शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरको आन्दोलनले डुब्दै सरकारी अस्पताल : कुन अस्पतालले कति गुमाए ?

सोमबार, २५ चैत २०७५, १७ : २६
सोमबार, २५ चैत २०७५

 काठमाडौँ । सरकारी चिकित्सकहरुको लगातारको आन्दोलनले बिरामीले सास्ती मात्र पाएका छैनन्, ती अस्पतालले दैनिक लाखौं घाटा समेत व्यहोर्न बाध्य भएको पाइएको छ । 

चिकित्सकहरुको आन्दोलनका कारण काठमाडौंका सानादेखि ठूलासम्म सरकारी अस्पताल प्रभावित हुँदा एक अस्पतालले दैनिक ११ लाखसम्म घाटा व्यहोर्नु परेको छ । यसरी हिसाब गर्दा नेपालको सवैभन्दा पुरानो वीर अस्पतालले मात्रै पछिल्लो तीन दिनमा ३३ लाख घाटा सहनुपरेको छ । 

समायोजनप्रति असन्तुष्टि जनाउँदै चैत २२ गते शुक्रबारबाट देशभरका सरकारी चिकित्सक आन्दोलनमा छन् । 

उनीहरुले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा प्रदान नगरेपछि लाखौं नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनुका साथै अस्पतालहरुले पनि दैनिक लाखौं घाटा व्यहोर्नुपरेको हो ।

वीरमा दैनिक ११ लाख घाटा 
देशको सवैभन्दा पुरानो वीर अस्पतालबाट दैनिक १८ सय भन्दा धेरै बिरामीले ओपीडी विभागबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । तर, चिकित्सकको आन्दोलन सुरु भएपछि वीर अस्पतालमा अहिले दैनिक २ सयले मात्रै सेवा पाएका छन् । 

वीरमा नेपाल सरकार र प्रतिष्ठानतर्फका चिकित्सकहरु कार्यरत छन् । तर सेवा कुनै पनि चिकित्सकले दिएका छैनन् । वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले सरकारी चिकित्सक आन्दोलनमा भएपनि प्रतिष्ठानका चिकित्सकले सेवा दिन सक्ने अवस्था भएपनि नेपाल चिकित्सक संघले पनि सरकारी चिकित्सकको मागमा ऐक्यबद्धता जनाएकाले प्रतिष्ठानतर्फका चिकित्सकले समेत सेवा अवरुद्ध गरेको बताए । 

 जसले गर्दा वीरमा स्वास्थ्य जाँच गराउन आएका बिरामीहरु उपचार बिनै फर्किरहेका छन् । अस्पतालका निर्देशक डा.सेन्चुरीका अनु्सार सामान्य अवस्थामा वीर अस्पतालको ओपिडी सेवाबाट दैनिक १० देखि ११ लाख आम्दानी हुने गरेको छ । ‘तर तीन दिनयता ओपीडी सेवा अवरुद्ध हुँदा कम्तीमा पनि ३३ लाख घाटा लागेको छ’, निर्देशक सेन्चुरीको भनाई छ । 

लामो समयसम्म स्वास्थ्य सेवाजस्तो महत्वपूर्ण सेवा ठप्प भइरहने हो भने नागरिकले स्वास्थ्य सेवा नपाउने र सरकारी अस्पताल पनि घाटामा जाने भएकाले छिटो समस्या समाधान गर्नुपर्ने निर्देशक डा. सेन्चुरीको सुझाव छ । 

ट्रमा सेन्टर ९ लाख घाटामा 
वीर अस्पतालसँगै रहेको देशकै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरमा पनि दैनिक ३ सय नागरिकले स्वास्थ्य सेवा लिने गरेका थिए । तर अहिले ओपिडी सेवा बन्द हुँदा आकस्मिक सेवाबाट मात्रै नागरिकले स्वास्थ्य सेवा लिँदै आइरहेका छन् । 

अहिले आकस्मिक कक्षबाट दैनिक ५३ जना बिरामीले मात्र सेवा पाएका छन् । यो संख्या ओपिडी सेवा बन्द भएपछि बढेको हो । ट्रमाको ओपीडी सेवा ठप्प हुँदा केही बिरामीलाई आकस्मिक कक्षबाट उपचार भइरहेको छ भने सामान्य बिरामी फर्कन बाध्य छन् । ट्रमा सेन्टरको ओपीडी बन्द हुँदा दैनिक अनुमानित ३ लाख रुपैयाँ घाटा लागेको अस्पतालले जनाएको छ ।

हाल ५० जना चिकित्सक कार्यरत ट्रमा सेन्टर आफैंले राखेका ९० भन्दा धेरै   कर्मचारीको लागि भने ट्रमाकै आम्दानीबाट तलब खुवाउनुपर्ने हुन्छ । त्यस्तै ५० प्रतिशत भत्ता पनि अस्पतालकै आम्दानीबाट दिइँदै आएको छ । ट्रमामा केही मात्रमा प्रतिष्ठानका चिकित्सकले स्वास्थ्य सेवा प्रदान गरेपनि आकस्मिक कक्षमा नियमित चिकित्सक सेवामा लाग्ने गरेको ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद यादवले बताए ।   

कान्तिका सबै बिरामी आकस्मिकमा 
बालबालिकाको उपचार गर्ने एक मात्र सरकारी अस्पताल हो, कान्ति बाल अस्पताल । 
सरकारी, आवसीय र अस्पताल विकास समितितर्फ गरेर हाल यो अस्पतालमा ३ प्रकारका ८० जना चिकित्सक कार्यरत छन् । यो अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरु सेवा बहिष्कारमा छन् । बाँकी चिकित्सकले पनि सरकारी चिकित्सकका मागप्रति सहमति जनाउँदै उपचारमा जुटिरहेका छन् । 

अस्पतालका निर्देशक डाक्टर गणेश राईका अनुसार शुक्रबार संख्यामा केही कम भए पनि आइतबार ७ सय ५० जना बालबालिकाको उपचार भएको छ । 

‘बालबालिका ठूला व्यक्ति जस्ता हुँदैनन् । उनीहरुसँग सहन सक्ने क्षमता कम हुन्छ र आफूलाई के भएको भन्ने कुरा पनि भन्न सक्दैनन् । जसले गर्दा अप्रिय घटना पनि हुनसक्छ । त्यसैले हामीले ओपीडी सेवामा आएका सबै बालबालिकालाई आकस्मिक सेवामार्फत उपचार गराइरहेका छौँ’ निर्देशक राईले रातोपाटीसँग भने, ‘यति नै बिरामी हेर्ने भनेर संख्या तोकिएको छैन ।  आएजति सबै बालबालिकाको उपचार गरिरहेका छौँ ।’ 

आधा भन्दा धेरै कर्मचारीको तलब भत्ता कान्तिबाल अस्पतालको आन्तरिक स्रोतमार्फत जुटाउने गरिन्छ । तर, अस्पतालको ओपीडी सेवा बन्द हुँदा अस्पतालको आर्थिक अवस्था पनि खस्केको निर्देशक डाक्टर राईले स्वीकारे । 

उनले दैनिक ४ लाखसम्म आर्थिक सङ्कलन हुने कान्तिबाल अस्पतालमा शुक्रबारदेखि सोमबारसम्म दैनिक ३ लाख रकम पनि संकलन नभएको बताए । आर्थिक अवस्था जीर्ण बन्दै गएको यो अस्पतालमा यस्तै समस्या लामो समयसम्म रहिरहने हो भने कुनैपनि बेला सेवासुविधामा कमी आउने सरोकारवालाहरुको भनाई छ । 

आन्दोलन लम्बियो घाटा बढ्योः प्रसूति गृह
राजधानीकै अर्को अस्पताल हो थापाथलीस्थित प्रसूति गृह । डेलिभरी गराउने यो अस्पतालमा पनि सरकारी चिकित्सकको आन्दोलनको प्रभाव देखिएको छ । 

प्रसूतिगृहमा नेपाल सरकारका १८ जना र अस्पताल विकास समितिका ५० जना चिकित्सक रहेका छन् । विकास समितिका चिकित्सकले प्रसूतिगृहमा सेवा प्रदान गरिरहेपनि सरकारी चिकित्सकले सेवा प्रवाह गरेका छैनन् । यो अस्पतालमा सरकारी चिकित्सकको संख्या कम र विकास समितिका चिकित्सक बढी भएकाले जेनतेन स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले बताए ।

 प्रसूतिगृहबाट अहिले दैनिक ५ सय बिरामीले ओपिडी सेवा लिइरहेका छन् । निर्देशक डा. गौतम भन्छन्, ‘एक दुई दिनको बन्दले खासै असर पारेको छैन तर चिकित्सकको मागलाई बेवास्ता गर्ने हो भने प्रसूतिगृहमा पनि आर्थिक अवस्था र स्वास्थ्य सेवा दुबैमा असर पर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप