् । तर उनका छोराहरुले भने आफूहरुलाई भित्र थुनेर मम्मी बाहिर रहेको बताएका थिए ।’

यहीँबाट प्रहरीले साहिनमाथि शंका गर्न शुरु गरेको थियो ।

पछि उनको मोबाइलको कल डिटेलबाट हत्याबारे थप रहस्य खुलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप