शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकालाई संस्कार सिकाउँदै डीएभी स्कुल: शिक्षामा पूर्वको ज्ञान र पश्चिमको विज्ञानको समिश्रण

विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा विचारसहित सहभागी गराउँदा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान पनि हासिल गर्न सक्षम हुन्छन् ।
आइतबार, ०१ वैशाख २०७६, १४ : १६
आइतबार, ०१ वैशाख २०७६

अमन्त्रम् अक्षरम् नास्ति, नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।

मन्त्रविनाको अक्षर हुँदैन, योग्यताविनाको मानिस हुँदैन र औषधिविनाको वृक्ष हुँदैन । त्यसैले यी सबैलाई मिलाउन सक्नु चाहिँ दुर्लभ हो । 

माथिको श्लोकको तात्पर्य हो यो । साँच्चै सबैको आ–आफ्नो क्षमता र दक्षता हुन्छ । जसले सही मार्ग पहिल्याउन सक्छ ऊ अवश्य सफल हुन्छ । असल मार्ग देखाउने काम शिक्षालय र शिक्षकहरुको हुन्छ ।

ज्ञान लिने र दिने एउटा पक्ष हो तर असल संस्कार महत्त्वपूर्ण पाटो हो । कलिला मस्तिष्कमा ज्ञानको ज्योतीसँगै असल संस्कारले बास गर्न सक्यो भने भविष्यमा असल मानिस उत्पादन हुनेमा शङ्का छैन ।

नेपालमा सञ्चालित धेरै शिक्षालयहरुले किताबी ज्ञानलाई बढी महत्त्व दिइरहेको बेला केही शिक्षालयहरु ज्ञानसँगसँगै असल संस्कार दिनमा तल्लीन देखिएका छन् ।

एक मेमोरियल स्कुलको अवधारणामा स्थापना भएको डीएभी सुशील केडिया विश्व भारती स्कुलले कलिला बालबालिकाका लागि किताबी ज्ञानसँगै व्यावहारिक ज्ञानमा विशेष जोड दिएको पाइएको छ । नेपालका चर्चित स्कुलमध्येको एक डीएभी ललितपुरको जावलाखेलमा सन् १९९३ देखि सञ्चालित छ । 

शंखरलाल केडियाका छोरा सुशील केडियाको अल्पायुमै निधन भएपछि उनको सम्झनामा शिक्षामा योगदान दिने हेतुले केडिया समूहले स्कुलको स्थापना गरेको थियो । भारतमा सञ्चालित डीएभीको पठन पाठन शैलीबाट प्रभावित केडियाले सोही अनुसारको शिक्षालाई नेपाली संस्कारमा रूपान्तरण गर्ने प्रयास गरेका छन् ।

दयानन्द याङ्लो वैदिक (डीएभी) सुशील केडिया विश्व भारती स्कुल सञ्चालनको मुख्य उद्देश्य पूर्वको ज्ञान र पश्चिमको विज्ञानलाई एकसाथ लिएर जानु हो । 

साथै, स्कुल ज्ञानको केन्द्र भएकाले विद्याकी देवी सरस्वतीको विभिन्न नाममध्येको एक नाम भारतीबाट स्कुलको नामकरण गरिएको थियो । 

डीएभी स्कुलले एसईई बोर्ड नेपाल र सीबीएसई बोर्ड भारतको किन्डर गार्डेन तहदेखि १२ कक्षासम्मको पढाइ गराउँदै आएको छ । विद्यार्थीहरुले जुन बोर्डको परीक्षामा सामेल हुने हो सोही अनुसारको शिक्षा हासिल गर्न सक्ने सुविधा यहाँ छ । 

३ हजारभन्दा धेरै विद्यार्थी र २ सयभन्दा बढी शिक्षकहरु रहेको यस स्कुलले दृष्टिकोणसहितको शिक्षालाई प्राथमिकता दिँदै आएको छ । 

डीएभीले २००३ देखि कलेज पनि सञ्चालन गर्दै आएको छ, जसमा म्यानेजमेन्ट र साइन्स विषय अध्ययन अध्यापन हुन्छन् । त्रिभुवन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त डीएभी कलेजले एमबीएस, बीएससी, बीबीए, बीबीएम र बीबीएसको अध्ययन अध्यापन गराउँदै आएको छ ।

रचनात्मक ज्ञान स्कुलको प्राथमिकता

सामाजिक कार्य गर्ने उद्देश्यबाट स्थापित दयानन्द याङ्लो वैदिक (डीएभी) सुशील केडिया विश्व भारती स्कुलले रचनात्मक शिक्षा शैलीलाई अपनाउँदै आएको छ । 

कला, साहित्य, सङ्गीत, ज्ञानसँग सम्बन्धित विविध क्रियाकलाप, प्रविधिलगायतलाई विशेष महत्त्व दिएर अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको डीएभी स्कुलका सहायक–प्रधानाध्यापक रामचन्द्र खनाल बताउँछन् । 

खनाल भन्छन्, ‘विद्यार्थीहरुलाई प्रेरणायुक्त कार्यक्रमहरुमा सहभागी गराएर उनीहरुको क्षमता विकासमा हामी केन्द्रित छौं । भोलि हाम्रा विद्यार्थी कुनै पनि क्षेत्रमा जाँदा एक आत्मविश्वासी अनि सक्षम व्यक्ति बन्न सकोस् जस्तो, ऊ एक इम्प्लोई होइन एक इम्प्लोएर बन्न सकोस् । हाम्रो शिक्षाको जग नै यसरी विकास भएको छ ।’ 

स्वाभाविक अनुशासन तथा शारीक विकास

हरेक व्यक्तिमा भिन्न प्रकृत्तिको अनुशासन हुन्छ । कसैको अनुशासन देखावटी हुन्छ भने कसैको भित्री अनुशासन हुन्छ । डीएभीले विद्यार्थीका भित्री अनुशासनलाई प्राथमिकता दिँदै आएको छ ।

सहायक–प्रधानाध्यापक खनालका अनुसार विद्यार्थीको स्वभाविक अनुशासनलाई सक्रिय पार्नका लागि डीएभीले उनीहरुलाई विभिन्न क्रियाकलापमा सामेल गराई पुरस्कृत गर्ने काम गर्छ ।

विद्यार्थीको क्षमता अभिवृद्धिका लागि व्यवहार मापनदेखि उसलाई अगाडि ल्याउन प्रेरित गर्दै पुरस्कृत गर्दा विद्यार्थी स्वयं आफ्नो क्षमता वृद्धिमा र आफूलाई अनुशासनमा राख्न सक्रिय हुन्छन् । 

विद्यार्थीहरुलाई अनुशासनमा राख्नको विभिन्न शारीरिक गतिविधिमा समावेश गराइन्छ । जस्तो, योगा, शारीरिक व्यायम, खेलकुद लगायतमा प्रत्यक्ष सहभागी गराई उनीहरुको शारीरिक विकासमा पनि ध्यान दिने गरिन्छ । 

साकाहारी वातावरण भएको डीएभीमा सबै विद्यार्थीको रुचिलाई प्राथमिकता दिने गरिन्छ । यदि विद्यार्थीको रुचि र उसको शैलीमा फरकपन आएमा अविभावकसँग सल्लाह गरेर उसलाई भिन्न वातावरणमा बौद्धिक अध्यास गराइन्छ । जसले भिन्न रुचि र स्वभाव भएका विद्यार्थीलाई रचनात्मक हुन र अगाडि बढ्न सहयोग मिल्छ ।

बालबालिकालाई अनुशासनको पाठ सिकाउन निकै कठिन हुन्छ । कारण हरेक बालबालिका भिन्न समाज र पारिवारिक वातावरणवाट आएका हुन्छन् । सबैको आआफ्नो संस्कार र शैली हुन्छ ।

यस्तोमा परिवारका सदस्यहरुलाई पनि बेला मौकामा विद्यालयमा उपस्थित गराएर विद्यार्थीहरुसँग साक्षात्कार गराउने र उनीहरुमा आत्मीय भावनाको विकासमा जोड दिइन्छ ।

प्रयोगात्मक क्रियाकलापमा सहभागी

स्कुलले शिक्षासँगै विद्यार्थीका बाहिरी पक्षको ख्याल गर्नु अवश्य पनि सह्रानीय कुरा हो । योसँगै डीएभीको एउटा उत्कृष्ट पाटो भनेको विद्यार्थीलाई कुनै पनि क्रियाकलाप गराउँदा विचार र दृष्टिकोणसहित सहभागी गराउने गरेको छ । 

विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा दृष्टिकोणसहित सहभागी हुँदा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान हासिल गर्न सक्षम हुन्छन् । त्यसैले उनीहरुको रुचिअनुसार व्यावहारिक र सैद्धान्तिक ज्ञान पनि दिने गरिन्छ । जस्तो, क्रिकेटमा कुनै विद्यार्थीले रुचि देखाएको छ भने भविष्यमा ऊ क्रिकेटकै ज्ञाता बन्न सकोस् भनी क्रिकेटबारे भिन्न कक्षा नै सञ्चालन हुन्छ । 

विद्यार्थी विभिन्न क्रियाकलापमा सहभागी भइरहँदा ऊ के मा विशेषज्ञ बन्न सक्छ त त्यसैमा ऊ केन्द्रित हुन पाउनु उसको वैयक्तिक अधिकार हो र त्यसमा स्कुलले पूर्णरुपमा विद्यार्थीलाई सहयोग गर्ने गर्छ । कमसेकम कक्षा १० बाट निस्किँदा आफ्नो बाटो आफै पहिल्याउन सकोस् ।

डीएभीका सहायक प्रधानाध्यापक रामचन्द्र खनालका अनुसार ‘विद्यार्थीले कति मार्क ल्यायो त्यो महत्त्वपूर्ण पक्ष होइन कि विद्यार्थीले कति ज्ञान हासिल गर्यो त्यो महत्त्वपूर्ण पक्ष हो ।’ त्यसैले, डीएभीले ज्ञानको सिद्धान्तलाई अपनाएको छ । खानल भन्छन्, ‘डीएभीको जुन शिक्षा शैली छ, त्यसबाट कलिला मस्तिष्कले बोझ होइन कि खुल्ला आकाशको यात्रा गरिरहेका हुन्छन् ।’

विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि क्यालेन्डर नै प्रकाशन गर्ने गरेको छ स्कुलले । सोही क्यालेन्डर अनुरूप विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउने गर्छ । यसले उनीहरुमा आफ्ना रुचि अनुरूपमा क्रियाकलापमा भाग लिन प्रेरित गर्छ र उत्कृष्ट हुन क्रियाशील गराउँछ । 

त्यसैगरी, विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग साक्षात्कार गराउने कार्य पनि स्कुलले गर्दै आएको छ ।

संस्कारसहितको सामाजिक व्यक्ति 

स्कुलले विद्यार्थीलाई सामाजिक क्रियाकलापमा पनि संलग्न गराउने गरेको छ । हरेक व्यक्ति सामाजिक रूपमा जोडिने भएकाले उनीहरुलाई समाज के हो र समाजप्रति हाम्रो दायित्व के हो भन्ने बोध हुनु जरुरी छ । जस्तो, सररफाइ, वृक्षरोपणलगायतका कार्यमा सहभागी गराएर समाजप्रति उत्तरदायी बनाउने गरेको छ ।

सँगसँगै सूचनामूलक र जानकारीमूलक कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको छ । जस्तो, विभिन्न टक सो, क्विजहरु गर्ने, विभिन्न रोगहरुबारे जानकारी दिन विज्ञहरुलाई सहभागी गराई जानकारी दिने र सुरक्षित हुन प्रेरित गर्ने काम हुन्छ । यसका लागि नियमित कार्यक्रमहरु नै सञ्चालन गर्ने गरेको स्कुलले बताएको छ ।

विद्यार्थीहरुलाई कुनै पनि जानकारी दिने मात्र होइन कि उनीहरुले सिकेका र जानेका ज्ञानलाई फैलाउन पनि सिकाइन्छ र प्रत्यक्ष सहभागी पनि गराइन्छ । विभिन्न सांस्कृतिक चाडपर्व तथा जन्म जयन्तिहरुमा सहभागी गराई त्यसबारे जानकारी दिने काम हुन्छ । 

सहयोगी भावनाको विकास

स्कुलले बालबालिकालाई समाजमा आइपर्ने विभिन्न समस्यामा सहयोगी भूमिका खेल्न पनि प्रेरित गर्ने गरेको छ । विभिन्न फुड डोनेसन कार्यक्रमहरु सञ्चालन गर्दै स्कुलले अन्नको महत्त्व र खानाको अभाव खेपिरहेका जनतालाई सहयोग गर्न उत्प्रेरित गर्ने कार्य गर्दै आएको छ । यसले विद्यार्थीहरुमा सहयोगी भावना जाग्रित गराउँदै लैजाने स्कुलको विश्वास छ ।

स्कुलले गक्षअनुसार विभिन्न सङ्घ संस्था अथवा प्राकृतिक विपत्तिबाट समस्यामा परेकाहरुलाई सहयोग गर्न डोनेसनका कार्यक्रम नै सञ्चालन गर्दै आएको छ । यसले विद्यार्थीमा आफ्नो समाजप्रतिको जिम्मेवारी के हो भन्ने बोध गराउन सहयोग गर्ने विश्वास स्कुलको छ ।

स्कुलले सञ्चालन गर्ने हरेक कार्यक्रमका आ–आफ्नै विचार र सिद्धान्तहरु छन् । स्कुलले हरेक समाजसँग आफ्ना बालबालिकालाई परिचित गराउने कार्य पनि गर्दै आएको छ । त्यसैले विभिन्न १९ वटा क्लबहरुसँग सहकार्य गरेर स्कुलले विद्यार्थीहरुलाई सामाजिक कार्यमा पनि सक्रिय गराउने गरेको छ ।  

भोकेसनल क्लास

डीएभीमा कक्षा ६ देखि भोकेसनल क्लासहरु सञ्चालन हुन्छन् । कक्षा ६ सम्मका विद्यार्थीले रेगुलर कोर्सबाहेक विभिन्न रुचिका क्रियाकलापहरु गरे पनि कक्षा ६ बाट भने स्पेसिफिक विषयमा आफूलाई केन्द्रित गर्दै लैजान सक्छन् । 

डीएभीले विभिन्न विधा खेल, कला, नृत्य, गायन, वाद्यवादन, फेसन डिजाइन, ब्युटी, हेल्थ साइन्स, मास मिडिया, आईटी लगायतका विषयमा डिपार्टमेन्ट नै खडा गरेर शिक्षा दिने गरेको छ । 

विद्यार्थीले आफ्नो रुचिअनुसारको भोकेसनल क्लास लिन पाउँछन् र उक्त विषयमा आफूलाई सक्षम बनाउँन अग्रसर हुन्छन् ।  

भोकेसनल क्लासमा विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञहरुसँग बालबालिकालाई साक्षात्कार गराइन्छ । यसले विद्यार्थीहरुलाई थप ऊर्जा त दिन्छ नै उनीहरुलाई फरक फरक व्यक्तिहरुबाट नयाँ नयाँ कुराहरु सिक्ने मौका पाइरहेका हुन्छन् ।

संस्कृत पढाउँदै डीएभी

डीएभीले विभिन्न भाषालाई पनि प्राथमिकता दिएको छ । बालबालिकाहरु संस्कृतको महत्त्व र ज्ञानबाट वञ्चित हुँदै गइरहेका बेला डीएभीले नेपालमा सञ्चालित प्राइभेट स्कुलभन्दा फरक ढङ्गले पढाइ सञ्चालन गर्दै आएको छ । ६ कक्षाबाट नै संस्कृत विषयलाई ग्राह्यता दिएको छ डीएभीले ।

संस्कृत, भाषा मात्र नभएर हाम्रो संस्कार र परम्परासँग सम्बन्धित भएकाले यसको संरक्षणका लागि पनि हाम्रो दायित्व हुन्छ । त्यसैले बालबालिकामा संस्कृतप्रतिको महत्त्व दर्साउनका लागि पनि पढाइ सञ्चालन गरिएको डीएभीले जनाएको छ । 

सीभीएसई बोर्डका विद्यार्थीहरुमध्ये ८० प्रतिशतले संस्कृत विषय पढ्ने गरेका छन् । नेपाली बोर्डका विद्यार्थी पनि धेरैले संस्कृतमा रुचि देखाएका छन् । त्यसैगरी डीएभीले चाइनिज, फ्रेन्च, हिन्दीलगायतका भाषालाई कक्षा ५ बाट अनिवार्य कोर्समा समावेश गरेको छ ।

जर्मन एम्बेसीले नेपालका दुईवटा स्कुललाई मात्र जर्मनी भाषाको पठन पाठनलाई अनुमति दिएको छ, जसमा एउट स्कुल हो डीएभी । विद्यार्थीले यी भाषामध्येबाट आफूलाई रुचि भएको भाषा पढ्न पाउँछन् । 

डीएभीले भोलि आफ्ना विद्यार्थी युनिभर्सिटी जाँदा के पढ्ने र कसरी पढ्नेबारे स्वयं जानकार हुन सकून् भन्ने उद्देश्य राखेको छ । यसबाट विद्यार्थी भविष्यमा पास आउट मात्र हुँदैनन् क्षमतावान व्यक्ति बनेर निस्किनेछन् । 

त्यसो त डीएभीले आफ्ना विद्यार्थीहरुको क्षमता वृद्धिमा महत्त्व दिएको छ ताकि उनीहरु भविष्यमा जब होल्डर मात्र होइन, जब क्रिएटर बन्न सकून भन्ने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप