शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथाको उचाइ नाप्ने टोलीलाई प्रमको सुझाव : टुप्पोमा स्केल राखेर नाप्नुहोला, एक सेन्टिमिटर पनि फरक नपरोस्

बुधबार, २७ चैत २०७५, १० : २३
बुधबार, २७ चैत २०७५

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने सरकारी टोलीलाई बुधबार बिहान एक कार्यक्रमबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिदाई गरिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने कुरा उठेपछि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नापी विभागले आफ्नै साधानबाट पहिलो पटक सगरमाथाको उचाइ मापन कार्य अघि बढाएको हो ।

उचाइ नाप्ने टोलीमा नापी विभागका प्रमुख खिमलाल गौतम, रविन कार्की, सर्वेक्षक सुरज सिंह भण्डारी र  अमिन युवराज धिताल रहेका छन् ।

टोलीलाई बिदाई गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइँ नाप्न सुझाव दिएका छन् । उनले भने, ‘सगरमाथाको टुप्पोमा स्केल राखेर एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला ।’

यसअघि भारत, अमेरिका र चीनले नाप्दा फरक-फरक तथ्यांक आएकाले नेपालले पहिलो पटक आफै सगरमाथाको उचाइ नाप्न लागेकाले यो ऐतिहासिक अवसर भएको बताए ।

प्रम ओलीले विदेशीले विभिन्न समयमा फरक–फरक आँकडामा आफूलाई विश्वास नलागेको बताउँदै यसपटक यथार्थ उचाइ आउनेमा आफू विश्वस्त रहेको जिकिर गरे ।

‘भूकम्पले सगरमाथाले उचाइ घटेको भन्ने छ । तर मलाई भरपर्दो लागेन । केही समयअघि ८,८५० मिटर पुग्यो भन्ने कुरा पनि आएको थियो । त्यही आसपासमा होला घटेको नहुनपर्ने हो,’ प्रमले भने ।

प्रधानमन्त्री ओलीले उचाइ नाप्न जाने टोलीलाई स्वास्थ्यको ख्याल राख्न पनि सुझाव दिए । साथै, मौसमले साथ नदिए जर्बजस्ती नगर्न पनि भने ।

‘स्वास्थ्यको ख्याल गर्नुहोला । मौसमले साथ दिएन भने नचढ्नुहोला । सगरमाथा यही रहन्छ, फेरि अर्को चोटी नाप्न सकिन्छ,’ प्रमले भने, ‘गाइडले जे निर्देशन दिन्छ हरेक निर्देशन पालना गर्नुहोला ।’

प्रधानमन्त्रीले टोलीका सदस्यहरु तथा गाइडसँग हिमाल आरोहणको अनुभवको बारेमा पनि जानकारी लिएका थिए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप