शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी र दाङका ४ नेपालीको भारतमा रहस्यमय मृत्यु

शुक्रबार, २९ चैत २०७५, १९ : ०४
शुक्रबार, २९ चैत २०७५

बुटवल– रोजगारीका लागि भारत पुगेका गुल्मी र दाङ्गका गरि ४ जना नेपालीको भारतमा रहस्यम मृत्यु भएको छ । गुल्मीको ईस्मा गाउँपालिका २, साविक हस्तीचौरको झिरनेटाका  ३० वर्षीय सजन नेपालीको चैत्र २२ गते चिराग दिल्लीमा उनले काम गर्ने घरको तेश्रो तलाबाट खसेर मृत्यु भएको खबर ढिलो गरि प्राप्त भएको छ ।

उनका बाबु श्यामलाल नेपालीका अनुसार त्यस घरमा ४ जना नेपालीहरुले काम गर्थे । उनका ती साथीहरुले आफै छतबाट हाम्फालेको हो भने पनि परिवारजनले पत्याउन सकेका छैनन् । नेपाली भुईमा खसेको १५ मिनेटपछि मात्र माथि घरमा रहेका ती साथीहरुलाई अरुले जानकारी दिएका थिए ।

बाबु नेपालीले भने– ‘त्यहाँ गएर न्याय खोज्ने मेरो कुनै उपाय छैन, म हिजोदेखि छोराको किरिया क्रमको कुनेमा छु, कसैले कुटेर फालेको आशंका छ, खै कसरी खोजतालस गर्ने हो ।’ स्थानीय अगुवा मंगल नेपालीले हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य खोजीका लागि सञ्चारमाध्यमको सहारा लिनु शिवाय यो परिवारको अरु उपाय नभएको बताए ।

उनले भने– ‘घरमा केही छैन, २५ वर्षीया श्रीमती दिपिका र उनका ६ बर्ष र ३ महिनाका एक सन्तानको विचल्ली भएको छ । कुनै उम्काउने उपाय समेत छैन, यसर्थ सहयोगको हात समेत यो परिवारले फैलाएको छ ।’ मृतक १८÷१९ बर्षदेखि भारत मै मजदुरी गर्दै आएका थिए । पछिल्लो चरण उनी भारत गएको ६ महिना मात्रै भएको थियो ।

दाङका ३ जनाको थप रहस्यमय मृत्यु 

उता दाङ्ग बाट भारतमा  मजदुरी गर्न पुगेका तीन नेपालीको पनि रहस्यमय मृत्यु भएको भन्दै मृतकका परिवारजनले शव बुझ्न मानेका छैनन् । दाङको शान्तिनगर गाउँपालिका–२ अमुवाका २३ वर्षीय नोखिराम वली, सोही स्थानका बर्ष २१ का प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वली भारतको कुल्लु मनिलाको भीर र पतलीकुहल जंगलको अलग–अलग अलग स्थानमा केही दिनअघि मृत फेला परेका थिए ।

उनीहरुको शव नेपाल ल्याई दाङ जिल्ला प्रहरी कार्यालयले विहिवार परिवारजनलाई बुझाउन खोज्दा रहस्यमय मृत्यु भएको भन्दै शव बुझ्न नमानेपछि अहिले उनीहरुको शव राप्ति प्रादेशिक अस्पतालको शव गृहमा राखिएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी  विनोदविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार गत पुस १४ गते भारतमा काम लगाई दिन्छु भन्दै अमुवा कै बर्ष ४६ कि जाईफल मिया (मेट ) भन्ने महिलाले उनीहरु तीन जनाका अलवा अमुवा कै २२ वर्षीय ईन्द्रबहादुर विक, सल्यान छाँयाछत्र गाउँपालिका ३ दिपाखानाका २९ वर्षीय सेवक थापा र उनकी ३२ वर्षीया श्रीमती अमृता थापासहित ६ जनालाई भारत लिएर गएकी थिइन् ।

परिवारजने हत्या नै भएको आरोप जाईफल मियासँग चर्को वादविवाद गर्न  थालेपछि मियाको सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा उनलाई राखिएको डिएसपी शाहले बताए । घटनाको सत्यतथ्य बुझ्न मृतकका आफन्त र त्यहाँका जनप्रतिनिधिहरु भारत जान लागेको उनले जानकारी दिए ।

नोखिराम र प्रकाश वलीको शव खोज्दै जाने क्रममा चैत्र १० गते भारतको कुल्लु मनिलाको भिरमुनी र  दुई दिनपछि चैत्र १२ गते सोही स्थान नजिकै पतालीकुहलको जंगलमा पूर्णबहादुर वलीको शव फेला पारि चैत्र २५ गते नेपाल ल्याइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप