शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘फकाउन’ बालुवाटार डाकिएका बामदेव माधव नेपालको पक्षमा उभिए !

ओली–प्रचण्डलाई वामदेवको यस्तो सुझाव
मङ्गलबार, २६ चैत २०७५, १७ : १८
मङ्गलबार, २६ चैत २०७५

पार्टीभित्रका असन्तुष्ट नेता फकाउन सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पहल थालेका छन् । अध्यक्षद्वय ओली र प्रचण्डले आइतबार बिहान मात्रै सचिवालय सदस्य वामदेव गौतमलाई बालुवाटार बोलाएर सुझाव मागेका थिए ।

झन्डै डेढ घण्टासम्म चलेको छलफलमा नेता गौतमले साङ्गठनिक एकीकरणकोे गृहकार्यमा माधव नेपाललाई पनि सँगै राख्न अध्यक्षद्वलाई सुझाव दिएको उनले रातोपाटीलाई बताए । त्यसबाहेक नेता गौतमले स्पष्ट मापदण्ड बनाएर एकीकरण टुङ्ग्याउनुपर्ने सुझाव दिएको बताए ।

‘माथिल्लो तहका नेताहरुले यो व्यक्ति वा त्यो व्यक्ति भन्नुभन्दा पनि मापदण्डभित्र जो पर्छ त्यही हुन्छ । त्यो मापदण्डमा छिर्ने जति आउँछन्, छिर्न नसक्ने कमिटीमा अट्दैनन्’, नेता गौतमले रातोपाटीसँग भने, ‘मापदण्ड तय गरेपछि हामीलाई एकीकरण गर्न कुनै समस्या हुँदैन ।’

‘पूर्वएमालेको गाउँ तहसम्म कमिटी तयार नै छ । तिनै कमिटी एकीकरण गर्ने हो’, उनले भने, ‘पूर्वमाओवादीमा सबै तयार गरिसक्नुभएको छ, तलदेखि माथिसम्म । त्यहाँ समस्या छैन । यी दुईलाई मिलाइदिने मात्रै हो ।’

बाहिर आएजस्तो अहिलेसम्म सचिवालयमा अध्यक्षद्वयले कुनै सूची पेश नगरेको नेता गौतमले रातोपाटीलाई बताए ।

‘अहिलेसम्म अध्यक्षद्वयले कुनै सूची सचिवालयमा पेश गर्नुभएको छैन । उहाँहरुले तयार गर्दै हुनुहोला । हामी तयार गर्छौँ भन्नुभएको छ । त्यसमा मैले सुझाव दिएको छु, गौतमले भने, ‘सूची तयार गर्दा तपाईंहरु दुईजना मात्रैले होमवर्क नगर्नुस् । माधव कमरेडलाई पनि राख्नुस् ।’

नेता गौतमले माधव नेपाललाई सँगै राखेर सूची तयार गर्दा एकीकरण छिटो टुङ्गिने बताए ।

‘माधव कमरेडलाई सँगै राख्नुस् भनेर सुझाव दिनुको पनि अर्थ छ । किनभने म बसेर समस्या समाधान हुँदैन । मेरो निम्ति यो पक्ष वा त्यो पक्ष भन्ने छैन । मेरा लागि सबै जिम्मेवार, मैले माया गर्ने र सम्मान गर्ने व्यक्तिहरु हुनुहुन्छ,’ उनले भने, ‘तर वैधानिक व्यवस्थाभित्र केही समस्या समाधान गर्नका निम्ति माधव कमरेड हुनु जरुरी छ । उहाँहरुले हुन्छ, हामी राख्छौँ भन्नुभएको छ ।’

नेता गौतमले थप अगाडि भने, ‘उहाँहरु तीन जनाले होमवर्क गरेर सचिवालयमा ल्याउनुहुन्छ । त्यहाँ छलफल भएपछि त्यसलाई स्थायी कमिटीमा लैजान्छौँ र त्यहाँबाट पास गरेर बाहिर ल्याउँछाँै ।’

दुई अध्यक्षको निर्णय मात्रै सचिवालयले मान्दैन

नेता गौतमले दुई अध्यक्षको निर्णयले मात्रै अगाडि सारेको नामावली सचिवालयले नमान्ने बताए । ‘दुई अध्यक्षले मात्रै निर्णय गरेर हुँदैन । यदि त्यसरी आयो भने सचिवालयले त्यसलाई मान्दैन । स्थायी कमिटी वा केन्द्रीय कमिटीले पनि मान्दैन । त्यसकारण उहाँहरुले त्यस्तो गर्नुहुँदैन । त्यो उहाँहरुलाई थाहा छ । त्यही भएर नै सचिवालयका नेताहरुसँग छुट्टाछुटट्ै संवाद सुरु गर्नुभएको छ ।’

यसअघि सचिवालयको बैठकमा मापदण्ड बनाएर एकताका बाँकी काम टुङ्ग्याउनुपर्ने सुझाव वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, नेता गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका थिए ।

सचिवालयका सदस्यहरुलाई छुट्टाछुट्टै भेटमार्फत साझा सहमति निकाल्ने उद्देश्य अनुरुप नै अध्यक्षद्वयले संवाद सुरु गरेको नेता गौतमले बताए ।

‘स्पष्ट मापदण्ड बनाएर एकता टुङ्ग्याऊँ । त्यो सर्वमान्य हुनुपर्छ । कसैले पनि त्यो मापदण्डमा प्रश्न नउठ्ने गरी बनाउनुपर्छ,’ नेता गौतमले भने ।

‘पूर्वएमालेका कमिटीहरु अधिकांश अधिवेशनबाट बनेका छन् । यसलाई आधार मानेर पूर्वमाओवादीबाट पनि सङ्ख्या पेश गर्ने भनिएको छ । एमालेतर्फ कतिपय व्यक्ति अयोग्य छन्, तिनलाई काँटछाँट गर्नुपर्छ भन्ने कुरा आएको छ । तर त्यसो गर्नु हुँदैन, नेता गौतमले भने, ‘उनीहरु अयोग्य, असक्षम भए पनि जेठ ३ गतेभन्दा पहिला जुन कमिटी थियो, जस्ता व्यक्ति थिए, त्यसमै एकीकरणमा जानुपर्छ । त्यसो हुँदा विवाद हुँदैन ।’

‘हामीले माथि बसेर योग्य, अयोग्य, असक्षम भन्न हुन्न । कमिटी आगामी अधिवेशनसम्मलाई बन्ने हुन् । अहिलेसम्म जसरी काम गरेको छ, अब पनि गर्छ । तर अझै यसमा कुरा मिल्न सकेको छैन ।’

जिल्ला कमिटी एकीकरणपूर्व पोलिटब्युरो गठन गर्न सुझाव

नेता गौतमले अध्यक्षद्वयसँगको भेटमा जिल्ला कमिटी एकीकरण पूर्वपोलिटब्युरो गठन गर्नुपर्ने सुझाव दिएको बताए ।

‘जिल्ला कमिटी एकीकरण गर्नुपूर्व पोलिटब्युरो बनाउनुपर्छ भन्ने यसअघिकै माग छ । यसलाई माधव कमरेडले जबरजस्त उठाउनुभएको छ । त्यसमा मेरो पनि समर्थन छ । पोलिटब्युरो विधानमा व्यवस्था छ । अहिले पोलिटब्युरो नबनाउने भन्न पाइँदैन’, नेता गौतमले भने, ‘पूर्वएमालेको पोलिटब्युरो छँदैछ । त्यसमा कति सङ्ख्या पूर्वएमालेबाट र कति सङ्ख्या पूर्वमाओवादीबाट राख्ने भन्ने दुई अध्यक्षले बसेर छलफल गर्नुहुन्छ । त्यसमा पनि पूर्वएमाले तर्फको सङ्ख्या नघटाउने र तदअनुरुप नै पूर्वमाओवादीको सङ्ख्या दिने । पूर्वमाओवादीतर्फ उहाँहरुले नै छलफल गरेर ल्याउनुहुन्छ ।’

नेता गौतमले पोलिटब्युरो गठनलगत्तै केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन गर्नुपर्ने सुझाव दिएको बताए ।

‘पोलिटब्युरो गठनलगत्तै कार्यविभाजन गर्नुपर्छ । एकीकरणमा कार्यविभाजन अत्यन्त महत्त्वपूर्ण छ । कार्यविभाजन नहुँदा पनि एकीकरण लम्बिएर गएको छ’, नेता गौतमले भने, ‘त्यसकारण पहिला पोलिटब्युरो बनाउने र ४४१ सदस्यीय केन्द्रीय कमिटीमा रहने सबैको कार्यविभाजन गर्नुपर्छ भनेर सुझाव दिएको छु ।’

नेता गौतमले कार्यविभाजन गर्दा समूहमा जिम्मेवारी नदिई ‘एक व्यक्ति एक जिम्मेवारी’ दिनुपर्ने बताए ।

नेता गौतमका अनुसार वैशाख ९ गते नै एकता टुङ्गिएको घोषणा गर्ने र यदि त्यसमा सम्भव नभए वैशाखभित्र एकता टुङ्ग्याउने सहमति भएको जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः

नेकपा विवाद– समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप