शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालो कोइलाबाटै निस्कन्छ सुन्दर हीरा

बुधबार, ०४ वैशाख २०७६, ११ : ५५
बुधबार, ०४ वैशाख २०७६

करिब तीन वर्षअघि पत्रकारितामा सक्रिय साहित्यकार घनश्याम खड्काको उपन्यास ‘निर्वाण’ पढेकी थिएँ । साथीहरुको सिफारिसपछि मैले उक्त पुस्तक आफैले किनेर पढेकी थिएँ । उपन्यासको विषयवस्तुले मलाई सुरुमै तान्यो ।

‘निर्वाण’मा लेखकले प्रमुख पात्र मोनिकालाई एक बलियो पात्रका रूपमा उभ्याएका छन् । मोनिकाले बारम्बार आफ्नो र आम जीवनलाई लिएर प्रश्न गर्छिन् । खानु, पिउनु, विवाह गर्नु, छोराछोरी जन्माउनु र हिँड्नु मात्र जीवन हो त ? त्यस्तै मानिस दुःखी किन हुन्छ ? दुःखबाट छुट्ने कुनै उपाय छ कि छैन ? यस्ता प्रश्न उपन्यास भरी आइरहन्छ । पुस्तकको नाम नै बौद्ध दर्शनको ‘निर्वाण’ हुनुले यस्ता पक्ष अपेक्षित थिए ।
उनै खड्काको दोस्रो पुस्तक बजारमा आएको छ । पहिलो पुस्तकसँगको आत्मसन्तुष्टिले गर्दा मैले हतारिएर पुस्तक पढेँ ।

यस पटक खड्काले फरक विधामा किताब लेखेका छन् । खड्काले पुस्तकमा हामीमाझ पहिलेदेखि परिचित समाजसेवी पुष्पा बस्नेतको जीवनयात्रालाई वर्णन गरेका छन् । पुष्पाको जीवनीलाई उनले एक युवतीले भोगेको असफलता अनि त्यसबाट पाठ लिएर हृदयले रोजेको मार्ग हिँड्दाको कथाका रूपमा बुनेका छन् ।

समाजका सेलिब्रिटीहरुबारे मानसपटलमा पहिल्यै एक खालको ‘इमेज’ बनिससकेको हुन्छ । तिनको जीवनको हरेक पक्ष आम सर्वसाधरणमा चासो हुने गर्छ । कथाले यी अपेक्षालाई थप मजबुत बनाउनेदेखि केहीको हकमा भने कमजोर बनाउने पनि हुन्छ ।

पुस्तकमा प्रस्तुत कथा हाम्रो दिमागमा रहेको ‘इमेज’भन्दा फरक निस्किएमा पाठकमा गुनासाहरु जन्मिन थाल्छन् र प्रश्नहरुको जुलुस उठ्छ । पुष्पा बस्नेत निसङ्कोच एउटा पब्लिक फिगर हुन् र उनको आत्मकथा पाठकले निश्चित अपेक्षासहित पढ्छन् । म पनि त्यही लहरकै एक आम पाठक हुँ । मैले पुष्पाको जीवनी पढ्न बस्दा यही मानसिकताका साथ पढ्न सुरु गरेकी थिएँ ।

सीएनएन हिरोज र सीएनएन सुपरहिरोले विभूषित पुष्पा स्वयम् पुस्तकको आवरणमा न्यानो मुस्कानसहित विराजमान छिन् । त्यो स्केच उनकै ‘छोरी’ले बनाएकी हुन् ।

सन् २०१२ मा सीएनएन उपाधिबाट विभूषित हुँदा पुष्पा २८ वर्ष मात्र थिइन् । त्यति सानै उमेरमा सीएनएन जस्तो विश्वस्तरीय संस्थाले दिने पुरस्कारको हकदार हुन उनले पक्कै पनि उल्लेखनीय काम गरेकी थिइन् ।
पुस्तकले पुष्पाको त्यही असामान्य कामको चर्चा गरेको छ । पुस्तक पढ्दा उनले गरेको ठूलो मिहिनेत देखिन्छ । आत्मकथा पढ्दै गर्दा व्यवधानबाट नडराएर उनी अघि बढेको देखिन्छ । यसबाट सफलताको सबैभन्दा ठूलो सूत्र ‘निरन्तरता’ हो भन्न सकिन्छ ।

सापेक्षित रूपमा सम्भ्रान्त परिवारमा जन्मेकी पुष्पाले त्यति धेरै आर्थिक कठिनाइ भोग्नुपरेन तर जीवनमा आर्थिक अफ्ठ्यारा मात्र कहाँ समस्या हुन्छन् र ? उनले रोजेको जीवनका लागि परिवार र राज्यबाट मात्रैले पनि व्यवधान निम्त्याउने गर्छ । तर पुस्तकमा यो पक्षको व्याख्या मेरो पक्ष अपेक्षा अनुरूप पाइन । पुष्पाले यी कुरामाथि पनि सहजै जित हासिल गरेको देखिन्छ ।

पुष्पाको सुरुवाती सङ्घर्षको वर्णन अलि अप्रयाप्त हो कि लाग्यो मलाई । पुस्तक पढेर सकाइसक्दा यसमा अलि बढी आउनुपथ्र्यो लागिरह्यो ।

आजको दिनमा नेपालसमेत विश्वभरी समाजका सम्पन्नहरु नै समाजसेवी बन्न सक्ने वातावरणमा छ । खान पुगेर दिन पनि पुग्ने मनकारीहरु दाता हुन्छन्, सेवक हुन्छन् । सेवक हुनुमा उनीहरु गर्वबोध गर्छन् । एक पक्षको हात माथि भएर (दिन पाउँदा) उत्पन्न हुने गर्वबोधमा अर्को पक्ष (पाउनेहरु)को निम्न स्तरप्रतिको व्यङ्ग्य पनि मिश्रित हुन्छ ।

‘पुतलीको घर’ पढ्दै गर्दा पुष्पा बस्नेतमा त्यो गर्वबोध देखिँदैन बरु आत्मसन्तुष्टि ज्यादा देखिन्छ । यो प्रशंसनीय कुरा हो । आजीवन नै समाज सेवालाई अभियान बनाएर हिँड्नुले पनि उनको मानव सेवा ‘फेसन’ मात्र नभएको ठहर्छ ।

हाम्रो समाजमा भूत, प्रेत, पिशाच लगायतको अन्धविश्वास आजको होइन । समाजमा यिनको अस्तित्वलाई लिएर पक्ष विपक्षमा विभाजित हुने गर्छ । पुष्पा बस्नेत आफैले जीवनमा यस्ता केही अनुभव भोगेको कुरा पुस्तकमा चर्चा छ ।

तर पुस्तकले सो कुरालाई अलि बढी महत्त्व दिएको आभाष हुन्छ । यी विषयलाई बढी महत्त्व दिँदा उनका जीवनको अन्य महत्त्वपूर्ण पाटाहरु ओझेलमा परेका छन् ।

आत्मकथा हो जे भोगेको हो, त्यो लेख्नुपर्छ भन्न आधारमा टेकेर बहस गर्न पनि सकिएला । तर, उच्च रहस्यको वर्णन गरिरहँदा अन्धविश्वासलाई प्रोत्साहन गर्ने गरी व्याख्या हुनुले नयाँ पुस्तामा अन्धविश्वासको ‘इन्जेक्ट’ पो हुने कि भन्ने चिन्ता उत्पन्न हुन्छ ।

पहिरन तथा खानाको मामलामा बेफिक्री देखिन्छिन् पुष्पा । समाजले हजारौँ वर्ष लगाएर निर्माण गरेको स्त्री जातिको सौन्दर्यका मानकहरु माथि उनले धावा बोलेकी रहेछिन् ।

कपाल मुडुलो पार्ने, कपडामा त्यति ध्यान नदिने, गरगहना तथा अन्य सौन्दर्य प्रशोधनमा चाख नदिने कुराले नारीप्रतिको स्थापित मान्यतामाथि निरन्तर मुठी बजारिरहेकी प्रतित हुन्छिन् ।

यो विषयलाई पुस्तकमा छुट्टै शीर्षक दिएर चर्चा गरिएको भए पुरानो संस्कृति र पछिल्लो समय बजार उपभोक्तावादको बन्धनमा रहन बाध्य महिलाहरुलाई तर्क हुन्थ्यो कि ? अझ यी तमाम महिलाका सौन्दर्य मानकप्रति उनको विकर्षणको कारणबारे पुतलीको घर मौन छ ।

कुल ५४ उप–शीर्षकमा विभाजित पुस्तकमा अधिकांश उपशीर्षकहरु उनको अभियानले गति लिन थालेपछिका सूचनात्मक गतिविधिहरुमा केन्द्रित छन् । ‘छोराछोरी’ संस्थामा ल्याउँदाका लफडाहरु, संस्था दर्ताका तगाराहरु, मान्छेहरुले जेल पुग्न गर्ने कर्तुतहरु आदिको बयानले पुस्तक पढिरहँदा संवेगहरुको गतिमा उच्चता थप्छन् ।

न लोभ न लालच, बिना अपेक्षा विदेशीहरुले गरेका सहयोग र नेपालभित्र भने जग्गा किन्दा, घर निर्माण गर्दा उत्पन्न परिस्थितिले नेपालीहरुमा अझै पनि समाज सेवाको बुझाइ निम्सरो रहेको देखाएको छ । यसले छुट्दै समाजशास्त्रीय व्याख्याको माग गर्छ ।

उमेरले भर्खरै ३५ वर्ष हाराहारीकी पुष्पा बस्नेत कथा लेख्न अलि चाँडै भएको हो कि भन्ने पनि प्रश्न उठ्छ । सामान्य अभ्यासमा जीवनी जीवनको उत्तरार्धतिर लेखिन्छ । तर पुष्पाले आफ्नो लक्ष्यमा उल्लेख्य सफलता हासिल गरिसकेको र समाजमा धेरै कामका लागि महिलालाई शंकाले हेरिने हुँदा एउटा प्रेरणाकी पात्र भएकीले उनको कथा आउनु अन्यथा मानिरहनुपर्दैन ।

जीवनको मध्य भागमा दौडिरहेकी पुष्पा अझै अनगिन्ति अनुभूति, सफलता र असफलतासँग सिँगौरी खेल्नै छ ।  भावी अनुभव थप पुस्तकमा ल्याउन नसकिने भने होइन । अमेरिकी कवि माया याङ्गेलुको आत्मकथा सात खण्डमा आएका थिए । उनका सबै पुस्तक उत्तिकै महत्त्वूर्ण मानिन्छन् ।

    ‘पुतलीको घर’ निर्माणको प्राविधिक पक्षबारे बोल्न मन लाग्यो । पुतलीको घर चिटिक्कको छ । पुष्पा बस्नेतको अनमोल मुस्कानले घरलाई उज्यालो प्रदान गरिरहेको आभाष हुन्छ । भाषा रागात्मक छ । सुललीत छ । लामा लामा क्लिष्ट वाक्यहरुलार्ई पुतलीको घरभित्र पस्नबाट सचेततापूर्वक प्रतिबन्ध लगाइएको छ । लामो जीवनगाथालाई विभिन्न शीर्षकअन्र्तगत राखी पुतलीको घरका कोठाहरु निर्माण गरिएको छ । पुस्तक सुरु गरेपछि नसकिँदासम्म भाषाकोे कारणबारे फिल गर्नुपर्ने स्थिति कहीँ आउँदैन ।

यति चिटिक्को घर निर्माणमा कताकती दागहरु देखिएका छन् । दागहरु आकारमा साना साना हुन्छन् तर सौन्दर्य बिगार्न ठूलो ठूलो भूमिका खेलिदिन्छन् । दागको अर्काे विशेषता के हो भने पृष्ठभूमि जति सफा हुन्छ, दागहरु सौन्दर्य बिगार्न उति सफल हुन्छन् । ‘कुरा बनाएर बनेकी थिइन ।’ अन्तरवार्ता शीर्षकअन्तर्गत पृष्ठ १६९ को वाक्य हो यो । भनेकी हुनुपर्ने हो तर बनेकी आएको छ । ‘त्यो शहरै तर्साउने खेलको छ होस गर ।’ यो वाक्य हो पृष्ठ २०० को । खालको हुनुपर्नेमा लेखिएको छ खेलको । धन उसँग कति थियो मलाई थाहा छैन तर मैनले त संसारको धनी जस्तो लाग्यो । २११ पृष्ठको यो वाक्यमा पनि  मनले हुनुपर्ने हो तर मैनले भएको छ । लगायतका यस्ता दागहरुले पुतलीको घरको सौन्दर्य बिगार्न ठूलो भूमिका खेलेका छन् । यस्ता शब्दले अर्थको अनर्थ बनाएका छन् ।
     

 अल्केमी प्रकाशनद्वारा २०७५ को उत्तरार्धमा प्रकाशित पुस्तक ‘पुतलीको घर’ एउटा आत्मकथा हो । सुललित भाषाले पाठकको ध्यान अन्यत्र जान दिँदैन भने सङ्घर्ष र सफलताका कथाले ऊर्जा पनि थप्ने हुँदा पुस्तकले निराश बनाउँदैन ।
 

पुस्तकको प्रारम्भ गरेको घनश्याम खड्काका यी हरफहरु पुष्पा बस्नेतको अभियानलाई सार्थक न्याय दिन सक्षम छन् ।

कालो कोइलाबाटै, निस्कन्छ सुन्दर हिरा

हाली पङ्ख सपनाको, पुतली बन्छ झुसिलकिरा ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता न्यौपाने
सुनिता न्यौपाने
लेखकबाट थप