शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्माको आत्मविश्वासः रिजल्ट ‘राम्रै’ निस्किनेमा ढुक्क !

बुधबार, २० चैत २०७५, १४ : ५९
बुधबार, २० चैत २०७५

अभिनेत्री करिश्मा मानन्धर अहिले फ्री छिन् । सोमबार एसईईको अन्तिम परीक्षा दिएकी उनले अहिले आफू पढाइको चापबाट मुक्त भएको बताएकी हुन् ।

‘एसईई सकियो निकै आनन्द लागि रहेको छ,’ उनले भनिन्, ‘अहिले कपालमा तेल लगाएर आनन्दले घरमा बसिरहेकी छु । कहिले टिभी हेर्छु । कहिले सुत्छु । विन्दास भएकी छु ।’

तीन वर्षदेखिको नियमित स्कुले रुटिन सकिएकोले अहिले खुसी लागेको सुनाइन् ।

करिश्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट एसईई परीक्षा दिएकी हुन् ।

मैतिदेवीस्थित त्रिवेणी माविकी विद्यार्थी उनलाई सोही माविले विद्यालयको नियमित विद्यार्थीको रुपमा परीक्षामा सहभागी गराएको थियो ।

करिश्माले तीन बर्ष अगाडि मैतीदेवीमा रहेको त्रिवेणी माविमा कक्षा ८ देखि नियमित अध्ययन सुरु गरेकी थिइन् । उनी समान्य विद्यार्थीझैँ नियमित स्कुल जाने गर्थिन् । विद्यालयको हरेक कार्यतालिका पालना गर्थिन् ।

नेपाली चलचित्र क्षेत्रकी सदाबहार ‘ब्युटी क्वीन’को परिचय बनाएकी उनी अभिनयमा पनि व्यस्त रहँदै आएकी थिइन् । सुटिङ पर्दा स्कुलले उनलाई कहिले काहीँ छुट्टी पनि दिन्थ्यो । आफ्नो कामका लागि उनले प्रायः स्कुलको साप्ताहिक बिदाको दिन शनिबार र अन्य विदालाई सदुपयोग गर्दै आएकी थिइन् ।

‘बालबालिकाझैँ तीन वर्षको नियमित स्कुलको दैनिकी मेरा लागि कम चुनौती भने थिएन,’  उनले अगाडि भनिन्, ‘अहिले स्कुले जीवन सकियो । स्कुल अनुभव रोमाञ्चक रह्यो । अहिले रमाइलो र आनन्द महशुस गरिरहेकी छु ।’

सामान्य विद्यार्थीको आफ्नो उमेर धेरै माथ भएकोले पनि स्कुलको नियमति कार्यतालिका पालना गर्न धेरै कठिन भएको उनले अनुभव सुनाइन् । ‘एक्सरसाइज गर्नुपर्ने, चलचित्रमा समय दिनुपर्ने लगायतका धेरै कुरा स्कुलको रुटिनले धेरै कुरो छुट्यो,’ उनले थपिन् ।

आफूभन्दा धेरै साना उमेरको भाईबहिनीसँग एसईई दिँदा अलिकति पनि सङ्कोच नलागेको उनले बताइन् । ‘परीक्षा बिहान थियो । जाममा परेर एक दिन ढिलो पुगेँ,’ करिश्माले परीक्षाबारे अनुभव सुनाउँदै भनिन्, ‘सामाजिक शिक्षाको जाँच थियो । त्यो मेरा लागि अप्ठ्यारो विषय थिएन । तर ढिलो भएकोले हतार–हतारमा परीक्षा दिनुपर्यो ।’

‘पछाडि २ वटा प्रश्न रहेछन्  । हतारमा त्यो हेन र उत्तर लेख्न पनि भ्याइएन,’ उनले परीक्षाका सबै विषयमध्ये यही विषय अलि बिग्रेको हुनुपर्ने अनुमान लगाइन् ।

समग्रमा सबै परिक्षा राम्रो भएको बताउँदै उनले आफू नतिजाको व्यग्र प्रतिक्षामा रहेको बताइन् । ‘पास त पक्कै हुन्छु । तर ग्रेड के आउँछ । त्यो चाहीँ यकिन छैन । अहिलै कसरी भन्ने’ उनले अगाडि भनिन्, ‘रिजल्ट ‘रामै्र आउनेछ । म ढुक्क छु ।’

राम्रो नतिजा हुने आशा करिश्माले त्यसै गरेकी होइनन् । परीक्षाका लागि भनेर उनले एक महिना घरमै बसेर तयारी गरेकी थिइन् ।

‘मेरो स्कुल र घरको दुरी धेरै टाढा थियो । स्कुल आउँदा जाँदै दिन बित्थ्यो,’ उनले भनिन्, ‘बाटोको दुरी लामो भएकोले होमवर्क समेत गर्न भ्याउन्न थिएँ । बाटोमा समय बिताउनु भन्दा पछिल्लो एक महिना घरमै बसेर तयारी गर्न उचित ठाने ।’ उनले परीक्षाका लागि विज्ञान र लेखा विषयको ट्युसनसमेत लिएको जानकारी गराइन् ।

यसकारण स्कुल जाने इख पलायो

यो उमेरमा स्कुल जाने जाँगर करिश्मामा त्यसै पलाएको होइन । यसको पछाडि एउटा रोचक कहानी पनि छ ।

तीन वर्ष अगाडि उनी कलाकारिताबाट राजनीतिमा प्रवेश गरेर भर्खरै बामे सर्दै थिइन् । तर, उनको राजनीतिक करियरको शुरुवात सुखद हुन सकेन ।

राजनीतिमा प्रवेश गर्नेबित्तिकै लागेको एउटा घाउ अझै उनको मस्तिष्कमा आलै छ ।

प्रसङ्ग हो – डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालको कार्यक्रमको । तीन वर्ष अघि अगाडि पार्टीले आयोजना गरेको एक भेलामा उक्त भेलमा करिश्मा पनि सहभागी थिइन् । भेलामा धेरैले मन्तव्य राखे । तर पार्टी भित्रकी एक ‘पीएचडी’ महिलाले राखेको मन्तव्यले भने उनको मनमा गहिरो घाउ बनायो ।

करिश्माको भनाई अनुसार ती महिलाले उनीतिर लक्षित गर्दै ‘हाम्रो पार्टीमा एक अनपढ कलाकार पनि छन्,’ भनेर टिप्पणी गरेकी थिइन् ।

‘डाक्टर’ करिश्मा मानन्धर !

उक्त टिप्पणीले उनलाई चोट मात्र दिएन, उनमा पढ्ने इख पैदा गरायो । सोही घाउ निको पार्न उनी अध्ययनतिर लागेकी हुन् ।

‘तपाईं मजस्तै ३० वर्ष कलाकारिता गर्न सक्नुहुन्न तर म तपाईं जस्तो पीएचडी गरेर देखाउन सक्छु भनेर एक दिन डाक्टर करिश्मा मानन्धर लेखेर देखाउँछु,’ उनले सो बेला ती महिलालाई जवाफ दिएकी थिइन् ।

त्यसलगत्तै उनी स्कुल भर्ना भएकी हुन् । उनलाई अध्ययनका लागि डा. बाबुराम भट्टराईले पनि हौस्याएका थिए ।

करिश्माको डाक्टर बन्ने लक्ष्यको यो पहिलो खुड्किलो हो । पहिलो खुड्किलो पार होला कि न होला, त्यो भने हेर्न बाँकी नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप