बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दार्जिलिङ चुनावमा गायब छ गोरखाल्याण्डको मुद्दा

मङ्गलबार, ०३ वैशाख २०७६, १० : ०७
मङ्गलबार, ०३ वैशाख २०७६

पहाडकी रानीको नामबाट चर्चित पश्चिम बंगालको दार्जिलिङ पर्वतीय क्षेत्रको संसदीय सिटका लागि हुने चुनावमा लगभग तीन दशकपछि पहिलो पटक गोरखाल्याण्डको साटो विकासको मुद्दा हावी छ ।

तृणमूल कांग्रेसले कहिले पनि यो सीट जित्न सकेको छैन । बीजेपीले पनि गत वर्ष जितेका एस.एस आहलुवालियाको साटो यसपटक राजू सिंह बिष्टलाई आफ्नो उम्मेद्वार बनाएको छ ।

यो सीटका लागि दोस्रो चरणमा १८ अप्रिलमा मतदान हुँदैछ ।

इलाकामा राजनीतिक समीकरण परिवर्तन भएको छ । जुन गोरखा जनमुक्ति मोर्चा (जीजेएम) को एक इशारामा इलाकामा कुनै पनि उम्मेद्वारको भाग्य निश्चित हुन्थ्यो, त्यो नै अब दुई गुटमा बाँडिएको छ ।

मोर्चाका विमल गुरुङको गुट बीजेपीको समर्थनमा छ भने विनय तामाङको गुट ममता बनर्जीको तृणमूल कांग्रेसको साथमा ।

गोरखा नेशनल लिबरेशन फ्रन्ट (जीएनएलएफ) ले पनि बिजेपीलाई नै समर्थन दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक ममता र अमित शाहले पनि यो इलाकामा चुनावी र्याली गरिसकेका छन् ।

८० को दशकको उत्तरार्धदेखि यो इलाकामा हुने सबै चुनावमा छुट्टै गोरखाल्याण्डको मुद्दा हावी हुन्थ्यो । पहिले सुभाष घिसिङको अगुवाई रहेको गोरखा नेशनल लिबरेशन फ्रन्ट (जीएनएलएफ) यो मुद्दा उठाउँथ्यो त्यसपछि विमल गुरुङको नेतृत्व भएको गोरखा जनमुक्ति मोर्चा पनि यसै मुद्दामा आफ्नो समर्थन तय गर्दथ्यो ।

यसै कारण मोर्चाले पछिल्ला दुई चुनावमा भाजपाका क्रमशः जसवन्त सिंह र एस.ए. आहुलुवालियालाई समर्थन दिएर उनीहरुलाई यहाँबाट जिताएका थिए । तर अब यो मोर्चा आफैं दुई टुक्रा भइसकेको छ । गोरखा नेता विमल गुरुङ सन् २०१७ मा भएको हिंस्रक आन्दोलनपछि नै भूमिगत छन्  ।

मुख्यमन्त्री ममता बेनर्जीले यसपटक गोरखा मोर्चा विधायक अमर सिंह राइलाई आफ्नो उम्मेद्वार बनाएकी छिन् । तर बीजेपीले आहलुवालियाको साटो ३३ वर्षका एक व्यापारी राजू सिंह बिष्टलाई मैदानमा उतारेका छन् ।

मूल रुपमा मणिपुरमा बस्ने राजूको दिल्लीमा व्यवसाय छ । गोरखा मोर्चाको विमल गुरुङ गुटबाहेक जीएनएलएफले पनि उनको समर्थनको घोषणा गरेको छ ।

यसैकारण ममता इलाकामा आफ्नो भ्रमणको क्रममा स्थानीय विरुद्ध बाहिरी मुद्दा उठाइसकेकी छिन् । यो सिटमा तृणमूल कांग्रेस र भाजपाका बीच सीधा टक्कर छ र यी दुई दलका उम्मेद्वार त्यही गोरखा तप्काका हुन् जो यहाँ निर्णायकको भूमिका निर्वाह गर्छन्  ।

कांग्रेसको तर्फबाट वरिष्ठ नेता शंकर मालाकार मैदानमा छन् भने सिपिएमले आफ्ना पूर्व सांसद सुमन पाठकलाई उम्मेद्वार बनाएका छन् ।

राज्यको सबैभन्दा सुरक्षित सिटः

दार्जिलिङ संसदीय सिटको गन्ती राज्यको सबैभन्दा सुरक्षित सिटमध्ये हुन्छ ।

यहाँ इलाकाको सबैभन्दा ठूलो राजनीतिक दलले जसको पिठ्युँमा हात राखेको छ, त्यसको जीत शत प्रतिशत निश्चित हुने गर्छ ।

गोरखा नेशनल लिबरेशन फ्रन्ट (जिएनएलएफ) को जमानामा तत्कालीन प्रमुख सुभाष घिसिङको समर्थनले इन्द्रजीत खुल्लर जितिरहेका थिए । त्यसपछि इलाकामा सत्ता परिवर्तन भयो र गोरखा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङको समर्थनअघि जसवन्त सिंह जिते र त्यसपछि सन् २०१४ मा एस.एस. अहलुवालिया ।

तृणमूल उम्मद्वार अमर सिंह भन्छन्, ‘विकास नै हाम्रो मुख्य मुद्दा हो । एक दशकभन्दा पनि लामो समयदेखि इलाकामा विकासको काम ठप्प छ । बीजेपी सांसदले पहाडी इलाकाको विकासको दिशामा कुनै पहलसमेत गरेनन् ।’

तृणमूल कांग्रेसका वरिष्ठ नेता र मन्त्री गौतम देब भन्छन्, ‘अब अलग राज्यको मुद्दालाई थाती राखेर विकासमा ध्यान दिन जरुरी छ । स्थानीयले पनि अब यो कुरा बुझ्न थालेका छन् ।’

बीजपीका दार्जिलिङ जिल्ला अध्यक्ष मनोज दिवान भन्छन्, ‘हाम्रो लागि अलग राज्य कुनै मुद्दा होइन । हामी यो पर्वतीय इलाकाको समस्यालाई स्थायी राजनीतिक समाधान र यहाँ लोकतन्त्रको बहालीका लागि लडिरहेका छौं ।’

मोर्चाको विमल गुरुङको गुटका कार्यकारी अध्यक्ष लोकसांग लामा भन्छन्, ‘यो चुनावबाट पत्ता लाग्छ कि पहाडीहरुका शीर्ष नेता को हुन् । स्थानीय जनता गुरुङको साथमा छन् ।’

प्रभाकर एम /बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप