केन्द्रीय संस्करण
सरोकार

‘हत्यारा’ प्लाष्टिकको खतरनाक प्रयोग : रोक्ने कसरी ?

संसारभरि वर्षेनी ५ देखि १० खरबसम्म प्लाष्टिकका झोलाहरु प्रयोग हुने गर्छन् !

person explore access_timeबैशाख ४, २०७६ chat_bubble_outline0

शीर्षकमा प्रयुक्त ‘हत्यारा’ शब्द पढेर छक्क नपर्नुहोस्, मलाई विश्वास छ, यो पढ्दै गएपछि तपाईं पनि स्वीकार्नु हुनेछः साँच्चै हो रहेछ, प्लाष्टिक त हत्यारा उत्पादन नै पो रहेछ ।

प्लाष्टिकजन्य उत्पादनहरु हाम्रो दैनिक जीवनको अत्यावश्यक र अभिन्न अंगजस्तै बनिसकेको छ, यो कुरामा शायदै कसैले विमति जनाउन सक्ला । हाम्रा चारैतिर हेर्ने हो भने हाम्रो जीवन प्लाष्टिकै प्लाष्टिकले घेरिएको छ । खानेभाँडो, राख्ने भाँडो, चलाउने कम्प्युटर, हेर्ने टिभी, लेख्ने कलम, बोक्ने झोला, गुड्ने गाडी, उड्ने प्लेन, बिजुलीको तार– जता हेर्यो, यत्रतत्र सर्वत्र प्लाष्टिक कुनै न कुनै रुपमा भेटिन्छ । आदि आदि । सूची नै बनाउने हो भने त्यो लम्बेतान बन्दै जान्छ । त्यसैले जम्मामा यति मात्र भनौं, हाम्रो हामी यस हत्यारा उत्पादनमाथि यतिविघ्न आश्रित भइसकेका छौं कि प्लाष्टिकबिना हाम्रो जीवन सामान्य ढंगले सञ्चालन नै हुन सक्दैन ।

www.uh.edu

मानिस जातिले प्लाष्टिक उत्पादन गर्न थालेको धेरै वर्ष भएको छैन । सन् १९०७ तिर मात्रै हो पहिलो प्लाष्टिकमा आधारित सिन्थेटिक पोलिमर पत्ता लागेको । यो पत्ता लगाउने व्यक्ति चाहिँ बेल्जियममा जन्मेका न्यूयोर्क निवासी रसायनविद लियो हेन्ड्रिक बेकलन थिए । यिनले नै फोटोग्राफिक पेपर पनि आविष्कार गरेका थिए, जुन उनले पछि १८९८ मा जर्ज इस्टमन कम्पनीलाई १० लाख डलरमा बिक्री गरेका थिए ।

इतिहासको कुरोलाई यतिमै सीमित गरेर प्लाष्टिकतिरै फर्कौं । प्लाष्टिकको व्यापक उत्पादन र प्रयोग दोस्रो विश्वयुद्धमा भएको थियो । त्यसयता, अझ भनौं सन् १९५० को दशक यता संसारभरिमा ८.३ करोड टन प्लाष्टिक उत्पादन भइसकेको छ । त्यो भनेको ८ लाख आइफल टावरको तौल बराबर हो ।

त्यसो त प्लाष्टिक पुनः प्रयोग अर्थात् रिसाइकल पनि गर्न सकिन्छ । तर झन्झटिलो र केही हदसम्म खर्चालु पनि हुने भएकोले हाल संसारभरिमा उत्पादन हुने प्लाष्टिकहरुमध्ये करिब ९ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग हुने गरेको छ ।

प्लाष्टिकले जीवन सहज बनाइदिन्छ, यो कुरा पक्का छ, विवादै गरिबस्न पर्दैन । तर प्लाष्टिकको सबैभन्दा ठूलो खराबी भनेकै यो सहजै सड्दैन । त्यसको सोझो अर्थ के हो भने, त्यसले वातावरणमा प्रदूषण गरिदिन्छ । आजभोलि स्वस्थ र स्वच्छ वातावरणको लागि सबैभन्दा ठूलो समस्या नै प्लाष्टिक प्रदूषण भएको छ । सहजै नगल्ने, गल्न वर्षौं वर्ष लाग्ने अनि वातावरणमा जथाभावी छरिएर अस्तव्यस्त हुने, यी समस्याले गर्दा आजभोलि वातावरणको लागि सबैभन्दा ठूलो खतरा नै प्लाष्टिकलाई पनि मानिँदै आएको छ ।

https://cdn1.i-scmp.com

नेशनल जियोग्राफी च्यानलका अनुसार संसारका प्रायः समुद्री तटहरुमध्ये ७३ प्रतिशत प्लाष्टिकको फोहर थुप्रिने गरेका छन् । यस्ता फोहोरहरुमा सिगरेटको ठूटो, बोतल, बोतलको बिर्को, खानेकुरा बेर्ने प्लाष्टिक, जर्किनहरु र प्लाष्टिकका थैलाहरु हुने गर्छन् ।

गार्जियनमा छापिएको एक रिपोर्टका अनुसार, संसारभरिमा प्रत्येक मिनेटमा प्लाष्टिकका १० लाख बोतलहरु फ्याँक्ने गरिन्छ । यसमा कुनै रोकतोक भएन भने त्यो संख्यामा सन् २०२१ सम्मा २० प्रतिशतले बृद्धि हुनेछ ।

सोही रिपोर्टका अुनसार, ४८० बिलियन भन्दा बढी पानी पिउने बोतलहरु सन् २०१६ मा संसारभरि खरिद भएका थिए । त्यो भनेको एक दशकअगाडिको संख्याभन्दा ३०० बिलियनले बढी हो ।

त्यसरी किनिएका बोतलहरुमध्ये सोही वर्षमा आधाजति मात्रै पुनःप्रयोग गरिएका थिए । तीमध्ये पनि ७ प्रतिशतमात्र नयाँ बोतल बनेका थिए, बाँकी सबै फोहार फ्याँक्ने ठाउँ वा समुद्रमा मिल्काइएका थिए ।

संसारभरिमा प्रत्येक मिनेटमा २० लाख प्लाष्टिक व्यागहरु प्रयोग हुने गर्छन् । यो संख्या अपत्यारिलो लाग्न सक्छ तर इकोवाचको रिपोर्ट अनुसार संसारभरि वर्षेनी ५००,०००,०००,००० देखि १,०००,०००,०००,००० प्लाष्टिकका झोलाहरु प्रयोग हुने गर्छ ।

न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ इन्भाइरोन्मेन्टल कन्जर्भेसनका अनुसार,  न्यूयोर्कवासीहरुले मात्रै वर्षेनी २३ अरब प्लाष्टिक थैलाहरु प्रयोग गर्ने गर्छन् । यही कारण उक्त शहरले पसलहरुमा प्रयोग हुने प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाएको छ ।

समुद्रमा ९० प्रतिशत बढी प्रदूषण गराउने १० नदीहरु

सुन्दा पनि अचम्मलाग्न सक्छ, तर वर्ल्ड इकोनोमिक फोरमका अनुसन्धानकर्ताहरुका अनुसार संसारभरिका समुद्रमा ९० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने नदीहरु जम्माजम्मी १० वटा छन् । तीमध्ये पनि ८ वटा एशियामा र बाँकी २ वटा अफ्रिकामा छन् ।

https://assets.rebelmouse.io/

सो अध्ययन रिपोर्टका अनुसार, प्रदूषण गराउने एशियाका आठ नदीहरुमा याङत्जे, सिन्धु, एल्लो, हाई हे, गंगा, पर्ल, अमुर र मेकोङ पर्छन् । त्यसैगरी अफ्रिकाका नदीहरुमा चाहिँ नाइल र नाइगर पर्दछन् ।

त्यसो त यी सबै नदीहरु संसारकै सबैभन्दा घना बसोबास भएका क्षेत्र भएर बग्ने गर्छन्, जहाँ फोहोरमैला विसर्जनका व्यवस्था कमजोर छन् ।

यस कारण हत्यारा प्लाष्टिक

www.wwf.org.au

माथि शीर्षकमा हामीले प्लाष्टिकलाई हत्यारा उल्लेख गरेका छौं । हो, प्लाष्टिक साँच्चैकै हतयारा उत्पादन हो । प्लाष्टिककै कारण वर्षेनी ११ लाख समुद्री चरा र जनावरहरु मर्ने गर्छन् ।

अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डले गरेको एक अध्ययनमा सन् १९८० देखिको संकलित तथ्यांकहरुले के देखाएको छ भने हरियो समुद्री कछुवाले वितेका २५ वर्षअघिको तुलनामा अहिले दोब्बर मात्रामा प्लाष्टिक खान थालेका छन् ।

त्यसैगरी राष्ट्रसंघका अनुसार, प्लाष्टिककै कारण वर्षेनी १० लाख समुद्री चराहरु अनि १ लाख समुद्री जनावरहरु मर्ने गरेका छन् ।

समुद्रीय तटीय इलाकाहरुमा बस्ने ९० प्रतिशत चराहरु र माछाहरुको पेटमा कुनै न कुनै मात्रामा प्लाष्टिक रहेको अनुमान गरिएको छ । यसो हुनुको कारण चाहिँ समुद्रसम्म पुगेका प्लाष्टिक टुक्रिएर जाने गर्छ, जसलाई चरा तथा माछाहरुले आहारा सम्झेर खाने गर्छन् ।

www.wcel.org

अझ प्लाइमाउथ युनिभर्सिटीका अनुसन्धानहरुका अनुसार त समुद्री जीवनका ७०० प्रजातिका जीवजन्तुहरु त बढ्दो प्लाष्टिक प्रदूषणका कारण लोप हुने खतरामा पुगेका छन् ।

त्यसो त इन्भाइरोनमेन्ट पोलुसनमा प्रकाशित बेलायती अनुसन्धानकर्ताहरुको रिपोर्टका अनुसार वर्षेनी हामीले प्लाष्टिकका ७० हजारजति मसिना कणहरु खाइरहेका हुन्छौं । उनीहरुका अनुसार एक पल्ट खाना खान बस्दा मात्रै पनि हामीले हावामा तैरिरहेका तथा खानासँगै अदृश्यरुपमा खानेभाडा तथा अन्य माध्यमबाट मिसिएका १०० वटाभन्दा बढी प्लाष्टिकका कणहरु खाइरहेका हुन्छौं ।

अनुसन्धानका क्रममा उनीहरुले खानाको प्लेट छेउमा टाँसिने सतहभएको जिवाणुहरुको अनुसन्धानका लागि प्रयोग हुने चिपचिपे खानेकुरा राखेका थिए । त्यसको २० मिनेटमै त्यो खानेकुरामा १४ माइक्रोप्लाष्टिकहरु देखिएका थिए ।

बनाउन एक मिनेट, प्रयोग केही मिनेट, सड्न चाहिँ सयौं वर्ष

संसारभरि नै प्रदूषणको सबैभन्दा ठूलो मुख्य समस्या बनेको प्लाष्टिकको एउटा झोला बनाउन १ मिनेटभन्दा बढी लाग्दैन । त्यसरी उत्पादन भएको प्लाष्टिकको झोलाको औसत उपयोग पनि संसारभरिमै १२ मिनेटभन्दा बढी रहँदैन । सामान्यतः त्यस्ता प्लाष्टिकका झोलाहरु उपयोगपछि फ्याँकिने गर्छन् ।

तर दुर्भाग्यको कुरा, त्यसरी १ मिनेट लगाएर उत्पादन भएको, केही मिनेट मात्रै प्रयोग गरेर फ्याँकिएको प्लाष्टिकको झोला सड्न, कुहिन वा मक्किन चाहिँ सयौं वर्ष लाग्ने गर्छ । पानीसँग मिसिएर बग्दै समुद्रमा पुगेका प्लाष्टिकका झोलाले त्यहाँको जीवजन्तुलाई हानिकारक असर गर्छ, जमीनमा गाडिएका प्लाष्टिकका झोलाहरुले पनि बोटविरुवाहरुको विकास र बृद्धिमा नकारात्मक असर पुर्याउने गर्छ ।

एक तथ्यांकअनुसार, वर्षेनी ८० लाख टन प्लाष्टिकहरु समुद्र, महासागरहरुमा पुग्ने गर्छ । जसले गर्दा समुद्री जीवजन्तु र बोटविरुवाहरुमा तथा मानिसको खाद्यान्न र पानीको आपूर्तिमा समेत नकारात्मक असर पारिरहेको छ ।

दोब्बर भयो उत्पादन

प्लाष्टिकको हानिनोक्सानीबारे जनसचेतना बढ्दै जाँदा यसको उत्पादन, प्रयोग र प्रचार प्रसारमा रोक लगाउने क्रम संसारभरि नै बढ्दो छ । तर त्यसको प्रयोग भने दिनानुदिन बढ्दै गइरहेको पाइन्छ । वर्ल्ड इकोनोमिक फोरमको एक तथ्यांक अनुसार, बितेका ५० वर्षमा प्लाष्टिकका उत्पादन दोब्बर भएको छ । कुरा यत्तिमै रोकिँदैन । प्लाष्टिक उत्पादनकहरुले आगामी पाँच वर्षभित्रमा प्लाष्टिकको उत्पादन तीन गुनाले बढाउने देखिएको छ ।

नेशनल जियोग्राफीका अनुसार प्लाष्टिक प्रयोगको क्रम अहिलेको दरमा बढ्दै जाने हो आगामी २०५० सालसम्ममा जमीनमा १२ अरब टन प्लाष्टिकको फोहोर थुप्रनेछ ।

प्लाष्टिकमाथिको प्रतिबन्धः सबैभन्दा कडा कानून केन्यामा

प्लाष्टिकको सम्बन्धमा विश्वका थुप्रै देशहरुले कडा नियम कानूनहरु लागू गरेका छन् र गर्दै आएका छन् । तीमध्ये पनि केन्याका सरकारले सन् २०१७ मा लागू गरेको प्लाष्टिकका व्यागको प्रयोगलाई निषेध गर्नेसम्बन्धी कानून चाहिँ सबैभन्दा कडामध्येका एक मान्छि । उक्त कानून अनुसार केन्यामा प्लाष्टिकको व्याग उत्पादन गर्ने, बिक्री गर्ने र प्रयोग गर्ने मानिसलाई चार वर्षसम्म जेल र ४० हजार अमेरिकी डलर जरिवाना हुन सक्छ ।

त्यसो त मोरक्कोले पनि प्लाष्टिकको व्यागको उत्पादन, बिक्री, वितरण र आयातनिर्यातमा पूर्णतः प्रतिबन्ध लगाइसकेको छ । प्रतिबन्ध लगाउनुअघि उक्त देश अमेरिकापछि संसारमै सबैभन्दा बढी प्लाष्टिक व्याग उपयोग गर्ने देशमा दरिन्थ्यो । त्यसबेला मोरक्कोले प्रतिवर्ष ३ अरब प्लाष्टिकको व्याग उपयोग गर्ने गथ्र्यो । यो भनेको मोरक्कोका प्रत्येक व्यक्तिले एक वर्षमा ९०० वटा प्लाष्टिकका व्याग उपयोग गर्ने गर्थे ।

चिलेले पनि प्लाष्टिकको व्यागको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । यो नै प्लाष्टिकको व्यागमा प्रतिबन्ध लगाउने पहिलो अमेरिकी देश हो ।

चिलेका राष्ट्रपतिको भनाइअनुसार, चिलीमा प्रत्येक वर्ष ३.४ अरब  प्लाष्टिकका व्यागहरु चिलेका व्यवसायिक क्षेत्रमा वितरक, खुद्रे व्यापारी र उपभोक्ताहरु हुँदै प्रयोगमा आइरहेका थिए । तीमध्ये अधिकांश प्लाष्टिक व्यागहरु एक पटकको, अझ केही मिनेटको प्रयोगपछि फोहोरको रुपमा जमीनमा तथा समुद्रमा फ्याँकिने गरिएका थिए । जसले गर्दा ९० प्रतिशत समुद्री चराहरुको पेटमा कुनै न कुनै रुपमा प्लाष्टिकका व्यागका टुक्राहरु पुग्ने गरे छन् ।

चीन, फ्रान्स, रुवान्डा र इटालीले पनि प्लाष्टिकको व्यागको प्रयोगका बारेमा कडा कानूनहरु बनाएका छन् । पछिल्लो तथ्यांकअनुसार संसारभरिमा करिब १६ वटा देशहरुले प्लाष्टिकको थैलोको प्रयोगमा प्रतिबन्ध लगाइउकसको छ भने युरोपियन युनियनले पनि एक पटक मात्रै प्रयोग हुने प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिसकेको छ ।

यस्तो पनि उपाय

प्लाष्टिकको थैलाहरुको उपयोगमा कमी ल्याउनका लागि बेलायतले चाहिँ गज्जबको उपाय अपनाएको छ । उसले २०१५ देखि प्रत्येक प्लाष्टिकको थैलोमा ५ पेन्नी कर लगाउने गरेको छ, जसले गर्दा त्यहाँ त्यसको प्रयोगमा ८३ प्रतिशतसम्म कमी आएको देखिएको छ ।

त्यसो त अझै पनि बेलायतमा वर्षेनी १ अरब ३० करोड प्लाष्टिक थैलाहरु उत्पादन हुने गर्छ । तर सन् २०१७ मा बेलायती सरकारले प्रकाशित गरेको रिपोर्ट अनुसार, अहिले त्यहाँ प्लाष्टिकको थैलोको प्रयोगमा उल्लेख्य मात्रामा कमी आएको छ ।

युरोपकै अन्य कतिपय देशहरुमा पनि पुनः प्रयोगयोग्य प्लाष्टिकहरु तथा प्लाष्टिकका बोतलमा डिपोजिटको रुपमा अतिरिक्त मूल्य लिने र त्यो सामान पुनः प्रयोग केन्द्रमा फिर्ता ल्याएपछि डिपोजिटको रुपमा राखिएको रकम फिर्ता दिने पनि गरिन्छ । यसले गर्दा आम मानिसमा यथासक्य प्लाष्टिकको प्रयोग नगर्ने र गर्नैपरेपनि पुनःप्रयोग गर्ने बानी विकसित हुँदै गएको देखिएको छ ।

थुप्रै बहुराष्ट्रिय कम्पनीहरुले पनि प्लाष्टिकको प्रयोगमा कमी ल्याउँदै गएको  र उपभोक्ताहरुलाई पनि वैकल्पिक उपायको लागि प्रेरित गर्ने प्रचलन बढ्दै गइरहेको छ ।

नेपालकाे हालत

नेपाली टाइम्समा प्रकाशित एक खबर अनुसारप्रत्येक दिन काठमाडौं उपत्यकामा एक पटकमात्रे प्रयोग गरिने १० लाख प्लाष्टिकका थैलाहरु फ्याँकिने गर्छन् । सोही रिपोर्टका अनुसार प्रत्येक दिन नेपालमा २०४ टन प्लाष्टिकका फोहोर निस्कने गर्छन् जसमध्ये १३१ टनजति त फोहोरकै रुपमा फालिने गरेका  छन् ।

नेपालमै पनि प्लाष्टिकका थैलाहरुको प्रयोगमा प्रतिबन्ध लगाउने प्रयास पटक पटक भएका छन् तर त्यो प्रभावकारी चाहिँ हुन सकेको छैन । अति झिनोखालको कालो प्लाष्टिकको थैलीको प्रयोगमा बन्देज लागेको त देखिन्छ तर त्यसबाहेक प्लाष्टिका थैलीहरुमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयत्न खासै सफल हुन सकेको देखिँदैन । खासगरी, व्यवसायीहरुको दवाबका कारण प्लाष्टिकमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयत्नले गति लिन नसकेको आरोप लाग्ने गरेको छ । यद्यपि, देशकै कतिपय स्थानीय निकायहरुले प्लाष्टिकको थैलीको प्रयोगमा पूर्णतः प्रयोग लगाएर सफलतापूर्वक व्यवहारिक अभ्यास गर्दै आएको पनि पाइन्छ ।

 

 

 

 

 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...