केन्द्रीय संस्करण

राजतन्त्र फेरि फर्किनसक्छ ?

person explore access_timeचैत २४, २०७५ chat_bubble_outline3

राजा देवताका अवतार हुन् भन्ने चरम अन्ध मानसिकता रहिरहने हो भने सत्ताच्यूत राजतन्त्र फेरि फर्किन सक्छ । 
संविधानअनुसार धर्म, परम्परा, प्रथा र रीतिका नाममा कसैले कसैलाई अन्याय, असमानता, विभेद र शोषणको अन्त्य गर्ने किटानी व्यवस्थालाई व्यवहारमा उतार्ने प्रयत्न नगरुन्जेल राजतन्त्र  जनताको मन, ज्ञानमा र मनोविज्ञानमा रहिरहने छ ।    

जन्मिँदै जर्नेललाई जदौ भन्ने तर कर्मले राष्ट्रपति बनेका सर्वसाधारण जनताको छोरा छोरीलाई दुत्कार्ने चरम पछौटे चिन्तन स्वघोषित  बुद्धिजीवीका गिदीमा रहँदासम्म जनविरोधी राजतन्त्र फेरि पनि फर्किन सक्छ । 

भाग्यवादी र पुर्पुरोवादी कथित प्रगतिशील तथा प्रजातान्त्रिक कवि, लेखक र कलाकार रहँदासम्म तिनका दिल र दिमागमा राजतन्त्र रहिरहनसक्छ । त्यही भावनाको राजतन्त्र फुत्त बाहिर प्रकट हुन पनि सक्छ । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भनेझैँ एक दम सतही तथा पोलिटिकल कम्युनिस्ट रहेसम्म  राजतन्त्र तिनका तन र मनमा जीवित रहनसक्छ । 
वर्ग पक्षधरताका मुखौटाहरु पार्टीको माथिल्लो तहमा रहेसम्म तिनका चिन्तनमा राजतन्त्रले ढलीमली गरिरहनेछ । तुइन युग समाप्त पार्ने ओली सरकारका कारण आफूलाई कम्युनिस्ट हुँ भन्न लज्जाबोध गर्ने  लाज घीनविहीन नेता रहेसम्म राजतन्त्र सशक्त राजनीतिक विकल्प बनिरहनेछ । 
मात्रात्मक परिवर्तनलाई अनदेखा गर्ने तर ओली सरकारले  रातारात समाजवादी युगतिर देशलाई लैजान नसकेको भनेर कटाक्ष गर्ने एकलकाँटे र अन्धवादी  नेता हुन्जेल नन्दीभृङ्गी मार्फत् राजतन्त्रको मसाने भूतको नौटङ्की जारी रहनेछ । 

कम्युनिस्ट र प्रजातन्त्रको खोल भिरेका  पश्चगामी चरित्र र चिन्तन बोकेका नेता रहेसम्म राजतन्त्र बाँचिरहन्छ । दसैँको टीका राजाका लागि भनेर घरको मूल खाँबोमा सबैभन्दा पहिले अर्पण गरुन्जेल वा टासुन्जेल जनताको मनको आशनमा राजा रहिरहने छन् ।
 थाङ्ने देशका माग्ने नेता  भनेर आफ्नै जननी र राजनीतिक अग्रजलाई सत्तोसराप गर्ने नाममा आफूलाई नै धिक्कारेको थाहा  नपाउने कथित प्रा.डा.को बकबास रहुन्जेल राजतन्त्र कायम नै रहनेछ ।
  स्वस्थानी व्रत कथालगायत अनेक प्राचीन कथाहरुमा महिलाप्रति सरमपूर्ण सरममा निमग्न महिला मण्डलीको मानसिकताका कारण राजतन्त्र जीवित मात्र होइन, जीवन्त नै रहनेछ । 
राजालाई विष्णुको अवतार  मान्ने र उनैले जगत् र जीवनको रचना गरेको भन्ने मानसिकता भएका प्रजा रहेसम्म राजतन्त्र जिउँदै छ भन्ने बुझेहुन्छ । 
   निरङ्कुश राजा र राजतन्त्रलाई बाहिर बाहिर धारे हात लगाउने तर अन्तर हृदय र व्यवहारमा  तिनकै चरम पछौटे र अघौटे वा अहंवादी सरमछाडा चिन्तन र चरित्र नेताहरुमा रहिरहने हो भने नेपालमा राजतन्त्र फर्किन धेरै  समय लाग्दैन । 
माओले भनेझैँ फेरिएको परिस्थितिअनुसार आफूलाई अलिकति पनि फेर्न नसक्ने र सहयोद्धा नेताका सकारप्रति नकार, निकृष्ट र कृतघ्न व्यवहार गर्ने नेता रहँदासम्म राजतन्त्र बौरिने स्थिति हुन्छ ।  
 प्रतिभा, क्षमता, योग्यता र अनुभवलाई खुल्ला रूपमा पन्छाएर सरकारले प्राज्ञिक क्षेत्रमा नातागोतालाई दिव्य बाह्र वर्ष बिर्ता सरह हसुर्न दिन नियुक्त गरुन्जेल राजा वा राजतन्त्रको परोक्ष समर्थन हुन्छ । 
प्रदेश र स्थानीय तहहरुमा  घटीबेसी आर्थिक भौतिक विचलन अहिलेदेखि नै सुरु छ ।  अब एक वर्षपछि  त्यो आकाशझैँ अग्लो हुने अवस्थालाई बेलैमा नियन्त्रण नगर्ने हो भने त्यसपछि राजतन्त्रको भूतले सडक जाम गर्ने निश्चित देखिन्छ । 
सभासद् रामनारायण बिडारी जस्ता पार्टी र सरकारका सकारलाई सहीसत्य रूपमा चित्तबुझ्दो रूपमा बेलिबिस्तार गर्ने प्रभावशाली मुख हुँदा मात्र गोयवल्स शैलीको दुष्प्रचार प्रभावित जनमानस स्वस्थ्य सूचनाबाट सूचित हुनेछ र  भूतप्रेतको भ्रम र भय हट्न सक्ने देखिन्छ ।  
    तर स्वयं पूर्व राजा ज्ञानेन्द्रमार्फत् नेपालको राजा र राजतन्त्रसित पुनः सत्तासीन हुने वा राजगद्दीमा पुनः स्थापित हुने कुनै र कति पनि नैतिक बल किमार्थ देखिन्न ।
 ज्ञानेन्द्रसित नेपालका कुनै राजासित तुलना हुन सक्तैन व्यापारी वा बनियाँसित पूर्वराजा महेन्द्र शाहको तुलना नै पनि अनुचित हुन्छ  ।
 चार जात छत्तीस वर्णको साझा फूलबारी शाहका पुर्खाले बनाइदिएको भनेर त्यसको जस ज्ञानेन्द्रलाई दिलाउन उद्यत राजदरबारका भूतहरु मिडियानहरुमा सलबलाउन थालेको देखिन्छ । प्रम ओलीले भनेझैँ स्वतन्त्र नागरिक हुन भन्दा रैतान हुन आतुर चरणोदक पान गर्नेहरु पानीका फोका सरह मात्र हुन् । 
 नेपाल एकीकरण अभियानका अभियन्ता, महान् विभूति तथा राजा  पृथ्वी नारायण शाहसित ज्ञानेन्द्र शाहको तुलना पृथ्वी नारायण शाहकै घोर बेइज्जति हो । 
बुद्धिजीवी दिलकुमार बनसहित यस लेखकको अगुवाइमा इटहरीमा नेपाल एकीकरण दिवस ÷ पृथ्वी जयन्ती मनाउने परम्पराको सुरुआत र विकास राजतन्त्रको भूत र प्रेत ब्युँझाउन गरिएको किमार्थ होइन । 
कहाँ राजा राम... भनेझैँ गुमनाम र बदनाम सन्तानले बाउ बाजेको नाम बेचेर बिहान बेलुकाको भात भान्सासम्म खोज्न र खान मिल्छ तर देशको उच्च र सम्मानित स्थान र मानमा विराजमान हुन कहिल्यै सुहाउँदैन र  पाइन्न । 
मौका पनि एक पल्ट मात्र पाइन्छ । त्यही मौका आफैँ अर्ध बेहोसी र अधबेस्रो भएर गुमाएपछि बगेको खोला अब  फेरि फर्किंदैन । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नै कर्तुत र कारणले सत्ताच्युत हुन पुगेका हुन् । 
स्वयं पूर्वसेनापति रुक्माङ्गद कटुवालले सर्वनाश हुनबाट बच्न र राजतन्त्र कायम राख्न गम्भीर विचार र विवेक राख्न  ज्ञानेन्द्र शाहलाई धेरै अनुनय र विनय गरेकै हुन् । 
ज्ञानेन्द्रको अररो र अति अहम्बाट रुक्माङ्गदले हार मानेका हुन् । यसै विषयमा केन्द्रित रहेर एक बृहत् अकारको कृति नै कटुवालले लेखे । बोक्रैसित खान खोज्दा ज्ञानेन्द्र पाखा परेका हुन् । 
आफूलाई  दाजुभन्दा बाठो र बहादुर हुन खोज्दा ज्ञानेन्द्र भुइमा पछारिएका हुन् । नत्र जननेता मदन भण्डारीले नै पनि खोपीको द्यौता भएर राजा वा राजतन्त्र बस्छ भने ठिकै छ भनेकै हुन् । 

तर प्रजातन्त्रका मसिहा नेपाली काङ्ग्रेस पार्टीका कतिपय नेताहरु राजालाई उकासेर पार्टीगत स्वार्थमा हत्ते हाल्दा मात्र होइन अहिले पनि आफैँले बनाएको संविधान विपरीत रातन्त्रका बारेमा जनमत सङ्ग्रह नामका बेवारिसे बयानका कारण मुलुकको अग्रगमनका ठूलो बाधा पुगेको हो र पुग्न सक्छ । 

यदि यसो भयो प्रतिगमन हुनसक्छ अनि बल्लबल्ल बन्न लागेको देश र जनताको शान्ति र समृद्धि  नराम्ररी बिथोलिन पनि सक्छ । 
राजालाई विष्णुको अवतार मान्ने वैदिक सनातन वा हिन्दू धर्म र तिनका मठमन्दिरमा हस्याङफस्याङ गर्दै धाउनुको कुट कलषित नियत राम्ररी नै बुझिन्छ ।

 तर बुद्ध धर्म जस्तो अत्यन्त महत्वपूर्ण धर्म र धार्मिक आस्थाप्रति ज्ञानेन्द्रको बेवास्ताको अन्तर्य राम्ररी बुझ्न सकिन्छ । पहिलो कुरा कुनै पनि राजा, राजतन्त्र, सत्ता, सरकार वा राजकीय प्रमुख आफ्नै कृत्य र कुकृत्यका कारण पदासीन र पदच्यूत भएको हो । 

आफ्नो आङको भैँसी नदेख्नेहरु मात्र आफ्ना तमाम दुर्गुणहरु अरूका थाप्लामा थोपरेर पानीमाथिको ओभानो हुन खोज्छन् तर खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्न सक्तैन । 

दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र र उनकी वास्तविक  आमाका बारेमा नयाँ रहस्य खुले । पञ्चायत कालदेखि ज्ञानेन्द्र आजीवन नेपालका बदनाम पूर्वअधिराज कुमारका नाममा चिनिए । त्यस कालमा अनेक अकर्मण्य काण्डका शिरोमणि उनी उदारवादी राजतन्त्रात्मक पद्धतिभित्र पनि आलोचित थिए । 
राजा, राजदरबार, सत्ता, सरकारलाई अनेक प्रभाव र दावामा पारेर सम्पत्ति हत्याउने कुरामा केन्द्रित हुनेबाहेक शाहको कुनै ध्यान र मन त्यस बेला देखिएन । 
राज दरबारमा पूर्वराजा वीरेन्द्रको वंश मात्र नृशंस  रूपमा वंश नाश भए गरेपछि राजदरबारभित्रका रहस्यमय पर्दाहरु खुल्न थाले । रहस्यहरु अनेक पोल, खोल र कोणबाट खुल्न थाले । 

अप्रमाणित प्रमाणहरु आम जनताका बीच खुलस्त हुन थाले । वीरेन्द्रको मात्र छानी छानी वंश नाश किन भयो ? अनि ज्ञानेन्द्रको परिवार मात्र किन बालबाल बच्यो र बचाइयो ? 

अस्पताल गएकी रत्नराज्य शाह किन सिकिस्त भएर लम्पसार परेका नाति  दीपेन्द्र शाहलाई पुलुक्क हेर्नसम्म पनि किन गइनन् ? हत्या गरिएको वीरेन्द्रसहितको लासलाई किन अपमानित गरी सद्गति भन्दा अघि भुइँमा असरल्ल पारियो ? त्यस बेला मुलुकको प्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालालाई किन मानसिक र भौतिक रूपमा अत्यन्त त्रसित बनाइयो ? 

राजदरबार बहिर्गमन गर्नुभन्दा पहिले नै ज्ञानेन्द्रद्वारा वीरेन्द्रको वंश नाश गरिएको राजदरबारको कक्ष किन भत्काउन लगाइयो ? नृशंस हत्यापश्चात् रगताम्य दरबार कक्ष र परिसर स्थल  किन तुरुन्त  धोइपखाली  गर्न हतार गरियो ? 
ज्ञानेन्द्र शाहले चाँदीका थालीमा नेपालका आमाहरुलाई  आफ्ना गोडा धुवाएको यति चाँडै बिर्सन सकिन्छ ? पोखरामा भएको नमिता र सुनीता हत्याकाण्ड दरबारकै संरक्षण  भएको होइन र ? 
आफ्नै छोरा र परिवारलाई सुमार्गमा लगाउन र  संरक्षण गर्न नसक्नेले देश थाम्ने कुरा कत्तिको सुहाउँछ ? प्रधानमन्त्री ओलीले भनेझैँ स्वतन्त्र, स्वाधीन र स्वाभिमानी नेपाली नागरिक हुन छाडेर ख्वामितको चरणमा लम्पसार पर्न कुन स्वाभिमानी नेपालीलाई मन पर्ला ? मठमन्दिर चहारेकै भरमा पुनः सत्तासीन सकिन्छ र ? बाघले साधु बन्न खोज्दा कसले पत्याउला ? 

पञ्चतन्त्रमा कथामा वृद्ध अवस्थामा थला परेको बूढो बाघले सडकमा हिँड्ने बटुवालाई सुनको चुरो देखाएर आफ्नो आहाराका लागि लोभ्याएजस्तै नाटक गर्न अब गाह्रो छ । राजा वा राजतन्त्रले गर्ने सारा तथा तमाम नाटक समाप्त भइसके । 

अब कुनै पनि बहानाले काम गर्ने छैन । तर राजतन्त्रको मसाने भूतको ताण्डव नृत्य हुँदा पनि तमासा हेर्ने तर विरुद्धमा एक अक्षर पनि नलेख्ने प्रगतिशील बुद्धिजीवी रहेसम्म जनविरोधी तन्त्र फेरि जाग्न पनि सक्छ ।         
 

कमेन्ट

  1. April 27, 2019, 5:08 p.m. PS Basnyat
    पोखरेल जी, राजनैतीक कुरा मा तपाईं सँग प्रतिबाद गर्दिन। ईतिहास को कुरा मा बोक्रे गफ न दिनुस्। राजा बिरेन्द्र र राजा ग्यानेन्द्र को आमा ( राजा र सेना का जर्नेल लाई पूर्व भनिन्न, यो संसार को चलन हो) फरक हो भनेको बुझे। तपाईं लाई च्यालेन्ज दिन्छु, लौ यो कुरो प्रमाण गरेर एखाउनुस्। म नेपाल मै बस्दिन। हो उस् बेला शाह थर् गरेका राजा ले नेपाल को शासन गरे, शासन मात्रा गरेनन। यो देस बनाएका र बचायेका पनि हुन। तर सबै शाह र ठकुरी नेपाल का राजा भएनन। अनी धनी बनेनन। तेसै गरी अहिले पनि एकल जातिय राज्य चलेको छ। सब " प्रशाद " जी हरु को हाली मुहाली छ। तर सबै बाहुन हरु धनी र राजा बनेका छैनन। यो देस प्रसाद् जि हरुले क्रिस्चियन लाई बेच्ने भए। दु:ख लाग्छ। अन्तमा, कुनै पनि ब्यब्स्था को बिकल्प हुन्छ। अजय हुन्न। कसैको र कुनै दल को खान पान मा जय जय कार गर्नु गल्ती हुने छ। अनी "थाङ्ने देशका माग्ने नेता भनेर आफ्नै जननी र राजनीतिक अग्रजलाई सत्तोसराप गर्ने नाममा आफूलाई नै धिक्कारेको थाहा नपाउने कथित प्रा.डा.को बकबास रहुन्जेल राजतन्त्र कायम नै रहनेछ । " यो भनाइ सहि छ। तपाईं लाई चित्त दुखेछ। ति प्रा डा को बिचार सहि हो। यसो भन्नेले कसैको केही खाएका छैनन। यसको बिरोध गर्ने ले खाएको गन्ध देखिन्छ, बरु । यो लेख ले के पि वोली जी को " अरिङाल् जस्तो झम्टनु " भन्ने आह्वान लाई काध हालेको प्रस्थ छ ।
  2.  0 Reply
  3. April 8, 2019, 6:39 a.m. Tirtharaj Nepal
    अहिलेको चरम अवस्था र राष्ट्रपति प्रधानम्न्त्रीले राजाको भन्दा कम दुर्ववहार गरेका छैनन त्यसैले पनि राजतन्त्र फर्कन सक्छ
  4.  0 Reply
  5. April 7, 2019, 10:50 p.m. Amrit shahi
    लेखक ज्यु का कुरा एकतर्फी र पुर्बाग्रही मात्र होइन प्र्स्ट रुपमा झोले लेख लेखेको पाइयो। तपाईं का कुरा मा केही यथार्थता देखिन्छ भने त्यो भन्दा बढी पिछुवा प्रवृत्ति का शब्द हरु पाइय। लेखक को लेख बिचारक र विचारणिय हुन पर्छ ।
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...