शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संस्मरण : जन्मदिने आमा र पाइला टेकाउने देश

शनिबार, २३ चैत २०७५, १२ : ३०
शनिबार, २३ चैत २०७५

–दिलिप वान्तावा

आज दिनभरी निक्कै ठूलो हुरी चल्यो । काममा एकाग्र हुनुपर्ने भएकाले बाहिर चिहाउनसमेत फुर्सद भएन । तर हावाको झोँक्का भने महशुस भइरह्यो । सोचेँ, उता गाउँमा पनि यतिखेर चैते हुरी यसैगरी चल्दै होला । मेरो घर अगाडिको बाँस झ्याङमा बाँसहरु कड्किने गरी हावाले हानिरहेको होला । हिजो अस्तिसम्म हरियो देखिने बाँसघारी हावाले पात उडाइदिएपछि डाँडाभाटा गर्दै गरेको घरको धुरीजस्तै देखिएको होला । तल्लो घरको घुर्यानमा भएको केराघारीमा भर्खरै फक्रिँदै गरेको केराको कलिलो पात सबै लुछेर भागिरहेको हुरी पल्लो गाउँको भित्तामा ठोक्किँदा कति ठूलो आवाज आइरहेको होला ।

बेलुकी, क्रमशः हावाको तागत मत्थर हुँदै जान लाग्यो । मेरो काम पनि बिट मार्दै थिएँ ।  कम्पनीभन्दा अलि तलको पार्कमा दिनभर हुरी ठोक्किएर हल्ला गरिरहेको झ्याम्म परेको रूख त्यतिबेला चकमन्नै थियो । गोधुली साँझले छोप्दै गरेको आकाश चिहाएँ, टुक्राटाक्री बादलहरु आफ्नो हुल भेट्न दौडिरहेझैँ देखिन्थे । त्यतिबेला सम्झेँ, घर अगाडिको त्यो बाँस झ्याङमा कैयौँ दिनको मिहिनेतले बनाएको आफ्नो गुँड दिनभरीको हुरीले तहसनहस बनाएपछि साँझ बटुलिएका रुप्पीहरुको हुल अबेला रातिसम्म हल्ला गरिरहे होलान् । ठीक यतिबेला अस्ति बारा, पर्सामा हुरीले मच्चाएको बितण्डापछि बेघर भएका नेपालीहरुप्रति समवेदनाको बाँध फुटेर आयो ।

कामबाट कोठातिर फर्कंदै थिएँ, त्यतिबेला मात्रै सम्झिएँ, ‘साँच्ची त मैले कपडा धोएर सुकाएथेँ नि ।’ अनि हतार हतार कपडा सुकाएतिर लम्किएँ । सुकाएका कपडा हावाले क्लिप खुस्काएर जथाभावी फालिदिएछ । कुनै रेलिङतिर, कुनै भित्तातिर त कुनै पर कुनामा थुप्रिएको भेटेँ । तर एउटा रातो ‘क्याप’ भने त्यहाँ थिएन । भए जति सम्भावित ठाउँमा खोजेँ तर कहीँ थिएन । कोठामा गएँ, लाइट लिएर खोज्न निस्किएँ । हावा बहने दिशातिर हेर्दै गएँ । एउटा सानो फूलबारी छ, त्योभन्दा पर केही ठूला रूखहरु छन् ।

अझ हेर्दै अघि गएँ, सानो एउटा साकुराको बिरुवा छ । ढकमक्क फुलेर बैँसालु भएको त्यो साकुराले मेरो क्याप हावाबाट खोसेर राखिदिएछ । यदि त्यो साकुराको बोट हुँदैनथ्यो भने नजिकै खोला थियो । खोला र साकुराको बीचमा कुनै भौतिक चीज थिएन । जसले मेरो क्यापको रक्षा गर्न सक्दथ्यो । यदि मेरो क्याप खोलामा पुगेर बगेको भए ! बाफ्रे, यतिबेला पो झल्यास्स भएँ । अहिलेसम्म खास नठानेको मेरो त्यो क्याप झन्डै हराएर बगेपछि भने त्यसको महत्त्वको बारेमा घोत्लिन थालेँ यतिखेर । टोपी लगाइरहनुपर्ने मेरो टाउकोमा यो क्याप बेलाबेलामा चढिरहन्छ तर अमिल्दो (निक्कै सानो) छ । त्यसैले खासै लगाउँदिनँ । तर त्यहाँ भएको नेपालको राष्ट्रिय झण्डा र गणतन्त्र कोरियाको झण्डाको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध देखाइएको छ । त्यहाँ राखिएको चन्द्र सूर्य अङ्कित त्यो सानो  झण्डा हेरेरै सही म आफ्नो देशसँगै छु भन्ने आभास हुन्छ ।

 त्यसैले अब त्यो सानो साकुराको बोट केवल एउटा बिरुवा मात्र होइन, मेरा लागि त दसगजा मिचेर जङ्गपिल्लर नेपालतिर सारिरहने छिमेकीहरुसँग भिडेरै भए पनि सिमानाको रक्षा गर्ने देवनारायण यादव जत्तिकै प्रिय लाग्यो । तपाईंलाई यहाँनिर अचम्म लाग्ला, त्यो जाबो थोत्रो र रङ्ग उडिसकेको एउटा क्यापको बारेमा किन यतिभाँती गलफत्ती ! हो, त्यो रातो क्याप थियो पहिला । पहिलो चोटि निक्कै राम्ररी धुन खोज्दा रङ्ग बगेर गयो र केही फुस्रो देखिन्छ आजकल । त्यसैले आज भने अलि बिस्तारै भरसक रङ्ग नजाओस् भनेर सावधानी अपनाउँदै धोएथेँ । हो, त्यो क्याप त्यहीँ क्याप हो जुन ईपीएस कार्यालयले रोजगारीका लागि कोरिया आउँदै गर्दा बिदाइ गरेर चिनारीका लागि एउटा ज्याकेट, एउटा परिचयपत्रसहित उपलब्ध गराएको थियो । यो क्याप त्यसकारण महत्त्वपूर्ण छ, जसमा मेरो देशको झण्डा छ । झण्डा त अर्को किनेर वा आफै बनाएर नि राख्न सकिन्छ नि !

हो, सकिन्छ तर यो क्यापमा राखिएको झण्डा त्यो हो जुन मलाई मेरो देशले दिएर पठाएको छ । क्याप त यो भन्दा पनि दामी र स्टायलिस किन्न पाइन्छ नि तर म यो क्याप कुनै पनि बहुमूल्य वा सुन्दर र स्टायलिस क्यापसँग दाँज्न सक्दिनँ । किनकि यो क्याप मलाई मेरो देशले दिएर पठाएको हो । भलै यो क्याप अठार वर्षदेखि उनान्चालीस वर्ष बीचका उमेर समूहका युवा युवतीहरुका लागि बनाइएको भए पनि दस बाह्र वर्षका केटाकेटीको टाउकोमा मिल्ने गरी बनाइएको होस् । तर यो मेरो देशले मलाई दिएको उपहार हो, त्यसैले यसलाई मैले जतन गर्नुपर्छ र गरिरहेको छु जसरी आफूलाई मन पर्ने मान्छे र प्रिय मायालुले दिएको कुनै चिनो जस्तै, जो अति सामान्य नै किन नहोस् । त्यसैले यो चिनो वा उपहार भन्ने कुराको तुलना त्यो वस्तुको आर्थिक वा भौतिक मूल्य वा महत्वसँग नहुने रहेछ । त्यो त हाम्रो समवेदना र भावनासँग गाँसिएको हुने रहेछ । ईपीएस कार्यालयले क्याप बनाउने ठेक्कापट्टामा तलमाथि, दायाँबाँया वा अनियमितता गरेर, खेलाँची गरेर यस्तो अमिल्दो क्याप बनाउँछ भन्ने गुनासो होइन मेरो, किनभने हरेक तह र तप्कामा अनियमितता र कमिसनतन्त्रले जर्जर भएको हाम्रो देशमा ईपीएस कार्यालय चाहिँ यी सबैबाट विशुद्ध नभई हुँदैन भनेर कहीँ पनि लेखिएको छैन सायद । त्यसैले यसलाई पनि अन्यझैँ सामान्य नै लिइनुपर्ला । 

हुन त एउटा रङ उडिसकेको क्यापभित्र यति धेरै राष्ट्रियताको कुरा किन, भन्ने सवाल पनि आउँछ तर यही एउटा क्याप नै हाम्रो वर्तमानको एउटा सजीव प्रतिविम्ब हो । आफ्नो ऊर्वर र मिहिनेती उमेर र समय बेच्न जान लागेका युवाहरुलाई उपलब्ध गराइने एउटा क्यापसमेत सही नापमा बनाएर नदिने हाम्रो सत्ताप्रति युवाहरुको रूझान कस्तो बन्ला ? मजदुरीको पसिनाले छपक्कै भिजेका बेला आफ्नो देशको राष्ट्रिय झण्डा मात्रै देख्दा पनि छाती ढक्क फुलेर आउँछ ।

त्यो झण्डा आफ्नो शरीरमा राखेर लगाएर वा देखाएर हिँड्न पाउँदा एकाएक गर्वले शिर अग्लिएझैँ हुन्छ । कोरिया बसाइको तीन वर्ष वा थपिएको एक वर्ष दस महिना गरी चार वर्ष दस महिनाको अवधिभर समय समयमा  प्रयोग गर्न सकिने नाप र गुणस्तरको क्याप बनाइदिए के बिग्रन्थ्यो होला र ? भन्ने चाहिँ लागिरहन्छ । तर हाम्रो देशको गलत राजनीतिले हरबखत पच्छ्याइरहन्छ र कदम कदममा झस्काइरहन्छ । हामी भन्छौँ आफ्नो देशप्रति गर्व गर्नुपर्छ तर कोरियामा रहेका प्रवासी मजदुरहरु आफ्नो पसिनाको कमाइ वैधानिक बाटो (बैङ्क, रेमिट्यान्स) बाट नपठाई अवैधानिक बाटो (हुण्डी) बाट पठाउन लालयित हुन्छन् । उनीहरुको तर्क छ, ‘हामीले तिरेको कर भ्रष्टाचार गरेर सिध्याइन्छ, हर क्षेत्र र तहमा कमिसनखोर र घुसखोरहरुको जगजगी छ । ठूला ठूला औद्योगिक घरानाहरु कर छलेर सरकारकै किचनमा डकार्दै सुत्छन् । हाम्रो करको सदुपयोग हुन्न भने हामीले किन तिरिरहने ?’ सायद एउटा पाटोबाट यो तर्कलाई पनि गलत मान्न सकिन्न । तर मुख्य कुरा के हो भने, सरकारी पहल र माध्यमबाट नै कोरियाली रोजगारको सम्भावना साकार भएको हो त्यसैले हामीले आफ्नो कर्तव्य बिर्सन मिल्दैन । जन्मदिने आमा र पाइला टेकाउने देश अर्को भेट्न सकिन्न

                            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप