शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मधुर मिलनको त्यो रात....’

जसलाई गीत लेख्न समाजभन्दा महिलाको विषय सजिलो लाग्छ
सोमबार, २५ चैत २०७५, १३ : ५९
सोमबार, २५ चैत २०७५

काठमाडौं–सामान्यतया गीत आनन्दका लागि लेख्ने गरिन्छ । तर उनी भने समाज परिवर्तका लागि लेख्ने गर्दछन् । सिधै भन्नुपर्दा उनलाई गीत लेख्ने लत लागेको छ । 

‘मानिसलाई एउटा न एउटा लत हुनुपर्छ । लत नभएको मानिस बिग्रन पनि सक्छ’, उनी भन्छन्, ‘मलाई रक्सी, चुरोट गुड्खा केहीको लत छैन । लत लागेको छ त केवल लेखनको,’ उनी अर्थात् गीतकार डा. डीआर उपाध्याय ।

डीआर पछिल्लो समयका चर्चित गीतकार हुन् । छोटो समयमै उनका धेरै गीतहरु बाहिर आएका छन् । उनको लेखनसँग प्रेम पनि बसेको छ । त्यसैले पनि उनीसँग कहिल्यै कलम टुट्दैन । उनी जतिबेला पनि लेख्न सक्छन् । कुनै कारणबस लेख्न पाएनन् भने उनलाई छटपटी हुन्छ रे । ‘यस्तो बेला लभमा ट्र्याजेडी भएजस्तो फिल हुन्छ’ उनले थपे ।

गीतमा महिलाका कुरा

डीआरको पहिलो परिचय उपन्यासकार नै हो । उनले उपन्यास लेख्न थालेको एक दशक बढी भएको छ । बजारमा उनका अहिलेसम्म ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्राघात’, ‘अपवित्र छाया’ र ‘बिटुली’ जस्ता ८ उपन्यास आएका छन् । ती पाठकको रोजाइमा परेका छन् । 

उनले गीत लेख्न थालेको भने केही वर्षदेखि मात्र हो । उनले गीत लेख्नुको पनि कारण छ । थोरै शब्दले समाजमा धेरै कुरा गीतमार्फत बुझाउन सकिने उनी बताउँछन् । 

डीआरका गीतमा समाजका कुरा र महिलाका कुराले विषेश प्रथामिकता पाउने गर्दछ । किनभने उनी समाजशास्त्रीको विद्यार्थी पनि हुन् । उनको अर्काे अध्ययनको विषय नारी पनि हो । त्यसैले गीतमार्फत समाजका समस्या र त्यसको समाधान पनि दिने प्रयास गर्छन् । नारीलाई कसरी टेवा र सहयोग गर्न सकिन्छ भनेर पनि आफू गीत लेख्न थालेको उनले सुनाए ।

मधुर मिलनको त्यो रात 

डीआरको पहिलो एल्बम ‘प्रणय’ करिब तीन वर्ष अगाडि बजारमा आएको थियो । यो एल्बममा ६ वटा गीत रहेका थिए । सबै गीत अहिले हिट छन् । 

‘हाम्रो मधुर मिलनको त्यो रात याद आयो । 
बैंसालु तरङ्गमा भिजेको त्यो वर्षादको याद आयो’

यस गीतमा गायक स्वरूपराज आचार्यको स्वर रहेको थियो । यो गीतबाट स्वरुपले इमेज अवार्ड समेत थापेका थिए । उनको यो गीत दर्शकको जनजिब्रोमा झुन्डिनसमेत सफल छ ।

यो गीत उनले आफ्नै अनुभव उतारेका थिए । २०४७ तिर विवाह गरेका उनी केही समयपछि श्रीमती लिएर नगरकोट गएका थिए । मोटरसाइकलमा गएका उनलाई फर्किंदा बाटोमा पानीले भिजाएको थियो । ‘आफ्नो मान्छेसँग घुम्न गएको बेला पानीमा भिज्दा मैले जे अनुभव गरेँ, त्यो नै यो गीतमा उतारेँ’ उनी ती दिनमा फर्किए ।

एकैसाथ ७ एल्बम 

उनी एकसाथ ७ एल्बम ल्याउने पहिलो व्यक्ति पनि हुन् । केही महिना पहिले उनले ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ लगायतका ७ एल्बम एकसाथ ल्याएका थिए । ती सबै एल्बम राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट  विमोचन गराएका थिए ।

किन एकसाथ ७ एल्बम ? ‘जब मेरो पहिलो एल्बम ‘प्रणय’ आयो । स्रोताहरुले समाजका लागि तपाईं केही गर्न सक्नुहुन्छ । नयाँ किसिमका गीत आयो । हामी उत्साहित छौँ भन्नुभयो’ डीआर भन्दै थिए, ‘उहाँहरुले नै गीत अझै लेख्नुस् भन्ने प्रेरणा दिनुभयो ।’

स्रोताहरुको सकारात्मक प्रतिक्रिया र प्रेरणाले उनले नाच्नेदेखि बाँच्नेसम्म समाजमा रहेका सबै तहतक्काका विषय गीतमा उतार्दै गए । ‘लेख्दै जाँदा ७ एल्बम बराबरको गीत भएछ । सबै गीत राम्रा छन् । त्यसैले एकसाथ ७ एल्बमको संयोग जुर्यो’, उनले सुनाए ।

समाजकै समस्या, समाजकै कुरा, प्रेम, रोमान्स र ब्रेकअपसम्मका विषय उनको ७ एल्बमभित्र अटाएका छन् । स्रोताका लागि एकै पटक सबैथोक दिने आँटमा उनका यी एल्बम एकसाथ आएका हुन् ।

बुबा एटीएम कार्ड

हुन त प्रायः गीत सङ्गीतमा प्रेम, रोमान्स र ब्रेकअपका कुराले प्रथामिकता पाउने गर्छन् । गीतबाट यस्ता विषय बुझाउन सजिलो हुने भएकाले यस्ता विषयले प्रथामिकता पाउने गरेको उनी बताउँछन् । उनले गीतमार्फत महिला दिदीबहिनीलाई पनि सन्देश दिएका छन् ।

‘सोह्र वर्षे जवानीमा तिमी गलत पाइला नचाल’ बोलको गीतले महिला दिदीबहिनीलाई आकर्षणको प्रेममा पर्नबाट सचेत तुल्याएका छन् । 

उनको एक गीतमा बुबालाई एटीएमसँग पनि तुलना गरिएको छ । बुबा एउटा यस्तो एटीएम हुन्, जो बाँचुन्जेल कार्ड घुसारेर पैसा निकाल्न पाइन्छ भन्ने शब्दहरु गीतमा समेटिएका छन् । बुबाको महत्त्व बुझाउँदै सम्मान गर्ने उद्देश्यले उक्त गीतको शब्द कोरिएको उनले खुलासा गरे ।

गुड मर्निङभन्दा हैरान

गीत लेखनमा प्रेम, रोमान्स र समाजका विषयभन्दा उनलाई महिलाको विषय सजिलो लाग्छ । उनको अध्ययनको विषय महिला भएकाले पनि उनी एक पटक कुरा गर्न पाएभने जुनै महिलाको पनि पूरै स्वभाव थाहा पाउन सक्छन् । 

‘विषयगत अनुभवको आधारमा थाहा पाउने हो’ उनले अगाडि भने, ‘थाहा पाए पनि कसैको कुरो कसैलाई भन्ने गर्दिनँ । कुरा ओसार्ने बानी पनि छैन ।’

पछिल्लो समय नाम र दाम कमाउन गीत सङ्गीत रोज्नेको भीड छ । उनी भने समाज  सुधारका लागि गीत लेखनमा होमिएका हुन् । 

‘लेखन थालेदेखि मेरा फ्यान धेरै बढेका छन् । बिहान गुड मर्निङ र राति गुड नाइटभन्दा हैरान हुन्छु’, उनी गफिँदै थिए, ‘हरेक दिन बिहान र बेलुका मेरो एक घण्टा फ्यानलाई थ्याङ्क युभन्दा बित्छ ।’ 

किन लेख्ने गीत ?

गीत लेखन रोज्नेमध्ये थेरै व्यक्ति सन्तुष्टिका लागि लागेको पाइन्छ । तीमध्येका एक हुन् उनी । ‘गीत सङ्गीतबाट त्यस्तो सन्तुष्टि मिल्दो रहेछ, जुन एक सय करोड कमाए पनि पाउन सक्दिनँ’ उनले अगाडि भने, ‘काठमाडौँमा आएर मैले पैसा कमाएँ । घरबार जोडेँ । छोरा छोरी हुर्के बढिसके । मलाई केही दुःख छैन ।’ पैसा जति कमाए पनि सन्तुष्ट हुन नसकिने तर गीत सङ्गीतबाट पाएको सन्तुष्टि पैसाले किन्न नपाइने उनको भनाइ रहेको छ । गीत लेखनबाट सन्तुष्टिको अलवा आत्मसम्मान समेत मिलेको उनले सुनाए ।

योजना ?

वैशाखमा उनी ‘अधुरो प्रेम’ नामक एक किताब ल्याउँदै छन् । त्यसमा अधुरो प्रेमको व्यख्या उनले गर्नेछन् । एउटासँग गरिएको लभ ट्र्याजेडी भयो भनेर मानिस दाह्री पालेर बैरागीजस्तै बनेर हिँड्छन् । अधुरो प्रेमको वास्तिविक परिभाषा के हो भन्ने यथार्थ आफ्नो पुस्तकभित्र हुने उनले बताए ।

कसरी बुझ्ने ?

समाजमा उनको गीतकार र साहित्यकारको दुई परिचय छ । कामका कारणल जे परिचय बने पनि आफूलाई सामान्य मानिस भन्न रुचाउँछन् उनी । बोलाउँदा डा. डीआर उपाध्याय नै भनेको उनलाई मनपर्छ । कसैले कुट्दा पनि मुसुक्क हाँस्न सक्ने आफ्नो स्वभाव रहेको बताउने उनी बालकदेखि वृद्धसम्म सजिलै घुल्न पनि सक्छन् ।

डिस्को जाने, रक्सी चुरोट खाने लत नभएका उनी पेसाले आईटीको काम गर्छन् । केहीलाई रोजगारीसमेत दिइरहेका उनलाई सामान्य पहिरन लगाउन मनपर्र्छ । धेरै धेरै सिर्जनाहरु पाठक, दर्शक र स्रोतामाझ आगामी दिनमा पनि पस्कने उनको योजना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप