शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त भन्छन्, ‘हार्नेले पनि जितेको अनुभव गर्ने गरी चुनाव गराउँछु’

बुधबार, ०४ वैशाख २०७६, १५ : ४३
बुधबार, ०४ वैशाख २०७६

निर्वाचन आयोगको प्रमुख आयुक्तको रुपमा सिफारिस भएका पूर्व सचिव दिनेश कुमार थपलियाले आफू पदमा नियुक्त भए हार्नेले पनि जितेको अनुभव गर्ने गरी चुनाव गराउने प्रतिबद्धता व्यक्ति गरेका छन् ।

व्यवस्थापिका संसदको संसदीय सुनुवाइ समितिमा धारणा राख्दै थपलियाले आफू प्रमुख निर्वाचन आयुक्तको रुपमा व्यस्थित ढंगले काम गर्न सक्ने दाबी गरेका हुन् ।

‘मैले ३५ वर्ष सरकारी सेवामा काम गरेको छु । यसमध्ये २५ वर्ष स्थानीय तह र सोसँग सम्बन्धित मन्त्रलायमा काम गरेको भन्दै निर्वाचनमा व्यवस्थित ढंगले काम गर्न सक्छु,’ उनले भने ।

थपलियाले यो आर्थिक वर्षको बाँकी तीन महिनामा १० वटा काम गर्ने कार्ययोजना पनि प्रस्तुत गरे । यसमा हालसम्म गर्न नसिकएको प्रतिनिधि, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने, आवश्यक निर्वाचन कानून बनाउने, ५ वर्षे रणनीति तयार गर्ने लगायतका योगना रहेका छन् ।

‘विदेशमा रहेको मतदाताको मतदानलाई कसरी कदर गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउँछु,’ थपलियाले भने ।

थपलियाले मुख्य गरेर पाँच वटा कुरालाई प्राथमिकता दिने बताए । जसमा उनले पहिलो निर्वाचन प्राणालीको आमुल सुधार गर्ने बताए । यसका लागि आयोगको संरचनामा सुधार गर्ने, जिल्ला प्रशासन कार्यालयको शाखाबाट समन्वय गर्ने गरी ७५३ वटै स्थानीय तहमा निर्वाचन समन्वय इकाइ राख्ने तथा प्रदेश कार्यालयमा कार्यालय राखिने उनले बताए ।

त्यस्तै उनले सूचना प्रविधिलाई पनि व्यवस्थापन गर्ने प्रणाली स्थापना गरिने बताए । ‘सबै स्थानीय तहबाट अनलाइन प्रविधिबाट मतदाता दर्ता गरिनेछ,’ थपलियाले भने, ‘निर्वाचन आयोगको वेभसाइट व्यवस्थित गरिनेछ । त्यस्तै, विद्युतीय प्रणालीबाट मतदातको व्यवस्था गरिनेछ ।’

सुद्धृढ कानूनी व्यवस्था र निर्वाचन पूर्वाधारको विकास गरिने बताउँदै उनले सरकारले जुन सुकै बेला घोषणा गरे पनि चुनाव गर्न सक्ने पूर्वाधार तयार गर्ने थपलियाले विश्वास व्यक्त गरे । यसका लागि निर्वाचन सामाग्रीको व्यवस्थापन गरिने उनको भनाई थियो ।

‘अहिले सियो धागो पनि केन्द्रले किन्ने अवस्था छ । अब प्रदेशबाट यसको व्यवस्था हुन्छ,’ उनले भने, ‘संघीयता अनुसार आयोगको संरचना व्यवस्थित गर्छु ।’

उनले निर्वाचनमा मितव्ययितता गरिने बताउँदै निर्वाचन आयोग र दलको खर्च घटाउने काम गर्ने बताए ।

‘पैसा नभएपनि चुनाव जित्न सकिन्छ भन्ने दलका लागि काम गर्छु,’ उनले भने, ‘ दल र आयोगको लेखा परीक्षणको व्यवस्था भद्रगोल छ । त्यसलाई पनि व्यवस्थित गर्छु ।’

उनले एकीकृत सुरक्षा व्यवस्था कायम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप