बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घर पुग्न हतारिएको कमिला

भिताली वियान्की, रुस
बुधबार, २७ चैत २०७५, ०१ : ५४
बुधबार, २७ चैत २०७५

कमिलो सल्लाको रुखमा चढ्यो । टुप्पैसम्म पुग्यो र पातमा बसेर जमीनतिर हेर्‍यो । उसको आफ्नो घर अलिअलि मात्र देखिन्व्थ्यो ।

कमिलाहरुको नियम कडा हुन्छ । आकाशमा घाम आर्लन थालेपछि सवै घरतिर दगुर्छन् । घाम अस्ताएपछि घरका  झ्याल ढोका बन्द गर्छन् र सुत्छन् । ढिलो हुनेले बाहिरै रात काट्नुपर्छ ।

घाम जङ्ंगलमाथि आइसकेको थियो । कमिलाले सोच्यो— ‘अझै त भ्याउँछु !’

 ठीक त्यसै वेला हुरी चल्यो र कमिलो बसेको पहेँलो पात चुँडियो । त्यस पातलाई हुरीले जङ्ंगलमाथि, नदीमाथि र गाउँमाथि हुँदै उडाएर लग्यो । गाउँभन्दा उतातिरको चउरमा पुर्‍याएर फालिदियो । माथिबाट खस्दा कमिलाका खुट्टामा चोट लाग्यो ।

ल, बर्बाद भयो ! अव म कसरी हिँडेर घर पुग्ने ? कमिलाले पिर मान्दै यताउति हेर्‍यो । नजिकै गँडेउलाजस्तै एउटा झुसिलकीरा थियो ।

कमिलाले भन्यो, “झुसिल्ःदाइ, मलाई घर पुर्‍याइदिनुस् न ! मेरा खुट्टा दुख्याछन् !!”,

“टोक्न त टोक्दैनौ ?”

“टोक्दिनँ !”

 ”मेरो पिठ्यूँमा बस त, पुर्‍याइदिन्छु !”

 कमिलो झुसिलकिराको पिठ्यूँमा चढ्यो । झुसिलकिराले जिउ खुम्च्यायो, पछाडिका खुट्टा अगाडिका खुट्टासम्म र पुच्छर टाउकोसम्म पुर्‍यायो । अनि जुरुक्क उठ्यो, तनक्क तन्कियो र लठ्ठीजस्तै लम्पसार पर्‍यो । आफ्नो लम्बाइजत्तिकै जमीन नाप्यो अनि फेरि बाङ्गियो । कमिलो कहिले उँधोमुन्टे हुन्थ्यो त कहिले माथि फर्कन्थ्यो ।

“म त आजित भएँ ! ए, पख्नुस्, नत्र टोक्छु !” कमिलो करायो । झुसिल्कीरो रोकियो र भुइँमा तन्कियो । भुसिल्कीराको ढाडबाट झरेर कमिलाले लामो सास फेर्‍यो । यताउति हेर्‍यो । चउरमा एउटा माकुरो हिँडिरहेको देख्यो । लौराजस्ता खुट्टाहरुको माझमा टाउको हल्लिरहेको !

“माकुरा दाइ, मलाई घर पुर्‍याइदिनुस् न ! मेरा खुट्टा दुख्याछन् !”

  “ल बस त नि ! पुर्‍याइदिउँला !”

कमिला माकुराको घुँडासम्म उक्ल्यो, घुँडाबाट पिठ्यूँसम्म ओर्लेर बस्यो ।

माकुरो आफ्ना लौरा टेकाउँदै हिँड्न थाल्यो । एउटा खुट्टा यहाँ त अर्को खुट्टा त्यहाँ । जम्मै आठैवटा खुट्टाहरु पालैसँग उचाल्न चल्न थाल्दा कमिलाका आँखा पनि तिर्मिराए । माकुराको हिँडाइ छिटो थिएन । भुइँमा भुँडी धस्दै घस्रन्थ्यो । त्यस्तो हिँडाइले कमिलालाई वाक्कै लाग्यो ।

“ए, पख्नुस् त !”

 माकुरो रोकियो र भन्यो, “उ गोब्रे कीरो दगुरिरा’छ मभन्दा उ छिटो हिँड्छ !”

कमिलो ओर्लियो ।

“ए गोब्रेकाका, मलाई घर पुर्‍याइदिनुस् न । मेरा खुट्टा दुख्याछन् !”

“बस, लगिदिउँला !”

क्मिलो गोब्रेकीराका पिठ्यूँमा बस्न मात्रै के पाएको थियो, गोब्रेकीरो दगुरिहालयो । उसका खुट्टा घोडाका जस्तै एकनासे थिए । छखुट्टे घोडाले हल्लाउँदा पनि हल्लाएन । हावामा उडेजस्तो लाग्थ्यो ।

एक्कैछिनमा उनीहरु आलुबारीसम्म पुगे ।

“ल अव झर र अर्कै घोडा खोज । मेराजस्ता खुट्टाले आलुका ड्याङ् फड्कन सकिन्न ।” गोब्रेकीराले भन्यो ।

कमिला ओर्लियो ।

“ए, कमिला, ल मेरो पिठ्यूँमा चढ । उफ्रौँ !”

कमिलाले पछाडि फर्केर हेर्‍यो । नजिकै साङ्ले उपियाँ रहेछ । माटोमा त्यसलाई देख्नै पनि गाह्रो ।

“तपाईँ साह्रै सानो हुनुहुन्छ । मलाई बोक्न सक्नुहोला र ?”

“आफु त खूव ठुलो छु भन्ठानेकाछौ कि के त ? ल चढ भनेको !”कमिलो अटाइनअटाइकन साङ्लेउपियाँको पिठ्यूँमा  चढ्यो र बल्लतल्ल खुट्टा अड्यायो ।

“चढ्यौ ?”

“चढेँ, चढेँ !”

 “ल, बलियोसँग बस ।”

साङ्ले उपियाँले आफ्ना पछाडिका मोटा खुट्टाको भर लियो र फट्याक् फट्याक् उफ्रियो । हेर्दाहेर्दै उ ड्याङ्माथि पुग्यो । फट्याक्क दोस्रो ड्याङ्मा, फट्याक्क तेस्रो ड्याङ्मा । त्यसो गर्दागर्दै उ पूरै बारी नाघेर पर बारसम्मै पुग्यो ।

“बार नाघ्न सक्नुहोला ?”

 “बार नाघ्न त सक्दिनँ । साह्रै अग्लो छ ! फट्याङ्ग्रालाई भन त । उसले सक्छ ।”

“फट्याङ्ग्रा दाइ, मलाई घर पुर्‍याइदिनुस् न । मेरा खुट्टा दुख्याछन् !”

 कमिलो फट्याङ्ग्राको गर्धनमा बस्यो ।

फ्याङ्ग्राले पछाडिका लामा खुट्टा आधै खुम्च्यायो, अनि एकै सासले तनक्क तन्कायो र उपियाँझैं उफ्रेर हावामा पुग्यो । पिठ्यूँपछाडिको पखेटा फैलायो र बार नाघेर जमीनमा पुग्यो ।

“ल आइपुगियो !” फट्याङ्ग्राले भन्यो ।

 कमिलाले अगाडि हेर्‍यो, त्यहाँ ठुलै खोला बगिरहेको थियो । यो खोला त वर्षैभरि पौडे पनि तर्न सकिन्नथ्यो ।

 घाम धेरै तल झरिसक्यो ।

फट्याङ्ग्राले भन्यो, “यो खोला उफ्रेर तर्न त म पनि सक्दिनँ । धेरै फराकिलो रहेछ । पर्ख, म जलसाङ्लालाई बोलाइदिन्छु । त्यसले तारिदिन्छ ।”

फट्याङ्ग्रो आवाज निकालेर खर्खरायो । पर पानीमा खुट्टेडुङ्गा चलेको देखियो । नजिकै आइपुग्यो । त्यो त डुङ्गा होइन, जलसाङ्ला पो रहेछ ।

“ए, जलसाङ्लाजी, मलाई घर पुर्‍याइदिन सक्नुहुन्छ कि ? मेरा खुङ्गा दुख्याछन् !”

“हुन्छ, बस, लगिदिउँला !”

 कमिलो जलसाङ्लाको पीठ्यूँमा बस्यो । जलसाङलो  उफ्रेर पानीमा पनि जमीनमाझैँ नै कदम चलाउन थाल्यो ।

“घाम डाँडातिर झर्दैछ ! अलि छिटो गर्नुपर्ला कि ?”

जलसाङ्लाले बेग बढायो । खुट्टाले धकेलेको धकेल्यै गरेरजलसाङलो हिउँमा झैं पानीमा चिप्लेटी खेल्न थाल्यो र फुर्तीसाथ पारिपट्टिको किनारामा उत्रियो ।

“जमीनमा मलाई हिँड्न गाह्रो पर्छ ! खुट्टा चल्दैनन् !! अगाडि झन् जङ्गल पर्छ । अर्कै वाहन खोज !” जलसाङ्लाले भन्यो ।

“साँझ पर्न लागिसक्यो । मैले के गर्नु ठीक पर्ला ?” कमिलाले सल्लाह माग्यो ।

जलसाङ्लाले झ्याउँकिरीलाई देखाउँदै भन्यो, “देख्दा भद्दा भए पनि त्यसले उडाएर लान सक्छ । अनुरोध गरिहेर त !”

“झ्याउँकिरी दिदी, मलाई घर पुर्‍याइदिनुस् न । मेरा खुट्टा दुख्याछन् !”।

 “घर कहाँ हो नि ?”

 “यहीँ जङ्गलपारि !”

“टाढै रहेछ ! बस त बस, म पुर्‍याइदिन्छु ।”

कमिलो झ्याउँकिरीको साह्रो पिठयूँमा बस्यो ।

 “बस्यौ त ?”

“बसेँ ।”

“कहाँ बस्यौ ?”

“पिठ्यूँमा ।”

“हरे ! मेरो पनि पिठ्यूँमा बस्ने हो त ? टाउकोमा बस ।”

कमिलो टाउकोमा चढ्यो । झ्याँउँकिरीले ढाड दुई फ्याक पार्‍यो र दुईवटा कडा पखेटा खोल्यो । पखेटा घोप्ट्याइएका आरीजस्तै लाग्थे । अनि मुन्तिरबाट दुईवटा पातला र पारदर्शक तर माथिकाभन्दा फराकिला र लामा थप पखेटाहरु खुले ।

झ्याउँकिरी झ्याइँझ्याइँ गरेर सुसाउन थाल्यो । कमिलालाई यो हवाइजहाजले उडान शुरु गरेजस्तै लाग्यो ।

भुँ भुँ भुँ, टक् टक्टक् ! झ्याउँकिरी जङ्गलमाथि हावामा उड्नथाल्यो ।

माथिबाट कमिलाले देख्यो, घाम डाँडामा बसिसकेको थियो ।

भुँ भुँ भुँ टक् टक् टक् ! झ्याउँकिरी हावा चिर्दै बेगले उडिरहेको थियो । तलतिर जङ्गल झुलुक्क देखियो र तुरुन्त बिलाइहाल्यो ।

अनि उसले आफ्नो बस्तीको रुख पनि चिनिहाल्यो । रुखको टुप्पैनिर पुगेर झ्याउँकिरीले इन्जिन बन्द गर्‍यो र हाँगामा गएर बस्यो ।

“दिदी, म तल कसरी झरुँ ? मेरा खुट्टा दुख्याछन्, फेरि गर्धन नै भाँच्चिने हो कि ?” कमिलाले भन्यो ।

“तिमी तल कसरी झर्छौ मलाई थाहा छैन । तिम्रो घरमा चाहिँ म जान्न । तिमी कमिलाहरु साह्रै दुख्नेगरी टोक्छौ !” झ्याउँकिरीले भन्यो ।

कमिलाले तल हेर्‍यो, रुखका फेदमा आफ्नो घर देखिइरहेको थियो । उता घाम डाँडाबाट खस्न खस्न लागेको थियो ।

आफ्नो वरिपरि हेर्‍यो, चारैतिर हाँगा र पात पतिङ्गर मात्र देखिन्थ्यो । यति माथिबाट फाल हाल्नु भएन क्यारे । कमिला सोच्दैथियो, नजिकै पातमा रेशम कीरा बसिरहेको देख्यो ।

“ए रेशमजी मलाई फेदसम्म लगिदिनुस् न । मेरा खुट्टा दुख्या छन् । रात पर्नै लाग्यो । अबेर भएपछि मलाई घरमा पस्नै दिँदैनन् !”

“जा उता । धागो कातिराछु देख्दैनस् ?”

“मलाई सवैले सहयोग गरे । तपाईँ गर्नुहुन्न त ?”

“गर्दिन के !”

“ए !” भन्दै कमिलाले रेशमकीराको ढाडमाथि उक्लेर बेसरी टोकिदियो ।

रेशम करिाले खुट्टा खुम्च्यायो र पातबाट मुन्टिएर तल खस्यो । कमिलो चाहिँ रेशम कीरामा झुण्डिरहेको थियो । कमिलाले बलियोसँग समात्यो । तर उनीहरु धेरैबेर तल खसेनन् कुन्नि केले हो, रोक्यो ।

उनीहरु दुवै रेशमको धागोमा हल्लिनथाले । धागो हाँगोमा बेरिएको थियो ।

कमिलो रेशमकीरामाथि झोलुङ्गोमा झैं चह चह हुन थाल्यो । धागोचाहिँ झन् झन् लामो झन् झन् लामो हुँदै गयो । रेशम कीराका जीउबाट धागो निस्किरहेको थियो । तन्किरहेको थियो । कमिलो र रेशम कीरो झन् झन् तल खसे ।

तल कमिलाहरु हतारिँदै र आत्तिँदै थिए । झ्याल ढोकाहरु बन्द गर्दै थिए । एउटा ढोका मात्र बन्द गर्न बाँकी थियो ।

रेशम कीराबाट हाम फालेर कमिलो घरतिर दगुर्‍ यो ।

त्यति बेलै घाम पनि अस्तायो ।

सुत्नुअघि आफ्ना आफन्तहरुका बीचमा बसेर कमिलाले यात्रावृत्तान्त सुनायो ।

जताततै सहयोगी भेटिने संसार कति रमाइलो ! एउटा बच्चा कमिला खुसी भएर एक छिन नाच्यो ।

“परिआउँदा सहयोग लिनुदिनु राम्रै हो  हामीले गुन बिर्सनु हुँदैन ।” काका कमिलाले भन्यो ।

“अँ त्यो रेशम कीराले बोक्न मानेन भन्दैमा त्यसलाई टोक्नु र रुखबाट खुर्मुर्‍याउनु राम्रो कुरा भएन नि । हामी कमिलाहरु आफैं आक्रमक होइनौँ ।” काकी कमिलाले भनी ।

“हो, त्यो त सरासर आक्रमण नै हो । नभ्याएको भए एक रात छिमेकी रुखमै बसेको भए पनि त हुन्थ्यो ।” दाइ कमिलाले कुरा थप्यो ।

सबै कमिलाले गम्भीर अनुहार बनाएर यात्री कमिलातिर हेरे !

यात्री कमिला डरायो । उसले सवैसित हात जोडेर भन्यो, “घर आउने हतारमा मैले गल्ती गरेँछु । अव उप्रान्त म कहिल्यै यस्तो गल्ती गर्नेछैन । एकपटकलाई माफ गर्नुहोस् । म बिहान सबेरै गएर रेशम कीरासँग पनि माफी माग्छु !”

यात्री कमिलाको विनम्रता देखेर सवै कमिलाहरु खुसी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप