शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीलाई वृहस्पतिभित्र राखेर ‘कल्पनागंगा’मा पौडी

आइतबार, ०१ वैशाख २०७६, १८ : २३
आइतबार, ०१ वैशाख २०७६

पृथ्वी हामी सबैको घर, निश्चय पनि चार आना जग्गामा बनेको घरभित्र रहेको १०×१२ को कोठाबाट हेर्दा म पृथ्वीको विशालता बारे कुनै पनि शब्द र अभिव्यञ्जनाले बयान/बखान गर्न सक्दिनँ ।

नापीशास्त्र र गणितको ज्ञान भएको भए अथवा म ‘प्रोफेशनल’ लेखक भएको भए चारआना जग्गा  र १०×१२ को कोठाले पृथ्वीको कति क्षेत्रफल ओगट्छ भन्ने तथ्यांक ‘म्याट्रिक प्रिफिक्स’ पद्धति अनुसार उल्लेख गर्ने थिएँ ।

मेरो कोठा अथवा कोठा रहेको घरको सापेक्ष यो ग्रह अति विशाल छ । मेरो शब्द अति विशालले तपाई भित्र कति विशाल ? भन्ने प्रश्न जन्मिनु स्वभाविक हो । अब तपाईका मगजमा कति भन्ने कीरो सल्बलाइ सकेपछि यसको क्षुधा शान्त नगरेसम्म तपाईको ‘पठन आनन्द’मा यसको छाँया प्रतिछाँयाको दंश प्रतिविम्वित भइरहने छ । ल पहिला यसकै ‘पेस्ट कन्ट्रोल’ गरौं ।

मेरो चारआने घर रहेको काठमाडौं जिल्लाको क्षेत्रफल झण्डै ३ सय ९५ किमि२ रहेको छ भने काठमाडौं जिल्ला अवस्थित रहेको नेपाः उपत्यकाको क्षेत्रफल झण्डै ५ सय ७० किमी२ सम्म विस्तृत छ ।

समग्र नेपालकै क्षेत्रफल भने १ लाख ४७ हजार १ सय ८१ किमी२ सम्म फैलिएको छ ।

नेपाल कति विशाल छ भन्ने अनुमान यसरी पनि गर्न सकिन्छ, ‘इजरायल जस्ता ७ वटा देश नेपाल भित्र अट्न सक्छन्’ ।

सानो छैन नेपाल ! यहाँका नेताहरुको ‘सोच’ मात्रै सानो छ, नभए नेपालको अगल्याई त ८ हजार ८ सय ४८ मीटर सम्म उठेको छ ।

क्षेत्रफलको आधारमा एक नम्बरको रुसदेखि ९३ नम्बरको ट्यूनेशियापछि नेपाल ९४ नम्बरमा आए पनि बंगलादेश (९६), उत्तर कोरिया (९८), क्युबा (१०४), दक्षिण कोरिया (१०७), पोर्चुगल (११०) यु.ए.इ. (११४) श्रीलंका  (१२३) डेनमार्क (१३२) भूटान (१३६) कतार (१६३) नेपालभन्दा साना देश हुन् ।

एक नम्बरको रुसको कुरा उठेपछि यसबारे अलिकति चर्चा सान्दर्भिक नै हुन्छ । पृथ्वीको सम्पूर्ण भूभागको झण्डै ११ प्रतिशत भूभाग यसै देशले ओगटेको छ ।

नेपाल भित्र ७ वटा इजरायल अट्न सक्छन् भने रुसभित्र नेपाल जस्ता १ सय ११ देश अटाउँछन् । पूर्वको सोभियत संघ विभाजन भएर १५/१६ वटा नयाँ देश बनेपनि रुस अझैपनि विश्वको सबैभन्दा बढी क्षेत्रफल भएको देश हो ।

नेपाल भित्र ७ वटा इजरायल अट्न सक्छन् भने रुसभित्र नेपाल जस्ता १ सय ११ देश अटाउँछन् । पूर्वको सोभियत संघ विभाजन भएर १५/१६ वटा नयाँ देश बनेपनि रुस अझैपनि विश्वको सबैभन्दा बढी क्षेत्रफल भएको देश हो । यसको क्षेत्रफल १ करोड ६३ लाख ७६ हजार ८ सय ७० किमी छ ।

सम्पूर्ण पृथ्वीको भूभागको क्षेत्रफल भने २९.२ प्रतिशतले १४ करोड ८९ लाख ४० हजार किमी२ छ । यसै भू–भागमा २ सय २० भन्दा बढी देश आ–आफ्नो झण्डा हल्लाई रहेका छन् । पृथ्वीको बाँकी रहेको ७०.८ प्रतिशत भागमा पानीको साम्राज्य छ, यो भनेको ३७ करोड ११ लाख ३२ हजार किमी२ को क्षेत्रफल हुन्छ । दुबैलाई जोड्ने हो भने पृथ्वीको कूल क्षेत्रफल ५१ करोड ७२ हजार किमि पुग्छ ।

अब तपाईलाई थाहै छ, पृथ्वी गोलो छ । यो गोलो पृथ्वीको ब्यास जम्मा १२,७४२ किमि रहेको छ । तपाईले १२,७४२ किमि भन्दा केही बढी ब्यास रहेको कुनै ‘डोम’ बनाउनु भयो भने सिंगै पृथ्वीलाई त्यसभित्र राख्न सकिन्छ ।

‘सरकमफ्रेन्स’, ‘सरफेस एरिया’, ‘भाल्युम’, ‘मास’, ‘डेन्सिटी’, ‘ग्रेभिटी’, ‘स्केप भेलोसिटी’ छाड्नुस यार यी सबै यस गोलो भित्रकै धनचक्करगिरी मात्रै हुन् ।

हत्तेरिका, तपाईको अहंकारमा दुईतर्फी प्रहार पो हुन गयो । विश्वास गर्नुस्, मैले जानी जानी प्रहार गरेको होइन् । हेर्नोस न, अहंकारको स्वरुप नै यस्तो हुन्छ, यो कहाँ, कहिले, कसरी आहत हुन पुग्छ विज्ञानलाई त छाड्नोस्, अध्यात्मलाई सम्म थाहा नभएको कुरा हो ।

नेपालको भूभाग, सम्पूर्ण पृथ्वीको भूभाग विषयी चर्चा गर्दा तपाईको छाती गर्वले फुल्योे, ‘म १४ करोड किमि२ भन्दा बढी क्षेत्रफलको वासिन्दा हो ।’ भूभागभन्दा बढीको ‘एरिया’मा त मेरा ‘स्विमिंग पुल’ (समुद्र) छन्’ । तर तपाईले फुर्ती लाएको पृथ्वी रुपी शिशाको गुच्चाको ब्यास त जम्मा १२ हजार ७ सय ४२ किमि मात्रै रहेछ । यो भन्दा अलिक ठूलो गुच्चा भित्र त पृथ्वीरुपी गुच्चा सर्लक्कै अट्ने रहेछ । नेपाल भित्र ७ वटा इजरायल अटे जस्तै, रुसभित्र सैयौं नेपाल अटे जस्तै ।

तपाईले फुर्ती लाएको पृथ्वी रुपी शिशाको गुच्चाको ब्यास त जम्मा १२ हजार ७ सय ४२ किमि मात्रै रहेछ । यो भन्दा अलिक ठूलो गुच्चा भित्र त पृथ्वीरुपी गुच्चा सर्लक्कै अट्ने रहेछ । नेपाल भित्र ७ वटा इजरायल अटे जस्तै, रुसभित्र सैयौं नेपाल अटे जस्तै ।

दोस्रो प्रहार, तपाईले पृथ्वीको ब्यास भन्दा ठूलो ‘डोम’ बनाउनु भयो भन्ने वाक्यले ग¥यो । तपाईलाई स्पष्ट थाहा छ, एउटा गुच्चाभित्र कैद रहेको मानिसले त्यो गुच्चा भन्दा ठूलो आकारको कुनै संरचना बनाउन सक्दैन् ।

तर निराश नहुनुस, म आज तपाईलाई पृथ्वीरुपी गुच्चा भन्दा ठूलो गुच्चाको यात्रा दर्शनमा लैजान्छु ।

पृथ्वी भन्दा सरदर ६३ करोड किमि टाढा एउटा अर्को गुच्चा छ । यस गुच्चाको नाम वृहस्पति हो । यस गुच्चाको ब्यास १ लाख ३९ हजार ८ सय २२ किमि अर्थात पृथ्वीरुपी गुच्चा भन्दा यो गुच्चा झण्डै ११ गुना ठूलो छ र यसको सतहको कूल क्षेत्रफल ६१ अर्ब किमि२ रहेको छ । पृथ्वीको जल र थल दुबैको भन्दा झण्डै १२० गुना बढी ।

बृहस्पति रुपी गुच्चाको आयतन (Volume) १४,३०० खर्ब किमी छ, यो पृथ्वीको आयतनको तुलनामा झण्डै १३२० गुना बढी छ । १० खर्ब किमी आयतन भएको १३२० पृथ्वीजस्ता गुच्चा वृहस्पतिमा अट्न सक्छन् ।

मैले ठीक लेखेको हुँ र तपाईले ठीक पढ्नु भएको हो । वृहस्पति ग्रहभित्र पृथ्वी जस्ता १३२० ग्रह अट्न सक्छन् । १३२० पृथ्वी त कहाँबाट ल्याउनु ? हामी बसेकै पृथ्वीलाई, वृहस्पति भित्र राखेर ‘कल्पनागंगा’मा पौडी हेरौं त । 

पृथ्वीले वृहस्पतिमा ‘ल्याण्ड’ गर्नासाथ, पृथ्वीमा रहेका सबै मानिस (हुन त अब वृहस्पतिमा रहेका मानिस !) उत्तानो पछारिन्छन् । किनकि हामी ‘स्लो स्पीड’ बाट एक्कासि ‘हाइ स्पीड’मा पुग्छौं । पृथ्वी आफ्नो अक्षमा १६७४ किमि प्रति घण्टाले घुमि रहेकोमा वृहस्पति सतहमा पुग्नासाथ यसको गति एक्कासि वृद्धि भएर ४५ हजार किमि प्रति घण्टा हुन पुग्नेछ ।

यति बढी गतिले घुम्नासाथ दिनको समयावधि (दिन+रात) घट्ने छ । अब यो अवधि २३ घण्टा ५६ मिनेट ४ सेकेण्डको सट्टा ९ घण्टा ५५ मिनेट ३० सेकेण्डको मात्रै हुनेछ । भनौं अब तपाईले तीन घण्टा भन्दा बढी काम गर्नु पर्दैन ।

बृहस्पति रुपी गुच्चाको आयतन (Volume) १४,३०० खर्ब किमी३ छ, यो पृथ्वीको आयतनको तुलनामा झण्डै १३२० गुना बढी छ । १० खर्ब किमी३ आयतन भएको १३२० पृथ्वीजस्ता गुच्चा वृहस्पतिमा अट्न सक्छन् ।

तर वर्षको अवधि भने अप्रत्याशित रुपले तन्किने छ । ‘बर्थडे केक’ काट्न तपाईले १० हजार ४ सय ७५ दिन पर्खिनु पर्ने हुन्छ । वृहस्पतिले यति दिनमा नै सूर्यको एउटा परिक्रमा पूरा गर्छ । यो सबै हुँदा पनि एउटा विचित्रको रमाइलो अनुभव पनि हुन्छ, त्यहाँबाट रात्रिकालीन आकाशमा पचासौं चन्द्रमा देखिन्छन् । रात्रिमा पनि बिजुली बत्ती बाल्नु पर्दैन, अब समस्त बिजुलीको प्रयोग घर तताउन र वरफ बनेको पानी तरल बनाउनका लागि प्रयोग हुन थाल्छ । किनकि त्यहाँको तापमान माइनस एकसय भन्दा बढी हुन्छ ।

ओहो, हामी सबैको तौल त झण्डै २.५ गुनाले बढी सक्यो । तपाई ७० किग्रा हुनुहुन्छ भने अब तपाईको तौल १ सय ७५ किग्रा हुनेछ । यसको कारण वृहस्पतिको गुरुत्वाकर्षण २४.७९ मिटर/सेकेण्ड हुनु हो । पृथ्वीको गुरुत्वाकर्षण ९.८०७ मीटर/सेकेण्ड मात्रै छ । भनौं वृहस्पतिको गुरुत्वाकर्षण पृथ्वी भन्दा अढाई गुना बढी छ । तौलको सिधा सम्बन्ध गुरुत्वाकर्षणसँग हुन्छ । गुरुत्वाकर्षण घटी बढी भएमा सबै वस्तुको तौलमा प्रभाव पर्छ ।

तपाईसँग भूमिको क्षेत्रफल भने १२१ गुना वृद्धि भई सकेको हुन्छ । वृहस्पतिको सतहको क्षेत्रफल ६१ अर्ब ४१ करोड ९० लाख किमी  छ ।

सबै ‘अन्तरिक्ष मिशन’ तत्काल प्रभावले बन्द हुनेछन् । हामीले पृथ्वीमा ‘विकसित’ गरेको रकेटको गतिले वृहस्पतिको अन्तरिक्षमा प्रवेश नै गर्न सकिंदैन । पृथ्वीबाट अन्तरिक्षमा पुग्न ११.१८६ किमि प्रति सेकेण्डको गति भए पुग्छ र हाम्रो अन्तरिक्ष विज्ञानसँग १७–१८ किमि प्रति सेकेण्डको भन्दा बढी गतिले उड्ने रकेट प्रविधि विकास भएको छैन । वृहस्पतिबाट अन्तरिक्षमा प्रवेश गर्न ५९.५ किमी/सेकेण्डको गति आवश्यक पर्छ । यो नै वृहस्पतिको पलायन वेग (स्केप भेलोसिटी) हो ।

तपाईलाई वृहस्पति मन पर्‍यो ? मलाई त पटक्कै मन परेन । म अब पृथ्वीलाई यो भन्दा पनि ठूलो कुनै गुच्चामा लैजाने उधुम गर्छु । तपाईको के विचार छ ? अथवा तपाईसँग अर्को कुनै गुच्चामा जाने कल्पना छ ! मैले जाने गुच्चा रोजीसकेको छु, तपाईको मनपर्ने कुनै गुच्चा छ भने कमेन्ट बक्समा लेखी पठाउनुस् । म तपाईलाई त्यो गुच्चाको सैर गराउनेछ । अस्तु ।

Main photo: https://qph.fs.quoracdn.net/

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र
लेखकबाट थप