शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस नेपाल प्रतियोगिता सबैभन्दा ठूलो झुटको खेती हो, महिला सशक्तिकरणको मञ्च होइन’

आइतबार, २४ चैत २०७५, ११ : ४२
आइतबार, २४ चैत २०७५

गायिका, गीत लेखिका एवं मिडियाकर्मी समृद्धि राइले मिस नेपालबारे अहिले चलिरहेको बहसमा आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

मिस नेपाल प्रतियोगितामा भाग लिएकी, निर्णायकको भूमिकासमेत निर्वाह गरेकी राइले यस्ता प्रतियोगिताले महिलालाई वस्तुको रुपमा हेर्ने गरेको बताउँदै यो एउटा विज्ञापनको माध्यम मात्र भएको आरोप लगाइन् ।

शनिबार आफ्नो फेसबुकमा उनले लामो स्टेटस लेखेकी छिन् । ‘मञ्च प्रदान गर्ने नाममा यहाँ महिलाको शारिरिक विशेषतामा जोड दिइन्छ । उनीहरुलाई कसरी हिँड्ने, कस्तो देखिने र कसरी बोल्ने भन्ने तालिम दिइन्छ । र यी सबैलाई महिला सशक्तिकरणको नाम दिनु सबैभन्दा ठूलो ठट्टा हो । ’

उनले थपिन्, ‘र म दुई वर्ष अघि यो ठट्टासँग संलग्न थिएँ । त्यसकारण मैले यसबारे तपाईंहरुलाई भन्नै पर्छ ।’

आफूलाई युवतीहरुले मिस नेपाल प्रतियोगितामा जाने नजाने भनेर सल्लाह माग्दा यो सबैभन्दा ठूलो झुटको खेती भएको बताउने गरेको जानकारी दिइन् । उनले भनिन्, ‘मैले युवतीहरुलाई तपाईंहरु सबैभन्दा ठूलो झुटको खेतीमा संलग्न हुँदै हुनुहुन्छ भन्छु । रमाइलो गर्न, अनुभव बटुल्न चाहनेले यो प्रतियोगितामा भाग लिन सक्छन् तर यसमा ‘सिरियस’ हुनुहुँदैन । यो प्रतियोगी र लाखौं दर्शकका लागि लागू हुन्छ ।’

महिला सशक्तिकरणलाई समर्थन गर्ने नेपालीले साँच्चै नै काम गरेका उत्कृष्ट महिलाको समर्थन गर्नुपर्ने उनले बताएकी छिन् । उनले नेपाली जनतासँग माफी माग्दै सुन्दरी प्रतियोगिता मनोरञ्जनको एउटा माध्यम मात्र भएको बताएकी छिन् । ‘यो महिला सशक्तिकरणको मञ्च होइन,’ उनले थपिन् ।

उनले यस्तो प्रतियोगितामा आउन चाहने युवतीहरुलाई यसलाई एउटा खेलको रुपमा मात्र लिन सल्लाह दिएकी छिन् । ‘यहाँ प्रतियोतीलाई, निर्दयताका साथ, पाँच इन्च हिलमा आत्मविश्वासका साथ हिँड्न, व्यवसायिक मेकअप आर्टिस्टले झैं मेकअप गर्न, आफूलाई अन्तरराष्ट्रिय सुन्दरी प्रतियोगिगताका मञ्चहरु (जुन विश्वव्यापी रुपमा देखावटीका लागि एउटा ठूलो मञ्च  हुने गर्छ ) मा सकेसम्म सुन्दर देखिन र प्रस्तुत हुन प्रशिक्षित गरिन्छ ।

‘र मलाई जहाँसम्म लाग्छ, रचना गुरुङ शर्माले यही काम गर्नुभयो । उहाँले युवतीहरुलाई प्रतियोगिताका लागि छनौट गर्न रुखो खेल खेल्न रुचाउनु भयो,’ उनले लेखिन् ।

उनले नेपाली दाजुभाइ दिदीबहिनीलाई सुन्दरी प्रतियोगितामा बाहिरी सुन्दरता हेरेर नै विजेता छनौट गरिने कुरा बुझ्न आग्रह गरेकी छिन् । उनले भनिन्, ‘त्यसकारण सुन्दर मन र बानी व्यवहार भएका युवतीहरु मिस नेपाल हुन्छन् भन्ने कुरा बिर्सनुहोस् किनभने यो यसको मूल मर्मभित्र पर्दैन ।’

‘यो एउटा यस्तो मञ्च हो जहाँ विज्ञापनदाताहरुको मार्केटिङ राम्रोसँग हुन्छ र महिलालाई मनोरञ्जनात्मक क्षेत्रमा प्रवेश गर्न सहयोग गर्छ,’ उनी भन्छिन् ।

आफू कुनैबेला यस्तो प्रतियोगितामा संलग्न भएकोमा पश्चाताप लागेको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप