केन्द्रीय संस्करण
श्रीलंकाली लोककथा

श्रीलङ्काली लोककथा: तीन सुनौला सत्य

person explore access_timeचैत २६, २०७५ chat_bubble_outline0

श्रीलङ्काको एउटा रमाइलो गाउँमा चराको सौखिन एक जना व्यापारी बस्थ्यो । उसले एक दिन नजिकैको शहरबाट एउटा सधिएको सुगा किनेर ल्यायो । मुल ढोकाअगाडि बार्दलीको थामनिर जतनसित झुण्ड्याइएको एक पिँजरामा राख्यो ।

सुगा धेरै दिनसम्म घोत्लिइरह्यो । कतिगरी बोलाउँदा पनि केही बोलेन ।

व्यापारी यसको कारण पत्ता लगाउन खोज्दैथियो । पिँजराबाट एक दिन अचानक त्यो सुगा बोल्यो, “साहुजी, म एउटा कुरा भन्छु है ?” व्यापारीले खुसी हुँदै भन्यो, “ल भन् के भन्छस् ?”

“मलाई यसरी पिँजरामा थुनेर तपाईँलाई केही फाइदा छैन, बुझ्नु भो ? मलाई यहाँबाट बाहिर निस्कन दिनुभयो भने बरु तपाईँलाई धेरै फाइदा हुनसक्छ !”

“किन ? कसरी ?” व्यापारीले कुरा बुझ्न खोज्यो ।

“मलाई खुला आकाशमा छोडिदिनुभयो भने म तपाईँलाई अति नै मूल्यवान् तीनवटा सुनौला सत्य बताइदिन सक्छु । ती सत्यहरुले तपाईँलाई जीवनमा ठुलो काम दिनेछन् !” सुगाले भन्यो ।

सुगाका कुरा सुनेर व्यापारीका मनमा कौतूहल जागेर आयो ।

सुगाले भन्दैगयो, “हेर्नुस् यसै पिँजराबाट म के प्रतिज्ञा गर्छु भने पहिलो सुनौलो सत्य नबताएसम्म म तपाईँको हातबाट कतै जानेछैन । मलाई आफ्ना हातले समातेरै राख्नुहोस् । मैले बताएको पहिलो सुनौलो सत्य तपाईँलाई चित्त बुझ्यो भने त्यतिखेर मलाई हातबाट छोडिदिनुहोस् । म तपाईँको यसै बार्दलीको छानामा बसेर दोस्रो सुनौलो सत्य बताउनेछु । त्यो पनि तपाईँलाई चित्त बुभ्mयो भने अनि म बल्ल तपाईँको बगैँचाका रुखको हाँगामा बस्न जानेछु र तेस्रो र अन्तिम सुनौलो सत्य म तपाईँलाई त्यसै हाँगाबाट बताउनेछु !”

कुरा सुनिसकेपछि व्यापारी एक्कैछिन फलैँचामा घोत्लियो । जुरुक्क उठ्यो । सरासर गयो । पिँजराको ढोका खोलिदियो । सुगालाई हातमा लियो र भन्यो, “लौ भन् त तेरो पहिलो सुनौलो सत्य के हो ?”

सुगाले मुन्टो ढल्काएर व्यापारीको अनुहारतिर हेर्दै भन्यो, “यदि जीवनमा आफ्नो कुनै चिज गुम्यो भने त्यो चीज आफ्ना जीवनका लागि जतिसुकै मूल्यवान् छ भनेपनि त्यसलाई सम्झेर अलापविलाप नगर्नू । जुन कुरा गुमिसक्यो त्यसमा चिन्ता लिनु बुद्धिमानी होइन । सकिन्छ भने बरु त्यसबाट शिक्षा लिनू !”

“तैँले बडो रमाइलो र दार्शनिक खालको कुरा भनिस् । मलाई तेरो कुरा चित्त बुझ्यो । ल जा, तँ अव छानामा बसेर दोस्रो सुनौलो सत्य भन् !” यति भन्दै व्यापारीले सुगालाई हातबाट छोडिदियो ।

सुगा भुर्र उडेर छानामाथि बस्न पुग्यो । साहुका अनुहारमा एक छिन हे¥यो र भन्न थाल्यो, “हेर्नुस् साहुजी, सुनेका कुरामा त्यत्तिकै विश्वास गर्नु पनि बुद्धिमानी होइन । आफ्नै आँखाले नदेखेसम्म र आफ्नै दिमागले पारख नगरेसम्म रे रे का कुरामा सरक्क विश्वास गर्ने भूल कहिल्यै नगर्नू !”

“हो, यो पनि ठिक्कै भनिस् । तेरो यो सुनौलो सत्य त पहिलोभन्दा पनि व्यावहारिक छ । म खुसी भएँ ! लौ तँ अव यहाँबाट उडेर रुखका हाँगामा बस्न जा र तेस्रो सुनौलो सत्य के हो त्यो मलाई बता !” व्यापारीले भन्यो ।

सुगा छानाबाट उड्यो र बगैँचाका एउटा अग्लो रुखको माथिल्लो हाँगामा गएर बस्यो ।

यस पटक एक छिनसम्म सुगा बोलेन ।

“के भो ? किन बोल्दैनस् ?” व्यापारीले उत्सुक बनेर सोध्यो ।

सुगा खित्का छोडेर हाँस्यो ।

व्यापारी जिल्ल परेर हेर्दैथियो । सुगाले भन्यो, “मेरो पेटमा अनमोल हीराका दुई टुक्रा छन् । तपाईँले मेरो पेट चिरेर ती टुक्राहरु हात पार्न सक्नुभएको भए तपाईँ रातारात करोडपति बन्नुहुन्थ्यो !”

“हँ .....? ? ? !” सुगाका कुरा सुनेर व्यापारी थचक्कै बस्यो । बेकार छोडेँछु मैले यो सुगा ! अव के गरुँ ? कसरी समातूँ यसलाई ?व्यापारी मनमनै छटपटिँदै थियो । सुगाले फेरि हाँसेर भन्यो, “तपाईँलाई ठुलै पछुताउ प¥यो, हैन त साहुजी ?”

“भैगो भैगो । अव त्यो तेस्रो सुनौलो सत्य के हो ? त्यो पनि भन् !” व्यापारीले आफ्नो मनको भाव लुकाउन कोसिस गर्दै भन्यो, ।

सुगाले एक छिन पखेटा फट्फटायो र फेरि खितितित्त हाँस्यो ।

“के भयो ? किन हाँसिस् ?” व्यापारीको प्रश्न सुनेपछि हाँसो रोकेर सुगाले भन्यो, “म तपाईँको मूर्खता देखेर हाँसेको ! तपाईँले सत्यलाई चिन्तन र व्यवहारमा उतार्न जानेकै रहेनछ । यसअघि मैले भनेका दुईवटा सुनौला सत्यलाई तपाईँले आत्मसात् गर्न सक्नुभएन ! अर्थात् बुझ्न सक्नुभएन !! यस्तो स्थितिमा म तपाईँलाई तेस्रो सुनौलो सत्य किन बताउँ ?!”

“यसरी धोका दिन पाइँदैन नि ?” व्यापारी जङ्गियो । व्यापारीको रातो मुख देखेर मुसुक्क हाँस्दै सुगाले भन्यो, “मैले तपाईँलाई पहिलो सत्य के भनेको थिएँ सम्झनुहोस् त !? जतिसुकै मूल्यवान् भएपनि आफुबाट गुमिसकेका कुरामा चिन्ता नगर्नू भनेको थिएँ हैन मैले ?”

“हो !” व्यापारीले मुन्टो हल्लाउँदै भन्यो ।

सुगा भन्दै गयो, “अनि आप्mनै आँखाले नदेखेसम्म र आप्mनै दिमागले पारख नगरेसम्म रे रे का कुरामा कहिल्यै विश्वास नगर्नू ! मैले दोस्रो सुनौलो सत्य यही भनेको थिएँ हैन ?”

“हो, अनि के भो त ?” व्यापारीले भन्यो ।

“म तपाईँको पिँजराबाट फुत्केको चरा हूँ । मैले तपाईँलाई मेरो पेटमा अनमोल हीराका टुक्राहरु छन् भनेँ । कति ठुलो धन गुम्यो भन्ने ठानेर तपाईँ थचक्कै बस्नुभयो । तपाईँका कन्चेटमा चिटचिट पसिना आए । गुम्यो त गुम्यो । गुमिसकेको कुरामा अव किन चिन्ता गरुँ भनेर निश्चिन्त रहन सक्नुभएन ।  अनि अर्को कुरा । हेर्नुहोस् हीराका टुक्रा पेटमा भएको भए म यसरी बाँचिरहन सक्थेँहूँला ? खै, तपाईँले त्यत्ति पनि विचार गर्न सक्नुभएन । तपाईँलाई अहिले मैले बताउनुपर्ने तेस्रो सुनौलो सत्य पनि यही नै हो । ल सुन्नुहोस्, असल विचार भेटेपछि त्यसलाई व्यवहारमा उतार्नुपर्छ । व्यवहारमा उतार्न सकिँदैन भने विचार जतिसुकै गहकिलो भए पनि त्यो बेकार हो । के पुस्तकको भारी बोकाइदिँदैमा गधा विद्वान् हुन सक्छ र ? आफुसँग सत्यको बोध भएर पनि त्यसलाई व्यवहारमा उतार्न नसक्ने मान्छे र कितापको भारी बोकेर हिँड्ने गघामा के फरक छ ? भन्नुहोस् त ?” सुगाले एकै सासमा आप्mना कुरा राख्यो ।

सुगाका कुरा सुनेर व्यापारी ट्वाल्ल पयो । सुगा व्यापारीतिर हेरेर मुसुक्क हाँस्यो र ‘लौ त बिदा!’ भन्दै त्यहाँबाट उडेर जंगलतिर लाग्यो । व्यापारी त्यही उडेको सुगातिर हेरेर टोलाइरह्यो ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...