शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम खराबीको कारण सञ्चारमन्त्रीलाई पर्खन सकिएनः बुद्ध एयर

मङ्गलबार, ०३ वैशाख २०७६, १७ : ०४
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौं– सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नकुरी बुद्ध एयर उडेको भन्ने विषयमा विभिन्न समाचार आएसँगै बुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

बुद्धले एक विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा संचारमन्त्री बाँस्कोटाको वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित गरेकोमो आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं. ८५७ उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्री र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।’

मौसममा खरावी आउने सम्भावनालाई मध्यनजर गरेर तुरुन्तै काठमाडौं फर्कन वाध्य भएको बुद्धले आफ्नो विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ । 

बुद्धको विज्ञप्तीमा भनिएको छ, मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमका कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधा पर्नुका साथै आर्थिक व्ययभार पनि थपिन्थ्यो।’

बुद्धले सुरक्षित र सकभर समयमै उडान भर्नु आफ्नो पहिलो दायित्व भएको भन्दै व्यवस्थापकिय निर्णय अनुसार सो उडान भरेको बताएको छ । बुद्धले वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडेको र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गरेको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप