बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सङ्क्रमणकालको ह्याङओभर’मा शृङ्खलाबद्ध हत्या : साथी र आफन्तबाटै असुरक्षित !

बुधबार, २७ चैत २०७५, १० : ०३
बुधबार, २७ चैत २०७५

घटना नम्बर–१

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मैनाबगरमा चैत ११ गते एक मोटर वर्कसपमा काम गर्ने मिस्त्री फिरोज अन्सारी (खान) को साँझ ८ बजे हत्या भयो । घरको गेटमै गोली हानी हत्या भएपछि प्रहरीले अनेक कोणबाट अनुसन्धान सुरु गर्यो । अन्ततः ४५ वर्षीय फिरोज अन्सारी (खान) की श्रीमती साहिन खातुनसँगको प्रेम सम्बन्धमा रहेका भारत बिहार बेतियाका ४२ वर्षीय साधिर हुसेनले खानको हत्या गरेको प्रहरीले पत्ता लगायो ।

हत्यामा श्रीमती प्रत्यक्ष जोडिएकाले उनलाई प्रहरीले थुनामा राखेर कानुनी कारबाही अगाडि बढाएको छ ।

घटना नम्बर–२

गत फागुन १० गते कपिलवस्तुको वाणगङ्गामा मध्यराति आफ्नै घरको भान्सा कोठामा २८ वर्षीया अनिता पौडेलको हत्या भयो । एक महिनापछि श्रीमान्बाटै हत्या भएको प्रहरीले पत्ता लगायो । दुईवटा विवाह गरेका श्रीमान्ले अनिताको हत्या योजनाबद्ध ढङ्गले गरेको प्रहरी अनुसन्धानले देखायो । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ झुँगाकी २८ वर्षे अनिता र बुद्धभूमि नगरपालिका वसन्तपुरका बाबुराम (विष्णु) पौडेलबीच ११ वर्षअघि विवाह भएको थियो । विवाह भएको ५ वर्षपछि  बाबुराम (विष्णु) ले कान्छी श्रीमती भित्र्याए । त्यसपछि अनिता र बाबुराम (विष्णु)  बीच सम्बन्धविच्छेद, अंशलगायतका विषयमा झैँ झगडा सुरु भयो ।

अनिता घरमै बसेर स्थानीय एक निजी विद्यालयमा कार्यालय साहयकाका रूपमा काम गर्दै छोराछोरीसँग बस्दै आएकी थिइन् । बाबुराम (विष्णु) भने कान्छी श्रीमतीसँग भारतको पन्जाबस्थित हरियाणामा काम गर्ने गर्थे । समयक्रमसँगै अनिता र बाबुरामबीच सम्पत्तिको विषयलाई लिएर विवाद सुरु भयो । विवादपछि बाबुरामले आफ्ना भिनाजु श्रीहरि गौतमलाई प्रयोग गरे । गौतमले चिनजान भएका गुनाखर अधिकारीलाई ७ लाख र ठेक्का काम लगाइदने सहमति गरी हत्याको योजना रचे । त्यही योजनाअनुसार फागुन ११ गते फलामको रड प्रयोग गरी अनिताको हत्या गरियो । हत्या अभियोगमा श्रीमानसहित ३ जना पक्राउ परेका छन् ।

घटना नम्बर–३

गत पुस ३ गते कपिलवस्तु नगरपालिका–३ औरहियामा श्रीमान रफिक मुसलमानले श्रीमती तसलिन निसालाई घाटीमा डोरी कसेर झुण्ड्याउँदै हत्या गरे । सुरुमा उक्त घटनालाई आत्महत्या भनिए पनि प्रहरी अनुसन्धानबाट हत्या भएको पत्ता लाग्यो र रफिक पक्राउ परे ।

पक्राउ परेका रफिक पुर्पक्षका लागि थुनामा छन् । रफिक र उनकी श्रीमितिबीच लामो सयमदेखि झैझडा हुनुका साथै मनमुटाव हुँदै आएको थियो । मृतक तसलिनलाई श्रीमान्सहित घरका अरूले समेत मिलेर बेलाबेला कुटपिट गर्ने गरेको छिमेकीहरु बताउँछन् । यो घटनामा अब्दुल बाहिद मुसलमान र सब्बिर मुसलमान पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 घटना नम्बर–४

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा गत कात्तिक ११ गते आफनै श्रीमान् वसन्त परियारले श्रीमती सुमित्रालाई बन्चरो प्रहार गरी हत्या गरे । उनले घरमै श्रमतीको पासविक रूपमा हत्या गरेपछि वसन्त पक्राउपछि पुर्पक्षका लागि थुनामा छन् । उनीहरुबीच लामो समयदेखि विवाद र झैझडा हुने गरेको थियो । परियारले मादक पदार्थ सेवन गरेर श्रीमतीलाई बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

अपराधशास्त्री माधव आचार्यका अनुसार सङ्क्रमणकालको ह्याङओभरको असरले समाजमा यस्ता किसिमका आपराधिक घटना हुने गरेका छन् । आफन्त र चिनेजानेकैबाट हुने हत्या सामाजिक विशृङ्खलता र समाजमा आएको उत्ताउलोपनको परिणति भएको आचार्यको भनाइ छ ।

घटना नम्बर–५

गत फागुन–२६ गते राति करिब साढे ७ बजे रूपन्देहीको देवदह नगरपालिका–९ घोडाहस्थित सङ्गमपथमा अनिष पुरीको हत्यो भयो । देवदहको घोडाहबाट मोटरसाइकलमा घर जाँदै गर्दा बीचमा आफ्नै साथीहरुले मोटरसाइकल रोक्न लगाए । त्यसपछि लाठी, रड र ढुङ्गाले हाने । तत्कालै देवदेव मेडिकल कलेज लैजाँदै गर्दा पुरीको मृत्यु भयो । पुरीका हत्यारा सोही स्थानका आफ्नै  साथीहरुको समूह हो । पुरीमाथि ४ नाबालकसहित १२ जनाको समूहले लाठी, रड र ढुङ्गा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए । घटनामा उनीहरु पुरीसँग एक समय निकै मिल्ने साथी भएको समेत खुलेको छ । उनीहरुले पुरीमाथि ठेक्कापट्टाको रिसइबी साँधेर पूर्वयोजना बनाई हत्या गरेको खुलेको हो ।

माथिका हालै भएका ५ घटनाबाट स्पष्ट हुन्छ–आफन्तबाटै असुरक्षा । सँगै पढेका साथीले बोलाएर हत्या गर्ने, श्रीमतीले अर्कोसँग प्रेम गरेर श्रीमानको हत्या गर्न लगाउने र श्रीमानले श्रीमतीको क्रुर ढङ्गले हत्या गर्ने घटना बढेका छन् ।

५ नम्बर प्रदेशमा भएका पछिल्ला ७ हत्याका घटनामध्ये ४ घटना श्रीमान्  श्रीमतीसँग जोडिएका छन् । हत्यामा साना हतियार प्रयोग हुनु र श्रीमतीहरु आफ्नै श्रीमानबाट असुरक्षित हुने विषयप्रति कपिलवस्तुका प्रहरी उपरीक्षक अच्यूत पुडासैनीले चिन्ता व्यक्त गरे । ‘यसरी घरभित्र जोकेही पनि शङ्काको घेरामा रहे । श्रीमानले श्रीमती र श्रीमतीले श्रीमान्को हत्यासम्म गर्ने अवस्था धेरै खतरनाक हो’, उनले भने । 

साना हतियारको चलखेल, यता हान्यो उता गयो

तराईका जिल्लाहरुका सीमा पारि साना हतियार सहज रूपमा उपलब्ध हुने र खुला सीमाको फाइदा उठाउँदै साना हतियारहरु भित्रिने गरकाले अपराधीहरुले घटना गराउनसमेत सहज हुने गरेको प्रहरीका अनुमान छ ।

५ नम्बर प्रदेशका रूपन्देही, नवलपरासी, कपिलवस्तु र बाँके बर्दिया जिल्लामा बेलाबेला सीमा नाकाको फाइदा उठाउँदै साना हतियार लिएर अपराध गर्ने गरेका घटनाहरु छन् । पछिल्ला ७ घटनामध्ये ३ घटनामा गोली प्रहारबाट हत्या भएको देखिएकाले पनि हत्यामा हतियारको प्रयोग र चलखेल रहने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रमुख हृदय थापाका अनुसार भारतको बिहार बेतियामा ४२ वर्षीय साधिर हुनेसनले नवलपरासीको त्रिवेणी नाकाबाट प्रवेश गरी मैनाबगरमा गोली हानेर फरार भएका छन् । उनले फिरोजकी श्रीमतीसँग दिउँसो ३ बजे हत्या गर्ने सल्लाह गरेर साँझ भारतबाट हतियारसहित नेपाल पसेर गोली हानेका हुन् । साधिरजस्तै धेरै अपराधीहरु खुला सीमानाको फाइदा उठाउँदै साना हतियारसहित नेपाल आएर हत्या गर्ने त्यसपछि भारततर्फ नै फरार हुने गरेका छन् । गत मङ्सिर ८ गते साँझ कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ४ मोतिभारीका दीपेन्द्रकुमार चौधरीको पनि हतियारै प्रयोग गरी हत्या भयो ।

प्रदेश सदस्यका प्रत्यासीसमेत रहका राजाबाबु नामले चिनिने चौधरीको हत्यामा आधा दर्जनविरुद्ध किटानी छ । हत्याका मुख्य अभियुक्त अजित कुमार पाण्डेय अझै फरार छन् ।

उनलाई गोली हानी सीमा नाकको फाइदा उठाउँदै भारततिर लागेको प्रहरीको अनुमान छ ।

घटनामा प्रयोग गरिने साना हतियार सीमा पारिबाट ल्याउने गरेको प्रहरीको बुझाइ छ ।  गत चैत १७ गते कृष्णनगर नगरपालिका वडा नम्बर १० विद्यानगरका पारस पुरीको पनि गोली हानी हत्या भयो । म्यानपावर व्यवसायीसमेत रहेका उनीमाथि राति नौ बजे गोली प्रहार भएको थियो । मोटरसाइलमा आएका २ जनाले उनीमाथि गोली प्रहार गरेर भागेका थिए । यस्तै गत चैत १२ गते कपिलवस्तुको शिवराज नगरपालिका–६ पिपरीमा त्रिवेणी यादवको हत्या भयो । उनको हत्याको कारण र हत्यारा अझै पत्ता लागेका छैन । हत्यापछि  अभियुक्तहरु भारत जाँदा अनुसन्धानमा समस्या हुने गरेको प्रहरी बताउँछ ।

‘यस्ता घटना हुन नदिन समाजमा सचेतना जरुरी छ । प्रहरीलाई विनाअवरोध काम गर्न दिए जुनसुकै घटनाका अभियुक्त पनि पक्राउ गर्न सकिन्छ’ रूपन्देही प्रहरी प्रमुख थापाको सुझाव छ ।

‘नेपाल प्रहरीलाई अनुसन्धान गर्न अनेक झन्झट हुने गर्छन् । जसका कारण नेपालमा हत्या गरेर भारत जाने वा या भारतबाट¬¬¬¬ भाडामा हतियार लिएर नेपाल छिरेर हत्या गर्ने क्रम तराईका जिल्ला हुने गरेको छ’, नेपाल प्रहरीका पूर्व एसएसपी विक्रमसिंह थापा बताउँछन् । 

के भन्छन् अपराधशास्त्री ?

अपराधशास्त्री माधव आचार्यका अनुसार सङ्क्रमणकालको ह्याङओभरको असरले समाजमा यस्ता किसिमका आपराधिक घटना हुने गरेका छन् । आफन्त र चिनेजानेकैबाट हुने हत्या सामाजिक विशृङ्खलता र समाजमा आएको उत्ताउलोपनको परिणति भएको आचार्यको भनाइ छ । ‘राजनीतिक सङ्क्रमणकाल लम्बिँदै जाँदा त्यसको असर समाजका विभिन्न क्षेत्रमा देखिन्छ । जसलाई सामाजिक विशृङ्खलता भन्न सकिन्छ । यस्तो विशृङ्खलता बढ्दै जाँदा जसले जसलाई जे गरे पनि हुने र कारबाही नहुने भन्ने सोच पलाउँछ र मानिस अपराधकर्मममा लाग्छ’, अपराधशास्त्री आचार्यले रातोपाटीसँग भने, ‘त्यसकारण सङ्क्रमणकाल टुङ्ग्याएर राज्यले ल एन्ड अर्डर लागू गर्दै चुस्त दुरुस्त समाज निर्माण र विकास गर्नतर्फ लाग्नुपर्छ ।’ अपराधशास्त्री आचार्यले समाजलाई सुसभ्य बनाउन सके त्यस्ता अपराध आफै घट्दै जाने दाबीसमेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप