मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आमा छोराको त्यही सेल्फी नै अन्तिम बन्यो

मङ्गलबार, २६ चैत २०७५, १६ : २०
मङ्गलबार, २६ चैत २०७५

बुटवल– मंगलवार बिहान अर्घाखाँचीको डिभर्नामा एउटी १२ वर्षीया बालिकाको रोदन  र चित्कारले सिङ्गो गाउँ थप पीडामा परेको छ । मम्मी.. मम्मी, भाई ..भाई .. भन्दै रोइरहेकी छन् सन्धिखर्क नगरपालिका–१२ डिभर्नाकी १२ वर्षीया बालिका पूर्णिमा श्रेष्ठ ।

उनलाई आफन्तले सम्हाल्न सकेका छैनन् । उनका अगाडि ३० वर्षीया आमा विष्णुमाया श्रेष्ठ र उनका भाई ३ वर्षीय पिन्स श्रेष्ठको शव राखिएको छ । उनका बावु मधु श्रेष्ठ घर छैनन् । बैदेशिक रोजगारका लागि डेढ बर्षअघि मलेशिया पुगेका श्रेष्ठ उतै सन्तान र श्रीमतीको  वियोगको पीडाले छट्पटिएका छन् ।

सोमबार अर्घाखाँचीको नुवाकोट लात्तेबाजामा भएको जिप दुर्घटनामा आमाछोराले ज्यान गुमाएपछि  उक्त परिवारमा यस्तो वियोग निम्तिएको हो । सोमबार दिउँसो पौने दुई बजेको समयमा सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप डिभर्ना–८ को नुवाकोट लात्तेबाजामा दुर्घटना हुँदा श्रेष्ठका  ३ वर्षीय छोरा प्रिन्ससहित ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गएराती भैरहवमा मेडिकल कलेजमा मृतक बालक प्रिन्सकी आमाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।  उनको निधनसँगै दुर्घटनामा  ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अन्य मृतकहरुमा प्युठानको ऐरावती गाउँपालिकी १४ वर्षीया मेनिका आचार्य र सोही स्थानका ५२ वर्षीय धनबहादुर राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गम्भीरजङ्ग थापाका अनुसार जीप चालक श्यामबहादुर घर्तीसहित १९ जना सवार थिए । सो दुर्घटनामा १६ जना घाइते भएका थिए ।  दुर्घटनामा घाइते भएका जीवन राना भने सन्धिखर्कस्थित मेडिकल कलेजबाट डिस्चार्ज भएका छन् । अन्य १४ जना भने सोही मेडिकल कलेजमा उपचार गराइरहेका छन् । 

मृृतक श्रेष्ठकी दिदी (जेठो बुवाकी छोरी) कमला श्रेष्ठको बयान:

दुर्घटना भएपछि सबैभन्दा पहिला पुग्ने आफन्त म नै हुँ । भैरहवा मेडिकल कलेजमा दिदीलाई लिएर पनि मै गएकी हुँ । दिदी घटना स्थलमा बोल्न खोज्दा पनि बोल्न सक्नुभएको थिएन ।  छोरालाई काखमा राखी दिएका थिए । ‘बाबु ..बाबु..’ भन्न चाहेर पनि सक्नुभएन । बाबुलाई काखबाट छुटाएर हामीले भैरहवातर्फ लगेका थियौं ।

बाटो र अस्पतालसम्म पनि बोल्न सक्नुभएन  । उहाँलाई डाक्टरले मृत घोषणा गरेपछि साढे ११ बजे राती शव लिएर हिड्यौं ।  भिनाजु मलेशियाबाट घर आउँदै हुनुहुन्छ । तत्काल विदा  र टिकट मिल्छ मिल्दैन थाहा छैन । काँखमा छोरा समाउँदै  हिजो जीप चढेको आधा घण्टा नवित्दै दुर्घटनामा पर्नुभयो ।

खस्न त आमा छोरा कता–कता खसे थाहा पाइएन । घटनापछि प्रहरीले आमाको काखमा राखेको देखेका हौं । उहाँ छोरासहित प्युठानस्थित बिजुली अलिवाङ्गमा रहेको माईती घरमा भेटघाटका लागि हिँड्नुभएको थियो । आखिर आमा छोराको अलग–अलग स्थानमा मृत्यु भयो ।

अहिले आमा छोराको शव आगनमा राखेका छौं । आजै दाहसंस्कार गर्ने  कुरा पनि चलिरहेको छ । २०६२ सालतिर उहाँहरुको विवाह भएको थियो । दुई सन्तानमध्ये प्रिन्सको मृत्यु भएपछि यो दम्पत्तीका सन्तान अब यिनै पुर्णिमा मात्र हुन् । केही बेरअघि आमाछोराले सेल्फी खिचेका थिए, त्यही सेल्फी नै श्रेष्ठ आमाछोराको अन्तिम सेल्फी बन्न पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप