बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दुकको नाल देखाएर सेवा सञ्चालन गर्न खोजियो: आन्दोलनरत चिकित्सक

बुधबार, २७ चैत २०७५, १६ : ३७
बुधबार, २७ चैत २०७५

काठमाडौँ– सरकारको जेठो अस्पताल वीर । आज भोलि स्वास्थ्य सेवा भन्दा पनि रमिते बनेको छ । ६ दिनसम्म ठप्प रहेको ओपीडी आज अस्पतालले खुलाए पनि सबै नागरिकले सेवा पाएनन् ।  टिकट खुलाउने क्रममा बिहीबार बिहान केही समय वीर अस्पतालमा निकै तनाव भयो । बिहानको १० बजे अस्पतालमा पुग्दा ६ दिनदेखि बन्द रहेको ओपीडी सेवाको टिकट खुलाइएको थियो । सो समय सम्ममा ३ सय ७ जनाले टिकट पनि लिइसकेका थिए । तर उपचार गर्ने डाक्टर भने ओपीडीको टिकट काट्ने अगाडी खाली ठाँउमा आफ्नो आन्दोलनको ब्यानर लिएर बसिरहेका थिए । 

यता अस्पतालमा जाने मुख्य ढोकामा भने प्रहरी खचाखच भरिएको थियो । कुनै ठुलै मुठभेड हुँदैछ भने जस्तोगरी प्रहरी तयारी अवस्थामा थिए । बिरामीहरु भने हातमा टिकट लिएर आन्दोलनरत डाक्टर र प्रहरीको भिडलाई नियालिरहेका थिए ।

अस्पतालको वार्लालिमा बिरामी थिए भने अगाडीको खुल्ला भागमा डाक्टर थिए । स्वास्थ्यमा सारै गाह्रो भएका बिरामीहरु भने उपचार नगर्ने हो भने किन टिकट दिनु ,नदिएको भए हुन्थ्योनी भन्दै आक्रोशित थिए । उनीहरु न टिकट फिर्ता लिन्छन् न सेवा दिन्छन् भन्दै आक्रोश व्यक्त गर्दे थिए । 

सूर्यनारायण महतो महोत्तरीबाट आज बिहानै वीर अस्पताल आइपुगे । आज टिकट काट्नेमा उनी पहिलो नम्बरमा परे । पहिलो नम्बरमा पर्दा पालो छिटो आउने आशाका साथ आफ्नो वार्डमा गए । तर त्यहँ डाक्टर थिएनन् । उनलाई टिचिङ र निजामति अस्पतालमा स्वास्थ्य जाँच गर्दा चिनीरोग र पेटमा समस्या देखिाइएको थियो । सोही समस्या लिएर उनी अस्पताल आएका रैछन् । तर सेवा नपाउँदा निकै आक्रोशित बने ।

८६ वर्षका इश्वरी खनाल मैनमैजुदेखि वीर अस्पताल आए । बिहानको १० बजेदेखिनै जेष्ठ नागरिक वार्डमा बसिरहेका छन् । ११ बजेसम्म पनि डाक्टर आएनन् । उनलाई छातीबाट कफ आइरहने । मुख, दाँतबाट चिप्लो पदार्थ आइरहने समस्या छ । स्वास्थ्य जाँचको लागि टिकट पनि पाए तर जेष्ठ नागरिकको वार्डमा डाक्टर भेटेनन् । ‘डाक्टरको आन्दोलन हो भने किन हामीलाई टिकट दिने भनेर प्रश्न गर्दै उनले भने यो त भोजमा टपरी दिएर भात नदिएको जस्तो भयो ।’ खनालले अहिलेको मान्छेमा धेरै सिप छ, धेरै अध्ययन् भए पनि मानवता हराउँदै गएको बताए । 

पद्मकुमारी पोखरेल । उमेर ७५ वर्ष । उनी पनि आज बिहानै उपचारको लागि सकि नसकि वीर अस्पताल आइन । उनलाई मुटु दुख्ने, ढाड दुख्ने समस्या छ । पेट बाउडिने र सास फेर्न गाह्रो हुन्छ । उनी पनि जेष्ठ नगारिकको वार्डमा बसिरहेकी छिन् । तर डाक्टर आएनन् ।

जगतवहादुर वि.क अहिले ८३ वर्षका भए । उनी उपचारको लागि नुवाकोटदेखि आएको आज ३ दिन भयो । अस्पताल बन्द छ भन्ने सुनेर काठमाडौँमा छोरीको डेरामा बसे । आज आउँदा टिकट त भेटे तर उपचार गर्ने डाक्टर भेटेनन् । 

मनकुमारी गिरीलाई निमोनिया, सुगर र प्रेसर छ । आज बिहान धादिङदेखि छोराले उपचारको लागि वीरमा ल्याए । डाक्टरको आन्दोलन छ भन्दाभन्दै पनि टिकट पाए । उपचारको लागि जेष्ठ नागरिक वार्डमा गएर बसिन् तर डाक्टर आएनन् ।

यता सरकारी चिकित्सकहरुले  भने टिकट दिए पनि आफुहरु सेवामा नजाने ढिपी कसेपछि नागरिकहरु सेवा पाउनबाट बञ्चित भएका थिए । तर केहीबेरपछि उपचार नपाउँदा निकै बेचलन देखिएको भन्दै चिकित्सकहरुले अस्पताल बाहिरबाट नै सेवा सुरु गरे । 

आफ्नो माग सम्बोधन नभएसम्म ओपीडी सेवा अस्पतालको प्राङगणबाटनै दिने भन्दै चिकित्सकहरु बिरामी जाच्न थालेका छन् । 

प्रहरी दमनले आन्दोलनको स्वरुप फेरिन सक्छ   

चिकित्सकलाई प्रहरी प्रशासन लगाएर सरकारले तानाशाही प्रवृत्ति देखाएको भन्दै चिकित्सक आक्रोसित थिए । बन्दुकको नालको बलमा टिकट काट्न सक्ला तर बिरामीको उपचार गराउन सरकारले नसक्ने भन्दै डाक्टरहरु आक्रोशित थिए । बिरामीको दु.खलाई मध्यनजर गरेर आफूहरुले बारिहबाटनै ओपीडी सेवा सञ्चालन गरेको सरकारी चिकित्सक संघका अध्यक्ष डा.दीपेन्द्र पाण्डेले बताए ।

आन्दोलनरत चिकित्सकले जाँचेको बिरामीलाई सरकारी चिकित्सक संघको छाप भएको पुर्जा दिइएको थियो । अस्पतालमा प्रहरी ल्याएर डाक्टरमाथि हातपात गर्नु हदैसम्म भएको भन्दै आफूहरुले नागरिकको स्वास्थ्य सेवाको लागि आन्दोलन गरेको आन्दोलनरत चिकित्सकहरुले बताए । 

सरकारले अन्योलपूर्ण ऐन ल्याएको भन्दै चिकित्सकहरुलाई प्रदेशबाट प्रदेशमा सरुवा हुने व्यवस्था बनाए पनि स्थानीय तहमा सरुवा हुने व्यवस्था नभएको चिकित्सकहरुको भनाई छ । आज आधारभूत सेवा दिने निर्णय भएअनुसारनै सेवा प्रदान गरिएको अध्यक्ष डा.पाण्डेले बताए । 

बिरामीलाई पीडामा पारेर आफुहरु आन्दोलन लम्ब्याउने पक्षमा नभए पनि आज अस्पतालमा प्रहरी लगाएर जबरजस्ती टिकट दिनु र चिकित्सक माथि हातपात भएको हुँदा आन्दोलनको स्वरुप परिवर्तन हुन सक्ने डा.पाण्डेले रातोपाटीलाई बताए । 

अस्पतालले प्रहरी लगाएको छैन  

हामीले प्रहरी प्रशासननै लगाएर टिकट खुलाउनुभएको हो ? भनेर वीर अस्पतालका  निर्देशक डाक्टर केदार सेन्चुरीलाई सोधेनका थियौँ । डा.सेन्चुरीले टिकट अस्पताल प्रशासनले खुलाएको बताए । अस्पतालमा अप्रिय घटना नहोस् भन्ने उदेश्यले सुरक्षाको लागि प्रहरी खटाइएको उनले बताए । प्रहरीको दबावमा टिकट सञ्चालन नगरेको भन्दै निर्देशक डा.सेन्चुरीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट सेवा सुचारु गर्न दबाव आएको हुँदा टिकट खुलाएको स्पष्ट पारे ।

अस्पताल प्रशासन सुरुकै दिनदेखि सेवा सुचारु गर्न लागि परको थियो । सरकारी चिकित्सक संघको मागमा नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाउँदा प्रतिष्ठानको चिकित्सकहरु स्वयम आन्दोलनमा होमिए । त्यसपछि ओपीडी सेवानै ठप्प भएको उनले स्वीकारे ।  प्रतिष्ठानका चिकित्सकहरुलाई पनि काम गर्ने वातावरण नभएको हुँदा सेवा नै ठप्प भएको अस्पतालको भनाई छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप