बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आँधीको दादागिरी : पाकेको भान्सा पुरियो, न घर रह्यो न आमाहरु रहे !

'थर्किएको आवाज आयो, छिनभरमै सबै उडायो'
बुधबार, २० चैत २०७५, १० : १३
बुधबार, २० चैत २०७५

आँधी प्रभावित फेटा गाउँपालिका–२ भरवलियाका सिकन्दर रामको भान्सामा खाना तयार भएकोमात्रै थियो । जमिन धवर–धवर गर्न थाल्यो, एकै मिनेटमा पस्कन लागेको दाल–भात मात्रै पुरिएन्, घरको छानो पनि हुरीले उडायो ।

आइतबार साँझको विनाशकारी हुरी सम्झँदै सिकेन्दर भन्छन्, ‘बाहिर निस्कँदा देखेँ आमालाई इट्टाले लागेछ, छिनभरमै उहाँ बित्नुभो ।’

विनाशकारी आँधी आएपछि बरियोदेवी राम घरभित्र पस्न खोजेकी थिइन्, छिमेकीको घर ढल्दा आएको ईट्टा उनको टाउकोमा बजारियो । सिकन्दरको कच्ची घर थियो, नजिकैको छिमेकीको पक्की घरको छत खसेर खेतमा बजारियो ।

‘भित्र बसिरहेको थिएँ, थर्किएको आवाज आयो अनि छिनभरमै सबै उडायो,’ सिकन्दर कहालीलाग्दो उक्त क्षणको स्मरण गर्छन्, ‘अब न गाँस–बास छ, न आमा छिन् ।’

आँधीका कारण सिकन्दर आफैं पनि घाइते भए । ६ दाजुभाइसहित ३० जनाको उनको परिवार अहिले छाना र मानाको खोजीमा छ ।

सिकन्दरकी आमा मात्रै होइन, भरवलियाको दलित बस्तीमा आँधीबाट दुईजनाको ज्यान गएको छ ।

भरवलियास्थित राजेन्द्र पटेलको घरमा पुग्दा जो–कसैका आँखा रसाउँछन् । पक्की घर ढलेर खेतको गह्रोमा पल्टिएको छ । घरकै डोवमा राजेन्द्र पटेल आमाको काजक्रिया गर्दै थिए । टाउकोमा सेतो कफन बेरेर बसेका राजेन्द्र मुटुमाथि ढुंगा राखेर भन्दै थिए, ‘भाउजु र मेरी श्रीमती अस्पतालमा छन्, घरबार सबै एकै मिनेटमा सिद्धियो ।’

आँधीका कारण राजेन्द्रका आमा मनोरमा देवीको मृत्यु भएको थियो । उनकी श्रीमती र भाउजु घाइते छन् । अहिले उनीहरुको बिरगञ्जस्थित मेडिकल कलेजमा उपचार भईरहेको छ । लाला–बालासहित १० जनाको पटेल परिवार स्थायी छाना र भरपर्दो राहतको अभावमा भौतारीरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप