शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोकियो बलिउड फिल्म ‘कलंक’, विवादमा मुछियो चलचित्र विकास बोर्ड

बुधबार, ०४ वैशाख २०७६, १२ : १६
बुधबार, ०४ वैशाख २०७६

काठमाडौं –आजदेखि विश्वका धेरै देशमा एकसाथ रिलिज भएको बलिउड फिल्म ‘कलंक’ नेपालमा भने रिलिज हुन सकेन । चलचित्र विकास बोर्डका कारण यो फिल्म नेपालमा रिलिज हुन नसकेको हो । 

शुक्रबार मात्र नयाँ फिल्म रिलिज हुने परिपाटीलाई जोगाउन विकास बोर्डले यो फिल्म रोकेको हो । नेपालमा नयाँ फिल्म चाडपर्व बाहेकको समय शुक्रबार मात्र रिलिज गर्न पाइन्छ । अन्य समय आउने फिल्मलाई आफूले रोक्ने केही अगाडि अध्यक्ष केशव भट्टराईले भनेका थिए । सोही अनुरुप फिल्म ‘कलंक’ आज रोकिएको छ ।

अभिषेक वर्माको निर्देशन रहेको यो फिल्ममा २० वर्षपछि माधुरी दीक्षित र सञ्जय दत्तले स्क्रिन शेयर गरेका छन् । यी दुबैको अलवा आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा र आदित्य रोय कपुरको पनि फिल्ममा अभिनय छ । मल्टिस्टार अभिनित यो फिल्मको पर्खाइमा ठूलो संख्यामा नेपाली दर्शक पनि रहेका थिए । 

‘कलंक’ नेपाल आउँदा गत शुक्रवार रिलिज भएका दुई नेपाली फिल्म ’यात्रा’ र ‘ए मेरो हजुर ३’को व्यापारमा ठूलो असर गर्ने पक्का थियो । नेपाली फिल्म जोगाउन ‘कलंक’ बुधवार प्रदर्शनमा रोक्नु पर्ने माग यी फिल्मका निर्माताले गर्दै आएका थिए ।

गत शुक्रबारबाट रिलिज भएका मध्य ‘यात्रा’ बोर्ड अध्यक्ष भट्टराइले निर्माण गरेको फिल्म हो । आफ्नो फिल्मको व्यवसायलाई असर गर्छ भनेर बलिउड फिल्म ‘कलंक’ रिलिज रोकेको आरोप समेत उनीमाथि लागेको छ । 

 नेपाली फिल्म झै बलिउड फिल्म पनि शुक्रबार नै रिलिज गर्ने परम्परा बसाल्न ‘कलंक’ माथि आफूले रोक लगाएको बोर्ड अध्यक्ष भट्टराइले बताए । ‘नेपालमा चाडपर्व बाहेका अन्य समय शुक्रबार फिल्म रिलिजको परम्परा छ’ उनले भने ‘नेपाली फिल्मले यो परम्परा मान्ने, बलिउडले किन नमान्ने ?’ उनको भनाई छ । 

‘कलंक’ विकास बोर्डको एकल पहलमा मात्र रोकिएको होइन । यो फिल्मको बुधबार रिलिज रोक लगाउनु पर्ने माग सहित चलचित्र निर्माता संघले केही पहिले एक पत्र बोर्डलाई पठाएको थियो ।

 निर्माताको गुनासोलाई सुनवाई गर्दै बोर्डले पनि नेपाल चलचित्र संघलाई पत्रमार्फत् विदेशी फिल्म शुक्रवार मात्र प्रदर्शनमा ल्याउन निर्देशन दिएपछि ‘कलंक’ बुधवार नेपाल प्रदर्शनमा रोक लागेको हो । 

वितरक कम्पनी गोपिकृष्ण र वैंकटेश फिल्मस् बुधवार नै फिल्म ल्याउन बोर्डमा सेन्सरका लागि पत्र लिन पुगेको थियो । तर, बोर्डले ‘कलंक’ को सेन्सर पासका लागि अनुमति नदिएपछि फिल्म रोकिएको हो । 

कलंक रोकिएपछि बोर्ड अध्यक्ष भट्टराईको सामाजिक सञ्जालमा विरोध र  प्रशंसा दुवै हुन थालेका छन् । धेरैले उनको निर्णयलाई सहसिक भनेका छन्, भने केहीले स्वार्थ भन्दै विरोध गरिरहेका छन् । 

‘यात्रा’ फिल्मको व्यवसाय बिग्रने डरले बलिउड फिल्म बुधवार ल्याउन रोकेको आरोप पनि उनलाई लागेको छ । 

बोर्डको निर्णयलाई क्यूएफएक्सका सञ्चालक मध्येका एक भाष्कर ढुंगानाले ‘स्वार्थहरुको द्वन्द्व’ र ‘अख्तियारको दुरुपयोग’ भन्दै सामाजिक संजालमार्फत विरोध गरेका छन् ।  

उनले अगाडि लेखेका छन् ‘फिल्मको मिति तोक्ने काम बोर्डको नभएर वितरक, निर्माता र प्रदर्शकको सम्झौताले तय गर्ने हो ।’

यस्तै बोड अध्यक्ष भट्टराइको कदमलाई नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयले पनि बोर्ड अध्यक्ष निर्माता संघको परिधिभन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन् ।

 उनले फेसबुकमा पोष्ट गरेको एक स्टाटसमा लेखिएको छ ‘ संघको पदाधिकारी भन्दामाथि उठ्न सक्नुपथ्र्यो सक्नु भएन । नेपाल चलचित्र निर्माता संघको पत्रलाई नत्थी गरेर सो अनुसार गर्न गराउनु होला भनेर सरकारी कार्यालयको पत्र नेपाल चलचित्र संघमा आएको जानकारी पाउदा अचम्मित भएँ । रितपूर्वक कार्य गर्दै चलचित्र क्षेत्रमा सहकार्य र सहमतिको वातावरण वनाउनु हुन्छ भन्ने ठुलो आशा एवम् विश्वास थियो । तर पहिलो पत्रवाटै विश्वास टुट्ने सम्भावना रह्यो ।’
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप