शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाम मात्रै मिटर ट्याक्सी : ‘कति दिने’ भन्दै दिनहुँ किन बार्गेनिङ ?

२०६९ भन्दापछि सरकारले भाडादर नबढाएको भन्दै ट्याक्सी चालकहरुको विरोध
मङ्गलबार, २६ चैत २०७५, ११ : ३२
मङ्गलबार, २६ चैत २०७५

सिन्धुलीका अर्पण थापा (नाम परिवर्तन) नेपालगन्जबाट अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक टर्मिनलमा उत्रिए, अनि पार्किङ एरियामा आइपुगे ।

कुरा एक साताअघिको हो, पार्किङ एरियामा उनले ट्याक्सी खोज्न थाले । ट्याक्सी चालक सोध्थे, ‘कहाँ जाने हो ?’ अर्पण उत्तर दिन्थे, ‘कोटेश्वरसम्म ।’

अनि ट्याक्सी चालकबाट उत्तर आउँथ्यो, ‘अहँ नजाने ।’

लामो समय कुरेपछि यात्रु छाड्न गएको बा. २ च ४२० नम्बरको ट्याक्सीले उनलाई कोटेश्वरसम्म लान तयार भयो । कोटेश्वर पुगेपछि उनलाई ट्याक्सी चालकले मिटरमा उठेभन्दा ५० रुपैयाँ बढी मागे, अर्पणले केही नबोली पचास रुपैयाँ दिएँ ! आखिर यस्तो किन ?

अर्पण थापा मात्र हैन, अन्तर्राष्ट्रिय विमानस्थलमा मिटर चलाएर ट्याक्सी चढ्न चाहने अधिकांश व्यक्तिहरु यस्तै समस्यामा पर्छन् ।

विमानस्थलमा मात्रै कहाँ हो र ? अस्पताल, सपिङ कम्प्लेक्स र काठमाडौँका अधिकांश बस स्टेसनमा ओर्लिएर ट्याक्सी खोज्ने यात्रुहरु यस्तै समस्यामा पर्छन् अनि ट्याक्सी चढेपिच्छे ठगिन्छन् ।

पछिल्लो समय काठमाडौँमा चल्ने ट्याक्सीमा मिटर जडान गरिएको छ तर अधिकांश ट्याक्सी चालकहरु भाडामा बार्गेनिङ गर्छन् । ट्याक्सी चालकको ‘बार्गेनिङ धन्दा’ले हतारमा रहेका यात्रुहरु, अस्पताल जाने र फर्कने बिरामी, काठमाडौँ बाहिरबाट आएर बसस्टेसनमा ओर्लेर ट्याक्सी चढ्न चाहने यात्रुहरु दैनिकजसो ठगिने गरेका छन् ।

ट्याक्सी चालकहरु पहिले ‘कति दिने ?’ भनेर ठग्न खोज्छन् । अनि, यात्रुले मिटरमा जान बाध्य बनाए भने पहिल्यै सर्त राख्छन््, ‘एक सय रुपैयाँ हेर्दिनुस् है, पेट्रोल महँगो छ ।’

ट्याक्सीले दिनहुँ ‘कति दिने’ र ‘यति थप्दिनुपर्छ’ भन्दै ठगी गर्न थालेपछि महानगरिय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमाथिको कारवाही आक्रामक रूपमा बढाएको छ ।

२०७५ साउनदेखि चैत १७ गतेसम्ममा ७ हजार २४१ ट्याक्सीलाई कारवाही गरिएको बताउँछन्, महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) जयराज सापकोटा । उनी भन्छन्, ‘यात्रु लिन इन्कार गर्ने, कति दिने भन्दै मोलमोलाइ गर्ने र मिटरमा हिँड्न नमान्ने ट्याक्सीहरुलाई हामीले कारवाही गरिरहेका छौँ ।’

महाशाखाले पछिल्लो ९ महिनामा गरेको ट्याक्सी कारबाहीको विवरण : (२०७५–०७६)

ट्राफिक प्रहरी महाशाखाले २०७५ साउन यता प्रयोजन विपरीतका सवारीलाई ट्याक्सीका रुपमा प्रयोग गर्दै आएका ६६ सवारी साधनलाई कारबाही गरेको छ । जस्तैः निजी नम्बर प्लेटको सवारीलाई भाडामा चलाएमा ट्राफिक प्रहरीले ‘प्रयोजन विपरीत’ शीर्षकमा कारवाही गर्ने गरेको छ ।

‘प्रयोजन विपरीत चल्ने सवारीहरु विमानस्थलमा धेरै देखिएका छन्’, ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) सापकोटा भन्छन्, ‘मिटर बिगार्ने र दुरुस्त नराख्ने सवारीलाई हामीले ५ सयदेखि १५ सयसम्म जरिवाना गर्ने गरेका छौँ ।’

‘हाउ मच’ले हैरान !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक र अन्तर्राष्ट्रिय टर्मिनलमा एकाथरी ट्याक्सीको मात्रै ‘दादागिरी’ चल्छ । त्यहाँको पार्किङ एउटै समूहका ट्याक्सी चालकले मात्रै ओगट्छन्, अनि बाहिरबाट जाने ट्याक्सी एकछिन पनि बस्न पाउँदैनन् ।

एयरपोर्टमा बस्ने ट्याक्सीहरु कहिल्यै मिटरमा चल्दैनन्, अनि नजिकको दूरीमा पनि जाँदैनन् । टाढाको दूरीमा २–३ हजार लिएर यात्रु ठगी गर्दै आएका ‘सिन्डिकेटधारी’ ट्याक्सी चालकमाथि कुनै कारवाही हुन सकेको छैन ।

विमानस्थलबाहेक दरबारमार्गस्थित अन्नपूर्ण होटलको गेट र महेन्द्र सालिक छेउको ट्याक्सी स्ट्यान्डमा बस्ने ट्याक्सीहरु मिटरमा हिँड्न मान्दैनन् । त्यहाँका चालकहरु यात्रुले ‘जाने हो’ भन्नासाथ सोध्छन्, ‘कत्ति दिने ?’

ट्राफिक प्रहरीले यसरी ‘कति दिने’ भन्दै बार्गेनिङ गर्नेलाई ‘हाउ मच अप्रेसन’ नै सञ्चालन गर्दै आएको छ ।

२०७५ मङ्सिरदेखि ट्राफिक प्रहरीले ‘कति दिने’ भन्दै बार्गेनिङ गर्ने ट्याक्सीलाई ‘पटके’ कायम गरेर कारबाही गरेर रेकर्ड राख्न थालेको छ ।

‘मङ्सिरपछि ५ पटकसम्म ‘हाउ मच’मा परेमा प्रत्येक पटक ३ हजार जरिवाना गरेर रेकर्ड राख्छौँ’ ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) सापकोटा भन्छन्, ‘छैटौँ पटक पनि पक्राउ परी आएमा निजको सवारी चालक अनुमतीपत्र निलम्बनका लागि यातायातमा लेखेर पठाउँछौँ ।’

ट्राफिक प्रहरी महाशाखाले ‘कति दिने’भन्दा पटके कारबाहीमा परेका ट्याक्सी चालकको फोटोसमेत खिचेर रेकर्ड राख्न थालेको छ ।

यातायात व्यवस्था ऐन–२०४९ को दफा ६० मा त्यस्ता चालकको सवारी चालक अनुमतीपत्र ६ महिना निलम्बन हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

‘हाउ मच’ले हैरान पारेको रिपोर्ट अत्यधिक आउन थालेपछि ट्राफिक महाशाखाले सादा पोसाकमा प्रहरी परिचालन गरेर ट्याक्सी चालकमाथि निगरानी बढाएको छ ।

कपाल र दाह्री पालेका पुरुष प्रहरी र गाउँले भेषमा सजिएका महिला प्रहरीहरु बढी भीड हुने ठाउँबाट ट्याक्सी चढ्ने र ‘कति दिने’ भन्दै मिटरमा हिँड्न नमान्नेलाई कारबाही गर्ने अपरेसन चलिरहेको महाशाखाले जनाएको छ ।

‘सादा पोसाकमा हाउ मच टोली नै बाहिर खटिएको हुन्छ, हामीले दैनिक ६० देखि १२० वटासम्म ट्याक्सीलाई (हाउ मच)मा कारबाही गर्ने गरेका छौँ’, महाशाखाका प्रवक्ता (एसपी) जयराज सापकोटा भन्छन्, ‘हुलिया परिवर्तन गरेर हाम्रो छड्के टोली ट्याक्सी चढ्दा त्यस्ता ट्याक्सीले कति दिने भनेमा तत्काल कारबाही हुन्छ ।’

उनकाअनुसार दैनिक ४० जनाको छड्के टोली काठमाडौँ उपत्यकामा ‘हाउ मच’ कारवाहीका लागि खटिने गरेको छ ।

ट्याक्सी स्ट्यान्ड ओगटेर पार्किङ गर्ने तर मुड अनुसार ‘जान्नँ’ भन्दै यात्रु लिन इन्कार गर्नेलाई पनि सादा पोसाकमा खटिएको छड्के टोलीले कारबाही गर्नेगरेको छ ।

ट्राफिक प्रहरीले ट्याक्सी कारबाहीमा सहज होस् भनेर ट्याक्सीको भित्री भागमा पनि नम्बर टाँस्न अनिवार्य गरेका छ । ट्राफिक महाशाखाको प्रमुखको रूपमा (एसएसपी) वसन्त पन्त आएसँगै उक्त अभियानको सुरुवात भएको थियो । ट्याक्सीभित्र नम्बर टाँस गर्दा अपराध गरेमा, सामान हराएमा वा बार्गेनिङ गरेमा पक्राउ गरेर कारबाही गर्न सहज हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

‘यति नम्बर ट्याक्सीमा आउँदैछु भनेर यात्रुले घरमा फोन गरेर जानकारी पनि गराउन सक्छन्’ ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) सापकोटा भन्छन्, ‘चालकले बद्मासी नगरुन् भनेर भित्र नम्बर टाँस गर्न थालिएको हो, कसैको सामान छुट्दा ट्याक्सी नम्बर सम्झिन सहज हुन्छ ।’

किन सधैँ बार्गेनिङ ?

ट्याक्सी चालकहरुले धेरैजसो बार्गेनिङ गर्ने र मिटरमा हिँड्न नमान्ने समस्या प्रायः अस्पतालहरु, सपिङ मल, माछापोखरी, बल्खु, कोटेश्वर र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको छ ।

यसरी बाध्यतामा पारेर यात्रुहरुलाई ठगी गर्ने क्रम आज मात्र धेरै पहिलेदेखि नै चल्दै आएको छ ।

‘ट्याक्सी चालकहरुले हतारमा रहेका यात्रुलाई अब्ठेरोमा पारेर ठगी गर्ने गरेको पाइएको छ’, ट्राफिक महाशाखाका प्रवक्ता सापकोटा भन्छन्, ‘भेटेसम्म कारबाही गरेका छौँ, तर पनि ठगी नरोकिएको गुनासो आइरहेको छ ।’

किन यस्तो भइरहेको छ त ?

ट्याक्सी चालकहरुले २०६९ भन्दापछि सरकारले भाडादर नबढाएको भन्दै विरोध गर्दै आइरहेका छन् । पछिल्लो दुई महिनामा ट्याक्सी चालकहरुले गाडीको पछाडि भागमा ‘सरकार हामीलाई खाडी जान बाध्य नपारियोस्’ भन्नेजस्ता भनाइहरु लेखेर भद्र आन्दोलन गरिरहेका छन् ।

यातायात व्यवस्था विभागले उनीहरुको ‘भाडा बढाउनुपर्छ’ भन्ने माग सुनुवाइ नै नगरेको ट्याक्सी चालक टीकाराम थापाले बताए ।

२०६९ सालमा यातायात व्यवस्था विभाग र ट्याक्सी व्यवसायीहरुको बीचमा  रिङरोडभित्र मिटरमा चल्नुपर्ने र रिङरोड बाहिर २ किमि मात्र जानुपर्ने त्यसभन्दा पर जानुपरेमा आपसी सहमतीमा जानसक्ने सहमती भएको थियो ।

२०६९ मा तय गरिएको भाडादरमा यात्रुलाई सेवा दिनुपर्ने तर तेल र वस्तुभाउको मूल्य बढेको भन्दै ट्याक्सी चालकहरुले भाडा बढाउन माग गर्दै आएका छन् ।

तर सरकारले भाडा नबढाएको भन्दै मिटर ट्याक्सीहरुले निर्दोष यात्रुलाई लामो समयदेखि ठगी गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप