शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा एकता : ओली–प्रचण्डका पछिल्ला प्रयास पनि असफल

बुधबार, ०४ वैशाख २०७६, २० : १८
बुधबार, ०४ वैशाख २०७६

काठमाडौँ– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका केही नेताले वैशाख ९ गते परेको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याउने दाबी गर्दै आएका छन् । यसका लागि अब पाँच दिन मात्रै बाँकी छ ।

तर यो पाँच दिनमा नाटकीय रूपमा सहमति जुटेन भने वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरूप लिने सम्भावना न्यून छ । किनभने अहिलेसम्म एकताका लागि शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई सहमतिमा ल्याउने अध्यक्षद्वय ओली र प्रचण्डको प्रयास सफल भएको छैन ।

यस्तोमा वैशाख ९ गतेभित्र पार्टी एकता टुङ्ग्याउने दुई अध्यक्षको प्रयास सफल हुने अवस्था कमजोर छ । सूत्रका अनुसार एकतामा ओली, प्रचण्ड र नेपालको अडान यथावत छ । सचिवालय बैठक नबसी एकता टुङ्ग्याउने अवस्था छैन । तर नेकपाका केही नेताहरु मान्छन्– वैशाख ९ अगाडि सचिवालयको बैठकको सम्भावना पनि कम छ । 

त्यसो त विगतमा पनि नेकपाका नेताहरुले पटक–पटक एकताको समयसीमा तोक्दै आएका थिए । केही दिनअघि रातोपाटीसँगको कुराकानीमा नेता गौतमले वैशाख ९ गते नै सबै तहको एकता टुङ्गिएको घोषणा गर्ने र यदि त्यसमा सम्भव नभए वैशाखभित्र टुङ्ग्याउने सहमति भएको बताएका थिए । 

नेताहरुले पहिलो पटक जेठ ३ गते पार्टी एकीकरणको घोषणा गर्दा तीन महिनाभित्रमा सबै तहका साङ्गठनिक एकीकरण टुङ्ग्याउने बताएका थिए । त्यसबाहेक धेरै पटक समयसीमा तोकिए तर नेकपाको एकतामा आधाभन्दा बढी काम बाँकी नै छ । पछिल्लो समय जिल्ला तहको एकता टुङ्याउने गृहकार्यमा अध्यक्षद्वय जुटेका छन् । तर उनीहरुका प्रयास असफल जस्तै भएका छन् । 

सहमति जुटाउने प्रयास केके भए ? 
पार्टीभित्र असन्तुष्टि रहेकै समय सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच संवाद सुरु भएको थियो । सरकारले दुरगामी निर्णय लिँदा पनि पार्टीसँग समन्वय नगरेकोे भन्दै सचिवालयका असन्तुष्ट नेताले संवाद सुरु गरेका थिए । तर त्यो संवादको भित्री कारण थियो, पार्टी एकतामा भएको ढिलाइमा अध्यक्षद्वयको बेवास्ता ।  

यस्तो सहमति लगत्तै फागुन २९ गते सचिवालय सदस्यहरु नेपाल, खनाल, गौतम र श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकतासम्बन्धी विषयमा छलफल भएको थियो । एकताको हलो तत्कालीन एमालेमै अड्किएको भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई नेता नेपाल, खनाल र गौतमलाई कन्भिन्स गर्न सुझाएका थिए । 

त्यसपछि प्रधानमन्त्री ओलीले सुरुमा नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए । पछि अध्यक्ष ओलीले नेपालसँग पनि छुट्टै छलफल गरेका थिए । जहाँ सीके समूहसँगको सहमति र विप्लव समूहमाथि प्रतिबन्ध लगाउने विषयमा सामान्य छलफल भएको थियो । त्यसबाहेक मुख्यतः एकतासम्बन्धी बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको थियो । 

त्यो छलफलको परिणाम तत्काल देखियो । सीके राउत र विप्लवमाथि प्रतिबन्धबारे पहिला असन्तुष्ट नेता नेपाल र खनाल प्रधानमन्त्रीसँगको छलफलपछि सरकारी निर्णयको पक्षमा उभिए । तर पार्टी एकतासम्बन्धी दुई अध्यक्षको सहमतिमा चाहिँ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठको असन्तुष्टि कायमै रहेको स्रोत बताउँछ ।

नेकपाको एकता अहिले जिल्ला तहमा पुगेर अड्किएको छ । प्रदेश कमिटी टुङ्ग्याउँदा विधि र मापदण्ड मिचेर पदाधिकारी तय गरेको भन्दै पार्टीकै वरिष्ठ नेता नेपाल समूहले असन्तुष्टि राख्दै आएको छ । पछिल्लो पटक अध्यक्षद्वय ओली र प्रचण्डबीच जिल्ला नेतृत्वका विषयमा सहमति जुटेको कुरा बाहिर आउँदा वरिष्ठ नेता नेपालले समानान्तर कमिटी बनाउने चेतावनी दिइसकेका छन् ।  जसले गर्दा नेकपामा झनै विवाद बढेको छ । सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्र जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफूलाई मान्य नुहने नेता नेपालको अडान कायमै छ । त्यसमा पनि नेता गौतम, खनाल र श्रेष्ठको साथ नेपाललाई छ भने अध्यक्ष प्रचण्ड पनि नेपाललाई सहमतिमा ल्याउनुपर्ने अडानमा छन् । 

पार्टी स्थापना दिवसको मिति नजिकिँदै गर्दा तिनै असन्तुष्ट नेतालाई फकाउने प्रयास अध्यक्षद्वयले पुनः सुरु गरेका थिए । यसै क्रममा चैत २४ गते नेता गौतमलाई बालुवाटार बोलाएर झन्डै डेढ घण्टा छलफल गरेका थिए । उक्त छलफलमा नेता गौतमले एकताको गृहकार्यमा दुई अध्यक्षसँगै नेता नेपाललाई पनि सँगै राखेर गृहकार्य गर्न सुझाव दिएको रातोपाटीसँगको कुराकानीमा बताइसकेका छन् । 

त्यसलगत्तै अध्यक्षद्वयले झलनाथ खनाल र ईश्वर पोख्रेलसँग छलफल गरिसकेका छन् । 

स्रोतका अनुसार खनालले पनि  नेपाललाई सँगै राखेर एकताको गृहकार्य गर्न अध्यक्षद्वयलाई सुझाव दिएका थिए । त्यसलगत्तै अध्यक्षद्वय र महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलको गोप्य बैठक चन्द्रागिरीमा बस्यो । चैत २८ गते साँझ चन्द्रागिरी गएका नेता २९ गते ४ बजे मात्रै फर्किएका थिए ।

त्यो बैठकमा नेता बादल र पौडेलले एकीकरणको खाका पेश गरेका थिए । त्यही खाकाका आधारमा सोमबार (वैशाख २ गते) अध्यक्षद्वय ओली र प्रचण्डले नेता नेपालसँग दुई चरणमा छलफल गरिसकेका छन् ।

स्रोतका अनुसार नेता नेपालसँगको छलफल पनि सकारात्मक छैन । अध्यक्ष ओली र नेता नेपालको आआफ्नो अडान कायमै छ । अर्कोतर्फ महासचिव पौडेल अहिले चीनमा छन् । उनी ७ गते मात्रै नेपाल पर्किंदै छन् । 

आधाभन्दा बढी काम बाँकी 
त्यसो त तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको ११ महिना पुगेको छ । तर यो ११ महिनामा पार्टी एकताका आधाभन्दा बढी काम टुङ्गिन सकेका छैनन् । 

यसअघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन । यसबाहेक राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने काम पनि सकिएको छैन । 

यो बीचमा नेकपाले दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा पौडेल र श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काम सकिएको छ । तर प्रदेश कमिटीको नामावली स्थायी कमिटीबाट अनुमोदन हुन बाँकी छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप