शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्सी चढ्ने हो ? ५ मिनेटमै आउँछ घरमा

बुधबार, ०४ वैशाख २०७६, १९ : ०५
बुधबार, ०४ वैशाख २०७६

काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पछिल्लो दिनमा प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै मोबाइल एप्समा आधारित सेवा दिने भएको छ । 

उपत्यकाका ५ हजारभन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा शुरु गर्ने भएको हो ।

समाजले मोबाइल एप्स ‘इजी ट्याक्सी नेपाल’ मार्फत वैशाख दोस्रो सातादेखि परिक्षणको रुपमा एप्समा आधारित हुँदै ट्याक्सी सेवा दिने भएको जनाएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको छ । 

समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा सञ्चालन गर्न कठिन रहेको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ । सो आधारमा ट्याक्सी भाडा समायोजन गरेपछि हुने नयाँ मिटर भाडा दरमा नै एप्समा आधारित भएर सेवा सञ्चालन गर्ने समाजले जनाएको छ । 

यस्तो छ नियम 
हाल काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिने ‘इजी ट्याक्सी नेपाल’ एप्सको सेवाका लागि यात्रुहरुले सो एप्स डाउनलोड गरेर दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर ‘लग इन’ रजिस्टार बनाइएको छ भने यात्रुले ‘लग इन’ गरेपछि त्यसमा देखिने रियल टाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ ।

यात्रुहरुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् । 

‘इजी ट्याक्सी नेपाल’ एप्समार्फत यात्रुहरुले ‘लग इन’ गरेर अनुरोध गरेको ५ मिनेटभित्रै ट्याक्सी सेवा प्राप्त गर्ने उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले बताए । 

अध्यक्ष सानु छाने भने, ‘नेपालमा ट्याक्सी र चालकलाई निकै हेप्ने गरिन्छ । हामी पनि यहि समाजका नागरिक हौं, त्यसैले हामीले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै प्रविधिमैत्री ट्याक्सी सेवा सञ्चालन गर्न लागेका हौं ।’ 

सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुहरुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने उनले स्पष्ट पारे ।

हालको लागि यात्रुहरुले सो एप्समा लगइन गरेर यात्रा गदर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिट्टै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा ल्याउने उनले बताए ।

उनले भने, ‘यात्रुहरुले ‘इजी ट्याक्सी नेपाल’को वेबसाइटमार्फत पनि यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन् ।’

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी सेवालाई नकारात्मक रुपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधिको आधारमा सेवा दिएर यात्रुहरुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप